साहित्य सिर्जना

विमान विद्रोहले देखाएको नेपाली कांग्रेस

पुस्तक अनुभवः

प्रकाशित |
दुर्गा सुवेदीको नाम अढाई दशक अघिनै सुनेको हुँ मैले। २०५१ सालको चुनावताका तत्कालिन वहालवाला प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला विरुद्ध उम्मेदवारी दिएपछि उनको चर्चा ज्यादा सुनिएको थियो । मोरङ क्षेत्र नं. १ बाट कोइराला विरुद्ध उम्मेदवारी दिएर एकहजार चानचुन मत पाएका थिए सुवेदीले । जतिखेर कोइरालासँग पौठेजोरी खेल्नु पहाडसम्म कुमले जोरी खोज्नुजस्तै थियो । 
म जन्मिएकै वर्ष र महिना नेपालको इतिहासमा पहिलो पटक विमान अपहरण भएको थियो । तत्कालिन शाही नेपाल वायुसेवा निगमको ट्विनअट्टर विमान अपहरण भएको थियो । बिराटनगरबाट काठमाडौंका लागि उँडेको विमान अपहरण गरेर बिहारको फारबिसगञ्ज पुुर्याइयो । जहाँबाट ३० लाख भारु निकालेर विमान अनि यात्रीहरुलाई तत्कालै सकुशल छाडियो । जुन घटना इतिहासमा निकै चर्चित भयो । तर त्यस घटनाका एउटा पात्र सुवेदी भने कोपभाजनमा परेर राजनीतिबाट सदाका लागि हराउने अवस्था आयो । 
 
होला, त्यतिखेर विमानस्थलको सुरक्षा व्यबस्था अहिले जस्तो कडा थिएन । विमानमा चढ्नु सहज थियो होला । तर पनि विमान अपहरणको योजना बनाउनु र ज्यानकै जोखिम मोलेर अपहरण गर्नु आफैँमा ठूलो दुस्साहस थियो । त्यो पनि नेपाली कांग्रेस लगायतका दलहरु प्रतिवन्धित भएको अवस्थामा सोही पार्टीका लागि आर्थिक स्रोत जुटाउन एकै पटक गरिएको दुई गैर कानुनी काम थियो । 
 
त्यही घटनाले दुर्गा सुवेदी कस्ता होलान् ? कति अजीवका मानिस होलान् भन्ने मनमा जागिरह्यो । जब म भित्र राजनीतिक चेत जाग्यो, मलाई त्यतिखेरको उनको त्यो दुस्साहसपूर्ण हर्कतले मेरो मनमा उनीप्रति निकै सम्मान जाग्यो । किनकी त्यो दुस्साहस मुलुकका लागि थियो, लोकतन्त्रका लागि थियो । 
 
नेपालको राजनीतिमा दुर्गा सुवेदीका नाम पटक पटक आइरहे । २०५६ सालमा माओवादीसँग वार्ता गर्नका लागि तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको कार्यकालमा सुवेदीलाइनै जिम्मेवारी दिइयो । यद्यपी पुरा हुन सकेन । माओवादीसँग वार्ता गर्ने मध्यस्थकर्ताका रुमपा उनलाई पटक पटक अघि बढाइयो । 
 
२०६२/६३ पछि पनि सुवेदीलाई तत्कालिन संबिधान सभामा ल्याउने चर्चा चल्यो । माओवादीलेनै उनको नाम स्वतन्त्र विज्ञको तर्फबाट प्रस्ताव राख्ने चर्चा थियो । तर गिरिजाप्रसाद कोइरालाको अनिच्छाले सुवेदी शहीद भए । 
 
सुवेदी नेपालको राजनीतिक इतिहासको एउटा जीवन्त पात्र हुन् भन्दा अन्यथा हुँदैन । नेपालमा बहुदलीय व्यबस्था स्थापनाका लागि भएको पहिलो र अन्तिम विमान अपहरण त्यही २०३० जेठ २८ गतेको घटना थियो । त्यही घटनाले गर्दा उनले भारतमा लामो समय निर्वासित मात्र होइन चर्को शारिरीक यातना समेत भोग्नुपर्यो । 
 
विमान अपहरणदेखि लिएर पत्नी सुशीला कार्की प्रधान न्यायाधीश हुँदासम्ममा सन्दर्भहरुलाई लिएर सुवेदीले लेखेको पुस्तक हो–‘विमान विद्रोह ।’ 
 
नेपालको राजनीतिमा कसैले पिठ्युमा धाप नमारिदिएसम्म अघि बढ्न नसकिने रहेछ भन्ने गतिलो दृष्टान्त अनि पात्रका रुपमा देखिएका छन् सुवेदी । सुवेदीको विमान विद्रोहको सुरुदेखि अन्त्यसम्म पढ्दा अनुभव हुन्छ–वीपीलाई समेत थाहै नदिइ विमान अपहरणको योजना बनाएका थिए गिरिजाप्रसाद कोइरालाले । कोइरालाको यही अभियानमा शीरमा कफन बाँधेर साथ दिएका थिए सुवेदी, बसन्त भट्टराई र नगेन्द्र ढुंगेलले । 
 
वीपीलाई यो योजना सुनाउन जाँदा उनले भनेको एउटा प्रसंग पुस्तकमा छ । जहाँ वीपीले भनेका छन्–‘तिमीहरुले विमान अपहरण गरेर बैंकको पैसा लुट्ने योजना बनाएका रहेछौ । यो त्यति सजिलो काम होइन । निकै जोखिम हुन्छ । कसरी गर्छौ ?’ सुवेदीले आफ्नो योजना सुनाउँछन् ।
 
वीपीलाई अल्लारेहरुले विमान अपहरण गर्न सक्छन् भन्ने कुरामा कुनै विश्वास छैन । वीपीलाई लाग्छ, यो दुस्साहसी कदम हो । योजना सुनेपछि पनि विश्वास नलागेर वीपी फेरि भन्छन्–‘तिमीले भनेजस्तो सजिलै सबै हुँदैन । जहाजमा यात्री हुन्छन्, लडाई पनि हुनसक्छ । अनि के हुन्छ ?’
 
वीपीलाई समेत विश्वास नभएको काम गरेर सुवेदी लगायतको टीमले विमान अपहरण गरेर बिहारको फारबिसगञ्जमा उतारे । विमानबाट ३० लाख भारतीय रुपैयाँ उनीहरुले कव्जामा लिए । 
गिरिजाप्रसादको योजना मुताविक विमान अपहरण भयो । पैसा कव्जा गरियो । कांग्रेसको तत्कालिन आर्थिक संकट टर्यो । तर पुस्तक पढ्दै गएपछि एकाएक गिरिजाप्रसादले सुवेदीलाई हत्या गर्न खोजेको, गुण्डाहरु लगाएर आक्रमण गरेका सन्दर्भहरु छन् । जुन सन्दर्भहरुले कोइरालालाई खलपात्रका रुपमा चित्रण गर्छन् । 
 
सुवेदीले पुस्तकको एक ठाउँमा लेखेका छन्–‘हामीले उनको आदेशलाई शीरोपर गरेर विमान अपहरण गरेका हौं । कांग्रेसको संकट टार्न गरेका थियौं । तर गिरिजाप्रसादले भारतीय गुप्तचर एजेन्सी ‘र’ को सल्लाहमा गरेको भनेका कारण राष्ट्र र प्रजातन्त्रप्रेम प्रति खेलवाड भएको ठहर मेरो छ ।’
 
नेपालको राजनीति जान्न चाहने, नेपाली कांग्रेसलाई बुझ्न इच्छा गर्नेहरुका निम्ति पुस्तक साँच्चैनै पठनीय दस्तावेज भएको ठहर मेरो छ । २०४२ सालभन्दा अघिको राजनीतिलाई मैले पढेको मात्र छु, बुझेको र भोगेको छैन । त्यसो हुँदा पनि मलाई सुवेदीको विमान विद्रोह असाध्यै पठनीय लागेको छ । गिरिजाकै कोपभाजनमा परेर मुलुक, नेपाली कांग्रेस, बहुदलीय व्यबस्थाका लागि भनेर हातमा पेस्तोल र ग्रिनेड अनि शीरमा कफन बाँधेर उत्रिएको दुर्गा सुवेदी जस्ता कसरी सेलाए अनि पञ्चायतमा हालिमुहाली गरेर २०४७ को सुरुवातसँगै कोचाकोच गरेर पञ्चबाट कांग्रेस पसेकाहरु कसरी शासनसत्तामा हालिमुहाली गर्ने हर्ताकर्ता भए भन्ने बारेमा पनि पुस्तकले सांकेतिक चिरफार गरेको छ । 
 
खुमबहादुर खड्काको छवी जीवनको उत्तरार्धमा ‘खलनायक’ र भ्रष्टका रुपमा चित्रित भयो । विजय गच्छेदारको चरित्र घरि बाहिर, घरि भित्रका रुपमा छ । यी सबै युवावस्थामा कति ज्वाज्वल्यमान थिए भन्ने बारेमा उल्लेख गर्न सुवेदीले कुनै कञ्जुस्याई गरेका छैनन् । 
प्रदीप गिरि जस्ता राजनीतिका असल पात्रले सुवेदीका बारेमा लेखेका छन् । सुवेदीलाई कांग्रेसले भूमिका नदिएकोमा गिरिको पनि असन्तुष्टी र गुनासो देखिन्छ । 
 
डा. बाबुराम भट्टराईले सुवेदीका बारेमा दिल्लीमा बस्दाका प्रसंग लामो रुपमा लेखेका छन् । 
 
यो पुस्तक अध्ययन गर्दा नेपालको राजनीतिका बारेमा धेरै जान्ने अवसर मिल्छ । थपमा छुटाउनै नहुने सन्दर्भ के हो भने पत्नी सुशीला कार्की प्रधानन्यायाधीश हुँदा लोकमानसिंह कार्कीले पदमा टिकिरहनका लागि १० करोड रुपैयाँको ‘गोडधुवा’ को निकै रोचक सन्दर्भ पनि छ । 
 
कितावको लेखन, सम्पादन, डिजाइनदेखि छपाईको गुणस्तरसम्म उत्कृष्ठ छ ।
 

- रामचन्द्र भट्ट

- रामचन्द्र भट्ट -

थप »

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया