मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आनन्द विष्ट सभापति एवं नेपाली जन सम्पर्क समिति,अमेरिका परिवारको प्रेस विज्ञप्ति

आनन्द विष्ट सभापति एवं नेपाली जन सम्पर्क समिति,अमेरिका परिवारको प्रेस विज्ञप्ति


 
   मातृभूमि नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माण गरी जनताको हक,अधिकारलाई सुरक्षित गर्ने प्रयास जारी रहेको बेला सोमबार कैलाली,गौर लगायत विभिन्न स्थानमा भएको घटनाबाट हामी स्तब्ध भएका छौँ । शदियौंदेखि एकापसमा सामाजिक रूपमा अत्यन्त सद्भाव र आपसी सहिष्णुता अवलम्बन गरेर देश विदेशमा छरिएर बसेका हामी नेपालीहरू मुलुकका विभिन्न भागमा भएको हिंसाको घटनाले निकै मर्माहत भएका छौँ . देश र जनताको सुरक्षाका लागि अहोरात्र खट्ने नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य सुरक्षाकर्मी माथि कैलालीमा जे जस्तो आक्रमण गरी उहाँहरूको हत्या गरियो,त्यो आधुनिक सभ्य समाजको कलंक हो अनि मानवता विरोधी आततायी कार्य हो । 
 
  म मेरो व्यक्तिगत र अमेरिकामा रहेका लोकतन्त्र पक्षधर सबै नेपालीहरूको साझा सङ्गठन नेपाली जन सम्पर्क समिति अमेरिकाको तर्फबाट अत्यन्त क्रुर,आततायी र निर्दयी प्रवृत्तिको कैलाली,गौर लगायत विभिन्न स्थानमा भएको घटनाको घोर निन्दा र भर्त्सना गर्दछु ।  आफ्नो जिम्मेवारी बहन गर्ने क्रममा आततायीहरुको क्रुर आक्रमणमा परी मारिएका ती वीर एवं साहसिक सुरक्षाकर्मीहरुको योगदानको उच्च सह्राहना गर्दै दिवङ्गत आत्माको चीर शान्तिको कामनासहित हार्दिक श्रद्धान्जली अर्पण गर्दछु । साथै वीर सुरक्षाकर्मीका समस्त शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु । देश र जनताका लागि खटेका ती वीर पराक्रमी सुरक्षाकर्मीहरुलाई जिउँदै जलाउनु भनेको आतङ्कवादी कार्य हो, मानवता विरोधी जघन्य अपराधको पराकाष्ठा हो । 
 
   यो निन्दनीय घटनाको बेला आपसी सद्भाव खलल हुन नदिन मुलुकका सबै राजनीतिक दल एवं नागरिक समाजलाई एकतावद्ध भएर सद्भाव कायम गर्ने र मुलुकव्यापी रूपमा शान्ति-याली लगायतका कार्यक्रम आयोजना गरी आपसी एकता अझ मजबुत बनाउन पहल गर्न हामी हार्दिक अपिल गर्दछौँ । 
 
   नेपाल सबै जातजाति, भाषाभाषी, धर्म,सम्प्रदायको साझा बगैंचा हो । यो सुन्दर बगैंचालाई गोडमेल गरेर सौन्दर्य सुवास छर्न हामी नै अग्रसर हुनुपर्छ । त्यसैले यो कालो घटनालाई अझ अराजक हुन नदिन तत्काल पहल गरौँ र सामाजिक सद्भाव र एकता अक्षुण राख्न हातेमालो गरौँ ।
 
    संविधान निर्माणको सम्मुख सुरक्षाकर्मीमाथि जे जस्तो कायरतापूर्ण बर्बर हत्या र आक्रमण भएको छ यसले प्रतिगामीहरुलाई बल नपुगोस् र देश गृहयुद्धको चपेटामा नफसोस् भन्नेतर्फ सबैको ध्यान जानु जरुरी छ । समाजमा सद्भाव, भाइचारा र मेलमिलाप कायम गर्न एकजुट होऔं । आवेश, उत्तेजना र आक्रोश त्यागौं । भातृत्व र सामाजिक एवंम धार्मिक सद्भाव कायम गरौँ । साम्प्रदायिक हिंसा होइन, संयम र धैर्यका साथ अघि बढौं ।
 
जय नेपाल । 
आनन्द विष्ट 
सभापति एवं 
नेपाली जन सम्पर्क समिति,अमेरिका परिवार