नेपाली राजनीतिमा फेरि एकपटक निर्वाचनको सरगर्मी बढेको छ । संवैधानिक व्यवस्थाअनुसार आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै छ । यस महाकुम्भलाई केवल सत्ता परिवर्तनको प्राविधिक प्रक्रियाका रूपमा मात्र नभई लोकतन्त्रको प्राणवायुका रूपमा बुझ्न आवश्यक छ । नागरिकले आफ्नो सार्वभौम अधिकारको प्रयोग गर्ने यो एउटा यस्तो ऐतिहासिक मौका हो, जहाँ शक्तिको वास्तविक स्रोत जनताको हातमा आइपुग्छ । यस्तो बेला मतदाताको विवेकपूर्ण एउटा निर्णयले आगामी पाँच वर्षका लागि मात्र होइन, समग्र देशको भविष्यको दिशा नै निर्धारण गर्ने सामथ्र्य राख्दछ । एउटा निर्वाचन मात्र लोकतन्त्रको सन्दर्भमा सबैथोक होइन, तर लोकतन्त्रलाई जिवन्त राख्ने र नयाँ पुस्तालाई यसको दायित्व सुम्पने महत्त्वपूर्ण क्षण भने पक्कै हो ।

यसर्थ, निर्वाचन लोकतन्त्रको महोत्सव हो । यसले समाजमा विद्यमान विविध विचार र असहमतिहरूलाई प्रक्रियागत रूपमा व्यवस्थापन गर्दै सामाजिक सद्भाव र वैचारिक सहअस्तित्वलाई अझ गहिरो र मजबुत बनाउने नेतृत्वको खोजी गर्छ । त्यो नवीन नेतृत्वलाई निश्चित कार्यभार सुम्पिन्छ । त्यसकारण निर्वाचन नागरिकलाई प्राप्त एउटा ठूलो अवसरका रूपमा पनि चित्रित गर्न सकिन्छ । यद्यपि, यो अवसरको पूर्ण सदुपयोग गर्नका लागि आममतदाताले सचेत र विवेकपूर्ण निर्णय लिनु अनिवार्य सर्त हो । जबसम्म मतदाताहरू भावना, प्रलोभन वा निहित स्वार्थबाट मुक्त भएर निर्णय गर्दैनन्, तबसम्म लोकतन्त्रको वास्तविक फल प्राप्त हुनसक्दैन । यसबारे गम्भीर भएर सोच्नुपर्छ ।
सूचना प्रविधिको चुनौती र मतदाताको दायित्व
आजको युग सूचना प्रविधिको तीव्र विकासको युग हो । यो प्रविधिले मानव जीवनलाई सहज बनाएको छ, तर निर्वाचन जस्तो संवेदनशील समयमा यसले भयानक चुनौती पनि थपेको छ । यस्तो समयमा आउने सूचनाको बाढीले गलत, भ्रामक र नियोजित सूचनाको प्रसार गर्छ, जसले लोकतन्त्रका लागि ठूलो खतरा उत्पन्न गराउन सक्छ । सामाजिक सञ्जाल र ‘डिजिटल प्लेटफर्म’मार्फत फैलाइने झुट्टा खबर, घृणा फैलाउने ‘हेट स्पिच’ र अत्याधुनिक प्रविधिको दुरुपयोग गरी बनाइएका ‘डिपफेक भिडियो’ हाम्रो मोबाइलको ‘स्क्रिन’मा सजिलै आइपुग्छन् ।
विभिन्न अध्ययनले देखाएका छन् कि निर्वाचनको मुखमा यस्ता सामग्रीहरूको उत्पादन र वितरण तीव्र गतिमा बढ्छ । यसको मुख्य उद्देश्य मतदाताको मनोविज्ञानलाई प्रभावित पारेर गलत धारणा बनाउन उत्प्रेरित गर्नु हो । यस्तो बेला भावनामा बगेर वा त्यस्ता अप्रमाणित कुराको आधारमा धारणा बनाउनु नागरिक र राष्ट्र दुवैका लागि खतरनाक हुनसक्छ । त्यसैले निर्वाचनको यस समयमा मतदाता अझ बढी जिम्मेवार र सतर्क हुन आवश्यक छ । हामीले कुनै पनि सूचनालाई विश्वास गर्नुअघि वा त्यसलाई अरूलाई पठाउनुअघि, त्यसको सत्यता प्रमाणित गर्नैपर्छ । हरेक मतदाताले गलत सूचनाले हाम्रो लोकतन्त्रलाई भ्रमित बनाउँछ, हामीलाई गलत निर्णय लिन उत्प्रेरित गर्छ र जसको मूल्य देशले वर्षौंसम्म चुकाउनुपर्ने हुन्छ भन्ने कुरा ख्याल गर्नुपर्छ । तसर्थ, हामी आफू पनि नझुक्किऔँ र अरुलाई पनि नझुक्काऔँ-सत्यको पक्षमा दृढतापूर्वक उभिऔँ ।
राजनीतिको वास्तविक धर्म र नागरिक संलग्नता
निर्वाचनको कोलाहलबीच राजनीतिको वास्तविक परिभाषा र यसको उद्देश्यमाथि पनि विमर्श हुन जरूरी छ । राजनीति भनेको निषेध, मुठभेड वा व्यक्तिगत सत्ता प्राप्तिको खेल मात्र होइन । विगतमा संकुचित अर्थमा राजनीतिलाई हेरेकाले नै आज समाजमा वितृष्णा फैलिएको छ । वास्तविक रूपमा राजनीति समाजमा सद्भाव खोज्ने सोच हो, सामूहिक रूपमा समस्याको पहिचान गर्ने र त्यसको समाधान तर्फको सङ्कल्प हो । राजनीति निर्णय प्रक्रियामा जनताको सार्थक सहभागिताको खोजी, नीति तथा कानुन निर्माणमार्फत समाजलाई सही दिशातर्फ लैजाने पवित्र प्रयास हो ।
लोकतन्त्रमा असहमतिहरू स्वाभाविक हुन्, तर राजनीतिले ती असहमतिलाई संवादमार्फत समाधानतर्फ डो¥याउने बाटो देखाउन सक्नुपर्छ । यो सहकार्यको दायरा फराकिलो बनाउने कला पनि हो, न कि प्रतिशोध लिने संयन्त्र । यसैगरी सचेत नागरिक समृद्ध लोकतन्त्रका आधारस्तम्भ हुन् । नागरिकहरूको सक्रिय, रचनात्मक र निरन्तर संलग्नताविना कुनै पनि राजनीतिक यात्रा अपूरो हुन्छ । निर्वाचन त केवल एउटा माध्यम हो, तर लोकतान्त्रिक जागरणको पक्षमा अविरल प्रयत्न जारी राख्नु नै सच्चा नागरिकको धर्म हो ।
विगतको समीक्षा र भावी मार्गचित्र
आसन्न निर्वाचन मतदाताका लागि विगतको समीक्षा गर्ने र भविष्यको खाका कोर्ने कसी पनि हो । हामीले यसपटक भ्रममुक्त भएर मतदान गर्नुपर्छ । राजनीतिक दलहरूका घोषणापत्र, उनीहरूको विगतको आचरण र उम्मेदवारहरूको योग्यताको वस्तुनिष्ठ मूल्याङ्कन हुन जरूरी छ । खासगरी विगतमा राजकीय पद र जिम्मेवारीमा रहँदा अनियमिततामा मुछिएका, नैतिक आचरण गुमाएका वा आफ्ना कर्तुतवाट चोखिनका लागि मात्र उम्मेदवार भएकाहरूलाई आफ्नो मतमार्फत जवाफ दिनु वा पराजित गर्नु सचेत मतदाताको कर्तव्य पनि हो । यस्ता तत्वहरूले लोकतन्त्रको जगलाई कमजोर बनाउँछन् भन्ने हेक्का राखेर आफ्नो निर्णय लिनसक्नु पनि सचेत मतदाताको दायित्व हुन्छ ।
नेपालको सन्दर्भमा आर्थिक भ्रष्टाचार जस्तै नीतिगत भ्रष्टाचार अर्को ठूलो चुनौतीको रूपमा देखापरेको छ । निश्चित व्यक्ति वा समूहको स्वार्थका लागि राज्यको नीति वा कानुन नै परिवर्तन गर्ने प्रपञ्चहरूलाई यो निर्वाचनमार्फत ‘उदाङ्गो’ गर्दै असफल पार्न आवश्यक छ । जबसम्म कानुन बनाउने ठाउँमा स्वच्छ छवि र उच्च नैतिक धरातल भएका प्रतिनिधिहरू पुग्दैनन्, तबसम्म सुशासनको कल्पना कोरा कागजमा मात्र सीमित रहन्छ भन्ने कुरा मत हाल्नुअघि हरेक मतदाताले सोच्नुपर्छ ।
मर्यादित राजनीति र परिपक्व नेतृत्वको खाँचो
राजनीतिलाई एउटा मर्यादित क्षेत्र र यसको अभ्यासलाई वास्तविक रूपमा परिणाममुखी तुल्याउनका लागि हामीले अब परम्परागत शैलीबाट माथि उठ्नै पर्छ । व्यक्ति वा दलप्रतिको अन्धभक्तिभन्दा माथि उठेर विचार र एजेन्डामा आधारित राजनीतिको दरिलो पैरवी गर्नु आजको आवश्यकता हो । कुन दलले देशको आर्थिक–सामाजिक रूपान्तरणका लागि कस्तो खाका ल्याएको छ भन्ने आधारमा जनमत निर्माण हुनुपर्छ ।
समयको माग र विश्व परिवेशलाई बुझ्न सक्ने परिपक्व तथा दूरदर्शी नेतृत्वको अभ्युदयका लागि वातावरण तयार पार्नु, त्यस्ता उम्मेदवारलाई समर्थन गर्नु सचेत नागरिकको साझा र अनिवार्य दायित्व हो । नेतृत्वमा पुग्ने व्यक्तिको योग्यता, दृष्टिकोण र निर्णय क्षमताले नै राष्ट्रको समृद्धि निर्धारण गर्छ । हामीले यो बिर्सनु हुँदैन कि समाजमा सार्थक र सकारात्मक परिवर्तन ल्याउनका लागि हाम्रो आफ्नै स्वच्छ विवेक र सही–गलत छुट्याउन सक्ने क्षमता नै सबैभन्दा अचुक र शक्तिशाली अस्त्र हो । तसर्थ, मतदानको दिन त्यो अस्त्रको प्रयोग निकै सावधानीपूर्वक र जिम्मेवारीपूर्वक गरिनुपर्दछ ।
निष्कर्षमा भन्नुपर्दा नेपालको लोकतन्त्र अझै परिपक्व भइसकेको छैन । पद र जिम्मेवारीमा पुग्नेहरूबाट नै अझै केही समय लोकतन्त्रमाथि चुनौती थपिने जोखिम छ । राजनीति कुनै व्यक्तिको एक्लो यात्रा होइन, यो त अविचलित यात्राजस्तै निरन्तर अघि बढ्ने साझा प्रयत्न हो । निषेध, मुठभेड र अराजकतापूर्ण सोचलाई पूर्णतः विस्थापित गर्दै कानुनको शासन र सुशासनको पक्षमा नयाँ, जिम्मेवार र रचनात्मक सोचको उदय हुनु आजको अनिवार्य माग हो ।
त्यसैले, आसन्न निर्वाचनलाई एउटा कर्मकाण्डको रूपमा मात्र नलिई मुलुकमा लोकतान्त्रिक मूल्यमान्यतालाई संस्थागत गर्ने महत्त्वपूर्ण अवसरका रूपमा ग्रहण गरौँ । गलत सूचनाको भ्रममा नपरी दलगत स्वार्थभन्दा माथि उठेर, तथ्य र विचारको आधारमा आफ्नो अमूल्य मतको प्रयोग गरौँ । यो निर्वाचनमा सचेत नागरिकको रूपमा तपाईं हाम्रो दृढ निर्णयले लोकतन्त्रको इतिहासमा एउटा नयाँ र ऐतिहासिक कोसेढुङ्गा कोर्न योगदान पुगोस् । देशले योग्य, निष्ठावान र दूरदर्शी नेतृत्व पाओस् । मतदानका दिन गर्ने हाम्रो विवेकपूर्ण एउटा निर्णयले समृद्धिको यात्रा अझ सुनिश्चित बनोस् र हाम्रो सुन्दर भविष्यको आधार तय गरोस् ।












प्रतिक्रिया