मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

देउसी भैलोमा मौलिकता हराउने चिन्ता

देउसी भैलोमा मौलिकता हराउने चिन्ता


म्याग्दी, २५ कात्तिक । "तिहार सुरु भएपछि घरघरमा पुग्थ्यौँ । अनि सुरु हुन्थ्यो देउसी भैलो । टोली नेताले भट्याउन सुरु गरेपछि उनैको लयमा देउसी भैलो गाउँथ्यौँ त केही नाच्थ्यौँ ।" पिप्ले–८, मौवाफाँटका वृद्ध हरिदत्त सुवेदीले आफ्नो युवावस्थामा खेलेको देउसी र भैलोलाई यसरी सम्झिए । 
 
नाचगानपछि घरधनीलाई नाङ्ग्लोमा धान, चामल, सेलरोटी र दान स्वरुप नगद दिएपछि आर्शिवाद दिएर आउने गरेको अनुभव ८३ वर्षीय सुवेदीले सुनाए ।
 
यो वर्षको तिहार सुरु भएसँगै शहर बजारदेखि गाउँसम्म देउसी भैलो खेल्न सुरु भएको छ । पछिल्लो समय तिहारको अवसरमा खेलिने देउसी भैलोमा भएको मौलिक संस्कृतिमाथिको अतिक्रमण भने बुढापाकालाई मन परेको छैन । सुवेदीले थपे – “हामी आफैं गाउने, बजाउने र नाच्ने गथ्र्यौँ । उतिबेलाको देउसी भैलोमा आफ्नै मौलिकता थियो । आजभोलि त क्यासेटका गीत बजाएर नाच देखाउँछन् । पहिलेको जस्तो देउसी भैलो आजभोलि देखिँदैन ।” 
 
सुवेदीले भनेजस्तै परम्परागत रुपमा खेलिने देउसी भैलो आजभोलि केही परिष्कृत भएको पाइन्छ । हरेक क्षेत्रमा आधुनिकीकरणको प्रभाव परिरहेको अवस्थामा देउसी भैलो पुरानौ शैलीमा खेल्नुपर्छ भन्ने तर्क ठीक नहुन पनि सक्छ । यद्यपि देउसी भैलोको खास महत्व र मर्म नै हराउने गरी देउसी भैलोलाई आधुनिकीकरण गर्न नहुने आवाज उठिरहेको छ । सहरदेखि गाउँसम्म देउसी भैलो खेलिरहेको अधिकाँश समूहले रेकर्ड गरिएका गीतहरुमा नृत्य देखाउने र केही औपचारिकताको लागि मात्रै देउसी भैलो गाउने गरेको अग्रज कलाकारहरु बताउँछन् । 
 
आधुनिकताको प्रभाव बढेसँगै देउसी भैलोको उद्देश्यहरु पनि फेरिएका छन् । परम्परागत रुपमा मनोरञ्जनका लागि मात्रै खेलिने देउसी भैलो पछिल्लो समय कला संस्कृतिको जगेर्नासँगै सामाजिक कामका लागि आर्थिक सङ्कलन गर्न समेत प्रभावकारी माध्यम बनेको छ । मनोरञ्जनका लागि मात्रै खेलिने देउसी भैलोमा सङ्कलन हुने दान दक्षिणाले मङ्सिर महिनामा वनभोज खाने चलन रहेपनि अहिले भने सामाजिक कामका लागि आर्थिक सङ्कलनले ठूलो टेवा पु¥याएको देखिन्छ । 
 
आर्थिक अवस्था कमजोर रहेका बिरामीको उपचारार्थ, सामुदायिक विद्यालय सञ्चालनार्थ, विभिन्न अक्षयकोष स्थापनार्थ, सामाजिक तथा सार्वजनिक महत्वका सङ्घ संस्थाको संस्थागत विकास लगायतको उद्देश्य राखेर देउसी भैलो खेल्ने परिपाटीको विकास भएको छ । बेनीमा देउसी भैलो सञ्चालन गरेका उत्साही समूह बेनीले दुबै मिर्गौलामा समस्यामा आएपछि अस्पतालमा उपचाररत लक्ष्मण पुनको उपचारार्थ देउसी भैलो खेलेको समूहका अध्यक्ष मनोहर श्रेष्ठले बताए । 
 
स्थानीय स्तरमा मात्रै होइन प्रवासमा रहेका म्याग्देलीहरुले समेत जिल्लाका विभिन्न क्षेत्रमा सहयोग जुटाउने उद्देश्यले भैलो खेलेका छन् । हङकङमा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली सङ्घ हङकङले जिल्ला अस्पताल बेनीमा एक्सरे मेसिन सहयोगार्थ सञ्चालन गरेको देउसी भैलोबाटै रु १७ लाख सङ्कलन गरेको सङ्घका अध्यक्ष इन्द्र एलजी मगरले जानकारी दिए । 
 
जिल्लामा रहेका अधिकांश पूर्ण दरबन्दी नभएका विद्यालयहरुका लागि आन्तरिक स्रोत जुटाउने भरपर्दो माध्यम देउसी भैलो नै हो । विशेष गरी घरघरमा पुगेर बालबालिकादेखि किशोर किशोरी, युवायुवती सामूहिक रुपमा देउसी भैलो गाउँदै नाच्दै आशीष दिने र घरधनीले दिने दान रकम लिने चलन छ । धार्मिक ग्रन्थहरुका अनुसार भगवान् विष्णुबाट यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने वरदान पाएका बलिराजाले भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा देउसी भैलो खेल्ने चलनको सुरुवात भएको पाइन्छ ।  
 
पछिल्लो समय रेकर्ड भएका गीत तथा पाश्चात्य संस्कृति पनि देउसी भैलोमा समावेश गर्न थालिएपछि देउसी भैलोको मौलिकता हराउने खतरा बढेको चिन्ता प्रकट हुन थालेको छ । देउसी भैलोलाई मनोरञ्जनसँगै सामाजिक काममा सहयोग जुटाउनुलाई सकारात्मक पक्ष मानिए पनि कहीँ कतै जबर्जस्ती चन्दा उठाउने गरेको गुनासाहरु पनि बढ्न थालेको छ । त्यसैले परम्परागत चाडपर्वलाई आफ्नो मौलिकता नहराउने गरी मनाउने परिपाटी बसाल्न सकेमात्रै यसको ऐतिहासिक मर्म र महत्वले जीवन्तता पाउनेछ । रासस