टेक्सस

मध्यावधि चुनावका उम्मेदवारहरूसँग डिएफडब्लू नेपाली समुदायको टाउन हल सम्पन्न

मध्यावधि चुनावका उम्मेदवारहरूसँग डिएफडब्लू नेपाली समुदायको टाउन हल सम्पन्न


हल्टम सिटी, टेक्सस । ट्यारेन्ट काउन्टीका नेपाली तथा छिमेकी आप्रवासी समुदायका सदस्यहरूले आगामी अमेरिकी मध्यावधि निर्वाचन २०२६ का उम्मेदवारहरूसँग प्रत्यक्ष साक्षात्कार गर्दै सामुदायिक हितका महत्त्वपूर्ण मुद्दाहरू उठाएका छन्।

हिमालयन डेमोक्रेटिक क्लब र नेपाली यङ्ग प्रोफेसनल्सको संयुक्त आयोजनामा शुक्रबार साँझ हल्टम सिटीस्थित इन्डियन किचनमा “मध्यावधि निर्वाचन २०२६ टाउन हल” सम्पन्न भएको हो। कार्यक्रममा स्थानीय, राज्य तथा संघीय तहका उम्मेदवारहरूको उपस्थिति रहेको थियो।

Advertisement

कार्यक्रममा केभिन बर्ज (अमेरिकी प्रतिनिधि सभा, टेक्सस क्षेत्र २४), डायोन सिम्स (अमेरिकी प्रतिनिधि सभा, टेक्सस क्षेत्र २५), हेली रोड्रिग्वेज प्रिलिम्यान (अमेरिकी प्रतिनिधि सभा, टेक्सस क्षेत्र १२), लिडिया बिन (ट्यारेन्ट काउन्टी क्लर्क) र केट ब्रेनन (टेक्सस प्रतिनिधि सभा, क्षेत्र ९८) लगायतका उम्मेदवारहरूको सहभागिता रहेको थियो । यसका साथै, अम्बिका शर्मा (ट्यारेन्ट मूल्यांकन जिल्ला बोर्ड, स्थान २ — गैरदलीय पद) र आर्थरिन काम्फाउस (न्यायाधीश, २१३ औं जिल्ला अदालत) को पनि उपस्थिति थियो।

उम्मेदवारहरूसँग सोधिएका गहन प्रश्न
कार्यक्रमको सुरुआत गर्दै एनवाइपीकी सह-संस्थापक अनुका ढकालले उम्मेदवारहरूलाई आफ्ना चुनावी एजेन्डा, उम्मेदवारी दिएका पदका जिम्मेवारी र श्रमजीवी परिवारको हितमा काम गर्ने ठोस योजनाहरू प्रस्तुत गर्न आग्रह गरेकी थिइन् ।

त्यसपश्चात् सुरु भएको प्रश्नोत्तर चरणमा सहभागीहरूले नेपालमा हिमनदी पग्लिने क्रम, बाढीपहिरो र प्राकृतिक विपद्को असरबारे चर्चा गर्दै यसले टेक्ससमा बस्ने धेरै परिवारका पैतृक गाउँहरूलाई जोखिममा पारेको तर्फ ध्यानकर्षण गराएका थिए। जवाफमा संघीय उम्मेदवारहरूले स्वच्छ तथा हरित ऊर्जाको आवश्यकता र अमेरिकी संसदबाट पारित हुनुपर्ने नीतिहरूबारे आफ्ना धारणा व्यक्त गरे।

यस्तै, टेक्ससमा सार्वजनिक शिक्षाको बजेट कटौती भइरहेकोमा चिन्ता व्यक्त गर्दै विद्यालय र शिक्षकहरूलाई पूर्ण आर्थिक सहयोग पुर्‍याउन माग गरियो। टेक्ससमा मेडिकेड विस्तार नहुँदा धेरै नागरिक स्वास्थ्य बीमाबाट वञ्चित हुनुपरेको, डाटा सेन्टरका कारण बिजुली महसुल बढेको र ठूला कर्पोरेसनहरूलाई कर छुट दिँदा सर्वसाधारणलाई आर्थिक भार परेको जस्ता विषयमा समेत उम्मेदवारहरूसँग जवाफ मागिएको थियो।

एकता र युवा परिचालनमा जोड
कार्यक्रममा नागरिकहरूले फरक-फरक प्राथमिकता भएका समुदायहरूलाई कसरी एकजुट बनाउन सकिन्छ भनी सोधेको प्रश्नमा वक्ताहरूले दैनिक जीवनयापनको खर्च, स्वास्थ्य सेवा र सार्वजनिक शिक्षा जस्ता साझा आधारभूत मुद्दामा एकजुट हुनुपर्ने बताए।

कम मतदान हुने राज्यहरूमध्ये टेक्सस पनि पर्ने भएकाले हरेक समुदाय र विशेष गरी नयाँ तथा युवा मतदाताहरूको सक्रिय सहभागिता बिना नीतिगत परिवर्तन असम्भव हुनेमा वक्ताहरूले जोड दिएका थिए।

कार्यक्रममा हिमालय डेमोक्रेटिका क्लबका अध्यक्ष प्रभात दीक्षित, महासचिव सुदीप अधिकारी लगायत पदाधिकारीहरूले नोभेम्बर ३ तारिकमा हुने निर्वाचनमा डेमोक्रेटिक पार्टी र तिनका उम्मेदवारहरूलाइ मत दिन अनुरोध गरेका थिए ।

अक्टोबर ५ भित्र मतदाता नामावली दर्ता गर्न आह्वान
आयोजकहरूले नेपाली र साना आप्रवासी समुदायका बासिन्दाहरूकै माझमा आएर उम्मेदवारहरूले छलफल गर्नुलाई सकारात्मक कदमका रूपमा लिएका छन्। उनीहरूले सम्पूर्ण मतपत्रबारे अध्ययन गरी जनताको सेवा गर्न चाहने योग्य उम्मेदवारहरूलाई समर्थन गर्न अपिल गरेका छन्।

साथै, आसन्न निर्वाचनमा सहभागी हुन अक्टोबर ५, २०२६ भित्र मतदाता नामावली दर्ता भइसक्नुपर्ने जानकारी दिइएको छ। टेक्ससमा अनलाइन मतदाता दर्ताको व्यवस्था नभएकाले कागजी आवेदन फारम अक्टोबर ५ भित्र हुलाकबाट पोस्टमार्क भइसक्नुपर्ने वा काउन्टी रजिस्ट्रार कार्यालय/आधिकारिक भोलिन्टियर डेपुटी रजिस्ट्रारकहाँ बुझाइसक्नुपर्नेछ।