बीस वर्षकोअमेरिका बसाइलाई स्थगित गर्दै हामी बुढाबुढी मातृभुमी नेपाल फर्केको पनि ठ्याक्कै एक वर्ष पुगेछ । यो एकवर्ष कति छिटो वित्यो ! अस्ति भर्खरै त हो फर्केको जस्तो लाग्छ ।
भेट्दा , फोनमा र मेसेजका बक्सहरुमा नेपाल बाहिर विभिन्न देशबाट र नेपाल भित्रकै पनि चिनजानका मानिसहरु , शुभचिन्तक र साथीहरु सोधिरहनु हुन्छ – ” कस्तो भैरहेको छ नेपाल बसाई ?”
खासमा उहाँहरुको सोधाई भित्र जिज्ञासा , उत्सुकता र कौतुहल मिसिएको हुन्छ ।
विदेशमा अलिक समय बसेर अनुभव लिइसकेका धेरैलाई नेपाल फर्कन मन छ । तर भित्र एउटा संसय छ , सकिन्छ कि सकिन्न होला ….!
त्यही संसय या भनौ द्विविधाहरुको उत्तरको लागि पनि मलाई फर्केका यो वर्ष भरी निकै फोन र मेसेजहरु आए विदेशबाट ।
नितान्त मेरो अनुभव यहाँहरुलाई बाँड्दै छु । सर्बप्रथम त मन जहाँ खुशी हुन्छ त्यहीँ बस्नु पर्ने रहेछ । लामो अमेरिका बसाइमा संघर्ष र मेहनतको बाबजूद सुखै थियो ,
व्यवसायले केही आर्थिक लाभ पनि दियो । तर कता कता खुशी थिएन मन । हरबखत बुर्कुसी मारेर यतै आइपुग्थ्यो ।
यहाँ यो मेरो आफ्नो थलो हो , जन्मभूमिमै छु भन्ने आभास ले नै आनन्दित पार्छ । गहिरो शान्ति दिलाउँछ । यो आनन्द र शान्तिको अर्को रुप रहेछ ” खुशी ” ।
म हाम्रो किचेनको झ्यालबाट हेर्छु जब जब आकाश खुल्छ तब मेरो दृष्टिले भ्याएसम्मको हरियो शिवपुरी डाँडा र पृष्ठभुमिमा झललल हाँसेको हिमाल देख्दा मन एकतमासले आनन्दमा विलिन हुन्छ । करीब तीन , चार सेकेन्डको त्यो दुर्लभ अनुभूतिले मलाई मेरो देशप्रति अपार ममता , श्रद्धा र सम्मान जागृत भएर आउँछ । हात जोडेर मनमनै प्रार्थना गर्छु – ” हे भगवान मेरो देश चिरायु रहोस् । ”
अमेरिकामा भेटिन मुस्किल हुने साथीभाइलाई हामीले घरमा स्वागत गर्न पाएका छौं । काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दश मिनेटको दुरीको बसाइले पनि हाम्रो खुशीमा चार चाँद थपेको छ ।
नेपाली जनजीवन तुलनात्मक रूपमा सरल छ विदेशको जीवन भन्दा । थोरै पैसामा पनि गुजारा गर्न सकिन्छ । विदेशबाट फर्किनेहरुले धेरैथोरै कमाएकै हुन्छ । उक्त रकम बैंक व्यालेन्स गरेर सहज जीवन व्यतित गर्न सकिन्छ । केही हिस्सा लगानी गरेर व्यापार व्यवसाय पनि गर्न सकिन्छ ।
उता घरको ,स्वास्थ्यको , गाडीको इन्स्योरेन्स , घरको ट्याक्स र अनेकथरि बीलको घाँटी कसाइ हुन्थ्यो । इन्स्योरेन्स र ट्याक्स त यता पनि छ । तर उताको तुलनामा यता धेरै सस्तो छ ।
आर्थिक राहत प्राप्त भएपछि खुशी खोज्न कतै जानै नपर्ने रहेछ, आफै आउँदो रहेछ ।
आफन्त ,मन मिल्ने साथीभाइ वरिपरि भएपछि त्यसै ढुक्क लाग्ने । आफन्तसँग बसेर चाडवाड मनाउन पाउँदा , सुख दुःख बाड्न पाउँदा अर्कै आनन्द , विदेशमा त्यस्तो कहाँ पाउनु !
अहिले नेपालमा नपाइने केहि छैन । विदेशमा भन्दा एक से एक रोजीछाडि सामानहरु पाइन्छ । अनलाईन मार्केटले झन सहज बनाएको छ । राजधानीका मुख्य सडकहरु पहिले भन्दा सफा सुग्घर र फराकिलो भएको छ । सरसफाइको चेतना बढ्दै गएको छ । नेपाल बाहिर विभिन्न जिल्लामा सडक विस्तार राम्रो छ । स्वास्थ सेवामा पहिले भन्दा निकै सुधार छ । मानिसको चेतनाको स्तर निकै बढेको छ ।
कहिलेकाँही काठमाडौँको ट्राफिक जाम र भिडभाड देख्दा भने बरु बाहिर जिल्ला गएर बसौं कि भन्ने पनि लाग्न थालेको छ ।
नेपालको सडकमा मैले सवारी कुदाउन विर्सिसकेको थिएँ फेरि कुदाउँन सकुँला भन्ने साहस थिएन ।
अहिले बिस्तारै बिस्तारै आफै कुदाउन थालेकी छु । ” मरता क्या नही करता ” यति साहसलाई पनि अहिले निकै उपलब्धिको रुपमा लिएकी छु । ” नेपालमा मेरो ड्राइभिङ अनुभव ” बारे एउटा छुट्टै आलेख लेख्ने छु ।
जता गयो आफ्नै भाषा , भेष र भुषा देख्दा सुन्दा अर्कै आनन्द आउँछ । आफ्नै डाँडा , हिमाल पहाड जङ्गल र खोलानालाहरुले मन्त्रमुग्ध बनाउँछ । हुस्सु , कुहिरो , घाम , बादल र वर्षाहरुसँगको लुकामारीले रोमान्चित पार्छ ।
टेक्सासको प्रचण्ड गर्मी खपेर आएका हामीलाई काठमाण्डौंको मौसम त खुशहाल लागेको छ ।
लुटपाट , हिंसा , हत्या र मास सुटिङको त्रासले ग्रसित अमेरिकी जिवनबाट राहत मिलेको छ ।
अपराध नभएको होइन नेपालमा तर उताको भन्दा निकै कम छ यहाँ । प्राकृतिक प्रकोप यहाँ पनि छ तर त्यहाँ एकै रातमा शहर खण्डहर भएको देखेकी छु । ठुला ठुला जङ्गल र वस्तिहरु एकै दिनमा सखाप भएको देखेकी छु ।
अमेरिका अवसर र चुनौतीको देश हो । विकास र प्रविधी छ । यहाँ जस्तो कानून खोकला छैनन् , बलियो छ कानुन र नियमहरु । आकाश छुने बाटोहरु छ्न् तर सडक दुर्घटना भयंकर छ । सडक दुर्घटनामा नेपाली मरेको खबरहरुसंग कति चोटि यो ह्र्दय नमिठो गरी झस्किएको छ ।
उताबाट राजनीतिको खबरलाई मात्र हेरेर सुनेर पढेर सम्पुर्ण नेपालको आँकलन नगरिदिनु हुन मेरो विनम्र अनुरोध छ । अमेरिका , क्यानडा , अस्ट्रेलिया र जापानसँग नेपाललाई दाँज्दै यो भएन , त्यो भएन खत्तम भयो भनेर आरोप लगाएर मात्र हुन्छ र ! नेपाललाई नेपाली मन र नेपाली आँखाबाट हेर्नु पर्छ ।
उतै रमाएर खुशी हुनुहुन्छ , राम्रो कुरा हो । स्वदेश फर्कन चाहानुहुन्छ र दोधारमा हुनुहुन्छ भने मेरो यो अनुभव पक्कै तपाईलाई सहयोगी हुनेछ ।
सबै राम्रो मात्रै छ्न् भन्ने मेरो आशय हुँदै होइन । नेपाल आउ जाउ गरिरहने जो कोहीलाई यहाँको वास्तविकता छर्लङग छदैछ । उही विदेशको जस्तो सबैतिर चटक्क मिलेको सफा टकटकाउँदो यहाँ हुँदैन । सामान्य नियम कानून पनि मिचिरहेको , थिचिरहेको देख्दा मन खिन्न हुन्छ । तर जे भएका अरु राम्रा कुरालाई आत्मसात गर्दा भने सन्तुष्टी मिलेको छ । राजनीतिको कुरा गर्दिन यतिखेर । यति फितलो नभएको भए हामी विदेशिनु नै पर्ने थिएन ।
स्वदेशसँग विछोडको घाउले हरेक विदेश बस्ने नेपालीलाई नबिझाएको कहाँ हो र !
एउटा अर्को कुरा मैले भन्नै पर्ने हुन्छ , विदेशमा बस्ने नेपालीहरुलाई नेपाल सरकारले गैरआवासीय नागरिकता प्रदान गर्दाको जुन खुशी थियो त्यो खुशी मधुरो हुँदै गएको छ ।
गैरआवासीय नागरिकता प्रदान गरेको दश महिना वितिसक्दा पनि त्यसको नियमहरु बनाउने र लागू गर्ने कुनै संकेत समेत देखा परेको छैन । त्यसले स्वदेश फर्कन चाहाने धेरैलाई अन्योलमा पार्नु स्वभाविक हो । बरु नियम बनाउन कठिन भए सरकाले दोहोरो नागरिकता नै दिए झन राम्रो हुन्थ्यो । विदेशी नेपाली नेपाल आए , बसे र आफूसँग ल्याएको विदेशी मुद्रा नेपालमै खर्च गरे भने नेपालको अर्थतन्त्रमा झन उल्लेख्य सुधार आउथ्यो ।
मेरो अनुरोध यो आलेख , पढ्नेले नेपाल सरकार समक्ष जरुर पुर्याइदिनु होला ।
यी यस्ता बोझिलो तगारोको बावजुद पनि म नेपालमा रमाइरहेकी छु । ढिलो चाँडो सरकारले केही गर्नेछ भन्ने विश्वास पनि छ ।
यहाँ म अमेरिका , अस्ट्रेलिया अन्यत्र जाने आफन्त साथीभाइ भेट्छु , कोही त केके नै भए जस्तो गजक्क पर्छन् ।
युवाहरु वितृष्णा पोख्छन् , यहाँ केही छैन भनेर विदेश जाने कुरा गर्छन् ।
उनीहरु म फर्केकोमा छक्क पर्छन् , मलाई उनीहरु देश छोडेर नगैदिए हुन्थ्यो भन्ने लाग्छ ।
साँच्चै भन्नु पर्दा बीसौं वर्षको बसाईलाई पूर्णबिराम लगाउनु त्यति सहज कहाँ थियो र ! नेपाल फर्किदा मनमा केही द्विविधा मभित्र पनि थियो । तर नेपाल बस्ने दृढ इच्छा शक्तिले त्यो द्विविधालाई समाप्त गरिदियो । रहदै बस्दै जाँदाको अनुभवले अझै निखार ल्याइदियो । तिरस्कार , अस्विकार , ईष्या , जलन हर समाजको नियती हो भने त्यस्तै गरी प्रेम माया आदर , सम्मान र प्रेरणा पनि त्यही समाजको दैवि रुप हो । यी सबलाई आत्मसात गर्दै जिउनु नै जीवन रहेछ ।
प्रिय मेरा अमेरिकावासी साथीहरू , मैले मेरो कर्मथलो अमेरिकाको बद्ख्वाँइ गरेको होइन । काम र माम दिने त्यो भूमिको पनि उत्तिकै माया लाग्छ मलाई । मैले छोडेको काम ,घर , बगैंचा , वातावरण , साथीहरू र त्यो स्नेह कत्ति मिस हुन्छ कत्ति !
बाँचुन्जेल माया गरिरहने छु र बल बर्कतले भ्याएसम्म तपाईंहरुलाई भेट्न आइरहने छु । यता आउँदा पनि हामीलाई सम्झिदिनु भए खुशी हुनेछौं ।
भविष्य कसको के हुन्छ , कसले ठोकेर भन्न सक्छ र !
एकवर्षको मेरो अनुभवमा यत्ति भन्न सक्छु , एउटा गहिरो शान्ति पाएकी छु । त्यो शान्ति यस्तो भनेर म ठ्याक्कै ब्याख्या गर्न सक्दिन । त्यो आफैले अनुभव गरेपछि मात्र थाहा हुने रहेछ । जुन मैले वर्षौंदेखि खोजीरहेको थिएँ ….. निर्धक्कसँग भन्दा , अहिले म भित्र संसय होइन सकून छ ।
काठमाडौं , नेपाल ।
प्रतिक्रिया