अमेरिका, बोस्टन। गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, (एनआरएनए, एनसिसि) अमेरिकाको नेतृत्व लिन चार आकाङ्क्षी चुनावी मैदानमा होमिएका छन्। निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार, आगामी दुइ वर्षे कार्यकाल (सन् २०२५–२७)का लागि यही आउँदो अगस्ट १६ र १७, २०२५ मा निर्वाचन प्रक्रिया अनुसार मतदान हुने भएको छ।
अध्यक्ष पदका लागि उमेदवारी दिएर चुनावी मैदानमा आमनेसामने हुनेहरुमा वर्तमान कार्यसमितिका उपाध्यक्ष भानु खरेल, महासचिव रामहरि अधिकारी, रामजि(राज) आचार्य र सतेन्द्र के साह रहेका छन्। बासु फुलारा निर्वाचन प्रमुख र प्रिय रन्जन दाहाल, बिनोद सुवेदी, टुक रेग्मी र खड्ग उप्रेति सदस्य रहेको निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार निर्वाचन प्रक्रियामा भाग लिएर यि चार आकाङ्क्षीले अध्यक्ष पदका लागि उमेदवारी दिएका हुन्।
निर्वाचन कार्यतालिका अनुसार मतदानको मिति नजिकिदै गर्दा चुनावी चर्चाको पारो पनि दिन प्रतिदिन तात्दै गइरहेको छ। अध्यक्षका आकाङ्क्षीहरु आआफ्नो समूह नै बनाएर चुनावी प्रचारप्रसारमा होमिएका छन्। आचार्य र साहले खुलेरै आफ्नो छुट्टै समूह बनाएर अघि बढेको नदेखिए पनि आन्तरिक साँठगाँठ भने गरिरहेको श्रोतले जनाएको छ। तर, भानु खरेल र रामहरि अधिकारी भने खुलेरै आ-आफ्नो समूह नै बनाएर चुनावी प्रचारप्रसारमा जुटिरहेका छन्।
अध्यक्ष पदका प्रत्याशी भानु खरेलले एकता, गैरआवासीय नेपाली नागरिकता कार्यान्वयन, लगानी, पारदर्शिता, जवाफदेहिता, नेपाली भाषा, धर्म, संस्कृति संरक्षण तथा संवर्द्धन लगायत विषयहरुलाई चुनावी प्रचारप्रसारको दौरानमा प्राथमिकताका साथ उठाइरहेका छन्। उनको समूहबाट पदाधिकारी पदहरु : वरिष्ठ उपाध्यक्षमा सरोज सिग्देल, उपाध्यक्षमा विष्णु बराल, बल राइ, एकदेव शर्मा र चतुर(सिके) पराजुली रहेका छन्। त्यसैगरी, महिला उपाध्यक्षमा दूर्गा तिवारी, युवा उपाध्यक्षमा नवराज न्यौपाने, महासचिवमा अनुप खनाल, सचिवमा बासुदेव भट्ट र कोषाध्यक्षमा महेन्द्र बस्नेत निर्वाचनमा होमिएका छन्।
चुनावी प्रक्रियाको दौरानमा महिला सचिवमा लक्ष्मी थापा र सहकोषाध्यक्षमा मोहन कुसारी निर्विरोध निर्वाचित भएका छन्। उक्त पदहरुमा एकल उमेदवारी परेकाले थापा र कुसारी निर्विरोध निर्वाचित भएको जनाइएको छ। तर, यसको निर्वाचन आयोगले आधिकारिक घोषणा गर्न भने बाँकी नै छ।
त्यसैगरी, रामहरि अधिकारीले संस्थागत सुधार, प्रवासी नेपाली लक्षित कार्यक्रम, एकता, एनआरएनए नागरिकता, दोहोरो कर निति, लगानीमा प्रोत्साहन तथा नेपालसंगको सम्बन्धमा सुधार लगायत विषयहरुलाई चुनावी मुद्दाका रुपमा अघिसारेका छन्। आफ्नो नेतृत्वमा समूह नै बनाएर चुनावमा होमिएका अधिकारीको समूहबाट वरिष्ठ उपाध्यक्षमा सन्तोष पहरी, उपाध्यक्षमा डाक्टर गङ्गाधर आचार्य, विजय चौधरी, आङ् छिरिङ शेर्पा, बिशाल कार्की, महिला उपाध्यक्षमा गीता बजगाँई, युवा उपाध्यक्षमा सुबोध रेग्मी, महासचिवमा तेज बिनोद पौडेल, सचिवमा सूर्य बस्ताकोटी र कोषाध्यक्षमा दिपक भण्डारीले उमेदवारी दिएका छन्।
रामजि(राज) आचार्य भने देखिने गरी समूह नै बनाइ सार्वजनिक गरेर चुनावी मैदानमा होमिएका छैनन्। उनले एनआरएनएको मूल नारा ‘एक पटकको नेपाली, सधैका लागि नेपाली’ लाई जोड दिदै प्रवासी नेपालीहरुले वंशजको आधारमा नेपाली नागरिकता पाउनु पर्ने विषयलाई आफ्नो प्रमुख चुनावी मुद्दा बनाइरहेका छन्।
अध्यक्ष पदका अर्का आकाङ्क्षी सतेन्द्र के साह पनि अध्यक्ष बन्ने लक्ष्यका साथ चुनावी रणनिति बनाउदै प्रचारप्रसारमा होमिएका छन्। उनले पारदर्शिता, जवाफदेहिता, एकता र संस्थागत सुधारलाई चुनावको प्रमुख मुद्दा बनाएका छन्। उनले पनि खुलेर आफ्नो समूह बनाइ चुनावी प्रचारप्रसार गरिरहेका छैनन्।
आउदो अगस्ट १६ विहान १० बजे (पूर्वीय समय) देखि १७ विहान १० बजेसम्म(पूर्वीय समय) मतदान हुने निर्वाचनमा, वरिष्ठ उपाध्यक्ष पदमा ३ जना, उपाध्यक्षमा १३ जना, महिला उपाध्यक्षमा ३ जना, युवा उपाध्यक्षमा ३ जना, महासचिवमा ३ जना, सचिव (खुला) मा ४ जना, महिला सचिव १ जना( निर्विरोध), कोषाध्यक्षमा ३ जना, सहकोषाध्यक्षमा १ जना(निर्विरोध), युवा संयोजकमा २ जना, महिला संयोजकमा २ जना र बोर्ड सदस्यमा २३ जनाको उमेदवारी परेको निर्वाचन आयोगले जनाएको छ। निर्धारित निर्वाचन कार्यतालिका अनुसार निर्वाचनमा भाग लिएर मतदान गर्न उमेदवारहरु, निर्वाचन समिति, कार्यसमिति र सरोकारवालाहरुले मतदाताहरुलाई आव्हान गरेका छन्।
एनआरएनए, एनसिसि, अमेरिकाका अध्यक्ष डाक्टर अर्जुन बन्जाडेले बासु फुलारा नेतृत्वको निर्वाचन आयोगले तय गरेको निर्वाचन कार्यतालिका अनुसार निर्वाचन प्रक्रिया अघि बढिरहेको जानकारी दिए। उनले संस्थाको विधान र संस्थागत निर्णय अनुसार नै निर्वाचन प्रक्रिया अगाडि बढिरहेको दाबी गर्दै दुविधामा नपरी निर्वाचनमा भाग लिन सबै सदस्यहरुलाई अनुरोध गरेका छन्। निष्पक्ष र विश्वसनीय निर्वाचन सम्पन्न गर्ने उद्देश्यले मतदान गर्ने बेलामा सदस्यको पहिचान प्रमापिकरण गर्न उपयुक्त विधि अपनाउनका लागि कार्यसमिति र निर्वाचन समितिले मिलेर काम गरिरहेको जानकारी दिदै अध्यक्ष बन्जाडेले त्यसबारे छिट्टै सदस्यहरुलाई आधिकारिक जानकारी गराइने बताए।
उता, बद्रि केसी नेतृत्वको गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद(एनआरएनए, आइसिसि) ले फुलारा नेतृत्वको निर्वाचन आयोगलाई मान्यता नदिएर डाक्टर राजेन्द्र घिमिरेको संयोजकत्वमा चिरञ्जीवी ढकाल, टिबी कार्की, प्रितम श्रेष्ठ, होम पाण्डे, प्रकाश सापकोटा र रजनी प्रधान सदस्य रहेको निर्वाचन आयोग गठन गरेको थियो। उक्त आयोजले गत जुलाई २७ र २८, २०२५ मा निर्वाचन सम्पन्न गरिसकेको र निर्वाचनको क्रममा विभिन्न पदहरुका लागि एकल उमेदवारी परेको जनाउदै अध्यक्षका उमेदवार बिकास उप्रेतिसहित अन्य पदमा उमेदवारी दर्ता गरेकाहरुलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको थियो।
संघको वर्तमान कार्यसमितिको कार्य अवधि समाप्त हुने मिति नजिकिदै गर्दा संघको विधान अनुसार जुलाई ३१,२०२५ भित्र निर्वाचन सम्पन्न गरिसक्नु पर्छ भन्ने विषय निकै पेचिलो बनेकाले विवाद शृजना भएको थियो। डाक्टर घिमिरे नेतृत्वको निर्वाचन आयोगले घोषणा गरे अनुसार विकास उप्रेतिको नेतृत्वमा गठित समिति नै एनआरएनए, एनसिसि, अमेरिकाको आधिकारी कार्यसमिति रहेको बन्द्री केसी नेतृत्वको एनआरएनए, आइसिसिले जिकिर गरेको छ। र, उप्रेतिले पनि आफ्नो नेतृत्वमा रहेको एनआरएनए, एनसिसि, अमेरिकाको कार्यसमिति नै आधिकारिक रहेको दाबी गर्दै आफ्नो नेतृत्वको कार्यसमिले सपथ ग्रहण गरेर काम सुरु गरिसकेको जनाएका छन्।












प्रतिक्रिया