चितवन, ७ माघ । तराई–मधेसको आन्दोलन र भारतकबो नाकाबन्दीको अनुचित फाइदा उठाउँदै पर्साको ठोरी नाका अहिले अवैध व्यापार गर्ने थलो बनेको छ । ठोरी नाकाबाट इन्धन ल्याएर महंगो मूल्यमा बेच्नेको संख्या बढ्दै गएको छ । ठोरी नाका भएर नेपाल भित्रिएको इन्धन चितवनबाट संगठित रूपमा अन्य जिल्लामा लैजाने गरिएको छ ।
इन्धन अभाव भएको कारण देखाउदै प्रशासनले ठोरीबाट भित्रिएका इन्धनको बारेमा खासै चासो दिएको पाइएको छैन् । चितवनबाट ठोरीसम्मको बाटोमा निकुञ्ज सुरक्षाका लागी खटिएका सैनिक पोष्टको अभिलेखलाई आधार मन्दा दैनिक चार सय भन्दा बढी गाडीले तेल ओसार्ने गरेको देखिन्छ ।
चितवनको भरतपुरबाट जगतपुर, माडीहुँदै राष्ट्रिय निकुञ्जको दुई चरणमा कटेपछि ठोरी पुगिन्छ । निकुञ्ज भित्रको कच्ची सडक मार्गमा निकुञ्ज सुरक्षाका लागि बसेका ४ वटा पोष्ट कटेपछि गरेपछि मात्र ठोरी पुगिन्छ ।
देशका अन्य नाकाबन्द भएपनि तराई आन्दोलनले ठोरी नाकालाई केही असर पारेको छैन् । अन्य नाका सहज हुँदा चहल पहल नहुने ठोरी नाकामा अहिले व्यस्त व्यापारीक थलो बनेको छ । इन्धनमा कालोबजारी गर्दै अवैध आम्दानी गर्ने उद्देश्यले ठोरी नाकालाई प्रयोग गर्ने बढी रहेका छन् ।
पछिल्लो समयमा ठोरी नाकाबाट दैनिक एक लाखदेखि दुई लाख लिटरसम्म इन्धन नेपाल भित्रिरहेको छ । ठोरी नाकबाट व्यापारी र गाडीधनीले यात्रु बस र मोटरसाइकलमा राखेर ल्याइएको पेट्रोल तथा डिजेल चितवनको माडी, नारायणगढ, कास्की, गोरखा, तनहुँ र काठमाडौंसम्मका ओसार्दै आएका छन् ।
ठोरीमा इलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरी बेस क्याम्प छ । तर दैनिक लाख भन्दा बढी लिटर डिजेल र पेट्रोल ठोरी नाकाबाट नेपाल भित्रिरहेपनि त्यहाँ रहेको नेपाल प्रहरी र सशस्त्र प्रहरी भने मौन छन् ।
सीमा पारी भारतीय बजारमा पेट्रोलको मूल्य भारु ६५ रुपैयाँ पर्ने गरेको छ । ठोरीमा भारतीय व्यापारीबाट नेपालीहरुले डिजेल प्रतिलिटर एक सय २० देखि ४० र पेट्रोल एक सय ६० देखि दुई सय रुपैयाँसम्ममा खरिद गर्ने गरेका छन् ।
कतिपय ठूला व्यापारीले पम्पसँगै सम्पर्क गरी सीमासम्म तेल मगाउने गरेको भएपनि अधिकांशले ठोरीका बासिन्दासँग खरिद गर्दै आएका छन् । नाकाबाट पारी भारतीय नम्बर प्लेटका गाडी मात्र जाने भएकाले उतैबाट सयौं गाडीले नेपाली क्षेत्रमा इन्धन ओसारिरहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक बसन्तबहादुर कुँवरले ठोरी नाकाबाट आएको इन्धनले नारायणी, धौलागिरी, गण्डकी र बाग्मती अञ्चलका विभिन्न जिल्लाको अत्यावश्यक सेवा धानेको बताउनुभयो ।
ठोरी नाकाबाट दैनिक रुपमा एकदेखि डेढ लाख लिटरसम्म इन्धन भित्रिने गरेको उहाँले बताउनुभयो । ठोरी नाकाबाट आएको इन्धनको विषयमा विभिन्न क्षेत्रमा पर्ने इलाका प्रहरी मार्फत अनुगमन गर्ने काम भइरहेको उहाँले बताउनुभयो ।
यसरी खरिद गरिएको इन्धन अधिकांशले आफ्नो प्रयोगको लागि खपत गर्ने गरेको बतउदै उहाँले कालोबजारी गरेको थाहा भएमा कारवाही गर्दै आएको बताउनुभयो ।
यो बाटो हुँदै आउने तेल रोक्ने विषयमा छलफल गरिएको भएपनि अत्यावश्यक क्षेत्र समेत सञ्चालनका लागि कठिनाई हुने भन्दै स्थानीय बासिन्दाको दबाब बढेपछि प्रहरी प्रशासनले त्यसरी भित्रिएको इन्धनलाई छाडेको उहाँले बताउनुभयो । नारायणगढदेखि ठोरीसम्मको दूरी झण्डै ७२ किलोमिटर छ ।
प्रतिक्रिया