मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

राजमानको देशभरका सडक बढार्ने अभियान

राजमानको देशभरका सडक बढार्ने अभियान


चितवन, २१ माघ । कीर्तिपुरका ५१ वर्षीय राजमान मानवको एउटै इच्छा छ नेपाललाई फोहरमुक्त बनाउने । उनले आउँदो तीन वर्षभित्रमा यो काम सक्ने लक्ष्य बनाएका छन् ।

कोसिस गर्दा सफल नभए पनि प्रयास नछाड्ने उनको अठोट छ । भरतपुरमा सडक बढार्दै गर्दा भेटिएका उनले भने ‘म मर्दा पनि कुचो हातमै रहोस् केही छैन तर अभियान छाड्दिनँ ।’

नेवार समुदायमा जन्मिएका राजमानले आफ्नो थर त्यागेका छन् । थर मात्रै नभएर घर नै छाडेर कुचो बोकेर देश डुल्दै छन् । विसं २०७५ सालभित्र सडक र सार्वजनिक स्थल मान्छेले फ्याक्ने फोहरमुक्त क्षेत्र बनाउने उनको योजना छ । विसं २०६७ साल भदौदेखि आफ्नो जन्मस्थान कीर्तिपुरबाट उनको अभियान सुरू भएको हो ।

‘त्यो वर्ष कीर्तिपुरमा महोत्सव हुँदै थियो । हामीले नगर सफा राख्नका लागि योजना बनाएर अगाडि बढ्यौं । गज्जबको सरसफाइ भयो । सबैले रुचाए । त्यसपछि यो काम देशैभर गर्ने सोच पलाएको हो’ राजमानले भने । उनी कुचो बोकेर बढार्दै काठमाडौंदेखि मुस्ताङ तथा जिरीसम्म पुगेका छन् । अहिले मेची महाकाली अभियानमा नगर क्षेत्रमा बढार्दै हिँडेका छन् ।

राजमानसँगै अर्की एकजना स्वयमसेवी कीर्तिपुरकै शुसीला महर्जन पनि अभियानमा संलग्न छिन् । देशका खास खास नगपालिकामा बढार्दै हिँडेपछि पोखरा गएर कार्यक्रम सक्ने उनको योजना छ । त्यसपछि सन् २०१७ को जनवरी २२ मा काठमाडौंमा विशेष कार्यक्रम गरेर आफ्नो पहिलो अभियान पूरा गर्ने उनले बताए ।

‘त्यसपछि अभियानको समीक्षा गर्छु । के कति सफलता र सिकाइहरु भए विवेचना गरेर फेरि अगाडि बढ्छु’ राजमानले भने ।

बजारका चोक, गल्ली, कार्यालय भवन अगाडि र विद्यालयमा उनले बढार्ने गरेका छन् । उनको काम देखेर चासो राख्दै सोधखोज गर्न आउनेलाई उनले सफाइको महत्व बताउने गर्छन् । उनले भने, ‘कतै कतै त के गरेको हो, कसैले चासो नै नदिने उनको अनुभव छ ।’

‘फोहर गर्नु हुँदैन भन्ने चेतना धेरैमा छ । तर बानी खराब भएकाले मान्छेले जहाँतही फोहर गर्दै हिँड्छ । हामीले उनीहरुलाई बानी सपार्न अनुरोध गर्दछौं’ राजमानले भने । सफा गर्नका लागि हामी झाडु बोकेर हिँडेपनि अरुले झाडु नबोके हुन्छ केबल फोहर नगरे उनीहरुको दायित्व पूरा हुन्छ भन्छन् उनी ।

श्रीमती, दुई छोरा र ९२ वर्षीया आमालाई घरमा छाडेर उनी देश दौडाहामा निस्केका छन् । श्रीमतीले कीर्तिपुरमै अभियानचलाउने गरेको उनले बताए ।

कीर्तिपुरमा आठ वर्षदेखि ७४ वर्षसम्मकालाई सामेल गराएर सरसफाइका लागि ३० समूहबनाएको उनले बताए । एउटा समूहले एक महिनामा एक दिन सफाइ गर्छ । देशभर यही विधिले सफाइ अभियान चलाउने उनको सोच छ ।

‘आफ्नो क्षेत्र सफा राख्न महिनामा एक दिन एकाध घण्टा जसले पनि समय निकाल्न सक्छ । बिस्तारै बानी परेपछि सफाइ गर्न भन्दै हिँड्न पनि पर्दैन । यही तरिकाले काम गरेर देश सफा हुन किन सक्दैन’ राजमानले भने । कुनै निकायबाट आर्थिक सहयोग नलिइ आफूले अभियान चलाएको उनले बताए ।

कीर्तिपुरमा फोहर बोक्ने ट्याक्टर पनि आफ्ने खर्चमा किनेको र सुरूमा नियमित सफाइमा जुट्नका लागि चार जना व्यक्तिलाई आफैले नै तलब दिएर राखेको उनले बताए ।

‘सुरुवात व्यक्तिले गर्नु पर्छ । यो काम समाज र देशका लागि मात्रै होइन विश्वका लागि नै अनुकरणीय बन्न सक्छ’ राजमानले भने ।