मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रेस विज्ञप्ती / सूचना पाटी   
बोस्टन   
मुख्य समाचार   

तीजको दिन बोस्टनमा पशुपतिनाथ बुद्ध मन्दिरले तीज विशेष सामूहिक पूजाको आयोजना गर्ने

तीजको दिन बोस्टनमा पशुपतिनाथ बुद्ध मन्दिरले तीज विशेष सामूहिक पूजाको आयोजना गर्ने


हिन्दू धार्मिक पात्रो अनुसार हरेक वर्ष भाद्र शुक्ल तृतियाको दिन हिन्दू धर्मावलम्बीहरुले हरितालिका तीज धार्मिक विधि पूर्वक विशेष रुपमा मनाउने गर्दछन्। यो चाड विशेष गरी हिन्दू धर्मालमबीहरुले प्राथमिकताका साथ मनाउने गरेको भएतापनि, पछिल्लो समय नेपालीकै विशेष चाडका रुपमा स्थापित हुन पुगेको छ। यो चाड नेपाल भित्र मात्र नभएर नेपाल बाहिर रहेका नेपालीहरुलेसमेत धुमधामका साथ मनाउने गर्दछन्।

यसै क्रममा यस वर्षको हरितालिका तीज नेपालमा र नेपाल बाहिर पनि विविध क्रियाकलापहरु गरी मनाइरहिएको छ। नेपाली पात्रो अनुसार यस वर्षको हरितालिका तीजको मुख्य दिन अर्थात् व्रतको दिन यही आउदो भदौ २१ गते तदनुसार सेप्टेम्बर ६ तारिख सुक्रबार भाद्र शुक्ल तृतियाका दिन परेको छ। उक्त दिन अमेरिकाको बोस्टन सहर स्थिति पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इङ्गल्याण्ड(प्याब्फोन)को आफ्नै सामुदायिक भवनमा स्थापित पशुपतिनाथ बुद्ध मन्दिरमा सामुहिक तीज विशेष पूजाको आयोजना गरिने भएको छ।

पशुपतिनाथ तथा बुद्ध फाउण्डेशन(प्याब्फोन)को कार्यसमितिका अध्यक्ष विरोचन नेपालले जानकारी दिए अनुसार, उक्त दिन व्रतालु श्रद्धालु भक्तजनहरुका लागि मन्दिर विहान ८ बजेदेखि बेलुका साँझ अबेरसम्म मन्दिर खुला गरिने भएको छ। अध्यक्ष नेपालका अनुसार व्रतालु श्रद्धालु भक्तजनहरुको सुविधाका लागि ‘हरितालिका तीज विशेष सामूहिक पूजा’ धार्मिक विधि र प्रक्रिया अनुसार सम्पन्न गर्न आवश्यक व्यवस्था मिलाइएको छ। जसका लागि तीन चरणको समयतालिका बनाएर आवश्यक तयारी गरिएको छ।

समय तालिका अनुसार पहिलो सामूहिक पूजा विहान ९ देखि ११ बजेसम्म, दोश्रो २ देखि ४बजेसम्म र तेश्रो ४ देखि ७ बजेसम्म हुने छ। साँझ ७ बजेपछि सामूहिक आरती र भजनकीर्तन गरिने कार्य तालिका रहेको जनाइएको छ। अध्यक्ष नेपालले दिएको जानकारी अनुसार उक्त दिन मन्दिरमा दिनैभरी तीज विशेष पूजा गर्ने, नाचगान गरी रमाइलो गर्ने र प्रसाद वितरण/ग्रहण गर्ने व्यवस्था मिलाइएको छ।

सामूहिक पूजा आयोजकले उक्त कार्यक्रममा सहभागी हुन सम्पूर्ण व्रतालु श्रध्दालु भक्तजनहरुलाई आव्हान गर्दै पूजा हुने समय तालिका हेरी आफ्नो अनुकूल समय तालिकामा अग्रिम नाम दर्ता गर्नसमेत अनुरोध गरेको छ। सामूहिक पूजामा सहभागिताका लागि सिट सिमित भएकाले अग्रिम नाम दर्ता गराउन अनुरोध गर्दै त्यसका लागि क्युआर कोड (QR code) समेत सार्वजनिक गरिसकेको छ। नाम दर्ताका लागि कुनै प्रकारको शुल्क नलाग्ने पनि आयोजकले प्रस्ट्याएको छ।

उक्त सामूहिक पूजा कार्यक्रममा ४ सय हाराहारी व्रतालु श्रध्दालु भक्तजनहरुको सहभागिता रहने अनुमान गरिएको छ। यसैगरी, भदौ २३ गते तदनुसार सेप्टेम्बर ८ तारिख आइतबार भाद्र शुक्ल पञ्चमी अर्थात ऋषि पञ्चमीका दिन पनि मन्दिरले ‘सामूहिक पञ्चमी पूजा’को व्यवस्था गर्ने भएको छ।

गत वर्ष २०२३ को मे २७ देखि मे ३० तारिखसम्म आयोजित ४ दिने बृहत् धार्मिक तथा सामाजिक कार्यक्रम ‘मूर्ति प्राण प्रतिष्ठा एवं सामुदायिक भवन समुद्घाटन कार्यक्रम’ सम्पन्न भएसंगै सञ्चालनमा ल्याइएको मन्दिरमा, गत वर्ष पनि व्रतको दिन ‘तीज विशेष सामूहिक पूजा’ र ऋषि पञ्चमीका दिन पञ्चमी पूजाको आयोजना गरिएको थियो।

अग्रिम नाम दर्ताका लागि आयोजकले उपलब्ध गराएको क्युआर कोड(QR Code) यस प्रकार रहेको छ: