राजनीति-समाज

सुरक्षित स्थानमा स्थानान्तरण गरी भूमिहीनलाई लालपूर्जा उपलब्ध गराउँछौँ : सभापति लामिछाने

सुरक्षित स्थानमा स्थानान्तरण गरी भूमिहीनलाई लालपूर्जा उपलब्ध गराउँछौँ : सभापति लामिछाने


शेयर गर्नुहोस:

135
Shares

  • change font
  • change font

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जोखिमपूर्ण ठाउँमा बसेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी भूमिहीनलाई लालपूर्जा उपलब्ध गराउने प्रक्रिया अघि बढेको बताएका छन् ।

रास्वपाको पार्टी–संसद–सरकार समन्वय समितिले आइतबार आयोजना गरेको विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनसम्बन्धी ‘नीति मन्थन’ कार्यक्रममा सभापति लामिछानेले खोला किनारमा बाढी र पहिरोको जोखिममा रहेका नागरिकलाई पहिलो प्राथमिकतामा राखेर व्यवस्थापन गरिएको बताए ।

Advertisement

‘सरकारले निकै द्रूत गतिमा भूमिहीनको हकअधिकार प्रदान गर्दैछ, जोखिमपूर्ण क्षेत्रमा रहेका नागरिकलाई त्यहीँ राखिरहेर ठिक गरियो कि, त्यसलाई समाधान गर्न कदम चालेर ठिक गरियो ?’ सभापति लामिछानेले प्रश्न गरे ।

जोखिमपूर्ण क्षेत्रका स्थानन्तरण गरिएका नागरिकको व्यवस्थापनलाई चुस्त र मानवीय बनाउन सरकार कटिबद्ध रहेको उनकाे भनाइ छ । सभापति लामिछानेले नागरिकको भावनासँग जोडिएको विषयलाई राजनीतिक हतियार बनाउनु गलत भएको बताए ।

भोटका लागि राजनीति गर्ने युगबाट सम्पूर्ण राजनीतिक दल बाहिर निस्कनुपर्नेमा जोड दिँदै सभापति लामिछानेले जोखिममा रहेका नागरिकको जीउधनको रक्षा गर्न सत्ता पक्ष र प्रतिपक्ष विभाजित हुन नहुने बताए । लामिछानले सीमित स्रोत साधनका बाबजुद विपद् व्यवस्थापनमा उत्कृष्टता प्रदर्शन गरिरहेका निकायको क्षमतालाई एकीकृत गरेर क्षति कम गर्ने प्रयास गर्नुपर्नेमा जोड दिए ।

पार्टीका महामन्त्री एवं पार्टी–संसद्–सरकार समन्वय परिषद्का संयोजक भूपदेव शाहले बर्सेनि प्राकृतिक विपद्का कारण हुने मानवीय र भौतिक क्षति कम गर्न सघाउ पुर्‍याउने उद्देश्यले नीति मन्थन आयोजना गरिएको बताए ।

छलफलबाट आएका निष्कर्ष र सुझाव सांसदका लागि प्रमाण, मन्त्रीका लागि कार्ययोजना बनाउने मार्गचित्र बन्ने महामन्त्री शाहको भनाइ थियो । छलफलबाट प्राप्त हुने सुझावका आधारमा आगामी मनसुनमा बाढीपहिरो र सरुवा रोगबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सरकारलाई रचनात्मक सहयोग गर्ने उनको भनाइ थियो ।