अमेरिका समाचार

हाइटीलाई पाखा लगाउदै स्कटल्याण्डले विश्वकपको सुखद यात्रा सुरु गर्यो

हाइटीलाई पाखा लगाउदै स्कटल्याण्डले विश्वकपको सुखद यात्रा सुरु गर्यो


अमेरिका, बोस्टन। फिफा वरीयतामा ४२औं स्थानमा रहेको स्कटल्याण्डले ८३औं स्थानमा रहेको हाइटीलाई पराजित गर्दै फिफा विश्वकपको सुखद यात्रा सुरु गरेको छ। जुन १३,२०२६ शनिबार म्यासाच्युसेट्स राज्यको फक्सबरोमा अवस्थित बोस्टन स्टेडियम( जसलाई जिलेट स्टेडियमले पनि चिनिन्छ)मा सम्पन्न समूह चरणको पहिलो खेलमा स्कटल्याण्डले हाइटीलाई १-० गोल अन्तरले पाखा लगाउन सफल भएको हो।

सनसनीपूर्ण रोमान्चक खेलको पहिलो हाफको २८ औं मिनटमा स्कटल्याण्डका जर्सी नंबर ७का जोन म्याकगिनले प्रहार गरेको बल गोलमा परिणत भएसंगै स्कटल्याण्डले अग्रता लिएको थियो। अप्रत्याशित रुपमा गोल खाएर पछिपरेको हाइटी त्यसपछि निकै होसियारीपूर्वक लयमा फरकिएको थियो। दुबै पक्षको गोल गर्ने प्रयास सफल नभएपछि पहिलो हाफ १-० गोल अन्तरमा टुङ्गिएको थियो।

Advertisement

खेलको दोश्रो हाफ निकै सनसनीपूर्ण रह्यो। अधिकांश समय खेल मैदानमा हाइटीको दबदबा रह्यो। पटक पटक गोल फर्काउने प्रयास गरे पनि गोल स्कोररको अभावका कारण सपना साकार हुन सकेन। स्कटल्याण्डले दोश्रो हाफमा रक्षात्मक खेललाई प्राथमिकता दिएको थियो। दुबै टिममा अग्र भागमा खेल्ने खेलाडीहरुमा गोल गर्नका लागि आवश्यक गोल पोस्ट केन्द्रित आक्रामक सीपको अभाव प्रष्टै देखिन्थ्यो।

स्कटल्याण्डले आफ्नो फिफा वरीयताको स्थानलाई न्याय दिन असमर्थ रहेको झल्कियो। स्कटल्याण्डले अपेक्षाकृत खेल देखाउन नसकिरहेको मैदानमा हाइटीले भने आफ्नो फिफा वरीयताको स्थानलाई न्याय गर्दै निकै उत्कृष्ट खेल प्रदर्शन गरेको थियो। अन्ततः दोश्रो हाफ गोल रहित बराबरीमा टुङ्गिएपछि पहिलो हाफमा स्कटल्याण्डका खेलाडी जोन म्यागिनले गरेको गोल नै निर्णायक बन्न पुग्यो। जसले स्कटल्याण्डलाई एक खेल खेलेर जीत हात पार्दै ३ र हाइटीलाई एक खेल खेलेर हार बेहोर्दै ० अंक दिलायो।

तुलनात्मक रुपमा हाइटी भन्दा स्कटल्याण्डको फिफा विश्वकप फुटबल प्रतियोगिताको यात्रा निकै राम्रो छ। सन् १९५४ बाट विश्वकपको यात्रा शुभारम्भ गरेको स्कटल्याण्डले यससंगै १० वटा संस्करणमा सहभागिता जनाएको छ। सन् १९९८ मा फ्रान्समा भएको विश्वकप पश्चात् २८ वर्षपछि मैदानमा उत्रिदैएको स्कटल्याण्डले यस जितबाट इतिहास रच्ने यात्राको सुखद यात्रा प्रारम्भगरेको छ।

हाइटीले पहिलो पटक पश्चिम जर्मनीमा सन् १९७४ मा भएको विश्वकप फुटबलमा ऐतिहासिक सहभागिता जनाएको थियो। त्यस यता सहभागिता जनाउन सकेको थिएन्। ५२ वर्षपछि यस २३ औं संस्करणमा दोश्रो पटक सहभागिता जनाइरहेको छ। पहिलो खेलमा हार व्यहोरे पनि खेलको लय हेर्दा आगामी यात्रा आस लाग्दो नै देखिन्छ।

सन् २०००२ बाट सञ्चालनमा आएको र फुटबल खेलका लागि झण्डै ६५ हजार दर्शक क्षमता रहेको यस बोस्टन स्टेडियम( जसलाई जिलेट स्टेडियमले पनि चिनिन्छ) स्टेडियममा, समूह चरणका ५ वटा खेलहरु र नकआउट चरणका २ वटा खेलहरू हुने योजना अनुसार समूह चरणको पहिलो खेल सकिएको छ। अब ६ खेलहरु बाँकी छन्। फिफाको खेल तालिका अनुसार अन्य खेलहरु जुन १६,मङ्गलबार साँझ ६ बजे इराक र नर्वे (ग्रुप आई), जुन १९ शुक्रबार साँझ ६ बजे स्कटल्याण्ड र मोरक्को(ग्रुप सी), जुन २३ मङ्गलबार दिउसो ४ बजे इङ्गल्याण्ड र घाना (ग्रुप एल), जुन २६ शुक्रबार दिउसो ३ बजे नर्वे र फ्रान्स (ग्रुप आई)को खेल रहेका छन्। त्यसैगरी, नकआउट चरण अन्तर्गतका दुइ खेलहरु जुन २९ सोमबार दिउसो ४:३० मा राउण्ड अफ ३२ र जुलाई ९ बिहीबार दिउसो ४ बजे क्वाटरफाइनल खेल हुनेछ।