चित्र बोल्दैन
तर मनभित्र अड्किएको प्रश्न
सुस्तरी
खोलिदिन्छ
क्यानभासमा कोरिएका रङहरू
कुनै बाहिरी सौन्दर्य होइनन्
ती त
आफ्नै आत्माको ऐना हुन्
जहाँ
हेर्ने मान्छे
आफैंसँग
पहिलो पटक
आँखामा आँखा जुधाउँछ।
चित्रलाई
केवल एउटा दृश्यझैँ
हेरेर होइन,
साक्षात्
आत्माको स्वरूपझैँ
हेर्न सक्नुमा
यसको अर्थ खुल्छ
चित्रको बोली
कानले सुन्ने होइन
धैर्यले महसुस गर्ने हो
किनकि
धैर्य नै
त्यो कुञ्जी हो
जसले
शब्द भन्दा परको
ढोका खोल्छ
एक स्थिर चित्रले
दौडिरहेको समयलाई
क्षणभर
रोकिन बाध्य पार्छ
यही स्थिरतामै
चित्रको मौन शक्ति लुकेको हुन्छ
जहाँ कुनै घोषणा बिना
शब्द विहीन सत्य
सीधै चेतनामा प्रवेश गर्छ
न यहाँ भाषण छ
न नारा
न भीडको चर्को ताली
चित्रको संसार
मौन छ
तर त्यो मौन
रिक्त होइन
गहिरो छ
जब हामी
कुनै चित्रलाई
धैर्यले हेर्छौं
बाहिरी कोलाहल
आफैं हराउन थाल्छ
र त्यही क्षणदेखि
भित्र
स्व-बोधको उज्यालो
सुस्तरी
बल्न थाल्छ
चित्रले भन्छ
कराएर होइन
स्थिर भएर
भागेर होइन
अडिएर
र जब मान्छेले
चित्रको त्यो
मौन स्वर
सुन्न सिक्छ
चित्रले
चुपैचुप
उसको जीवनमा
स्व–बोधको उज्यालो
टाँसिदिन्छ
बिना शब्द
बिना दाबी
तर
स्थिर सत्य सहित
चित्र
हेराइबाट
तर्केर भाग्नुमा होइन
बरु आँखा खोलेर
त्यसैलाई
गहिरोसँग बुझ्नुमा छ
चित्र
कतै भित्तामा टाँसिएको
निर्जीव पोस्टर होइन
न त अनुहारमाथि ओढिएको
कुनै झुटो अभिनय
चित्र त
शान्त भएर
भित्रै बस्ने
त्यो बोधको उज्यालो हो
जहाँ स्विकारको
मौन फूल
सुस्तरी
निरन्तर
फुलिरहन्छ












प्रतिक्रिया