बिश्व घटना

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो, तेलको मूल्य घट्यो

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो, तेलको मूल्य घट्यो


शेयर गर्नुहोस:

27
Shares

  • change font
  • change font

लन्डन । संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति समझदारी तथा स्टेट अफ हर्मुजबाट तेल ढुवानी पुनःसञ्चालन हुने अपेक्षाले युरोपेली शेयर बजारमा वृद्धि भएको छ भने अन्तरराष्ट्रिय बजारमा तेलको मूल्य घटेको छ ।

मङ्गलबार लन्डन, पेरिस र फ्रान्कफर्टका प्रमुख शेयर सूचकाङ्क मध्यान्हसम्म करिब शून्य दशमलव पाँच प्रतिशतले बढेका थिए । विश्लेषकले अमेरिका–इरान तनाव कम हुने सङ्केतले लगानीकर्ताको विश्वास बढाएको बताएका छन् ।

Advertisement

व्यापार समूह एक्सटिबीकी अनुसन्धान निर्देशक क्याथलिन ब्रुक्सका अनुसार सम्झौता औपचारिक रूपमा हस्ताक्षर नभए पनि बजारमा यसको सकारात्मक प्रभाव देखिन थालेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टे«ट अफ हर्मुजबाट जहाज आवागमन पुनः सुरु भएको र प्रमुख समुद्री मार्ग शुक्रबारसम्म पूर्ण रूपमा खुला हुने बताए । इरानी सञ्चारमाध्यमले पनि केही तेल ट्याङ्क तथा कार्गो जहाज उक्त मार्गबाट आवतजावत गरिसकेको जनाएका छन् ।

यसैबीच, अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार दोस्रो दिन घटेको छ । विश्व बजारको प्रमुख मानिने ब्रेन्ट कच्चा तेलको मूल्य दुई प्रतिशतभन्दा बढीले घटेर प्रति ब्यारेल करिब ८१ अमेरिकी डलरमा कारोबार भएको छ ।

यद्यपि, विश्लेषकले आपूर्ति अवस्थाबारे अझै अनिश्चितता कायम रहेकाले बजारमा उतारचढाव रहन सक्ने चेतावनी दिएका छन् ।

अमेरिकी ऊर्जा विभागका अनुसार रणनीतिक तेल भण्डार गत साता सन् १९८३ यताकै न्यूनस्तरमा पुगेको छ, जसले आगामी दिनमा तेलको माग कायम रहने सङ्केत गरेको छ ।

यस साता प्रमुख केन्द्रीय बैङ्कको मौद्रिक नीतिगत निर्णयमा पनि लगानीकर्ताको ध्यान केन्द्रित छ । अमेरिकी फेडरल रिजर्भ र बेलायतको बैङ्क अफ इङ्गल्याण्डले ब्याजदर यथावत् राख्ने अपेक्षा गरिएको छ ।

उता, जापानको केन्द्रीय बैङ्कले ब्याजदर सन् १९९५ पछिकै उच्चस्तरमा पुर्‍याएको छ । एसियाली बजारमा दक्षिण कोरियाको सियोल शेयर बजार करिब दुई प्रतिशतले बढेको छ । जापानको निक्केई–२२५ सूचकाङ्क पनि उकालो लागेको छ भने हङकङ र साङ्घाइका बजारमा गिरावट आएको छ । एएफपी