मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

महिनावारी रोकिने क्रममा महिला

महिनावारी रोकिने क्रममा महिला


प्रसंग महिनावारीकै थियो । हामी चार पाँचजना महिलाहरुको ग्रुपमा हुँदा भनेको थिएँ – ” यो महिनावारी सुके कति आनन्द हुन्थ्यो होला । ”

एकजना भाउजुले भन्नुभयो – ” महिना महिनामा चार
दिन खेप्ने दुख त केही होइन । जब सुक्छ , तब झन गाह्रो हुन्छ बैनी । ”
म नपत्याउँदो अवस्थामा ट्वाल्ल परें । मेरो नियमित मैनावारी हुन्थ्यो र त्यो मैनावारीमा त्यस्तो कष्ट पनि हुँदैनथ्यो । उनलाई त्यस्तो भएपनि मलाई त हुंदैन होला भन्ने लाग्थ्यो । कुरा दशवर्ष अगाडिको हो ।

Advertisement

म अहिले त्यही परिस्थितिबाट गुज्रिरहेको छु । न रोकिएको छ , न समयमा हुन्छ मैनावारी । यो सुक्ने क्रमको अवस्थालाई अंग्रेजीमा प्री मेनोपज र सुकेको अथवा रोकिएको क्रमलाई मेनोपज भनिदो रहेछ । नेपालीमा रजनोवृत्ति भनिन्छ ।

सामान्यतया ४५ देखि ५५ वर्ष उमेरका महिलाहरुमा यो क्रम देखिन्छ । तर यदाकदा ४५ वर्षको उमेर भन्दा अघि पनि केही महिलाहरुमा महिनावारी सुक्ने क्रम देखिने रहेछ ।
मेरो हकमा मैनावारी रोकिने सिम्टम्स देखिएको चारवर्ष पूरा भएर पाँच वर्षमा प्रवेश गर्न लागेको छ । यो चार वर्षको अवधिमा मलाई गम्भीर आक्रमण भने दुइचोटी भयो ।

एकचोटी सन् २०२३ मा र अहिले २०२५ को अन्त्यतिर । जब जाडो महिना आउँछ तव मेरो शरीरलाई चिसोबाट बचाउन मुस्किल पर्छ । खाली जाडो मात्र लागिरहने ।

गर्मी महिनामा फेरि त्यस्तो गाह्रो हुँदैन । हट फ्ल्स हुन्छ र अलिक पसिना बढी आउँछ । तर चिसो महिनामा यदि फ्लू भैहाल्यो भने यस्तरी गड्छ कि निको हुनै गाह्रो हुन्छ ।
सन् 2023 मा न डक्टरले केही गर्न सक्यो न डाक्टरले दिएको दश दिनको एन्टिवायोटिकले नै केही गर्‍यो ।

अमेरिकाको डक्टरहरुले दिएको औषधी सबै माटो सावित भए । कहीं कतै छोएन । ऎ …औषधी नै हुन्न रहेछ भन्ने मष्तिकस्मा थियो । त्यो बेला करिब साँढै दुइ महीना मैले जे भोगेँ त्यो वयान गर्न नसकिने । खान रुचेकै थियो , हिड्डुल गरेकै थिएँ तर शरीरमा स्फूर्ती थिएन । फ्लू भए जस्तो कफ आइरहने , र नाकेस्वर भैरहने ।
पछि गर्मीको मौसम शुरु हुन थालेपछि आफै ठिक भयो ।

बरु नेपाल आएपछि पोहोर साल जाडो महिनामा ह्याम्समा गाइनोको डक्टर जचाएर estro flav-cr एक महिना खाएपछि निकै राहत भयो ।

यसपाली पहिले उहाँलाई फ्लू भयो अनि मलाई सर्यो । उहाँलाई हप्ता दिनमै निको भए पनि मलाई निको हुन अर्को हप्ता दिन लाग्यो । फ्लूको एन्टिवायोटिकले मात्र नभएर estro flav-cr ले ठिक गर्दैछ अहिले ।

खासमा महिनावारी रोक्किने बेला हुने के रहेछ भन्दा हाम्रो शरीरको हर्मोनहरु इनव्यालेन्स हुने रहेछ । यो क्रममा इम्युनिटी पावर निकै कम हुने हुँदा कहिले शरीरले गर्मी फाल्ने र कहिले बढी चिसो महसुस गर्ने रहेछ । स्मरण शक्ति कम हुन थाल्छ । आफ्नो शरीरको पहिलेको इनर्जी र अहिलेको इनर्जी देखेर ताज्जुब लाग्ने ! शरीर भित्रभित्र कमजोर बनाउने रहेछ ।

त्यो भर्खर जन्मेको बच्चालाई जाडो नहुने मलाई किन जाडो हुने भन्ने प्रश्न दिमागमा घुमिरहन्छ । सबै बिना टोपी मस्त हिंडिरहेछ्न् मेरो टाउको किन चिसो हुने ? किन टोपी लगाउन पर्ने ? खुट्टामा मोजा लगाउँदा पनि किन चिसोले कटकट खाइरहने ? यावत प्रश्नले पिरोल्लिनु पर्दो रहेछ ।

यतिबेला बुझ्दैछु , सोच र समझले महिलाहरु पुरुष भन्दा कम नभए पनि शारीरिक रुपले कति कमजोर हुँदा रहेछन् ।

हुन त यस्तो सबैलाई नहोला तर जसलाई हुन्छ भोग्नेले अनुभव गर्छ कस्तो हुन्छ भनेर । म जस्तो अलि बढी सेन्सेटिभ महिलालाई बढी प्रभाव पर्ने हो कि ! यो मेरो अनुमान मात्र हो ।

पहिले पहिले कहिल्यै हजुरआमाले र आमाले महिलाको शरीरको यो परिवर्तनबारे कुरा गरेको स्मरणमा छैन । हुन सक्छ थाहा नपाई उनिहरु यो अबस्थासँग जुधीरहेका थिए होलान् ।

जाडो महिनामा टोपी नलगाई हिड्न नसक्ने , अरुले हेर्दै आफुलाई जाडो लागेको थाहा पाउने । इरिटेट महसुस गर्ने । जाडोमा पनि छातीबाट पसिना आएर निथ्रुक्क भिज्ने । मुड छिटोछिटो परिवर्तन हुने इत्यादी यसका खराब पक्ष हुन् ।
अक्सर धेरैलाई हट फ्लस हुन्छ ।

जाडो महसुस हुने महिलाहरु चाहीं अलि कम नै हुँदा रहेछन् हट फ्लस्को तुलनामा । रोक्की रोक्की महिनावारी हुने हुँदा कसैलाई अत्याधिक रक्तस्राव हुने समस्या पनि हुँदो रहेछ ।

मलाई भने डाक्टरकोमै जान पर्ने गरि त्यस्तो रक्तस्राव अहिलेसम्म त भएको छैन । तर महिनावारी रोक्किने क्रममा भएपनि यो सँगै रोक्कीसकेपछि अझै केके हुने होला भन्ने डर पनि रहँदो रहेछ ।

खानपानको व्यालेन्स , नियमित शारीरिक व्यायाम , योगा र तनावयुक्त जीवन शैलीबाट यो अवस्थालाई न्युनीकरण गर्न सहयोग मिल्छ भनेर डाक्टरको सल्लाह , युटुब र अन्य सोसिएल मिडियाबाट जाने बुझे पनि सधैं यो ब्यालेन्समा बस्न सकिन्छ भन्ने पनि हुँदैन ।

अर्को त के हो भने मेनोपज हुँदा बिरामी जस्तो देखिइन्न । घरको दैनिकी , अफिसको कामकाज गरिरहिएकै हुन्छ तर शक्ति क्रमश क्षिण हुँदै जाने रहेछ । बढी जाडो लागेको , आफ्नो इनर्जी लेभल कम भएको घर परिवारकै मान्छेले बुझिदिदैनन् ।

जाडो जति मान्यो उति हुन्छ भनेर टोपी नलगा भन्ने , थकित अबस्थामा पनि घरको सबै काम गर्नुपर्ने , सेन्सेटिभ भएर जाडो बढी फिल गरेको हो भन्ने पनि उनीहरुलाई पर्दो रहेछ ।

र अर्को मुख्य कुरा महिनावारी जस्तै यो पनि एउटा प्राकृतिक नियम त हो नी भनेर त्यति ध्यान नदिइने हुँदो रहेछ ।

यस्तो अवस्थामा कसैलाई त यति कडा प्रभाव पर्छ महिलाको ज्यान नै जाने हुँदो रहेछ । मैले मेरै साथी सर्कल र परिवारमा मेनोपजले नराम्रोसँग गाँजेकोहरुलाई देखेको छु , भेटेको छु ।

त्यसैले महिलाको यो नाजुक अवस्थालाई गम्भीररूपमा लिएर उसँग राम्रो व्यवहार गरौं । उनिहरुको उमेर बुझौं , सोधौं र सोही अनुरुप घुलमिल होऔं । अहिले मलाई र मेरो घरको सदस्यलाई परेन भनेर ढुक्क हुनु हुँदैन । भोलि उमेर बित्दै जाँदा घुमीफिरी आफ्नै घर परिवारमा यो समस्या आइपर्न पनि सक्छ ।

शेयर गर्नुहोस:

1.1k
Shares