मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

‘कोही भोका नहून्’ अभियान दुई वर्ष पूरा

‘कोही भोका नहून्’ अभियान दुई वर्ष पूरा


चितवन । आफ्नै खर्चमा कसैले अपरिचितलाई कति दिन कतिसम्म खुवाउन सक्ला रु भरतपुरका एकजना पुस्तक व्यवसायीले दुई वर्षदेखि काम गर्न नसक्ने, किनेर पनि खान नसक्ने असक्त, वृद्धवृद्धा र बालबालिकालाई भोको नराखी खुवाइरहेका छन् ।

‘कोही भोका नहून्’ भन्ने अभियान सुरू गरेका व्यवसायी विष्णुप्रसाद पौडेलले दुई वर्षकोे अवधिमा २८ लाख रूपैयाँ बराबरको खाना खाजा खुवाएका छन् । देशका ५४ सहर बजारका ६४ वटा होटलमा उनले पैसा नभएका असक्तहरुलाई खाना खुवाउने व्यवस्था मिलाएका छन् । ‘ती होटलहरुले खाना खाजा खुवाउने गर्छन् । मैले महिनामहिनामा भुक्तानी दिने गरेको छु’ बिहीबार नारायणगढमा भएको कार्यक्रममा पौडेलले भने । चितवन बाहिरका होटलहरुलाई बैंकमार्फत भुक्तानी दिने गरेको उनले बताए । बैंकमार्फत गरेको भुक्तानीको भौचरहरु पनि उनले कार्यक्रममा देखाएका थिए ।

भरतपुर सप्तगण्डकी चोकमा १६ वर्षअघि पुस्तक पसल सुरू गरेका पौडेलले यो कामका लागि पसलको आर्जनबाटै खर्च चलाएको बताए । ‘पहिला कमाएको पनि छ । अहिले कमाएको पनि भोकालाई खुवाउने काममा खर्च गरेको छु । बाहिरको पैसा लिएको छैन । काम गर्दै जाँदा आनन्द आएको छ । गाह्रो लागेको छैन’ पौडेलले भने । दिनमा कुनै बेला ४०० जनाले खाने गरेका उनको भनाइ छ । ‘देवघाटमा अशक्त वृद्धवृद्धाहरु धेरै नै आउँछन् । उनीहरुलाई बोलाएरै खुवाउने गरेको छु । दिनमा बढीमा २० जनासम्म आउँछन् । पौडेलजीले पैसा महिना महिनामा दिँदै आउनु भएको छ । अरुलाई लिनेभन्दा आधा रकम लिने गरेको छु’ पौडेलको अभियानअन्तर्गत देवघाटमा खाजा खाना खुवाउने गरेका मणिराम भुषालले भने ।

आफैँले चलाउन खोजेको अभियान सुरू गरेको भनेर धेरैले पौडेलसँग आधा मूल्यमात्रै लिने गरेका छन् । ‘खान आउनेले ताजा खाजा खाना खान्छन् । भित्रै बसेर खान आग्रह गर्छु । दिनमा १२÷१५ जनाले खाने गरेका छन्’ नारायणगढ पुलचोकमा रहेको होटल मोतीमहलका ऋषिराम सापकोटाले भने । पौडेलले चलाएको अभियान ‘कोही भोको नहुन्’ भन्ने नामले नै आफू मोहित भएको र खाना खाजा खुवाउन तयार भएको सापकोटाले बताए । अब उनको सडकमा अलपत्र परेकाहरुलाई राख्ने आश्रम बनाउने विचार छ । ‘कोही भोको नहुन् भन्ने अभियान म आफ्नै सम्पतिको बलमा जारी राख्न सक्छु भन्ने आँट पलाएको छ । यसका साथै सडकमा धेरै असक्त वृद्धवृद्धा र केटाकेटी देखिन्छ । उनीहरुलाई पनि एउटा राम्रो आश्रम बनाएर राख्ने सोच पलाएको छ’ पौडेलले भने ।

दुई वर्षअघि दसैंका बेलामा तीन दिन केही नखाएको बालक भेटिएपछि आफूलाई यो अभियान चलाउने सोच आएको पौडेलले बताए । ‘दुई वर्षअघि दसैं सकेलगत्तै म पसल खोल्न आउँदै थिएँ । एकजना बालकले दाई तीन दिन भयो, केही खाएको छैन साह्रै भोक लाग्यो भन्यो । दसैंजस्तो पर्वमा पनि बालक भोकै बसेको देखेपछि मेरो मनले यस्तो अभियान चलाउने निधो गरेको हो’ पौडेलले भने । सुरूमा आफ्नै पसल अगाडिको कँडेल चाट हाउसमा उनले यो सुविधा दिएका थिए ।

‘भरतपुरबाट चितवनका अन्य बजारका खाजा पसलमा पनि खाने व्यवस्था मिलाए । खर्च थेग्न गाह्रो भएन । विस्तारै देशका अरु भागमा पनि पुगे । खर्च धानिएकै छ’ पौडेलले भने । उनको परिवारमा आमा, श्रीमती र एक छोरा एक छोरी छन् । सबैले आफ्नो काममा सहयोग र समर्थन गरेको उनले बताए ।