एनआरएन अमेरिकाको चुनाव दैलोमा आइपुगेको छ । विगतका वर्षहरुमा जस्तै पुनः यो चुनाव समाज सेवाको लागि दौडादौड, प्रतिस्पर्धा, समय र पैसाको व्यर्थ कर्मको लागि प्रयोगको रुपमा आएको छ । सर्वप्रथम यो चुनाव पूर्वका यी दृष्यहरुले यो सामाजिक संस्थाको चुनाव हो भन्ने मुल मर्ममा नै प्रहार गरेको छ । प्रश्न उठ्छ – के साँच्चै ‘सेवा’ को लागि प्रतिस्पर्धा जरुरी छ र ? के समाजसेवामा यस्तो दौडधूप प्रतिस्पर्धा गरिन्छ र ?
यो दृश्य भन्दा अझ दुःख लाग्दो वा अचम्मित पार्ने दृश्य के छ भने यो चुनावमा उठ्नुभएका उमेदवारहरुलाई एनआरएन अमेरिका के हो ? यो संस्थाको उद्देश्य के हो ? यो संस्थाको कार्यक्षेत्र, भुमिका र हैसियत आदि के के हुन् ? भन्ने साधारण जानकारी वा बोधसम्म पनि देखिदैन ।
स्पष्ट रुपमा एनआरएन अमेरिका संसारका विभिन्न देशहरुमा फैलिएका अन्तराष्ट्रिय गैर आवासीय नेपालीहरुको संगठन (एनआरएन) को एक शाखा वा इकाइ हो । एनआरएन आईसीसी को अन्तर्गतको एक शाखा इकाइ हो । यो संस्थाको कार्यक्षेत्र नितान्त रुपमा अमेरिका, अमेरिकाका विभिन्न राज्यहरुमा छरिएको नेपाली समाज हो । यो संस्थाको मूल उद्धेश्य नै अमेरिकी नेपाली समाजको सेवा गर्नु हो । अमेरिकी नेपाली समाजको उत्थानको लागि सामाजिक कार्यक्रम ल्याउनु नै हो ।
दोहोरो नागरिकता, दोहोरो कर, नेपालमा लगानी, मातृभुमीलाई सहयोग आदि एनआरएन आईसीसीका कार्यक्षेत्रहरु हुन्। एनआरएन अमेरिकाले एक पूरक वा सहयोगी संस्थाको रुपमा आई सी सीका माथिका कार्यक्रमहरुलाई सहयोग गर्न सक्दछ । तर यी क्षेत्रहरु एन आर एन अमेरिकाको ‘मूल’ कार्यक्षेत्र होइन । यि तथ्यहरु स्पष्ट रुपमा एनआरएन अमेरिकाको वेवसाइटमा राखिएको उद्धेश्य एक र दुईमा पनि उल्लेख गरिएको छ ।
यसरी माथिको तथ्यहरु घाम झैँ छर्लङ्ग हुँदा हुँदै पनि अमेरिकाका नेपालीहरुको सेवा भन्ने केन्द्रीय शव्द नै विस्मृत गरी वर्तमान चुनावका उमेदवारहरुको घोषणा पत्रहरु अनि पत्रपत्रिका वा अन्य माध्यमहरुमा ‘मातृभूमीको सेवा’, ‘मातृभूमीको सेवाका लागि पुल’, ‘दोहोरो नागरिकता’, ‘दोहोरो कर’, ‘नेपालमा लगानी’ आदि नै स्वयंको उद्धेश्य बताइरहनुभएको छ ।
यी व्यक्त विचारहरुले केहि प्रश्नहरु उठाउँछन् कि के उहाँहरुलाई माथि भनिएका कार्यक्षेत्रहरु एनआरएन आईसीसी का क्षेत्रहरु हुन् भन्ने सम्म स्मृति छैन ? कुनै संस्थाको चुनावमा उठिरहेको उमेदवारहरुलाई त्यो संस्थाको कार्यक्षेत्र, भूमिका, उद्धेश्यहरु आदिको साधारण ज्ञान सम्म पनि रहदैन? यदि रहदैन भने संस्थाको उद्धेश्यहरु प्रति नै अनभिज्ञ उमेदवारद्वारा अमेरिकी नेपाली समाजले के आशा गर्न सक्दछ ? त्यो क्षण अमेरिका एनआर एन को सदस्य लिनु, यो संस्थासँग आवद्ध हुनुको के अर्थ रहन्छ ?
यो सँगसँगै अर्को पूरक प्रश्न पनि उठ्दछ कि, यस्ता जुन अज्ञान जनित विचारहरु आइरहेका छन्, यी किन आइरहेका छन? के यो अज्ञान हो ? कि यो एन आर एन भन्ने वित्तिकै ठूलो संस्था हो भन्ने मिथ्या बोधद्वारा भ्रमित भएर व्यक्त गरिएका ठुला विचारहरु हुन् ?
स्मरण रहोस् – समाजसेवाको संसारमा संस्थाहरु ठूला साना हुँदैनन् । ठूलो संस्थामा आवद्ध भएर कोहि व्यक्ति ठूलो हुँदैन । यो संसारमा मात्र ‘सेवा’ सधैँ ठूलो हुन्छ । ‘सेवा’ भन्दा बाहेकका अन्य सम्पूर्ण असत पक्षहरुको समाजसेवामा कुनै अर्थ रहँदैन । उपस्थिति रहँदैन ।
चुनावमा उठ्नुभएका उमेदवारहरुको यो लक्ष्य विहिनता संस्थाको उद्धेश्य प्रतिको अनभिज्ञतामा मात्र सिमित छैन । अत्यन्त विनम्र, सुन्दर देखिने तस्वीरहरु राखेर बनाइएका सुन्दर पोष्टहरु, जुन उहाँहरुको उमेदवारिताको मूल उद्धेश्य र मर्मलाई प्रतिविम्वित गर्दछन् । ति पोष्टहरुमा ‘साझा एन आर एन’, ‘नेपालीद्वारा नेपालीका लागि’, ‘सिण्डिकेट तोडौँ’, ‘सामाजिक सह–अस्तित्व’, सशक्त गतिशिल, समावेशी आदि आदि बहुअर्थि, अमूर्त शव्दहरु राखिएका छन् । प्रश्न उठ्छ, यि सुन्दर शव्दहरुको ‘जाउ जाउ मलम लगाउ आर्तहरुको घाउ’ वा ‘सेवा’ सँग के सम्बन्ध छ ? किन ति योजनाहरुमा मन्दिर, स्कुल, कम्युनिटी सेन्टर वा अन्य गहन सामाजिक रुपान्तरणका कार्यक्रमहरुको उल्लेख गरिएको छैन ? किन अमेरिकी नेपाली समाज अनि यि समाजका समस्याहरु प्रति यति गहिरो उदासिनता छ ?
म एन आर एनको सदस्य हुँ । यो हाम्रो संस्था हो । अमेरिकाका धेरै राज्यहरुमा फैलिएको, प्रत्येक राज्यमा सांगठनिक संरचना उपस्थित रहेको, समाज सेवाको प्रतिवद्धता सहित चुनाव नै जितेर आउनु भएका सयाँै समाजसेवी र हजारौँ शुभचिन्तक, सहयोगीहरु रहनुभएको एन आरएनएक वृहत संगठन हो । यो संस्थाबाट अमेरिकाको नेपाली समाजको लागि धेरै कार्यहरु गर्न सकिन्छ। अमेरिकाको नेपाली समाजका उत्थान गर्न सकिन्छ ।
तर यो आश्चर्यपूर्ण छ कि, यति ठूलो संरचना, यति वृहत् संख्यामा समाजसेवीहरु र श्रोतहरु हुँदा पनि एनआरएन अमेरिका समाजसेवाको ‘मूल’ लक्ष्य विहिन छ । अझैपनि यो संस्था र यो संस्थाका पदाधिकारीहरुमा समाज के हो ? समाजसेवा केहो ? कस्तो सामाजिक कार्यक्रमले अमेरिकाको नेपाली समाजलाई ‘सेवा’ वा रुपान्तरण गर्न सक्छ, यो संस्थाको समाजसेवाको मूल मार्ग के हो ? अमेरिकाको नेपाली समाजका समस्या के के हुन् ? यी समस्याहरु समाधान गर्न के के कार्यक्रमहरु ल्याउनु पर्दछ ? आदि मुख्य प्रश्नहरुमा लक्ष्य विहीन छ ।
आज यहि लक्ष्य विहीनता कौ कारण संस्थाको सम्पूर्ण समय, शक्ति, श्रोत स–साना एक दिने, दुई दिने कार्यक्रमहरुमा व्यर्थ नष्ट गरिएको छ । दुःख लाग्छ कि यति ठूलो संभावना बोकेको संस्थाले आजसम्म अमेरिकी नेपाली समाजलाई प्राण, दिशा, गति र भविष्य दिने कुनै दीर्घकालीन रुपान्तरका सामाजिक कार्यक्रमहरु यो संस्थाले दिन सकिरहेको छैन । अमेरिकी एनआरएन को वेवसाइट नै यो सत्यको साक्षी छ ।
समाजसेवा सामाजिक रुपान्तरको यात्रा हो । यो यात्रामा संस्थाको श्रोत, शक्ति र समयलाई कनिका छरे झैँ समाजलाई रुपान्तर गर्न नसक्ने स–साना कार्यक्रमहरुमा नष्ट गरिदैन ।े यो यात्रामा सर्वप्रथम समाजलाई रुपान्तर गर्ने समाजसेवाका कार्यक्रमको ‘विज’ राखिन्छ । त्यहि विजलाई क्रमसँग मलजल गर्दै एक वृक्षको आकार दिइन्छ । जति जति यो वृक्ष बढ्दै जान्छ, यो वृक्षले समाजलाई झन् झन् सेवा र छहारी दिदै जान्छ । यो सामाजिक उत्थान र रुपान्तरको विज भनेकै मन्दिर, स्कुल र कम्युनिटी सेन्टरको स्थापना हो ।
अमेरिकामा रहेका अन्य समुदायहरु जस्तै, भारतीय, भियतनामी, कोरीयन, चाइनिज आदिले पनि स्वयंको समाजको सेवा, उत्थान र रुपान्तरको यात्राको लक्ष्य मन्दिर, मस्जिद, चर्च आदिको निर्माण लाई नै बनाएका छन् । सामाजिक सेवाको केन्द्रमा बालबालिकाहरु र त्यसको परिधिमा वृद्ध, युवा, महिला वा समाजमा अन्य वर्गका कार्यक्रमहरु लाई राखेर समाजलाई अगाडि बढाएका छन् । अमेरिकामा ति समाजहरु भ्mन् झन् फस्टाउँदै गएका छन् ।
जब समाजसेवा लक्ष्यपूर्ण हुन्छ । जब समाजलाई सेवा, रुपान्तर गर्ने कार्यक्रमको विज रोपिन्छ । कसरी समाजले ति कार्यक्रहरुलाई प्रेम, सहयोग र टेवा दिन्छ् ? कसरी समाजले त्यो कार्यक्रमको स्वामित्व लिन्छ ? र सफल बनाउँदछ ? कसरी त्यो कार्यक्रमले समाज जोड्छ ? कसरी समाज रुपान्तरको पक्षमा आन्दोलित हुन्छ भन्ने सफल उदाहरण डलासको पशुपति तथा बुद्ध मन्दिर पनि हो ।
सन् २००८ मा जब डलासमा मन्दिर र कम्युनिटी सेन्टरको स्थापना प्रारम्भ भयो । जब समाजको शक्ति, समय र श्रोतलाई स–साना समाजलाई परिवर्तन गर्न नसक्ने कार्यक्रममा खर्च नगरी मन्दिर निर्माणमा लगाइयो । सन् २०१४ मा मन्दिर निर्माण पश्चात् यो कार्यले समाज मात्र जोडेन । समाजसेवाका सम्पूर्ण कार्यक्रमहरुलाई पनि जोड्यो । डलासमा समाजसेवामा कार्यरत एक दर्जन भन्दा बढि सामाजिक संस्थाहरुको सामाजिक सेवाको कार्यक्रमको कार्यस्थल पनि यहि बन्यो । कैयन आइतबारका दिनहरुमा समाजसेवाका अनेकन् कार्यक्रमहरुमा समाज सदस्यहरु (मूलतः बालबालिकाहरु) को भिड हुन थाल्यो ।
यो दीर्घकालीन समाजसेवाको विज जुन रोपिएको थियो । मन्दिर उद्घाटनको झण्डै सात वर्ष पश्चात् एक वृक्षको रुप लिइरहेको छ । यो समयमा डलास नेपाली समाज झण्डै आठ एकड जमिनमा पचास हजार स्क्वायर फूटको वृहत्त पशुपतिनाथको मन्दिर, बौद्ध विहार, ध्यान केन्द्र, सभा हल आदि सहितको झण्डै ६ मिलिएन डलरको संरचना निर्माणमा जुटेको छ ।
हामीलाई आशा छ – यो नयाँ संरचनाले आगामी दिनहरुमा हाम्रा बालबालिकाहरु सहित समाजका सम्पूर्ण वर्गलाई सेवा गर्न कार्यक्रमहरु सञ्चालन गर्ने आधार प्रदान गर्नेछ । समाजसेवामा हाम्रो जुन प्रयास छ, यो प्रयासले वर्तमानमा पनि समाजको सेवा गरिरहेको छ । युगौँ युग सम्म गरिरहने छ ।
यसैले आगामी दिनहरुमा अमेरिका एनआरएनले मातृभुमी सेवा, नेपालमा लगानी आदि आफ्नो कार्य क्षेत्रमानै नपर्ने बिषयहरुको चर्चा गर्ने कार्यहरु रोक्ने देखि लिएर आज सम्मका लक्ष्यविहीन, रुपान्तरविहीन समाजसेवामा अर्पण गरिएको समय र श्रोत लाई कुनै ‘देखिने’ परिणाम दिन समर्थ दीर्घकालीन कार्यक्रमहरुमा नै साधन र श्रोत लगाउनु पर्दछ ।
हामीहरु अमेरिकामा आएका प्रथम पीढी हौ । हाम्रो समाज, हाम्रा बालबालिकाहरुको भबिष्यको दृष्टिले यो अत्यन्त संबेदनसिल समय हो । एदी यो समयमा हामीले दिर्घकालिन रुपमा, युगौ युग सम्म समाजलाई जोड्ने, अनि बालबालिका हरुलाई सामाजिक, नैतिक, आध्यात्मिक रुपमा बिकाश गर्ने कार्यको बिउहरु नरोपिकन अनेकन सतही कार्यक्रमहरु लाई समाजसेवा को नाम दिदै रमाउदै बस्यौ भने यो ठुलो गल्ति हुनेछ। हाम्रो समाज न भविस्यमा जुट्ने आधार नै हुनेछ। न त हाम्रा बालबालिका हरु यो माटोमा धेरै सफल नै हुनेछ किनकी सामाजिक, नैतिक, आध्यात्मिक गुणहरुको विकास नभएका बालबालिका हरु जीवनमा धेरै माथि उठ्ने, धेरै सफल हुने सम्भावना न्यून हुन्छ । येसैले एन आर एन अमेरिकाले अब अमेरिकाका प्रत्येक राज्यहरु र सहरहरुमा मन्दिर, स्कुल, कम्युनिटी सेन्टर खोल्ने कार्य सुरु गरिहाल्नु पर्दछ । येही नै अमेरिका मूल लक्ष्य हुनुपर्दछ ।
यो समयमा अमेरिकाका विभिन्न साना–ठुला सहरहरुमा स्थानीय संघ संस्थाहरु मन्दिर, स्कुल कम्युनिटी सेन्टर बनाउन प्रयास गरिरहनु भएको छ । स्थानीय एन आर एन च्याप्टर मार्फत् यि संस्थाहरुलाई सहयोग गरिनु पर्दछ । जे जति संभव छ, आर्थिक सहयोग गरिनु पर्दछ । एक दिने, दुई दिने सतही कार्यक्रममा समय फाल्नु भन्दा एन आर एन को तर्फबाट आर्थिक श्रोत संकलनको कार्यक्रम ल्याउनु पर्दछ । एन आर एन अमेरिकाको मूल उद्धेश्य ‘नेपाली पहिचान र सांस्कृतिक संरचना’ प्रवर्धन हो भनेर वेवसाइटमा राखिएको छ । त्यो उद्धेश्यमा केन्द्रित हुनु पर्दछ ।
एन आर एन वेवसाइटमा बालबालिकाहरुलाई नेपाली भाषा, नैतिक शिक्षाका जुन पुस्तकहरु राखिएका छन् । ति पुस्तकहरु प्रत्येक बालबालिकाको हातमा पु¥याउनु पर्दछ । यसरी जब एन आर एन अमेरिकाले लक्ष्यपूर्ण सामाजिक कार्यक्रम ल्याउनेछ । अमेरिका भरि नेपाली समाजको उत्थान, सेवा, रुपान्तर का प्रक्रियाहरु सुरु हुनेछन। अवश्य नै अमेरिकी नेपाली समाज योसंस्थामा जोडिनेछ । मन्दिर, स्कुल, कम्यूनिटी सेन्टर खोल्ने पक्षमा एक लहरको नै प्रारम्भ हुनेछ । सत्य समाजसेवाको स्थापना हुनेछ । युगौँ युग सम्म हाम्रो समाजलाई सेवा, उत्थान र भविष्य दिन सक्ने कार्यक्रमहरुको प्रथम विज रोपिनेछ ।
यदि यी सामाजिक सेवाका सार्थक कार्यहरु गरिएनन भने ले पुन पुन बाटो बिराउने छ । वास्तविक समाजसेवा कार्यक्रमहरु नै नभएको संस्था हुनपुग्दा ‘नेपालीको लागि‘ ‘गतिशील‘ ‘सशक्त‘ ‘सिन्डिकेट बिहिन‘ ठुला कुराहरु गफमा परिणत हुनेछ । न समाज सेवा, न समाजको उत्थान, न स्वयम् को अध्यात्मिक जागरण मात्र पुरानै समस्याहरुको परिधिमा यो संस्था घुमिरहनेछ। मुख्यरुपमा राज्य राज्य, घर घर, सहर सहर मा गएर समाज सेवाको जुन प्रतिबद्धता गरिएको छ त्यो बिगतमा झैँ झुटो र अर्थहीन हुनजाने छ। अनि, समाज सेवाको नाममा यो जुन समय, दौडधुप, पैसा आदि खर्च भैरहेको छ, यो पनि ब्यर्थ नै खेर जानेछ । अनि, प्रतेक दुइ दुइ बर्ष मा यिनै समाजसेवाका यिनै दृश्यहरु को पुनरावृति नै भइरहने छन ।
(लेखक टेक्ससका सामाजीक अभियन्ता हुनुहुन्छ ।)
प्रतिक्रिया