अमेरिका। नेपाली जनसम्पर्क समिति अमेरिकालाई पुन: पुरानै लय र साखमा फर्काउन नवनिर्वाचित कार्यसमिति सक्रिय भएर लागेको छ। गत महिना सम्पन्न अधिवेशनबाट निर्वाचित पदाधिकारीहरू प्रवासमा रहेका नेपाली कांग्रेसका कार्यकर्ता, शुभेच्छुक र समर्थकहरूबीच संस्थालाई पुन: गर्व गर्न लायक बनाउने अभियानमा जुटेका हुन्।
यसै क्रममा समितिले स्वदेशमा परेको प्राकृतिक विपत्तिमा ठूलो सहयोग पुर्याउँदै आफ्नो सक्रियता दर्शाएको छ। रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित परिवारहरूको सहयोगार्थ सञ्चालन गरिएको अभियानमार्फत १ करोड ५ लाख ३३ हजार ९४४ रुपैयाँ संकलन गरी नेपाल पठाइएको छ। सो रकम नेपाली कांग्रेसले प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने जनाइएको छ ।
वरिष्ठ उपाध्यक्ष एवं अभियानका संयोजक विनोद भट्टको नेतृत्वमा संकलित उक्त रकम ‘नेपाली कांग्रेस विपद् व्यवस्थापन कोष’ मार्फत नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो।
नेपाली जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष मुनिन्द्र नेम्वाङ्गले एक विज्ञप्ति जारी गर्दै राहत संकलन अभियान सफलतापूर्वक सम्पन्न भएको जानकारी गराएका छन्। विज्ञप्तिमा अभियान सफल बनाउन खट्ने संयोजक विनोद भट्ट, महामन्त्री नारायण खनाल, कोषाध्यक्ष नारायण पोख्रेल, युवा मामिला उपसभापति महेन्द्र बस्नेत, सदस्य हरि खनाल लगायत केन्द्रीय कार्यसमिति, सम्पूर्ण च्याप्टरहरू र सहयोगी दाताहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गरिएको छ।
राहत सहयोगका साथसाथै समितिले भोटेकोशी बाढीको पृष्ठभूमिमा अमेरिकामा बसोबास गर्ने नेपालीहरूका लागि टीपीएस (TPS – Temporary Protected Status) सुविधा प्राप्त गर्ने तर्फ पनि महत्त्वपूर्ण राजनीतिक लबिङ सुरु गरेको छ। यस प्रक्रियालाई निष्कर्षमा पुर्याउन समितिका २६ वटै च्याप्टरका सभापतिहरूले आ-आफ्नो राज्यका सिनेटर तथा कंग्रेसम्यानहरूलाई औपचारिक पत्राचार गर्दै लबिङलाई तीव्र बनाएका छन्।
त्यसैगरी, स्वदेश तथा विदेशमा जलवायु परिवर्तनका असरहरूबारे व्यापक बहस चलाउन अमेरिकामा रहेका नेपाली जलवायु विज्ञहरूसँग संवाद र छलफल आयोजना गर्ने तयारीसमेत गरिएको छ।
यसै सिलसिलामा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन नेपालबाट आउनुभएका प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर जलवायु परिवर्तनका गम्भीर असर तथा सम्बन्धित विषयमा ज्ञापनपत्र बुझाउने तयारीसमेत जनसम्पर्क समिति अमेरिकाले गरेको छ।












प्रतिक्रिया