ड्यालस (अमेरिका) । अमेरिकाका बिभिन्न राज्य तथा शहरहरुमा रहेका नेपाली समुदायले शनिबार जनैपूर्णिमा नेपालमा जस्तैगरि मनाएका छन् ।
ड्यालस, ह्युस्टन, अस्टिन, सानफ्रान्सिस्को, लसएञ्जलस, डेनभर, मनासस, न्यूयोर्क, बाल्टिमोर लगायतका स्थानमा रहेका मन्दिरहरुमा जम्मा भएर नेपालीहरुले पर्व मनाएका छन् । शनिबार टेक्ससको ड्यालसमा रहेको पशुपतिनाथ मन्दिरमा पाँचहजार भन्दा बढीले दर्शन गरेर जनै फेर्ने, रक्षावन्धन ग्रहण गरेका छन् ।
नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रका आइटी कोअर्डिनेटर जीवन घिमिरेका अनुसार शनिबार बिहानदेखि साँझसम्मै मन्दिरमा भक्तजनहरुको ठूलो र उत्साहजनक भीड थियो ।
‘बिहानको लाइन हेर्दा र साँझसम्मको हिसाब गर्दा पाँचहजार भन्दा बढीले मन्दिरमा दर्शन गरेर रक्षावन्धन ग्रहण गर्नुभएको अनुमान हामीले गरेका छौँ’ घिमिरेले भने ।
बिहान ८ बजेदेखि सुरु भएको रक्षावन्धनमा दिउँसो दुई बजेसम्म अत्यधिक सहभागिता थियो । रक्षावन्धनका लागि बिहानको शत्रमा ६ जना पण्डित पुरोहितको व्यबस्था मन्दिरले गरेको थियो । साँझको समयका लागि तीनजनाको व्यबस्था गरिएको थियो ।
दर्जनौ स्वयम्सेवकहरुले निकै खटेर लाइन व्यबस्थापन, क्वाँटी वितरण गरेका थिए ।
उता टेक्ससको ह्युस्टन, अस्टिनमा पनि जनैपूर्णिमाको लागि हजारौं नेपालीहरु सहभागी भएका थिए । त्यस्तै नेपालीहरुको बाक्लो बसोबास रहेको नर्दन भर्जिनियाको मनासस, बाल्टीमोरमा पनि ठूलो संख्यामा नेपालीहरु मन्दिरमा गएर पण्डित, पुरोहितबाट टीका लगाउनुका साथै रक्षावन्धन, जनै ग्रहण गरेका थिए ।
पछिल्लो समयमा अमेरिकाका बिभिन्न शहरहरुमा स्थापना भएका मन्दिर र पण्डित, पुरोहितका कारण नेपालीहरुले नेपालकै सरह चाडपर्वहरु मनाउने अवसर पाएका छन् ।













प्रतिक्रिया