न्यूयोर्क (अमेरिका) । नेपाली जनसम्पर्क समिति अमेरिकामा फेरि भाँडभैलो मच्चिएको छ । महाधिवेशनको मुखमा आएर आइतबार नौटंकीरुपमा गरिएको अधिवेशन कर्मकाण्डी औपचारिकतामै सीमित भयो ।
अधिवेशनले सात वर्षदेखि हुन नसकेको नयाँ नेतृत्वको चयनभन्दा पनि माउपार्टी नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा भागशान्ति मिलाएर प्रतिनिधि चयन गर्नेभन्दा अरु केही निर्णय गर्न सकेन ।
२४ घन्टाभन्दा थोरै समय दिएर नेपाली कांंग्रेस केन्द्रीय कार्यालयले दिएको आदेशलाई मान्दै आइतबार गरिएको जुम अधिवेशनले महाधिवेशनका लागि १४ जना प्रतिनिधि चयन गरेको छ । जसमा संस्थापन देउवा र पौडेल दुवै पक्षले आफ्नो बहुमत रहेको प्रचार गरिरहेका छन् ।
महाधिवेशन प्रतिनिधिमा आनन्द विष्ट, विष्णु सुवेदी, कृष्ण लामिछाने, धनञ्जय नरसिंह केसी, यादव पण्डित, भरत अर्याल, लक्ष्मी केसी, विश्व बास्तोला, विद्यासागर योञ्जन, मुनिन्द्र नेम्वाङ्ग, सुवर्ण लामा, रामशरण हुमागाईं, गौतम दाहाल, अमृत भट्टराई र सुभाष लामा चयन भएका छन् । यी १४ मध्य सुवेदी, लामिछाने, केसी, पण्डित, अर्याललगायत पौडेलका पक्षमा स्पष्ट खुलेका छन् ।
संस्थापन पक्षबाटै आफ्नो पक्षमा कम प्रतिनिधि छनोट गरेको भन्दै सभापति विष्टको तीव्र आलोचना भैरहेको छ ।
जनसम्पर्क समितिका उपाध्यक्ष केशव बरालले त्यही विरोधका स्वरुप राजीनामा दिएको घोषणा गरेका छन् । धेरैचाहिँ काठमाडौँ पुगेरमात्र खुल्ने चरित्रका पनि रहेको टिप्पणी भैरहेको छ ।
आफूलाई प्रजातन्त्रको हिमायती भनेर दाबी गर्ने कांग्रेसको भातृसंस्थाको सात वर्षपछि भएको नौटंकीपूर्ण अधिवेशनले धेरैलाई चकित पारेको छ । पटकपटक आर्थिक मामिलामा विवादमा पर्दै आएको जनसम्पर्क समितिले अमेरिकी नागरिकता लिएका व्यक्तिहरुलाई गुपचुपरुपमा सदस्यता दिएको विषयसमेत अधिवेशनमा उठ्न सकेन ।
नेपालको संविधान र कांग्रेसको विधानमा नेपालभन्दा बाहेकको देशको नागरिकता लिएकाले सदस्यता लिन नपाउने प्रावधान छ । हालैमात्र कांग्रेस केन्द्रीय कार्यालयले एक परिपत्र जारी गर्दै विदेशमा रहेका जनसम्पर्क समितिबाट आउने महाधिवेशन प्रतिनिधिले अनिवार्यरुपमा नेपाली पासपोर्ट प्रयोग गरेर यात्रा गरेको प्रमाण पेश गर्नुपर्ने नीति बनाएको छ ।
तर, अमेरिकाबाट महाधिवेशन प्रतिनिधि चयन भएकाहरुमध्ये केही अमेरिकी नागरिकताधारी (न्याचुरलाइज सिटिजन) रहेको टिप्पणीसमेत भैरहेको छ ।
प्रतिक्रिया