आगामी शुक्रबारबाट नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय फिल्म महोत्सवको चौथो संस्करण सुरु हुने भएको छ । तीन दिनसम्म ललितपुरमा चल्ने महोत्सवमा मानव अधिकारका मुद्दालाई केन्द्रमा राखी निर्माण गरिएका फिल्म देखाइनेछन् । फिल्ममार्फत मानव अधिकारका मुद्दाहरुबारे परिचय दिलाउन महोत्सव आयोजना गर्दै आएको आयोजक पाण्डव खत्रीले बुधबारको पत्रकार सम्मेलनमा बताए । मानव अधिकार चलचित्र केन्द्रको आयोजना रहने महोत्सव ललितपुरको स्टाफ कलेजमा चल्नेछ ।
मानिसले सम्मानपूर्वक समान व्यवहार पाएर बाँच्न पाउनुपर्छ भन्ने मान्यता बोकेर निर्माण गरिएका फिल्महरु महोत्सवको प्राथमिकतामा परेको कार्यक्रममा जानकारी गराइयो । महोत्सवमा नेपाल, भारत, बंगलादेश, पाकिस्तान, इजरायल, इरान, इराक, अस्ट्रेलिया, कम्बोडिया, अमेरिकालगायत १३ देशका ३२ वटा देशका फिल्म सहभागी रहेका छन् । महोत्सवमा सहभागी मध्ये २५ फिल्म प्रतिस्पर्धामा सहभागी हुनेछन्, जसमा पाँच नेपाली फिल्म पनि परेका छन् ।
महोत्सवको ‘नेपाली कर्नर’ सेक्सन अन्तर्गत चारवटा र ‘अतितका आँखा’ सेक्सनमा मोहन मैनालीको ‘जोगिमाराका जिउँदाहरु’ तथा धु्रव बस्नेतको ‘रक्ताम्मे गह्राहरु’ हेर्न पाइनेछ । पाकिस्तान, बंगलादेश, माल्दिभ्स र श्रीलंकाका फिल्महरुको विशेष प्रदर्शनी हुनेछ ।
भर्खरै चलचित्र विकास बोर्डबाट ‘विशेष फिल्म’को अवार्ड जित्न सफल नेपाली फिल्म ‘छायाँ’को महोत्सवमै प्रिमियर गरिनेछ । बाल यौनदुराचारको विषय बोकेको उक्त फिल्म मनोज पण्डितले निर्देशन गरेका हुन् ।
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले उद्घाटन गर्ने महोत्सवको सुरुवात अस्कर अवार्ड विजेता पाकिस्तानी डकुमेन्ट्री ‘अ गर्ल इन द रिभर’को प्रदर्शनीबाट गरिनेछ । महोत्सवमा इजरायली फिल्म निर्देशक डान वुल्म्यान, नेपाली निर्देशक छिरिङरितार शेर्पा र बंगलादेशी निर्देशक शहनबाज काकोली सम्मिलित जुरी (निर्णायक मण्डल)ले उत्कृष्ट फिल्म छनोट गर्नेछ ।
राष्ट्रिय मानव अधिकार आयोग र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)को सहकार्यमा हुन लागेको महोत्सवमा भारत, बंगलादेश र माल्दिभ्सका फिल्मकर्मीहरु अतिथिका रुपमा सहभागी हुनेछन् ।
प्रतिक्रिया