मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

नेपालमा थारु जातिको महत्व

नेपालमा थारु जातिको महत्व

Sambuddha Paudyal

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सम्बुद्ध पौड्याल

थारु जातिले नेपालमा बसोबास गर्दै आएको धेरै वर्ष भैसकेको छ । थारु जातिका मानिसहरु नेपालको तराई भेगमा बसोबास गर्दै आएका छन् । मुख्य गरि दाङ बाँके बर्दिया र पुर्वमा सर्लाही धनुषा सिराहा महोतरी, चितवन आदि जिल्लामा बसोबास गर्दै आएका छन् । नेपालमा मात्रै नभएर भारतको धेरै ठाउँमा पनि थारु जातिको बसोबास छ ।

थारु जातिका मानिसहरु हिन्दु धर्मावलम्बीका हुन् तर हाल केहि व्यक्तिहरु भने इसाई धर्ममा परिवर्तन भएका छन् । थारु जाति भित्र पनि अनेक थरहरु हुन्छन । पल्पलिया, सत्गौवा, दहि, कुसुमिया आदि विभिन्न थरहरु हुन्छन् ।

हिन्दु जातिले मनाउने विभिन्न चाडपर्व जस्तै दशैं, तिहार , कृष्ण अष्टमी आदि थारुहरुले पनि मनाउने चलन छ । त्यसै गरी धुरेरी (होली) पनी मनाउने चलन छ । ‘खेत’ सक्काएपछि हर्दावा चलन छ जहाँ खेत सक्केको खुसीमा खानपिन गरिन्छ । नाग पञ्चमीलाई थारुजातिमा गुडिया नामले चिनिन्छ र यो चाड हर्षउल्लासका साथ मनाइने गरिन्छ । थारु जातको बसोबास भएको गाउँमा एउटा कुलदेवताको मडुवा थान हुन्छ जुन काठबाट बनेको हुन्छ । यो मडुवा थानको काठको मुर्ति हरेक ५ वर्षमा परिवर्तन गरिन्छ । मडुवा थानमा विवाह गरेपछि, घरमा नयाँ जन्तु ल्याउँदा आदि समयमा पुजा गर्ने चलन छ । घरमा नयाँ जन्तु ल्याउँदा झट्का (रक्सी र कुखुराको रगत) चडाउने चलन छ । थारु जातिको मुख्य देवताहरुका नाम मैया, झाक्री, सतिनिया, सौन्रा आदि हुन् । मुख्य चाड भने माघिपर्व हो । माघिको दिन १ वर्षसम्म गाउँको अगुवा नियुक्त हुने गर्छ । अगुवा गाउँको महतौ हुन्छ । त्यो गाउँको कुलो, खेत लगाउने आदि सबै अगुवाको जिम्मेवारी हुन्छ । मडुवा थानमा पनि उसले आफ्नो काम गर्छ । चाडपर्वमा रक्सि, धिक्री, सुवर, घोंगी, फुलौरी आदि मुख्य भोजनको रूपमा चाहिन्छ । पारम्परिक रूपमा थारु जातिले बनाउने रक्सीलाई जाँड भनिन्छ । धिक्री भनेको चाहिँ चामलको पीठोलाई आकार दिएर पानीको बाफमा पाकाइएको परिकार हो ।

खेतीपातीमा मुख्य गरि यो जातिले धान, गहुँ, तोरी, मसुरो, अर्सी, मकै, अरहर, चना आदि अन्न उत्पादन गर्छन् । यो जाति एकदमै मिहिनेती र परिश्रमी हुन्छ र सबै काम आफै गर्छन् । खानपिनमा मुख्य गरि दालभात बाहेक माछा, घोंगी, सिद्रा आदि खान्छन् र पिरो खान यो जातिलाई धेरै मन पर्छ । त्यसैले खोर्सानी धेरै मन पराउन्छन् । खेतीकिसानीमै अधिकांश जनता निर्भर छन् । घरमा कुखुरा, सुँगुर, बंगुर, गाई, भैंसी आदि पाल्ने गर्छन् । र खेतीकिसानीमा सहयोग गर्न औजारको रूपमा हसिया, बांको, फरुवा, कोदाली आदिको प्रयोग गर्छन् । पहिले राँगा, गोरुको सहायताले खेत जोतिन्थ्यो भने अहिले त्यो परिवर्तन भएर आधुनिक यन्त्रहरू प्रयोग गरिन्छ ।

पर्यटकीय दृष्टिकोणले हेर्ने भए थारु नाच एकदम प्रख्यात छ । मुख्य नाचहरु बदकनाच, झुम्रानाच, सखियानाच आदि हुन् । नाच गर्दा बजाउने बाजामा मुख्य बाजा मादल , झार बाजा आदि हुन् । र यो जातिको मुख्य गीत चाहिँ मागर र सजना आदि हुन् । पुरुषहरुले लगाउने पारम्परिक मुख्य पहिरन लगौंटी र भोटि हो भने महिलाहरुले लगाउने लेहेंगा, चोलिया (कुर्था) आदि हो । हाल भने परिवर्तन भएर पुरुषले शर्ट प्यान्ट र महिलाले सुरुवाल कुर्था धोति लगाउने चलन छ ।

मडुवा थान

अधिकांश थारु जातिका मानिसको घर तराई भेगमा छ । पहिले घर काठ, खरबाट बन्थ्यो । घरलाई उत्तर दक्षिण तर्फ फर्काएर बनाउने चलन थियो । पहिले घरको छानोमा खर राखिन्थ्यो भने बिस्तारै खरलाई टिनले फेर्यो । आफ्नो घरको आगनमा देवता राख्ने चलन पनि छ । माटोको घोडा बनाएर घोडाको देवता राख्ने चलन छ । घरभित्र एउटा सबैभन्दा पूर्वतिर देउवा राख्ने, पश्चिमतिर माटोको चुलो बनाएर त्यसमा खाना पकाउने र दक्षिणपट्टि बस्ने लामो कोठा बनाइन्छ जहाँ ढिकी, चाकी, काटेको घाँस आदि राखिन्छ । बस्नको निम्ति भने गुन्दबाट आफैँ बिनेर बनाईएको खर्रा, गुन्द्री, पातकी आदि प्रयोग गरिन्थ्यो ।

थारुजातिको विवाह प्रक्रिया एकदम रोचक छ । विवाहमा चदौला बनाउने चलन छ । चदौला २ खटिया जोडेर बन्छ । चदौलालाई सजाएर दुल्हालाई लगिन्छ र फर्किने समयमा दुलहीलाई डोलीमा राखेर ल्याइन्छ । विवाहको समयमा केटाको पक्ष्य जन्ती जाँदा त्यो घरको भिनाजुले बर्छी र एक बोत्तल रक्सि लगेर जानुपर्छ । बर्छिमा ५ वटा सगुन माछा लगिन्छ । केटीको घर पुगेपछि त्यहाँको कुल देवताको अगाडी यो बोकेर लगेको सामान राखिन्छ । र बिदाइको समयमा फेरी त्यो झिकेर मागर गीत गाउँदै केटि बिदाई गरेर ल्याइन्छ । घर भित्र्याउने समयमा मडुवा थानमा पुजाआजा गरेर मात्रै भित्राउने चलन छ । मरुवामा गएर बुहारी भित्र्याउने समयमा पुजा गर्ने त्यो गाउँमा बसोबास गर्ने सबैले गर्नुपर्छ । विवाहपछि पुजा गर्ने समयमा धजा चडाउने, चामल चडाउने, बत्ति बाल्ने, रक्सी धरकाउने (चडाउने) आदि कार्य गरिन्छ ।

पुजाहरु भने त्यस गाउँको महतौंको निर्देशनमा हुन्छ र पुजाहरुको नाम भने धुरिया पुजा, हिरिरी पुजा, लवाइंगि, रेम्झी आदि हुन् । रेम्झी पुजा हरेक वर्ष असोजमा पुरै गाउँका मानिस मिलेर गरिने पुजा हो । धुरिया पुजा चैत्र महिनामा, हिरिरी भदौमा र लवाइंगि मंगसिरमा गरिन्छ ।

परम्परागत रूपमा पानी परेको समयमा बाँस र मलुकाको छाना बनाएर ओढ्ने चलन थियो । हाल भने छाता प्रयोग गरिन्छ । पहिले मिलहरू नहुने समयमा काठबाट बनेको ढिकीमा धान हालेर कुट्ने चलन थियो । पिठो पिस्न ढुंगाको चक्की र तेल कोलमा पेल्नु पर्थ्यो । लड़ियाबाट काठ ढुवानी गरिन्थ्यो भने सबै आवत जावत गर्न हिड्ने गर्थे । माथिल्लो अहोदाको व्यक्तिले भने घोडामा सवार गर्थ्यो । बिजुली नभाको कारण बत्तिको लागि लाल्टिन, माटोबाट बनेको धेब्री, पाला र टुकी प्रयोग गरिन्थ्यो । ढुवानीको निम्ति बहिंगा पनि प्रयोग गरिन्थ्यो । बहिंगा दुई तिर छिटुवा राखेर बनाइन्थ्यो । बहिंगाको प्रयोग गरेर नुन तेल आदि ओसारपसार गरिन्थ्यो र बालबच्चालाई पनि त्यसमै राखेर लगिन्थ्यो ।

थारु संस्कृतिमा विकृतिहरु पनि देखिएका छन् । साथसाथै आधुनिकीकरणका कारण धेरै परम्परागत संस्कृति लोप हुने खतरा छ । समस्यालाई उपयुक्त निकायले समाधान गर्छ भन्ने आशा छ । थारु संस्कृतिबारे माथि उल्लेख कुराहरुको ज्ञान लमही नगरपालिका वार्ड न. २, दाङमा बसोबास गर्ने भैरव चौधरीबाट लिइएको थियो । उहाँलाई धेरै धेरै धन्यवाद छ ।