सोमबार मध्यराति नेपालबाट एकजना पूर्ब सहकर्मी पत्रकार साथीले मेसेज गर्नुभयो । निदाउनै लाग्दा मोबाइलमा टिङ्ग्रिङ्ग आवाज आएपछि हेर्दा जुन कुरा सोधिएको थियो त्यो देखेर म चित खाएँ ।
साथीले एउटा स्क्रिनशट पठाएर सोधेका थिए¬ ‘सोमपाललाई मन्दिरमा टिका लगाइएन भनेर यता व्यापक चर्चा छ । त्यस्तो भएको हो र ?’
एकाबिहानै नेपाली क्रिकेट टीमलाई नेपाली समाज टेक्ससले राखेको स्वागत कार्यक्रममा म आफैँ सहभागी थिएँ । सहभागी भएको हिसाबले प्रत्यक्षदर्शी पनि भएँ । समाजले स्वागत गर्नु अघि खेलाडीहरु मन्दिरमा पसेर प्रार्थना गरेको, टिका प्रसाद ग्रहण गरेको दृश्यको साक्षीमात्र नभएर केही फोटोहरु पनि लिन भ्याएको थिएँ । नेपाली क्रिकेट टीमका कोच मोन्टी देसाई र अन्य तीन खेलाडीहरु कप्तान रोहित पौडेल, गुलशन झा र सोमपाल कामी सहभागी थिए कार्यक्रममा । अरू खेलाडी भने अाएका थिएनन् । एकाबिहानै भएर सहभागी नभएका हुन् या प्रशिक्षणमा व्यस्त भएर हो बाँकी खेलाडी थिएनन् ।
मन्दिरमा सबैलाई समान रुपले टिका, प्रसाद पुजारीद्वय डा. शेखर पण्डित र मेघराज निरौलाले दिनुभएको थियो ।
भारतीय मुलका कोच देसाईले पशुपतिनाथको मुर्ति अघि निकैबेरसम्म दुईहात जोडेर प्रार्थना गरेका थिए । उपस्थित खेलाडीहरु सबैले प्रार्थना गरेका थिए । मन्दिर भित्र पुजा र प्रसाद ग्रहण गरिसकेपछि कोच र खेलाडीहरुलाई सँगको अर्को हलमा लगेर नेपाली समाज टेक्ससद्वारा पञ्चकन्याद्वारा स्वागत गरियो, फूलको बुके हातमा दिइयो । घाँटीमा नेपाली ढाकाको कपडाको खादा पहिर्याइएको थियो ।
मन्दिर भित्र र नेपाली समाजको समेत कार्यक्रम गर्दा बढीमा १५ मिनेट मात्र उनीहरुले त्यहाँ बिताए । कोच देसाई असाध्यै हतार अवस्थामा देखिन्थे । उनले आफ्नो संक्षिप्त मन्तव्य क्रममा भनेका थिए ‘हामी महत्वपूर्ण अवस्थामा छौँ । यहाँ बढी समय बिताउने भन्दा पनि खेलको प्राक्टिसमा यतिखेर हामी र खेलाडीहरु केन्द्रित हुनुपने अवस्थाले सबैलाई धन्यवाद’ भन्दै कुरा टुंग्याएका थिए ।
भएको यो र यतिनै थियो । तर नेपालमा खबर पुग्दा क्रिकेट खेलाडी सोमपाल कामीलाई मन्दिरले जातीय भेदभाव गरेर टिका लगाएन भन्ने पुगेछ । आफ्नै आँखा अगाडी अरु खेलाडी र कोचभन्दा पहिले दुबै पण्डितहरुले सोमपाललाई जल अभिशेक गरेको दृश्य आउन थाल्यो । टिका लगाइदिएको तस्बीर त मोबाइलको क्यामराले खिचेकै थिएँ । एक पटक मोबाइल खोलेर त्यही फोटो हेरेँ ।
अरू भन्दा पहिले सोमपालले टिका लगाएका थिए । तर फेसबुकमा लाइभ सुरू अलि पछि भयो । लाइभ सुरू हुँदा सोमपाल टिका लगाएर प्रार्थनामा सरिक भैसकेका थिए । पछि टिका लगाउँदा सोमपालको निधारमा पहिलेनै भएकोले पण्डितहरूले हातमा प्रसाद मात्र दिनुभएको थियो ।
तर टिका नलगाएर भेदभाव गरेको भन्ने अफवाह कसरी नेपालमा पुग्यो ? किन यस्तो भैरहेको छ भन्ने बारेमा मैले सोच्नै सकिन । साथीलाई क्लिएर बनाउन केही फोटोहरु पठाइदिएँ ।
भोलीपल्ट मंगलबार बिहान नेपाल र नेदरल्याण्डबीच विश्वकप क्रिकेट प्रतियोगिताको गेम थियो । बिहान ब्युँझिएर मोबाइल हेर्दा नेपालबाट एक दर्जन भन्दा बढी फोन, त्यत्तिकै मेसेजका बाढी थिए । कसैले मन्दिरमा के भएको हो भनेर सोधेका थिए भने कतिले सामाजीक सञ्जालमा फैलिएका अफवाहका स्क्रिनशट राखेर मन्दिरले यस्तो नगरेको भए हुन्थ्यो भनेर चिन्ता दर्शाएका थिए । सोमपाललाई ड्यालसको मन्दिरले दलीत भएकै कारण टिका लगाएन, प्रसाद मात्र दियो, भेदभाव भयो भनेर चलनचल्तीको शव्दमा भाइरल भैसकेको रहेछ ।
आफ्नै आँखा अघिल्तिरको एउटा घटना अफवाहका रुपमा संसारभरि फैलिइसकेको देखेपछि असैह्य भयो ।
दुई कारणले मलाई असैह्य भयो । पहिलो, जे हुँदै नभएको हो त्यो डँढेलो जसरी फैलिएको थियो । दोस्रो, ड्यालसका नेपालीहरुको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिर तथा बौद्ध बिहार प्रति गंभीर आक्षेप लगाइएको थियो । पुजारीहरुलाई मनलाग्दी गाली गरिएको थियो ।
अघिल्लो दिन बिहान जे भएको हो, मैले जे देखेको थिएँ त्यसलाई संक्षिप्तमा लेख्दै तुरुन्तै ‘सोमपाल सन्दर्भ के हो ?’ भनेर फेसबुकमा पोष्ट गरिदिएँ । यथार्थता बुझ्दै नबुझि एकोहोरो लागेर हुँदै नभएको घटनालाई भएको हो भने जसरी लेख्नेहरु, पत्याउनेहरुलाई भेडाको संज्ञा दिँदै अलि कडा शव्दनै प्रयोग गरेको थिएँ । सोमपाललाई टीका लगाएको फोटो र भिडियो सहित पोष्ट गरेको थिएँ मैले ।
मेरो पोष्ट छिनभरमै धेरै व्यक्तिहरुमा पुग्यो । किनकी विशेषगरि एउटा वर्ग र समुदायले कपोलकल्पित कथा बनाएर प्रहार गरिरहेको समयमा मैले जे देखेको हो र जे भएको हो त्यसलाई लेखिदिएपछि त्यसबाट मानिसहरुलाई यथार्थता जान्ने र बुझ्ने अवसर पनि मिल्यो ।
मेरै फेसबुक स्टाटसलाई आधार मानेर नेपालबाट प्रकाशन हुने केही अनलाइनहरुले समाचार पनि बनाए । धेरैले शेयर पनि गरे । तर आँखामा पट्टी बाँधेका र सोचाई फराकिलो बनाउन नसक्नेहरुले अझै शंका गर्न छाडेनन् । वर्षौदेखि अमेरिकामै बस्दै आएका व्यक्ति हुनुहुन्छ । उहाँ आफूलाई साहित्यकार भनेर पनि चिनाउन रुचाउनुहुन्छ । मैले उहाँलाई जातीय घेराभित्र राखेर कहिल्यै हेरेको थिइन । सोमपालले निधारमा टिका भएको, मन्दिरमा टिका लगाएको फोटोलाई एडिट गरेको भन्दै उल्टै मसँग निहुँ खोज्नुभयो । उहाँको यो शंका र हर्कत देखेपछि म भित्र रहेको उहाँ प्रतिको सम्मान गर्ल्याम गुर्लम्म ढल्यो ।
जन्मले म माहिलो ब्राह्मण परिवारमा जन्मिएपनि मलाई जात प्रति कहिल्यै गर्व लागेन र लाग्दैन पनि । माहिलो ब्राह्मण भनेको हाम्रोतिर चलनचल्तीमा ‘जैसी बाहुन’ भनेर चिनिन्छन् । हाम्रो गाउँका बाहुनहरु मध्य शत प्रतिशत जैसीनै थियौँ ।
कपडा सिलाउन दर्जीकोमा गएर फर्किएपछि छिटा हाल्नुपर्छ, आरन गएर फर्किपछि पनि छिटा हालेर चोखो बनिने कथित संस्कार भित्रैबाट म पनि आएको हुँ । तर जब बुझ्ने भइयो त्यस दिनदेखि जातभातका कुरा बेकार हुन् भन्ने मनमा लिएर बसेको छु । दुध, दही, मही दलितलाई दियो भने गाईभैंसी बिग्रन्छन् र दुध दिन छाड्छन् भन्ने संस्कारबीच हुर्किएर आएपनि बुझ्ने भएपछि यी सबै बेकारका हुन् भन्ने लाग्यो । आइए पढ्दै गर्दा एकजना सहपाठी दलित साथीको डेरामा जाँदा दुईछाक भात खाएँ । जातभात, छोइछिटो, उचनिच भन्ने कुरा नै वकवाश लाग्न थाल्यो ।
तर अहिले पनि मानिसहरु जातको कुरा उरालेर रोटी सेक्ने अवसरको खोजीमा रहेछन् भन्ने तथ्य मन्दिर र सोमपालको टीका प्रकरणले छर्लङ्ग पारेको छ । राजनीति गर्न जातकै आड लिनुपर्ने, हिन्दु धर्म संस्कार विरुद्ध अफवाह फैलाउन जातमै अडेस लाग्नुपर्ने, रोजगारीमा आरक्षण लिन जातकै सहारा लिनुपर्ने कस्तो समाज हाम्रो ? अमेरिकामा बसेर पनि जातको बखेडा निकाल्ने र भेदभाव भयो भनेर विश्वास गर्ने हामी कुन शताव्दीका जिउँछौ ? यो बडो सोचमग्न विषय हो ।
हामीमा विवेक गुमिसकेको छ । हामी आफ्नो दिमागबाट काम लिने र गराउने भन्दा अरुले भरिदिएको कुराले परिचालित बन्दै गैरहेका छैनौ ? सामाजीक सञ्जालमा आउने छोटो भिडियो क्लिप हेरेर हामी तुरुन्त प्रतिकृया दिन्छौँ । त्यसैलाइै हेरेर विचारको सिर्जना गर्छौ । त्यो भिडियो कति यथार्थ हो ? कसैले सामाजीक सञ्जालमा गर्ने पोष्ट कति आधिकारिक हो ? कसैले भनिरहेको कुनै कुरा कति स्वचालित र कति परिचालित हो ? यतातिर हामी हाम्रो दिमागलाई अलिकति पनि सकृय बनाउन छाडिसक्यौँ ।
हिजोआज मानिसहरु समाचार हेर्दैनन् । घटना थाहा पाउन रेडियो सुन्दैनन् । मानिसहरु खबर थाहा पाउन पत्रिकाका पानाहरु पल्टाउँदैनन् । कुनै विषयमा धारणा बनाउन विज्ञका कुरा सुन्दैनन्, आफूआफू बीच छलफल गरेर विचार निकाल्दैनन् । गर्छन् त केबल सामाजीक सञ्जालको भरोसा र विश्वास । खबर लिने माध्यम बनेको छ सामाजीक सञ्जाल । खबर दिने माध्यम पनि बनेको छ सामाजीक सञ्जाल ।
सामाजीक सञ्जाल प्रतिको विश्वास मानिसहरुमा यति गहिरो छ कि फेसबुकमा फलानोले लेखेको, ट्विटर (हालको एक्स) मा तिलानोले ट्विट गरेको, टिकटकमा फलानोको भिडियो हेरेको भन्दै त्यसलाई विश्वास गर्ने समुदाय ठूलो छ ।
तर सामाजीक सञ्जालको परनिर्भरताले समाजलाई असहिष्णु बनाएको छ, अराजक बनाएको छ । गलत सूचनाले मानिसहरुमा यहीनै अन्तिम सत्य रहेछ भन्ने अवस्था सिर्जना गरेको छ । जसरी एउटा अगाडीको दृश्यनै नभएको भिडियो क्लिपमा सोमपाललाई टिका लगाइएन भनेर होहल्ला मच्चाइयो, कोलाहल सिर्जना गरियो । एक प्रकारले तथाकथित भाइरल बनाइयो विषयवस्तुलाई, चियापसलमा कुरा काटियो, अनलाइनका स्पेशहरुमा यसो भयो अरे, उसो गरेछन् नि भन्दै घनघोर वहश पनि भए । यथार्थतामा यी वेकामेहरुको समय कटाउने मेलो मात्र थियो । अझै नेपालको परराष्ट्र मन्त्रालयले समेत चासो दिएर सोधीखोजी गर्यो । परराष्ट्रले चासो दिनुपर्ने धेरै कुराहरु थिए । तर उसले जात जोडियो, भेदभाव शव्द गाँसियो भनेपछि सोधीखोजी गरिहाल्यो ।
सामाजीक सञ्जाल मिथ्या सूचनाको भकारी बन्दै गएको छ । मानिसहरूलाइ उत्तेजित बनाउने माध्यम हुँदै गएको छ, भड्काउने हतियारमा परिणत भैराखेको छ । सामाजीक सञ्जाल कसैको नियन्त्रणमा छैन । जस्ले जे लेखेपनि, जस्ले जे बोलेपनि चलनचल्तीको शव्दमा बाटाको मादल भएको छ । सही व्यक्तिको हातमा पर्दा राम्रो धून दिन्छ, तर सिकारुको हातमा पर्दा मादलको खरीनै फुट्नसक्छ ।
सामाजीक सञ्जालका कुराहरु फिल्टर गरेर, क्रशचेक गरेर मात्र विश्वास गरौं, विचार बनाउँ । नभए कागले कान लग्यो भनेर हल्लामै कान नछामी पछिपछि दगुरेको चरितार्थ हुनेछ । सामाजीक सञ्जालको भर परेर हामी काेही पनि भेडा नबनाैँ, लज्जित हुने अवस्थामा नपुगाैँ ।
प्रतिक्रिया