ड्यालस, अमेरिका । नेपालको काठमाडौँ उपत्यकामा नेवार समुदायले भव्य रूपमा मनाइने ‘येँ याः’ अर्थात् इन्द्रजात्रा आइतबार टेक्ससको ड्यालसमा प्रचण्ड गर्मीका बाबजुद उत्साहजनकरूपमा सम्पन्न भएको छ ।
ग्रेपभाइन सहरमा रहेको तालनजिकै आयोजना गरिएको सो कार्यक्रममा नेवार समुदायका विभिन्न सांस्कृतिक झाँकीहरू प्रदर्शन गरिएका थिए । इन्द्रजात्रा समारोहमा नेवार समुदायका साथै टेक्ससमा बसोबास गर्ने नेपाली समुदायका अन्य सर्वसाधारणको समेत बाक्लो सहभागिता रहेको थियो ।
कार्यक्रमका अवसरमा लाखे नाच, धिमे बाजाको धुनमा परम्परागत नृत्य तथा काठमाडौँ उपत्यकाको मौलिक नेवारी सांस्कृतिक प्रदर्शनी प्रस्तुत गरिएको थियो ।
ड्यालसमा विगत १२ वर्षदेखि निरन्तररूपमा इन्द्रजात्रा पर्व मनाउँदै आइएको र यसले प्रवासमा रहेका नेपालीहरूलाई आफ्नो मौलिक संस्कृतिसँग जोडिराख्न ठूलो सहयोग पुर्याएको अभियानकर्ता प्रमेश श्रेष्ठले जानकारी दिए । आइतबार अत्याधिक गर्मी भए पनि जात्रा अवलोकनका लागि आएका सर्वसाधारणहरू साँझसम्म बसेर सांस्कृतिक कार्यक्रमको आनन्द लिनुका साथै पर्वको पौराणिक महत्त्वबारे जानकारी लिएका थिए ।
पौराणिक किंवदन्तीअनुसार सत्ययुगमा देवराज इन्द्र पारिजातको फूल लिन मर्त्यलोक (पृथ्वी) झरेका थिए । तान्त्रिकको बगैँचाबाट फूल टिप्ने क्रममा उनी पक्राउ परेपछि इन्द्रकी आमा वसुन्धरा पृथ्वीमा आएर उनलाई बन्धनमुक्त गराएर लगेकी थिइन् । सोही दिनको सम्झनामा इन्द्रजात्रा मनाउन थालिएको जनविश्वास छ । त्यसै समयमा इन्द्र र काठमाडौँवासीबीच भएको सहमतिअनुसार उपत्यकामा हुस्सु लाग्न थालेको र त्यही कुहिरोका कारण धान बाली सप्रिन मद्दत पुगेको कथन पनि रहिआएको छ ।
ड्यालसबाहेक अमेरिकाका अन्य विभिन्न सहरहरूमा बसोबास गर्ने नेवार समुदायले पनि हरेक वर्ष इन्द्रजात्रा हर्षोल्लासका साथ मनाउँदै आएका छन् ।
















प्रतिक्रिया