बिश्व घटना

भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज १ गते घोषणा गरिने

भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज १ गते घोषणा गरिने


शेयर गर्नुहोस:

54
Shares

  • change font
  • change font

काठमाडौँ । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण स्थगित भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा आउँदो असोज १ गते गरिने भएको छ । करदातालाई बिल लिन र कर तिर्ने प्रणालीमा अभ्यस्त गराउन नयाँ आर्थिक वर्षको बजेटमार्फत यो उपहार कार्यक्रम घोषणा गरिएको थियो ।

साउन १ देखि सुरु प्रोत्साहन कार्यक्रमअन्तर्गत भदौ १६ गते हुने भनिएको पुरस्कार घोषणा भोटेकोसी बाढीका कारण देशमा विपत्ति आएपछि स्थगन गरिएको थियो । असोज १ गते भदौको पुरस्कार घोषणा गर्ने तयारी गरिएको अर्थ मन्त्रालयअन्तर्गतको आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालले जानकारी दिए ।

Advertisement

पहिलो चरणमा भदौ १ देखि १५ गतेसम्म बिल–बिजक लिएर विभागको पोर्टलमा दर्ता गराएका तथा अनलाइनमार्फत वस्तु खरिद गरेका उपभोक्तामध्येबाट हरेक दिनको एकका दरले १५ जनालाई जनही एक लाख ३३ हजार ३३४ रुपैयाँ प्रदान गरिनेछ ।

यस्तै, भदौ १ देखि १५ सम्म कारोबारमा संलग्न उपभोक्तामध्येबाट एकजनालाई १० लाख रुपैयाँ राशिको करदाता बम्पर प्रोत्साहन पुरस्कारका निम्ति छनोट गरिनेछ ।

त्यसपछि दोस्रो चरणमा भदौ १६ देखि ३१ गतेसम्मका १६ दिनका निम्ति १६ जनालाई जनही एक लाख ३३ हजार ३३४ रुपैयाँ पुरस्कारका लागि छनोट गरिने विभागले जनाएको छ ।

यस्तै, भदौको दोस्रो १६ दिनका उपभोक्तामध्येबाट एकजना १० लाख रुपैयाँ राशिको बम्पर विजेता छनोट हुनेछन् ।

असोज १ गते भदौ महिनाका एक लाख ३३ हजार ३३४ रुपैयाँका ३१ र १०/१० लाख रुपैयाँका दुई बम्पर विजेता गरी ३३ जनालाई करदाता प्रोत्साहन पुरस्कार प्रदान गरिने विभागले जनाएको छ ।

पुरस्कारका निम्ति योग्य हुन उपभोक्ताले अनिवार्य रूपमा १०० रुपैयाँभन्दा बढीको वस्तु खरिद गर्दा सक्कली भ्याट वा प्यान बिल लिनुपर्छ । कारोबार गर्दा सकेसम्म अनलाइन भुक्तानी गर्नुपर्छ । अनलाइनमार्फत गरिएको कारोबार स्वतः सरकारको करदाता प्रोत्साहन प्रणालीमा समावेश हुन्छ । नगदमा कारोबार गरेर सक्कली बिल लिएका उपभोक्ताले आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन पुरस्कार पोर्टलमा गई आफूले प्राप्त गरेको बिल ‘अपलोड’ गरेर पुरस्कारका निम्ति योग्य बन्न कुपन लिनुपर्छ ।

भदौ १ देखि १५ गतेसम्म बिल लिएका उपभोक्ताले पुरस्कारमा सहभागी हुन १५ गतेसम्म आफ्नो बिल प्रणालीमा दर्ता गरेर उपहार कुपन लिइसकेको हुनुपर्छ । भदौ १६ देखि ३१ गतेसम्म कारोबार गरेर बिल लिएका उपभोक्ताले भदौ मसान्तको राति १२ बजेसम्ममा आफ्नो बिल प्रणालीमा दर्ता गरेर उपहार कुपन प्राप्त गरिसकेको हुनुपर्छ ।

दुवै पुरस्कार रकममा २५ प्रतिशत कर लाग्नेछ । हरेक दिनका एक लाख ३३ हजार ३३४ रुपैयाँका विजेताले कर कटाएर एक लाख र १० लाखका विजेताले सात लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने कार्यविधि छ । साउनमा ३३ जनाले पुरस्कार जितेका थिए ।