मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साहित्य / कला   

जीवन, खुशी र अहंकार

जीवन, खुशी र अहंकार


चेखवले यो लोक छाडेको पनि शताब्दी बितिसक्यो, तर मलाई अहिले पनि मानवता उनले वार्ड नं ६ मा बन्द गरेर गएको आन्देइ्र एफिमीचसँगै कैदी छजस्तो लाग्छ । कहिलेकाहीं उसको बौलट्ठीपूर्ण क्रन्दन जेलका पर्खाल तोडेर बाहिरसम्म आउँछ तर हामी सब चुपचाप छौं किनकि हामी सबै स्वतन्त्र छौं र त्यसै हुन चाहन्छौं । हाम्रो स्वतन्त्रताका लागि कैयौं आन्द्रेइहरुले पागलखानाको चौघेरामा बसिरहनुपर्छ । जगत्को रीत तोडेर हामी उनीहरुको साथी बन्न जान सक्दैनौं ।
 
खै किन हो, केही दिनदेखि निद्रा पातलिएको छ । एक रात रातभर ननिदाइकनै सपना देखिरहें । भन्नुको मतलब निन्द्रामा पुग्नुअघिको तन्द्रा अवस्थामै सपनाहरु सुरु भए र हरेक सपना सिद्धिनेबित्तिकै ब्यूँझिहालें । हरेक सपनाको बीचमा अर्ध निद्रामा सोचिरहें, आज किन निद्रा पातलो छ ।
…………
मेरा दुइखाले पाठक साथीहरु छन् । जो पहिला पाठक र पछि साथी भए, उनीहरु सामान्यतः मेरो लेखाइप्रति गुनासो गर्दैनन्, गुनासो नभएर हो वा गुनासो गर्न चाहिने निकटताको अभावले हो, मलाई थाहा छैन । जो पहिला साथी भए र पछि पाठक बन्ने प्रयास गरे, उनीहरु इमान्दारीपूर्वक भन्छन्ः तिम्रो लेखाइ क्लिष्ट, लम्बेतान र बोझिलो छ, शुरुका र अन्तिमका केही अनुच्छेदबाहेक पढ्न नसकिने । म हाँस्छु तर कुनै वचन दिन्नँ कि उनीहरुका सुझाव व्यवहारमा लागू हुनेछन् वा छैनन् । यो मपाइँत्व शुरुमै किन गर्न परेको भने, यो आलेख शुरु गर्दा यो कति हजार शब्दमा तन्केर जान्छ, त्यसको मलाई अनुमान मात्र छ । त्यसैले छोटो र मिठोको स्वाद लिन चाहने साथी पाठकहरुका लागि बेलैमा बाहिरिने मौका दिने प्रयास हो यो ।
…………
 
कुनै बेला विज्ञानले ब्रम्हाण्डका तमाम रहस्यहरुलाई खुलस्त पार्ने विश्वास बोकेको म कालान्तरमा ससानो रहस्यवादी भएको छु । इश्वर भन्ने एकाइ होस् वा नहोस्, तैपनि संसारका सबै पाटाहरु बुझ्यौं भनेर मानिस जातिले दाबी गर्नु अहिले मलाई मिथ्या लाग्छ ।
 
रहस्यहरुका बीच पनि मानव जीवनको गुह्य कुरा पत्ता लगाउने मानिसहरुको प्रयास हजारौं वर्षमा पनि कत्ति कम भएको छैन । सृष्टि र मानव जीवनलाई धेरैले धेरै तरिकाले अथ्र्याएका छन् तर मलाई आन्तोन चेखव नामका प्रिय लेखकले खोजेको त्यस्तो अर्थ चित्त बुझ्दो लाग्छ ।
 
वार्ड नं छ शीर्षक कथामा चेखवले मानवीय अस्तित्वको सांगोपांगो शल्यचिकित्सा गर्न सफल भएका छन् । कथा असाधारण छैन, हामीबीच नै भए घटेका चरित्र र घटनाक्रमलाई उनले टपक्क टिपेका छन् । तर अस्तित्वका गम्भीर प्रश्नहरुको उक्त कथाले जुन सरलताका साथ उत्तर दिन्छ, त्यसले मलाई कायल बनाएको छ । सद्दे मानिसलाई कथामा जुन सरलता र स्वभाविकताका साथ पागल बनाएर पागलखानाका चार पर्खालभित्र कैद गरिन्छ, त्यो समग्र मानव जातिको कैदी जीवनको प्रतिविम्ब हो ।
 
कथामा एउटा पात्रलाई पागल बनाएपछि ऊ वरिपरिका सद्दे मानिसहरुको चरित्र झल्झलाकार भएर देखिन्छ । एउटा छ मूलपात्रको नजिकैको साथी जसले साथीलाई अक्करमा पारेर नाजायज आर्थिक एवं अन्य फाइदा लिन्छ अनि सामान्य मानसिक विचलन हुनासाथ उसलाई त्यसबाट बाहिर आउन मदत गर्नुको सट्टा हतार हतार झुक्याएर पागलखानामा लगेर हुलिदिन्छ । समग्र जगतमा जे जति खराबी छ, त्यो सबैको प्रतिनिधि चरित्र त्यही पात्र हो ।
 
अर्को छ, पागलखानाको मालिक, अर्थात् सुरक्षा गार्ड निकिता जो एउटा निर्धो पागल कैदीलाई दिनभर माग्न शहरमा जान छाडिदिन्छ तर साँझ ऊ आउनासाथ उसको मागीको कमाइ खोसेर लिन्छ र उसलाई रुवाउँदै कोठाभित्र धकेल्छ । उसले सधैं सलाम गर्ने गरेको शहरको एउटै डाक्टर जब असामान्य मानसिकताका साथ पागलखानामा ल्याइन्छ, पहिले उसले अरुलाई भन्दा केही फरक व्यवहार गर्न खोज्छ । तर जब उसको भावी कैदीले उसलाई त्यहाँको कानुन तोडेर मुक्त गरिदिन उसामू जिद्दी गर्छ, ऊ आफ्नो स्वभाविक स्वरुपमा फर्कंदै एउटा घातक मुक्का बजारेर भुइँमा पछारिदिन्छ ।
 
संसारमा व्यवहारिकताका नाममा निहित स्वार्थका लागि जति पनि गिर्न सक्ने सबै मानिसहरुको प्रतिनिधि हो निकिता । ग्रचो माकर््सले भनेझैं तिनको एउटा सिद्धान्त हुन्छ । उनले भनेका छन्ः दोज आर माइ प्रिन्स्पिल्स । इफ यू डन्ट लाइक देम, …. वेल, आइ ह्याव ओदर्स । भावानुवादः ती मेरा सिद्धान्त वा मान्यता हुन् । तिमीलाई ती मन पर्दैन भने, मसँग अरु सिद्धान्त छन् ।
 
चेखवले यो लोक छाडेको पनि शताब्दी बितिसक्यो, तर मलाई अहिले पनि मानवता उनले वार्ड नं ६ मा बन्द गरेर गएको आन्देइ्र एफिमीचसँगै कैदी छजस्तो लाग्छ । कहिलेकाहीं उसको बौलट्ठीपूर्ण क्रन्दन जेलका पर्खाल तोडेर बाहिरसम्म आउँछ तर हामी सब चुपचाप छौं किनकि हामी सबै स्वतन्त्र छौं र त्यसै हुन चाहन्छौं । हाम्रो स्वतन्त्रताका लागि कैयौं आन्द्रेइहरुले पागलखानाको चौघेरामा बसिरहनुपर्छ । जगत्को रीत तोडेर हामी उनीहरुको साथी बन्न जान सक्दैनौं ।
 
अर्को एउटा कथा छ, सादत हसन मन्टोको खोल दो शीर्षकको । भारतीय उपमहाद्वीपका यी अनुपम कथाकारले चेखवको उचाइमा रहेर मानव जीवनको रहस्योद्घाटन गरे भनेर मैले भन्न खोजेको हैन । तर उक्त कथामा सिंगो मानव जीवनको विरोधाभासलाई ज्यादै कलात्मक र मर्मस्पर्शी तरिकाले पस्केका छन् मन्टोले । १९४७बmउस मा भारत विभक्त भएर भारत र पाकिस्तान बन्ने  निर्मम समयको पृष्ठभुमिमा कथा सिर्जना गरिएको छ ।
 
भारतबाट पाकिस्तानका लागि हिंडेको मुस्लिम बाबुकी जवान छोरी भीडमा अचानक हराउँछे । शोकमा डुबेको बाबु पाकिस्तान पुग्छ र छोरीलाई खोजिदिन मुस्लिम स्वयंसेवीहरुको पाउ परेर अनुरोध गर्छ । उसले दिएको फोटोको मदतले भारत पुगेर उनीहरुले त्यो युवतीलाई दुरुस्त अवस्थामा फेला पार्छन् तर तिनीहरुको नियत यसबीच बदलिइसक्छ र सम्भव भएर पनि बाबुछोरीको पुनर्मिलन हुँदैन । फर्किसकेका ती युवकहरुलाई खै छोरी भनेर सोध्दासोध्दै थाकेको बाबुले एकदिन आश मार्छ ।
 
 
 
अचानक एक दिन अस्पतालमा जवान युवतीको लास ल्याइपुर्याइएको समाचार आउँछ । तीर हानेझैं बाबु अस्पताल पुग्छ र अँध्यारोमा लासको अनुहार ठम्याउने कोशिस गर्छ । मुखमा छोरीको स्वरुप देख्नासाथ तर्सिएको बाबु हठात् चर्को स्वरले कराउँछः खोल दो । अर्थात् झ्याल खोलिदेऊ ता कि मेरी छोरीको अनुहार ठम्याउन सकूँ । तर अब कथाले अकल्पनीय मोड लिन्छ । लास चल्मलाउँछ, उसका हात सुरुवालको इँजारमा पुग्छन् र ऊ सुरुवाल खोल्न थाल्छे ।
 
लेखकको तर्फबाट कथा त्यहीं सिद्धिन्छ । तर पाठकका लागि कथा अब शुरु हुन्छ । त्यो बाबु अब खुशी हुने कि दुखी७तिस छोरी ज्यूँदै छे, खुशी हुनुपर्यो तर त्यही छोरी हप्तौंदेखि अर्धचेत भइसकेर पनि बलात्कारीहरुको शिकार भइरहेकी छ । उसलाई यो पनि चेतना छैन अब ऊ अस्पतालको सापेक्षतः सुरक्षित वातावरणमा छ र उसको बाबु पनि सँगै छ । ऊ एउटा यन्त्र बनाइएकी छ ।
 
बाबुका लागि अझ अहं प्रश्न छः कसले बनायो उसकी छोरीलाई यन्त्र? तिनै सधर्मी जसलाई विश्वास गरेर उसले फोटो दिएर खोज्न पठाएको थियो । परधर्मीहरुसित सहअस्तित्व सम्भव भएन भनेर बनाइएको नयाँ राज्यमा सधर्मीहरुबीच के शान्ति र न्यायले राज्य गर्लान्? मुक्तिको सपना बोकेर रक्तकुण्ड पार गरेर गएको बाबुलाई अब आजीवन सताउने प्रश्न खडा भएका छन्ः आखिर क्रुरता र नृशंसता उस्तै रहने हुन् भने मानिसको कथित स्वतन्त्रता र स्वराजले के गर्यो?
 
नभन्दै पाकिस्तानको स्वतन्त्रताले आम मानिसलाई अहिलेसम्म पनि ती धेरै कुरा दिन सकेको छैन जसको अपेक्षा मानिसहरुलाई थियो ।
………..
सवा दिन । दुई बसाइ । विजयकुमारको खुशी पढेर सिद्धियो ।
 
पढियो पनि के भनुँ, त्यो अरु पुस्तकजस्तो पढाइ थिएन । करीब १५ घण्टा विजयकुमारसित संवाद गरेपछि पुस्तक सकियो ।
 
सकेर राति अबेर सुत्दा झट्ट निद्रा लागेन । लागेपछि पनि पातलो लाग्यो । रातभर घ्यू कमिलाले टोकेर मात्र हैन, मेरो मानसिक स्थितिले पनि गहिरो निद्रामा पुग्न दिएन । दिउँसो मात्र खाटको छेउमा मरेको र कमिलाले सिद्ध्याउन लागेको एउटा परेवाको पार्थिव शरीर भेटिएको थियो । शिकार गए पनि बन्धूहरु अझ हटिसकेका रहेनछन् ।
 
सदाको रीत तोड्दै बिहान मिर्मिरेमै उठेर मर्निङ वाक्मा गएँ । खै कहाँनिरबाट हो एउटा सेतो कुकुर मेरो अघिपछि गर्दै हिंड्न थालेछ । पछिल्लो बाह्र वर्षको अवधिमा यस खालको स्वतःस्फूर्त बिहानको हिंडाइ मेरो पहिलो थियो होला । जाडो मौसम लागेको संकेत गर्न हल्का कुहिरो जमिनमा झरेको थियो, अलिअलि शीत पनि परेकै थियो । देब्रेतिर सिरुको घाँस र दाहिनेतिर हिजोअस्ति जोतिएको जमीन पारेर शान्त र सौम्य बिहानमा यसरी हिंड्नुको आफ्नै मज्जा छ ।
 
तर मनमा भने विचारहरुको ज्वारभाटा उठेको थियो । मन उद्वेलित भएको अवस्थामा अक्सर यस्तै हुन्छ । विचारका तरंगहरु एकअर्कासित ठोक्किन पुग्छन् । बोल्नमा कमजोर भएको लघुताभासले होला सायद, म कुनै विचार मनमा लिएपछि त्यसलाई कसरी लेख्ने होला, कहाँबाट शुरु र अन्त गर्ने होला भनेर हुँडलिन्छु । आज भएको पनि त्यही हो ।
 
बाटो छेउ बकैना र आँपका बोटका लस्कर थिए । केही छिनमै एउटा नाम नभएको सुन्दर पहेंलो फूल आयो । र गयो । तरुल र गिठाका लहराले ढाकेको एउटा ससानो पिपलको बोट पनि आयो र गयो । एकै छिनमा अम्लिसोको झाङ र बाँसघारी पनि आए र गए । ढिकमुनि नहरमा नारायणीको पानी उत्तिकै सौम्यतापूर्वक बगिरहेको थियो । अर्को एक छिनमा अजंगको कटहरको रुख आयो र गयो ।
 
एकैछिनमा एक हुल कागहरु रुखहरुभन्दा धेरै उचाइमा टाढाको उडान भर्दै गरेका देखिए, शायद चाराको खोजीमा । तिनलाई हेर्दा लाग्थ्यो एक हुल जेट विमानहरु अर्को महादेशका लागि उडेका छन् ।
 
मसंग आएको कुकुर घरि अघि हुन्थ्यो, घरि पछि तर दोबाटोमा पुगेपछि मलाई पर्खेर बस्थ्यो । हुँदाहुँदै ऊ निवृत्त हुन झाडीमा गएर पछि परेको बेला मैले पनि उसलाई पर्खन थालें ।
 
यो थियो मिर्मिरे बिहानमा अचानक विकास भएको एउटा आत्मीयता दुई नमिल्दा जीवहरुबीच । तर आखिर आत्मीयता त आत्मीयता नै थियो । त्यसको कुनै भाषा थिएन ।
………………….
विजयकुमार एउटा टेलिभिजन प्रस्तोता भनेर मलाई थाहा थियो तर विशेष भनेरचाहिं हैन । दिशानिर्देश कार्यक्रमका बढीमा दुई वा तीन अध्यायमा केही मिनटका लागि टिभीमा देखिएका यी प्रस्तोता मजस्तो बन्न नसकेको पत्रकारका लागि प्रेरणाका स्रोत बन्ने त सम्भावना नै रहेन ।
 
त्यसै पनि म टिभी सेटलाई अरु थोरै मानिसहरुले झैं इडियटबक्स भन्न रुचाउँछु । मानिसको बचेखुचेको मौलिकता र सिर्जनात्मकता नाश गर्न यो भाँडोले जति अरु कुनै साधनले भुमिका खेलेको छैन । लाखौं वर्षपहिले बाँदरबाट मानिसमा आउँदा पुच्छर गुमाएको होमो स्यापिएन्सको विकासक्रममा टेलिभिजनको आविष्कार त्यस्तै अर्को महत्वपूर्ण परिघटना होजस्तो लाग्छ मलाई । जसरी अब पुच्छर नभएका मानिस पाउन अब गाह्रो छ, बिस्तारै त्यति नै गाह्रो हुनेछ टेलिभिजन नदेखेका मानिस पाउन । योमात्र किन ग्याजेटका रुपमा आउने हरेक नयाँ भौतिक सुविधासँगै बहुसंख्यक मानिसकहरुले सिर्जनात्मकता र छरितोपन गुमाएर नयाँ नयाँ पुच्छरहरु शरीरमा गाँस्छन्जस्तो लाग्छ मलाई ।
 
त्यसको अर्थ म टेलिभिजनबाट टाढा छु वा घृणा गर्छु भन्ने हैन, टेलिभिजन प्रस्तोतालाई अवमुल्यन गर्ने कुरा त परै जाओस् । अवसर जुटेसम्म म पनि ट्वाँ परेर इडियटझैं स्क्रिनको चर्तिकला हेरेर बस्छु ।
 
त्यसको अर्थ मौलिकता र सिर्जनशीलता नभए पनि टिभी चल्छन् भन्ने झन् हुँदै हैन । कला पस्कने अनेक माध्यममध्ये यो पनि एक हो । तर नाममात्रका कलाको बीचमा भराभर विज्ञापन ठोसेर मानिसलाई बच्चैदेखि यथार्थको धरातलभन्दा कोरा कल्पनाको जादुयी तर भ्रामक संसारमा पुर्याउने काम टेलिभिजनले सजिलै गर्छ । अप्राकृतिक भाव भंगिमामा अडेका र व्यापारिकबाहेक अरु कुनै प्रयोजन नभएका टेलिसिरियलहरुले नेपालका नारीहरुलाई दासानुदास बनाएर राखेका छन् भने कार्टुन भनिने धनाढ्यहरुका सिर्जनाले अनियन्त्रित रुपमा टेलिभिजन हेर्ने छुट पाउने बालबालिकाहरुको भविष्यमा खग्रास ग्रहण लगाइदिएका छन् ।
 
खैर, मेरो बहकिने बानी छ । विजयकुमारमा आउँदैछु । पछिल्लो समयमा मलाई उत्तिको रोमाञ्चित गर्ने सीमित किताबहरु थिए, यति छिटो पढिभ्याएको शायद यो एक मात्र । एउटा उत्कृष्ट कृति त्यो हो, जसमा प्रवेश गरेपछि त्यहाँ प्रयोग भएका शब्द निरर्थक हुन थाल्छन् र लेखकले प्रकट गरेको भावले सीधै पाठकको अन्तर्मनमा प्रवेश गर्छ, भावले भावसित संवाद गर्न थाल्छ ।
 
विनोद मेहताको आत्मकथा, अमिताभ घोसको सी अफ पप्पीज् र ओह्रान पामुकको स्नो । यी तीन हुन् मैले पछिल्लो समय सीधा लेखकको अन्तस्करणसित संवाद गरेका पुस्तकहरु ।
 
मेरो विचारमा ती कुनै कला वा कृति उत्कृष्ट हैनन् जुन उत्कृष्टताकै लागि बनाइएका हुन् । आइफोन कलाको एउटा अद्भुत नमूना हो, मानिसहरु हजार धक्का खाएर यसको नयाँ संस्करण बजारमा आएकै दिन लिन तयार हुन्छन् । तर यो उत्कृष्ट कला हैन, किनकि त्यो अब खाली एउटा साधन वा हतियार बनेको छ एप्पल कम्पनीका मालिकहरुको धेरैभन्दा धेरै पैसा कमाउने । यन्त्रका रुपमा त्यो उत्कृष्ट छ किनकि त्यसको उत्कृष्टतासँग त्यसको मूल्य जोडिएको छ । तर कलाका रुपमा त्यो उत्कृष्ट छैन ।
 
कला तब उत्कृष्ट हुन्छ, जब कलाकार कलाकै लागि समर्पित हुन्छ चाहे त्यसले उसलाई अकल्पनीय प्रसिद्धि दिलाओस् वा जेलको छिंडी र मृत्यू । कलाको उत्कृष्टताको अर्को पक्ष पनि हुन्छः त्यसको मदतले जगत्लाई केही उज्यालो र खुशी दिन्छ, चाहे त्यो देखियोस् वा नदेखियोस् । नेपालका र विश्वभरका सुन्दरी प्रतियोगिताका विजेताहरुले हालसम्म कला र आत्मविश्वासका नाममा प्रकट गरेका सबै स्वाङ र ढोंगहरुभन्दा एउटी नेपाली महिला सुनिता दनुवारले गरेको काम हजारौं गुना कलात्मक छ ।
 
विनोद मेहताले लखनउ ब्वायमा इतिहासको एक कालखण्डमा उत्तर भारतको आम जनजीवन जसरी झल्काए, त्योभन्दा प्रस्ट हुने गरी भारतीय मिडियाको सहजै नदेखिने पाटो खोतले । खोतल्नु मात्र ठूलो कुरा हैन, उनले वास्तविक जीवनमा सधैं त्यो गरे जुनबाट भारतीय मिडियाको बहुलता र बागीपना ज्यूँदो रह्यो । अहिले भारतीय मिडियाका धेरै बागीहरु उनका शिष्य नै नभए पनि  उनको पत्रकारिता जीवनबाट प्रेरित हुन् भन्दा अतिशयोक्ति नहोला । आफ्ना मूल्य मान्यताको रक्षाकै लागि सबैभन्दा बढीचोटि कलमीमा परेका यी सम्पादकले थालेको पत्रिका आउटलुकले अहिले उनी केन्द्रबाट बाहिरिंदासमेत तिनलाई आत्मसात् गरेको छ । उनले जीवनमा केही गरेका थिए र त टाउको उठाएर सत्य कुरा लेख्ने आँट गरे । सरल भाषामा लेखिएको सत्य भएकैले लखनउ ब्वाय एउटा सुन्दर कृति छ, त्यसमा लेखकको लेखनी कम र उनले आजीवन गरेको संघर्ष ज्यादा प्रतिविम्बित छ ।
 
अमिताभ घोषले सी अफ पप्पीज्मा जे लेखे, त्यसमा भारतीय उपमहाद्वीपको इतिहासका नदेखिएका पाटाहरु खोतलिएको छ । त्यसको लेखनीमा धेरै बिक्री हुने उपन्यास लेख्ने रहरको ज्यादै कम र ऐतिहासिक जिम्मेवारी निभाउने उत्तरदायित्वबोध कता हो कता ज्यादा छ । त्यो एउटा पुस्तक नलेखिएको भए भारतको इतिहास अधुरो हुन्थ्यो भन्न नमिल्ला तर इतिहासमा लेखिएका कोरा र मृतप्रायः शब्दहरुमा त्यो समयका सामाजिक, साँस्कृतिक र मनोवैज्ञानिक पाटाहरु थपेर प्राण भर्ने जुन काम उनले गरेका छन्, त्यो आफैंमा अद्वितीय छ । अंक गणीतिय हिसाबमा बुझिने ब्रिटिश साम्राज्यका चीनमाथिका अफिम युद्ध भनेर चिनिने दुई आक्रमणहरु कति निकृष्ट थिए भनेर बुझाउने यो उपन्यासजस्तो अर्को दस्तावेज इतिहासमा अन्त कतै फेला पर्दैन ।
 
अरु कसैलाई आदर्श थापेर भविष्य निर्माण गर्न पाइला चाल्नुअघि भारत आफैंले आफूलाई चिनोस् भन्ने उत्कट अभिलाषाले घोषले उक्त उपन्यास लेखेको प्रतित हुन्छ । आफ्नो कृतित्वलाई आफू बाँचेको समय र समाजसित जोड्ने र सान्दर्भिक बनाउने प्रयासमा त्यो खालको सफलताले नै उनको कृतिलाई उत्कृष्ट बनाएको हो ।
 
पामुकको स्नोबारे हालैमात्र एउटा समीक्षात्मक टिप्पणी लेखेकाले त्यो कुरा दोहोर्याउन मलाई मन छैन । तर यहाँ यति भनौं, इतिहासको खास कालखण्डमा बिलखबन्दमा परेको टर्कीको समाजलाई समस्याको जरोमा पुग्न पामुकले उक्त उपन्यासमार्फत् सघाउ पुर्याएका छन् ।
…………….
फेरि फर्कौं विजयकुमारतिर । पुस्तकमा कति तथ्यगत गल्ती वा कमजोरी छन्, ती गन्न म पढ्न बसेको थिइनँ । लेखनको बहावमा हुन पनि यो वा त्यो तथ्य गौण कुरा हुन्, त्यसै पनि यो इतिहास हैन ।
 
पुस्तकमा मदिरासित टाढिन लेखकले गरेको प्रयास बुझ्दा आफूलाई आफैं भाग्यमानीजस्तो लाग्यो । तीन दशकसम्म चियाको समेत लत नलगाई बस्न सकेकोमा कहिलेकाहीं यस्तै अवसरमा फुरुंग हुन मन लाग्छ । दारुबाज साथीहरुको रक्सीको सितन कुटुकुटु खाने लतचाहिं अवश्य लागेको छ । विजयकुमारको प्रसंगले मलाई थप घत पर्नुर्को अर्को कारण पनि छ ।
 
माथि उल्लिखत प्रिय लेखक मन्टोले पनि मदिरासित पारपाचुके गरेपछि भावना र दर्शन मिसिएको उत्कृष्ट निबन्ध लेखेका छन्ः ह्वाइ डु पिपल गेट ड्रन्क? अर्थात्, किन मानिसहरु रक्सीले चुर हुन्छन् । अनुभव, अध्ययन र दर्शनलाई सरस रुपमा घोलेर लेख्दै मन्टो भन्छन्ः
 
पिपुल डन्ट ड्रिंक टु थ्रो अफ देअर डिप्रेसीभ स्टेट टेम्पोररिली, अर टु ह्याब अ गुड टाइम बिकज दे थिंक वाइन इज अन एक्जीलिरेटिङ सब्सट्यान्स, ¤यादर दे ड्रिंक टु ड्राउन आउट द भ्वाइस अफ देअर कन्साइन्स । अर्थात्, धेरैले दाबी गर्ने गरेझैं मानिसले रमाइलोको लागि वा दुख भगाउन रक्सी पिउने गर्दैनन्, बरु आफ्नो अन्तर्आत्माको बोध वा विवेकको आवाजलाई दबाउन पिउँछन् । 
आफ्नो धारणालाई सारमा पुर्याउँदै मन्टो थप लेख्छन्ः
व्हेन लाइफ फेल्स टु अलाइन विद आवर कन्साइन्स, इट इज द कन्साइन्स द्याट इज ट्वीस्टेड एभ्री व्हीच वे टु अलाइन विद आवर लाइफ । अर्थात्, जब हाम्रो जीवन अन्तर्मनको विवकेसित तालमेल खाँदैन, हामीले जीवनलाई बदलेर विवेकसित मिलाउनको सट्टा हमेशा विवेकलाई हरेक किसिमबाट बंग्याएर, दबाएर वा अपभ्रंश गरेर त्यसलाई जीवनसित मेल खाने बनाउँछौं ।
 विजयकुमारको अनुभवले के देखाउँछ भने कन्साइन्सलाई भाँच्ने र बंग्याउने त्यो काम व्यक्ति, परिवार र समाजका लागि ज्यादै नै महंगो पर्छ, सम्बन्धित व्यक्तिका त कुरै छाडौं ।
 
त्यति हुँदाहुँदै पनि कुलतबाट फस्नमा उनले पाएको सफलता अरु सगोत्रीहरुका लागि बडो घत लाग्दो उदाहण हुनुपर्छ भन्ने मलाई लाग्छ ।
…………..
आठ महिनाअघिको कुरा । कोर्सको अन्तिम वर्षको अन्तिम परीक्षा आउन चार महिना बाँकी थियो । ती चार महिना मेरा लागि गर या मरका चार महिना थिए । तीन वर्षमध्ये साढे दुई वर्ष त दैनिक पोस्टिङ र अतिरिक्त क्रियाकलापमा बितिसकेका थिए, बाँकी दुई महिना पढ्ने बानी पार्न कोशिस गर्दा गर्दै । बाँकी चार महिना नपढ्नु भनेको असफलताको मुखमा जाकिनु हुन जान्थ्यो । असफलताले जीवनमा धेरै कुराको रुटिन छ महिना पर साथ्र्यो ।
 
टुप्पी कसेर पढौं भन्ने त्यो बेलामा ७नतसद्धेय गुरु गोविन्द के सी अनशनमा बस्नुभयो । दुनियाँले तोकेको जिम्मेवारीजस्तो लाग्ने पढाइलाई त्यागेर अन्तर्मनको कुरा सुनेर चल्दा हप्ता हप्ता गर्दागर्दै महिना दिन सरका दुई अनशनमा बिते । अरु आधा महिना फेरि टुपी पाल्दा र कस्दा अर्थात् पढ्ने बानी पार्दा गयो । अब बचे अढाइ महिना । तीन वर्षको कोर्स, दर्जनभन्दा बढी पाठ्यपुस्तक, बीसभन्दा बढी प्रयोगात्मक परीक्षाहरु । अब म चमत्कारको खोजीमा थिएँ ।
 
साथी अर्जुनले धेरै समयअघिदेखि पछ्याउँदै आएका गुरु ओशो रजनीशलाई कतै सुनेर प्रभावित भए पनि एउटा कुटिल पण्डितका रुपमा मैले सधैं तिरस्कार गर्दै आएको थिएँ । जीवन र जगत्बारे मजत्तिको जान्ने मानिसलाई ओशो भन्ने शब्दवाजले के नै पो थप देला र भन्ने मेरो दम्भ थियो ।
 
गर वा मरको स्थितिमा म हार खाएर साथीमार्फत् ओशोको शरण परें । ती एकाध महिनामा करीब नब्बे घण्टाका अडियो रेकर्डमध्ये सबैजसो सुनिभ्याएँ । पछि पत्ता लाग्यो, ती नब्बे घण्टा त ओशोका सारा प्रवचनका एक प्रतिशत पनि होइनन् । अन्ततः ओशोले ममाथि हैन, म आफैंले आफ्नो अहंकारमाथि विजय पाएको थिएँ एक हदसम्म । र अब मसित जति अहंकार बाँकी छ, त्यो छ भनेर स्वीकार्न पनि मलाई ओशोले नै सिकाए । अहिले जब क्रोध, अहंकार वा प्रसन्नताको बाढी मनभित्र आउँछ, म छेउमा टुक्रुक्क बसेर त्यसलाई हेरिरहेको हुन्छु ।
 
ओशोले मलाई पाठ्यपुस्तक पढ्नमा वा कुनै परीक्षण गर्नमा सघाएनन् । उनले खाली मलाई आफ्ना गतिविधिलाई निश्चित दुरीबाट बोधसाथ हेर्न सिकाए र तिनमा आफ्नो सम्पूर्णतालाई हराउनबाट रोक्न सिकाए । दिनभरको तनावपूर्ण पढाइपछि ओशोलाई सुन्दै सुत्दा त्यो तनावको ठाउँ एउटा फरक सकरात्मक ऊर्जाले लिन्थ्यो । कति रात त बिहानपखसम्म ओशो बोलिरहेका हुन्थे, आफ्नै तालमा ।
 
सद्गुरु शब्द मैले बुझ्ने गरी ओशोकै मुखबाट पहिलोपल्ट सुनें । वर्षौंको संघर्षबाट सिक्न सकिने कुरा उनीहरुले सापेक्षतः सहजताका साथ थोरै समयमा सिकाउन वा बोध गराउन सक्दारहेछन् भन्ने मेरो अनुपम आविष्कार पनि रह्यो त्यो ।
 
पढ्दै जाँदा विजयकुमार पनि ओशो र अर्का सद्गुरु नाम्खा रिम्पोचेका चेला भएको सम्झेपछि मेरो आफ्नै अनुभवका कारण मैले बुझें कि त्यस्तो गुरु–शिष्य सम्बन्धले उनलाई के दियो । एक वर्ष अघि मात्र मैले यस्तो प्रसंग पढेको भए भन्ने थिएँः कस्तो पाखण्डी रहेछ, चर्चित मानिसहरुसित सम्बन्धको फुर्ति लगाएर आफ्नो भाउ बढाउन खोज्ने ।
 
मेरो अर्को अनुभव के रह्यो भने, जसले आफ्नो अहंकारलाई ज्यूँका त्यूँ राखेर ल म अब आफैंलाई विजयकुमारसित तौलिन्छु, को सफल वा असल भनेर पढ्न बस्यो भने उसले खुशी पुस्तकभर अहंकारै अहंकार देख्छ । जब जब उसलाई अहंकारहरु टक्कराएको महसुस हुन्छ, त्यो एउटा अप्रीतिकर अनुभव हुन पुग्छ । त्यो हिसाबले मेरो अहंकार पहिले पनि त्यति ठूलो थिएन भन्ने विनोद मेहताको आत्मकथा पढ्दाको अनुभवले बताउँछः उनले एक ठाउँमा पनि आफ्नो कोरा बडप्पनका लागि शब्द खर्चेको जस्तो लागेको थिएन । त्यसमाथि ओशो सुनेको अनुभवले त मलाई यो पुस्तक अति नै सहजता र सरसताका साथ पढ्न सम्भव बनायो ।
 
उदाहरणका लागि विजयकुमार र राजा वीरेन्द्रबीच भएको खास संवादलाई पढ्दा तीनथरी अहंकारको द्वन्द्व हुने सम्भावना हुन्छः लेखकको, राजाको र पाठकको । आफ्नो अहंकारलाई अघि लाएर पढ्ने मानिसले पहिलो काम के गर्छ भने विजयकुमारको ठाउँमा आफूलाई राखेर राजासित संवाद गर्छ अनि यस्तो वार्ता हुनुपर्ने भन्ने मोटामोटी निश्कर्ष निकाल्छ । वार्ता त्योभन्दा जति फरक हुन्छ, उसमा त्यति नै अप्रियता र तिरस्कारको भाव पैदा हुन्छ । त्यस्तो पढाइपछि प्रीतिकर अनुभव हुनु सम्भव हुँदैन ।
 
अहंकार नभएको वा अहंकारबारे बोध भएको मानिसले त्यो वार्ता पढ्नु अघि लेखक र राजा दुवैलाई समान मानव र आफूलाई पनि तेस्रो उत्तिकै समान मानवका रुपमा राखेर पढ्छ र उसका लागि संवादको भावबाहेक अरु कुनै कुरा महतवपुर्ण लाग्दैन र त्यसले छुँदैन ।
……….
मानिसलाई जीवनमा अक्सर त्यस्तो चीजको न्यास्रो हुन्छ जुन उसले चाहेर पनि प्राप्त गर्न सकेको हुँदैन । एसएलसीताका जीवनको लक्ष्य शीर्षकमा निबन्ध लेख्दा मैले आफ्नो लक्ष्य सफल लेखक वा दार्शनिक बन्ने हो भनेर लेख्थें । मेरो विचारमा लेखन वा दर्शनको माध्यमबाट धेरै मानिसको जीवनमा परिवर्तन गर्न सकिन्छ जस्तो लाग्थ्यो ।
 
कल्पनाको हवाइ उडान र यथार्थको निर्मम गहिराइबीच तालमेल नहुँदा मैले व्यक्तिगत जीवनमा धेरै वर्ष हण्डर खाएर बिताएँ । ती वर्षहरुमा म के बन्न कहाँबाट हिंडेको थिएँ र केचाहिं यथार्थमा बन्दैछु भन्ने कुरा मनमा आउने कुरै भएन ।
 
संसार बदल्ने उदात्त उद्देश्य बोकेर हिंडेको म आफ्नै लागि बाटो पहिल्याउन नसकेर किंकर्तव्यविमुढतामा अल्झिएँ ।
 
तैपनि बीचबीचमा खास गरी मनभित्र हुण्डरी चलेको बेला कलम वा किबोर्ड चलाउन छाडेको थिइनँ । बिस्तारै ब्लगिङ गरेर ससानो पत्रकार बनेको भ्रम पाल्न थालें र ब्लगको अबाउट मी खण्डमा आफूलाई क्वाजी–जर्नालिष्ट भनेर लेखें जुनको ठेट नेपाली के हुन्छ मलाई थाहा छैन यद्यपि देखावटी पत्रकार भनेर भन्न अलिअलि मिल्ला ।
 
भविष्यमा के होला थाहा छैन, तर हालका लागि म आफूलाई क्वाजी–जर्नालिस्ट नै ठान्छु । त्यसले गर्दा नेपालको, दक्षिण एसियाको र विश्वकै सञ्चार जगत्प्रति मेरो तीव्र चासो छ ।
 
पछिल्लो दशकभर त्यहाँका वैकल्पिक धारका मानिने कमन ड्रिम्स र टम डिस्प्याचलगायतका धेरै वैकल्पिक सञ्चार माध्यमहरुको संगत गरेकाले पश्चिमा देशका मूल धारका भनिने मिडिया हाउसबारे मलाई धेरथोर जानकारी छ । भारतीय मिडियाबारे विनोद मेहताको आत्मकथासँगै न्यू योर्करका लागि केन औलेट्टाले गरेको सिटिजन जैन्स शीर्षकको आवरण कथाले धेरै प्रकाश पारे ।
 
नेपाली मिडियाका नदेखिने पाटाबारे त्यो विश्वसनीयतासाथ  बोल्ने आवाजको मलाई लामो समयदेखि खोजी थियो । मलाई अनपेक्षित फल हात लागेजस्तै भयो जब विजयकुमारको पुस्तकको एक खण्डमा बिस्तारसाथ असाध्य दुर्लभ कुरा फेला परे । ती थिए नेपालका प्रमुख प्रकाशक र सम्पादकहरुसँग उनले गरेका अनौपचारिक पाराका तर असाध्य सान्दर्भिक कुराहरु ।
 
भारतीय मिडियाबारे विनोद मेहताको आत्मकथाले जे दियो, त्यसको ससानो रुप विजय कुमारको पुस्तकको उक्त अध्यायले मलाई दियो । म भोलि क्वाजीबाट साँच्चिकैको पत्रकार बन्न चाहें भने त्यो दुर्लभ जानकारीका लागि विजयकुमारप्रति थप अनुगृहित हुनेमा शंका छैन ।
…………….
अन्तमा, विजयकुमारको किताब उत्कृष्ट भनेर त्यसको विज्ञापन गर्न म बसेको हैन । त्यो झुर छ भनेर त्यो पढिरहँदा कुनै क्षणमा पनि मलाई लागेन । त्यो राम्रो र पठनयोग्य छ भनेर भन्ने आधारचाहिं मसँग छ । त्यसका लागि पुस्तकमा प्रस्तुत सयौं घटना, प्रसंग वा अभिव्यक्ति सही वा गलत थिए, त्यो मैले मापन गर्न सक्दिनँ र त्यो गर्नु जरुरी छजस्तो पनि लाग्दैन ।
 
पुस्तकलाई राम्रो भन्ने मेरो आधार के हो भने, जर्ज अर्वेलको एउटा विख्यात भनाइ छः द ग्रेट एनेमी अफ क्लियर ल्यांग्वेज इज इन्सिन्सियरिटी । त्यसको भावानुवाद यस्तो हुन सक्लाः स्पष्ट र बोधगम्य भाषाको शत्रु कपट वा पाखण्ड हो । एउटा तथ्यलाई बंग्याएर अर्कै बनाउन भाषालाई तोडमरोड गरेर लेखनलाई क्लिष्ट बनाउनुको विकल्प छैन । अर्को रुपमा भन्नुपर्दा, सत्यलाई इमान्दारितापुर्वक भन्न सरल भाषा काफी हुन्छ ।
 
त्यसैले दुई बसाइमा खुशी पढिसकेपछि मेरो निश्कर्ष के रह्यो भने विजयकुमारले इमान्दार नभएर कपट वा पाखण्डपूर्वक यो लेखेको भए त्यसरी सरल प्रवाहमा त्यत्तिको पुस्तक तयार हुने थिएन । पत्रकारितालाई जीवनमा सम्भावित चोरबाटोको रुपमा दाउ हेरिरहेकाले नेपाली मिडियाबारे उनले प्रकाश पारेको अध्याय मेरा लागि अधिक प्रभावशाली रह्यो जुन आम पाठकका लागि त्यसो नहुन सक्छ । पुस्तकका बाँकी भागचाहिं सबै शिक्षित नेपालीहरु र खास गरी मध्यम वर्गका महत्वाकांक्षी युवाहरुका लागि ज्यादै पठनीय छन् ।
……..
जीवनमा अफ्ठ्यारा घुम्तहिरुमा हिंडिरहँदा मैले कुनै क्षणमा पलायनलाई एउटा विकल्पको रुपमा कल्पना गरेको थिएँ, त्यसलाई यथार्थमा बदल्ने आँट गरिननँ, त्यो बेग्लै कुरा हो । त्यसबेला लाग्थ्योः मेरा समग्र दुखहरुको कारण मेरो वरपरको वातावरण हो, यसबाट साहसपूर्वक बाहिरिएँ भने नयाँ दुख आउलान् तर तत्क्षणका दुरुह दुखहरु गायब भएर जानेछन् । कति गलत थिएँ म ।
 
पलायनवादलाई आलोचना गर्न मात्र ओशोले लाखौं शब्द खर्चेका छन् । उनी भन्छन्ः भाग्नु समस्याबाट मुक्ति हैन । जीवनको सौन्दर्य होस् वा मोक्ष, सबै हाम्रो वरपर छ । जीवनका प्रिय र प्रीतिकर पाटाहरुबाट नतर्केरै पनि मानिसले साधनामार्फत् जीवनमा शान्ति र सन्तोष अनुभव गर्न सक्छ । त्यस्तो साधना हिमालयको गुफामा गर्नुभन्दा मानिसहरुको भीडबीच गर्न सक्नुपर्छ भन्छन् ओशो ।
 
मैले व्यवहारमा बडो मुस्किलसाथ अनुभव गरिरहेको यो तथ्यलाई ओशोल