मुख्य समाचार

बागमती प्रदेशका बिरामीको भरोसा बन्दै बकुलहर रत्ननगर अस्पताल

बागमती प्रदेशका बिरामीको भरोसा बन्दै बकुलहर रत्ननगर अस्पताल


शेयर गर्नुहोस:

81
Shares

  • change font
  • change font

चितवन । बागमती प्रदेशअन्तर्गत चितवनको रत्ननगर नगरपालिका–२ स्थित टाँडी बजारको उत्तरतर्फ अवस्थित बकुलहर रत्ननगर अस्पताल यतिखेर स्थानीयवासीका लागिमात्रै नभई मध्यम र निम्नवर्गका माझी समुदायदेखि राउटे बस्तीका बिरामीसमेतका निम्ति स्वास्थ्य उपचारमा वरदान बनेको छ ।

पूर्वपश्चिम राजमार्गबाट करिब ५० मिटरको दूरीमा पूर्वी चितवनको टाँडी बजारमा स्थानीयको मन र विश्वास जित्दै अगाडि बढिरहेको अस्पताल हो, बकुलहर रत्ननगर अस्पताल । भरतपुरबाट ११ किमी दूरीमा रहेको यस अस्पताल पूर्वी चितवनको एकमात्र प्रदेशअन्तर्गतको जिल्ला अस्पताल हो । विसं २०२४ मा बकुलहर स्वास्थ्यचौकीको नाममा स्थापना गरिएको स्वास्थ्यचौकीलाई नेपाल सरकारले २०६५ सालमा सेवा विस्तार गरी १५ शøयाको जिल्ला अस्पतालका रुपमा सञ्चालनमा ल्याएको थियो ।

Advertisement

देशमा सङ्घीयता कार्यान्वयनसँगै २०७७ मङ्सिर १८ को नेपाल सरकारको निर्णयअनुसार यस अस्पताललाई बागमती प्रदेशअन्तर्गत राखेपछि प्रदेश सरकारको मातहतमा अस्पताल सञ्चालन हुँदै आएको छ । प्रदेश सरकारको २०७७ फागुन १३ को निर्णयअनुसार यस अस्पताललाई १५ शøया बढाएर ५० शøयामा स्तरवृद्धि गरेसँगै अस्पतालले सेवा पनि विस्तार गर्दै गयो । विसं २०८० मा प्रदेश सरकारले अस्पतालको पुनः स्तरवृद्धि गर्दै सय शøया पु¥याएपछि सेवा विस्तार गरी गुणस्तरीय सेवा प्रवाहमा अब्बल बन्दै माडीको मात्रै नभई पूर्वी चितवनवासीको विश्वास जित्दै आएको छ ।

छाला रोगको नेपालकै उत्कृष्ट प्रविधिबाट उपचार गर्ने भएपछि यहाँ भरतपुरदेखि काठमाडौँसम्मका बिरामीहरु छालाकै उपचारका लागि आउने गरेका छन् । मध्यमवर्ग र निम्नवर्गका व्यक्तिहरुको निःशुल्क उपचार हुँदै आएको छ । बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगर रत्ननगरको बकुलहर अस्पताललाई गुणस्तरीय सेवा विस्तारसँगै नमुनाको अस्पतालका रुपमा विकास गर्ने लक्ष्यअनुसार अगाडि बढेको बताउँछन् । दैनिक बिरामीको चाप बढ्दै गएको यस अस्पतालमा उपचारका लागि आउने बिरामीले गुणस्तरीय स्वास्थ्यसेवाको अनुभूति र विश्वास जितेर जान सक्ने गरी विकास गर्दै २०० शøयामा विस्तार गर्ने गरी सरकार निरन्तर लागिरहेको उनी बताउँछन् ।

मन्त्री थापामगरले भने, “अस्पतालमा बिरामीको चाप निकै बढ्दै गएको छ, अस्पतालको भौतिक संरचना, जनशक्ति व्यवस्थापनदेखि उपकरणयुक्त एवं प्रविधिमैत्री बनाउन प्रदेश स्वास्थ्य मन्त्रालय लागिरहेको छ । अस्पतालले नर्सिङ कलेज सञ्चालनका लागि तयारी गरेकाले स्वीकृतिको तयारीमा छौँ । यहाँ आउने कोही पनि बिरामी पैसा नभएकै कारण ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गर्ने गरी सेवा प्रवाह भइरहेको छ ।”

अस्पतालमा मात्रै नभई बिरामीको सेवा गर्न दुर्गम गाउँमा उपकरणसमेत लिएर गई स्वास्थ्य शिविर सञ्चालन गरी स्वास्थ्य परीक्षणदेखि निःशुल्क उपचारसम्मको व्यवस्था गरेको उनी बताउँछन् । उनले प्रदेशबाट सञ्चालित सबै अस्पताल, आयुर्वेद अस्पतालहरुलाई प्रविधिमैत्री बनाउँदै औषधि उत्पादनसमेत सुरू गरेको बताए ।

वागमती प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुमित्रा गौतम बागमती प्रदेशको १३ वटै जिल्ला अस्पतालको स्तरोन्नति, विशेषज्ञ सेवाहरु विस्तार, प्रविधिमैत्री, उपकरणमैत्री बनाउनेदेखि शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्ने गरी व्यवस्थापनको तयारी गरेको बताउँछिन् ।

प्रदेश सरकारले औषधि उत्पादनलाई समेत विस्तार गर्दै लगेको बताउँदै सबै अस्पतालमा डायलासिस मेसिन सञ्चालन गर्ने, मेमोग्राम मेसिन सञ्चालन गर्ने, मुटु सेवाको उपचार विस्तार गर्ने, प्रत्येक नागरिकलाई स्वास्थ्यसेवाको पहुँच पु¥याउने गरी मन्त्रालयले सेवा विस्तार गरिरहेको उनले बताए ।

बकुलहर रत्ननगर अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. अङ्कुर पौडेल २०२४ मा स्वास्थ्यचौकीको रुपमा स्थापना भई २०६५ सालमा नेपाल सरकारबाट जिल्ला अस्पतालको मान्यता प्राप्त गरी १५ शøयामा विस्तार भएको बताउँछन् । विसं २०७७ मा प्रदेश सरकारले ५० शøयाको प्रादेशिक अस्पतालको रुपमा विस्तार गरेसँगै सेवा विस्तार गर्दै लगेको बताउदै उनले २०८० सालमा १०० शøयाको सेकेन्डरी बी लेबलको अस्पतालको रुपमा स्तरोन्नति गरी निरन्तर सेवा प्रवाह गरिरहेको उल्लेख गरे ।

मेसु डा. पौडेल भन्छन्, “अस्पतालले ओपिडीतर्फ १० वटा विशेषज्ञ सेवाहरु सञ्चालन गरिरहको छ, १० शøयाको हेमो–डायलासिस सेवा तीन सिफ्टमा दैनिक ७५ जनासम्म बिरामीलाई सेवा दिइरहेका छौँ, छ शøया थप गर्ने तयारी भइरहेको छ । पाँच शøयाको आइसियू सेवालगायत २४ घन्टा आकस्मिक सेवा, अर्थोपेडिक सर्जरी, नेपालका ठूला अस्पतालका भन्दा राम्रा र अत्याधुनिक ल्याब यहाँ रहेको छ ।”

प्रत्येक ओपिडीमा टोकन र बिलिङको व्यवस्था रहेको बताउँदै उनले अस्पतालमा दैनिक आउने १५ सयसम्म बिरामीहरु र तीमध्ये जनरल फिजिसियनमा आउने ५० प्रतिशत बिरामीलाई हेर्न भौतिक संरचना र दरबन्दी अपुग रहेको बताए । हाल अस्पतालको ‘ब्लक ए’ र ‘सी’बाट सेवा सञ्चालन भइरहेको र ब्लक ‘बी’ निर्माणको अन्तिम चरणमा पुगेको उनले बताए । अस्पतालले सस्तो, सुलभ र गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको भन्दै उनले सिटीस्क्यान, मुटुको बिरामीलाई क्याथल्याबको आवश्यकता पर्दामात्रै बिरामीलाई बाहिर पठाउने गरेको र त्यसबाहेक सबै विशेषज्ञ सेवाहरु प्रवाह गर्दै आएको बताए ।

रोग निको पार्नेमात्रै नभई कसरी बिरामीको मन जित्न सकिन्छ भनेर लागिरहेको अस्पतालले सबै डिजिटलाइज गर्ने गरी अगाडि बढाएको छ । अस्पतालले छुट्टै ओपिडी सेवा सञ्चालन गरेको छ भने अटोमेटिक ल्याब मेसिन सञ्चालनमा ल्याएको जनाएको छ ।
अस्पतालले अति विशेष सेवा थप गर्दै जाने क्रममा स्वस्थ्यसेवा मात्रै नभई शैक्षिक केन्द्रको रुपमा समेत विकास गर्ने लक्ष्य लिएको र नर्सिङ कलेज सञ्चालनको तयारी गरेको जनाएको छ । अस्पतालमा दुईवटा ओटी विस्तार गर्ने, २४ सै घन्टा युरोलोजीदेखि आँखाको सर्जरी सेवा विस्तारको तयारी गरेको उनी बताउँछन् ।

अस्पताल सञ्चालन तथा व्यस्थापन समितिका अध्यक्ष गोपालराज कर्माचार्य अस्पताल स्थापनाअगाडिको अवस्था सम्झँदै स्वास्थ्यचौकीमा सिटामोल लिनमात्रै बिरामी आउने गरेको सम्झन्छन् । स्वास्थ्यचौकीमा सेवा लिन भरतपुर नै पुग्नुपर्ने बाध्यतालाई अन्त्य गर्न ‘हामीले नगरे कसले गर्ने’ भन्ने नाराका साथ अस्पताल निर्माणमा जुटेको उनी स्मरण गर्छन् ।

उनले भने, “उद्योग वाणिज्य सङ्घको अध्यक्ष हुँदा सङ्घ र रत्ननगर अस्पतालको साझेदारीमा स्वास्थ्यचौकीलाई अस्पताल बनाउने अभियान सुरू गरेका हौँ, त्यसपछि भने धान्याचल महायज्ञ लगाएर एक करोड ६८ लाख रकम सङ्कलनबाट नयाँ भवन निर्माण गरी अस्पतालमा सेवा विस्तार ग¥यौँ । अस्पताललाई आजको अवस्थासम्म पु¥याउन स्वीजरल्यान्डको दातृ निकाय शान्ति मेड नेपालको योगदानलाई बिर्सन सकिँदैन ।” सो संस्थाको नयाँ भवन निर्माण, सम्पूर्ण फर्निचर, प्रविधि र आधुनिक उपकरणका व्यवस्था गरी देशकै उत्कृष्ट छाला रोगको उपचार सुरू गरेपछि धादिङ र गोरखादेखि बिरामी आउने गरेको उनी बताउँछन् ।
अस्पतालमा मातृशिशु कक्ष विस्तारका लागि भवन निर्माण भइरहेको छ । उच्चस्तरीय प्रविधि जडित ल्याब सेवा सञ्चालन गरे पनि सिटीस्क्यान नहँुदा त्यसका लागि बिरामीलाई अन्यत्र पठाउनुपर्ने बाध्यता रहेको अध्यक्ष कर्माचार्यको भनाइ छ । विपन्न, अतिविपन्न, सीमान्तकृत व्यक्ति माझी, चेपाङ, चमार, थारु समुदायका बिरामीलाई उपचार खर्च नभएर फर्कनुपर्ने अवस्था नभएको भन्दै उनले नगरपालिकाका कोष, स्वास्थ्य बिमा र अन्य स्रोतबाट पैसा नभएका बिरामीको निःशुल्क उपचार सेवा प्रदान गर्दै आएको जानकारी दिए ।

यहाँको सेवाले पूर्वी चितवनमात्रै नभई पश्चिम चितवनवासीको मन र विश्वास जित्न सफल भएको भन्दै मिर्गौलाको बिरामीले राम्रो सेवा पाएको बताउँछन्, अस्पतालका पूर्वअध्यक्ष देवेन्द्रकुमार श्रेष्ठ । अस्पताललाई अझै प्रविधिमैत्री बनाउन केन्द्रीय, प्रदेश र स्थानीय सरकारको सहयोग लिने प्रयास भइरहेको उनी बताउँछन् । अस्पताललाई छाला रोग विशेषज्ञ सेवा प्रदान गर्नमात्रै नभई डा. रूथले २१ दशमलब छ किलोवाटको सौर्य ऊर्जा उत्पादन गरी सोलारबाट हेमोलायलासिस सेवा सञ्चालन भएको छ । हाल यहाँ सात जना विशेषज्ञसहित २७ जना कर्मचारीले अनवरत सेवा सञ्चालन गरिरहेका छन् ।

तत्कालीन समयमा पूर्वी चितवनमा कुनै अस्पताल नभएको अवस्थामा राजमार्गमा हुने ठूला दुर्घटनामा परेकाहरुको ज्यान बचाउन पनि अस्पताल चाहिन्छ भनेर २०५८ मङ्सिर ४ गते धान्याचल महायज्ञ गरी सङ्कलित रकमबाट भूकम्पीय जोखिमरहित प्रविधिको प्रयोग गरेर २२ हजार वर्गमिटरमा भवन निर्माण गरी स्वास्थ्यचौकीलाई अस्पतालका रुपमा विस्तार गरिएको अस्पतालका संस्थापक अध्यक्ष एवं रत्ननगर नगरपालिकाका पूर्वप्रमुख नारायण वन बताउँछन् ।

उच्च गुणस्तरीय उपकरण रहेको यस अस्पतालको ल्याब १० ठाउँमा राखिएको र फरक–फरक रोगको फरक ठाउँबाट ल्याब परीक्षण गर्ने र रिपोर्ट प्रवाह गर्ने व्यवस्था गरिएको ल्याब प्राविधिक सुरज अधिकारी बताउँछन् । एकैपटकमा १२० जनाको र एक घन्टामा ४०० जनाको रिपोर्ट दिनसक्ने यहाँको ल्याबमा क्यान्सरजन्य रोगदेखि शरीरका ट्युमर पत्ता लगाउन परीक्षण सुविधा रहेको छ । उपचारमा खर्च कम लाग्ने र गुणस्तरीय सेवा प्रभावकारी भएकै कारण बिरामीको चाप बढेको उनी बताउँछन् । रासस