बिश्व घटना

एक हजार बढी युक्रेनी सैनिकद्वारा आत्मसमर्पण, रुससँगको वार्तामा युक्रेनको अडान कायमै

एक हजार बढी युक्रेनी सैनिकद्वारा आत्मसमर्पण, रुससँगको वार्तामा युक्रेनको अडान कायमै


कि । एक हजार बढी युक्रेनी सैनिकले पूर्वी युक्रेनको बन्दरगाह सहर मारिउपोलमा आत्मसमर्पण गरेका छन् । सो कुराको पुष्टि रुसको रक्षा मन्त्रालयले बुधबार गरेको छ । ती सैनिकहरुलाई रुसी सेनाले एक महिनाभन्दा बढी समयदेखि घेरामा राखेका थिए । 
 
मारिउपोल सहरमा एक हजार २६ युक्रेनी सैनिकले स्वेच्छाले हतियार त्यागेर आत्मसमर्पण गरेका मन्त्रालयले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ । 
 
यसैबीच, रुसले युक्रेनमाथि गरेको हमलाको विषयमा वार्ता गर्न गठित युक्रेनी वार्ता टोलीका संयोजकले युक्रेनले राखेका शर्तहरु कुनै पनि हालतमा परिवर्तन नहुने अडान राखेका छन् । 
 
उनले युक्रेनले रुससँग वार्ता गर्ने तर पनि आफूले यसअघि राख्दै आएका अडानहरुका बारेमा कुनै परिवर्तन नहुने बताएका हुन् । 
 
रुससँगको वार्ताका लागि युक्रेनद्वारा गठित युक्रेनी वार्ता टोलीका संयोजक डेभिड अरखमानियाले सो धारणा राखेका हुन् । उनले मंगलबार ट्वीट गर्दै भनेका छन्– हामी स्तानबुलमा भएका सम्झौताहरुका बारेमा अडिग छौँ र हामी त्यसमा कुनै परिवर्तन गर्ने पक्षमा छैनौँ ।
 
अहिले रुसका पक्षबाट विभिन्न शर्तहरु आएका र स्तानबुल सम्झौताको पनि अलग्गै व्याख्या गर्न खोजिएको पाइएकाले यदि त्यस्तो भयो भने त्यसले उक्त सम्झौतासमेत भङ्ग हुने त्रास रहेको पनि बताए । 
 
उनले युक्रेन पहिल्यैदेखि आफ्ना अडानहरुमा स्पष्ट रहेको र अहिले आएर ती सम्झौताहरुलाई फेरबदल गर्ने पक्षमा नरहेको पनि उनले बताएका छन् । एजेन्सी