लन्डन । हालै अफ्रिकामा भेटिएको भनिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन भेटिएपछि बेलायतले थप प्रतिबन्धहरुको घोषणा गरेको छ । प्राप्त समाचारहरुमा बेलायतले अहिलेको भन्दा थप कडा प्रतिबन्धहरुको घोषणा गरेको हो । त्यस्तै बेलायत आउने अरु देशका उडानहरुमा पनि निगरानी गरिएको छ ।
बेलायत आउने हरेक यात्रुले दुई दिन मात्र यताको स्वास्थ्य रिपोर्ट अनिवार्यरुपमा देखाउनुपर्ने र बेलायत पुगेपछि पनि पिसिआर टेष्ट गरिने छ । यसरी गरिएको परीक्षणमा यदि कोरोना भाइरस पोजेटिभ देखिएमा आफैँ आइसोलेसनमा बस्नुपर्ने र नेगेटिभ रिपोर्ट आएपछिमात्र बाहिर निस्किन पाउने बताइएको छ ।
हालै अफ्रिकामा देखिएको भनिएको नयाँ भाइरस बेलायतमा देखिएको कुरा यहाँका स्वास्थ्यमन्त्री सजिद जाभिदले जानकारी दिएका छन् । यो भाइरसको सङ्क्रमण देखिएका दुई जनालाई आइसोलेसनमा राखिएको र उनीहरुको थप स्वास्थ्य अनुसन्धान जारी रहेको पनि उनले बताए ।
बेलायतका प्रधानमन्त्रीले यो भाइरसको प्रभाव अहिलेको भन्दा निकै खतरनाक रहेको भन्दै थप प्रतिबन्धहरुका बारेमा जानकारी दिएका हुन् । उनले हाललाई विदेशबाट आउने उडानहरुमा सतर्कता अपनाइने र यात्रुहरुको पिसिआर परीक्षणलाई अनिवार्य गरिने जानकारी दिए ।
साथै बेलायतमा यात्राका क्रममा तथा सार्वजनिक यातायातमा अनिवार्यरुपमा मास्कको प्रयोग गर्नुपर्ने नियम पनि सार्वजनिक गरिएको बताइएको छ । एजेन्सी
प्रतिक्रिया