मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking   
ग्लोबल नेपाली   
नेपाल   

दोहोरो नागरिकताप्रति काँग्रेस सकारात्मक

दोहोरो नागरिकताप्रति काँग्रेस सकारात्मक

गैर आवासीय नेपाली भन्छन् - नागरिकता हाम्रो अधिकार हो


काठमाडौ (नेपाल)। विदेशमा बसेका गैरआवासीय नेपालीलाई बंशजको आधारमा नागरिकता दिने विषयमा नेपाली काँग्रेस निकै सकारात्मक देखिएको छ ।

आज यहाँ नेपाली काँग्रेसको पूर्व आप्रवासी समन्वय विभागद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्ने सबै केन्द्रीयस्तरका नेताहरुले यस्तो संकेत दिएका हुन् । अमेरिका , बेलायत, जापान , कतार , अष्ट्रेलियामा बस्ने नेपालीहरुको प्रतिनिधित्व उपस्थिति रहेको यो कार्यक्रममा गैरआवासीय नेपालीहरुले नेपालमा भोग्नु परेका समस्या र असहज झन्झट अनि त्यसको समाधानका लागि नेपाल सरकार र नेपाली काँग्रेसले देखाउनु पर्ने सकृयतामाथि गम्भीर ध्यानाकर्षण गराइएको थियो ।

“विदेशदेखि स्वदेशसम्म ” नाम दिइएको उक्त अन्तरक्रिया कार्यक्रमका प्रमुख अथिति काँग्रेस सहमहामन्त्री भिष्मराज आङ्ग्दाम्बेले विदेशमा बस्ने नेपालीको अनुभव , सीप र दक्षतालाई नेपालको समृद्धिसंग जोड्नु पर्ने र त्यसको लागि उनीहरूलाई नेपाली नागरिक सरह नेपालमा बस्नसक्ने संवैधानिक अधिकार दिनुपर्ने आफ्नो धारणा राखे ।

त्यसैगरी अर्का सहमहामन्त्री जीवन परियारले गैरआवासीय नेपालीलाई बंशजको आधारमा नेपालको नागरिकता दिन नेपाली काँग्रेस सकारात्मक रहेको कुरा बताए । अन्तरक्रिया कार्यक्रममा बोल्ने काँग्रेस केन्द्रीय सदस्य एवम् सांसद सरिता प्रसाईं ,अर्का केन्द्रीय सदस्य डा.गोविन्द पोख्रेल र डा.शोभाकर पराजुलीको पनि समान धारणा थियो ।

पूर्व आप्रवासी समन्वय विभागका संयोजक एवम् काँग्रेस केन्द्रीय सदस्य दिनेश कोइरालाले यो समसामयिक विषयको बहसलाई अन्तरक्रियामा रुपान्तरण गर्दै आप्रवासी नेपालीहरुको समस्याप्रति आफू , पूर्व आप्रवासी विभाग र समग्र नेपाली काँग्रेस संवेदनशील भएकोले नै यस्तो कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

नागरिकता माग्ने हैन लिने हो 

कार्यक्रममा बोल्ने अधिकांश गैरआवासीय नेपालीले गैर आवासीय नागरिकता ऐन प्रयोजनहीन भएको र सरकार र राजनीतिक दलहरु यो समस्याप्रति संवेदनशील नभएकोले विदेशमा बस्ने नेपालीहरुमा व्यापक असन्तुष्टि रहेको कुरा बताए ।

नागरिकता खोइ अभियानका संयोजक वासु घिमिरेले विदेशमा बस्ने नेपालीले अब नागरिकता माग्ने हैन नेपाल सरकारले नै हामीलाई बंशजको नाताले नेपालको नागरिकता दिनु पर्ने खरो कुरा उठाए । उनले बंशजको आधारमा गैरआवासीय नेपालीले नागरिकता पाएमा विदेशबाट पाँचलाख नेपाली फर्किने र उनीहरुको पूँजी , सीप र अनुभव नेपालको समृद्धिमा कोशेढुंगा सावित हुने ठोकुआ गरे । उनको प्रस्तुतिले केहीबेर सहभागीहरु भावुक भएका थिए ।

अमेरिकाबाट गतवर्ष नेपाल फर्केका वरिष्ठ पत्रकार तारा बरालले आफूले लिएको गैरआवासीय नागरिकता प्रयोजनहीन भएको बताउँदै नेपाल सरकारले विदेशमा बस्ने नेपालीहरुको विश्वासमा घात गरेको आरोप लगाए । बेलायतबाट फर्केका चार्टर्ड एकाउन्टेन्ट विज्ञान प्रसाइले बंशजको नागरिकताको निरन्तरताको पक्षमा धारणा राखे ।

त्यसैगरी गतवर्ष नेपाल फर्केकी साहित्यकार एवम् पत्रकार बिटु केसीले अब नेपाल सरकारले नेपाल फर्किन चाहने विदेशमा रहेका नेपालीहरुलाई बंशजको आधारमा नागरिकता दिनु पर्ने र सरकारलाई कन्भिन्स गरेर नागरिकता लिएरै छोड्ने दृढता व्यक्त गरिन् ।

एनआरएनका पूर्व महासचिव रतन झाले नागरिकताको निरन्तरताको पक्षमा आफ्नो स्पष्ट धारणा रहेको कुरा बताए ।

शेयर गर्नुहोस:

4.7k
Shares