भरतपुर । नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले सोमबार केन्द्रीय सदस्यमा उमेदवारी घोषणा गरेका छन् । दुई तिहाइ महाधिवेशन प्रतिनिधिसँगै एक हजार बढी कांग्रेस नेता कार्यकर्ताको उपस्थितिमा श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् ।
प्रखर वक्ता श्रेष्ठको उम्मेदवारी घोषणामा जिल्लाका तीन क्षेत्रका ७९ जना महाधिवेशन प्रतिनिधिमध्ये झण्डै ६० जनाको उपस्थिति रहेको उनले जानकारी दिए । कार्यक्रममा नेपाली कांग्रेस चितवनका निवर्तमान सभापति टेकप्रसाद गुरुङ, पूर्वसभापति कृष्णलाल सापकोटा, तोपमानसिंह गुरुङ, प्रदेशसभा सदस्य बलराम पौडेल, जिल्ला सभापतिका आकांक्षीहरु कैलाश कोइराला, उत्तम जोशी, प्राडा सूर्यकान्त घिमिरे, राजेश्वर खनाल र विजय भुसालसमेतको उपस्थिति रहेको थियो ।
घोषणासभामा आफ्नो उमेदवारी घोषणा गर्दै उनले कांग्रेस चितवनले ७५ वर्षको इतिहासमा अहिलेसम्म केन्द्रीय सदस्य पाउन नसकेको बताए । जसले गर्दा कांग्रेस चितवनलाई केन्द्रले दायाबाया गरिरहेको बताए । उनले भने, “कांग्रेसको ७५ वर्षको इतिहासमा अहिलेसम्म केन्द्रीय सदस्य पाउन सकेको छैन । यो तोड्नका लागि सबै एक भएर निर्वाचनमा होमिनु जरुरी छ ।”
आफ्नो उमेदवारी आदिवासी कोटाबाट केन्द्रीय सदस्यमा रहेको भन्दै उनले जिल्लाबाट उमेदवार रहेका सबै उमेदवारलाई सहयोग गर्न महाधिवेशन प्रतिनिधिहरुलाई आग्रह गरे ।
को हुन् जीतनारायण श्रेष्ठ ?
नेपाली कांग्रेसका नेता स्व. बलबहादुर श्रेष्ठको साइँलो छोराको रुपमा जन्मिएका जीतनारायण श्रेष्ठ नेपाली कांग्रेस चितवनको राजनीतिमा एक उदयमान ताराको रुपमा चिरपरिचित छन् । लामो समय शक्तिखोर गाउँविकास समितिको अध्यक्ष भएका बुबा स्व. बलबहादुर र साबिक शक्तिखोर गाविस नेपाल महिला संघका संस्थापक अध्यक्ष रहेकी आमा तिलकुमारी श्रेष्ठका कारण उनको परिवार सम्पूर्ण रुपले नेपाली कांग्रेसको राजनीतिमा समर्पित भएको थियो ।
यसै पारिवारिक पृष्ठभूमिका कारण बाल्यकालदेखि नै नेपाली कांग्रेसको राजनीतिमा लागेका जीतनारायण समसामयिक राजनीति र घटनाक्रमलाई स्पष्ट रुपमा जनतासमक्ष प्रस्तुत गर्न सक्ने प्रखर वक्ताको रुपमा स्थापित छन् ।
१२ वर्षको उमेरमा कक्षा ६ मा पढ्दै गर्दा विसं २०४८ सालको आमनिर्वाचनमा पार्टीका तर्फबाट उमेदवार भएका स्व. डा गंगाधर लम्साल र नेपाली कांग्रेसको पक्षमा मत माग्न र मतदाताका लागि नेपाली कांग्रेसको पक्षमा प्रभावित पार्ने सन्दर्भमा कम्युनिस्टहरुलाई वैचारिक र समसामयिकरुपमा तेजोवध गर्दै श्रेष्ठले राजनीतिक यात्रा सुरु गरेका थिए । नेपाल विद्यार्थी संघ चितवनको अध्यक्ष हुँदै नेपाली कांग्रेस जिल्ला कार्यसमितिको सदस्य र सचिव हुँदै १३ औँ महाधिवेशनबाट सभापति पदमा निर्वाचित श्रेष्ठ नेपालभरकै कान्छो जिल्ला सभापतिको रुपमा परिचित छन् ।
चितवन जिल्लाको विकट मानिने साबिक शक्तिखोर गाविस वडा नं ६ हाल कालिका नगरपालिका वडा नं ९ मा जन्मिएका श्रेष्ठ स्पष्ट वक्ता र सबैसँग घुलमिल हुनसक्ने मिलनसार व्यक्तित्व हुन् । तत्कालीन जुटपानी गाउँपञ्चायतका उपप्रधानपञ्च रहेका उनका हजुरबुबा स्व. हर्कबहादुर श्रेष्ठ र २५ वर्षसम्म निरन्तर साबिक शक्तिखोर गाविसको अध्यक्ष रहेका स्व. बुबा बलबहादुर श्रेष्ठको प्रेरणाबाट नेपाली कांग्रेसको राजनीतिमा संलग्न भएका उनको रुचि अध्ययन, भ्रमण र समाजसेवा रहेको छ ।
अर्थशास्त्रमा स्नाकोत्तर गरेका श्रेष्ठ विद्यालय व्यवस्थापन समितिको सदस्य, नेपाल रेडक्रस सोसाइटी शक्तिखोरका संस्थापक सभापति भई हाल शहीद स्मृति बहुमुखी क्याम्पसका सल्लाहकार रहेका छन् ।
विद्यार्थी राजनीतिबाट क्रमशः नेपाली कांग्रेसको राजनीतिमा उदाएका श्रेष्ठले जिल्लामा नेपाली कांंग्रेसको राजनीतिक नेतृत्व गरेसँगै उनको राजनीतिक यात्रा निरन्तर अघि बढेको छ । झण्डै साढे पाँच वर्षको जिल्ला सभापतिको जिम्मेवारी संहाल्दै गर्दा नेपाली कांग्रेसको संगठन विस्तार र संस्थागत निर्णयको परिपाटी बसाउनमा उनको भूमिका महत्त्वपूर्ण रह्यो । जिल्लाको सफल नेतृत्व गरिसकेका श्रेष्ठको अबको यात्रा नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उमेदवारी रहेको छ ।
हालसम्म चितवन जिल्लाबाट नेपाली कांग्रेसको केन्द्रीय राजनीतिमा प्रत्यक्ष पहुंँच विस्तार नभएको अवस्थामा उनको उमेदवारी आमजिल्लावासीहरुको लागि आशा र भरोसाको केन्द्रविन्दु बन्न गएको छ ।
प्रतिक्रिया