आधुनिक समाजमा नेतृत्व र व्यक्तित्व विकासको अभ्यासमा बढ्दो रुपमा ब्यक्तीपरक होडवाजी चल्दै आएको पाईन्छ । सामाजिक सञ्जाल र एआईको दुरुपयोग गरेर सोझा जनताहरु झुक्याउने प्रचलन झनै बढ्दो छ ।
राजनैतिक दलको नेतृत्वमा रहेका ब्यक्तिले दलगत नीति भन्दा पनि तत्कालको परिवेश अनुसार गलत हर्कत गरेको देखिन्छ । एक सोझो दिमागले त्यो नाटक र नाटकका पात्रको रुपमा नेताको चरित्र देखे पनि यथार्थमा जनताले सही र गलत ठम्याउ नसक्ने डर बढ्दो छ । जसबाट प्रजातान्त्रिक आधिकारको दुरुपयोग हुने ठूलो डर देखिन्छ ।
आजभोली चुनावी माहोलमा होमिएका नेताले नेपालका गाउँघर रङ्गीदै गर्दा कतै आँशु झारेका नेता देखिन्छन, त कतै धाँसको भारी र कुटो कोदालो बोकेका । कतै आत्मदाहको भाषण गरेको त कतै पर्यटन र बिकासको चर्चामा रहेका । कतै खुट्टामै लम्पसार परेर ढोगेको देखिन्छ त कतै ब्यक्तिगत गाली-आक्षेप । कतै युवामाझ गलत सूचना दिई निरासाको घेरामा हालेर आवेगको भूमरी तिर धकेलेको त कतै पाकाहरुलाई उस्काइको। कति छन कति । जो गन्ती गर्ने लाएक छैनन ।
सामान्य नागरिकहरुलाई कमै मात्र थाहा उनीहरु देशको नीति बनाउने मान्छे छान्दैछन भनेर ।तर यहाँ कोही पुल पुलेसाका कुरा त कोही बिधालयका कुरा गरेर जनतालई ठग्दै प्रचार गरि रहेका छन । स्थानीय र प्रदेश सरकारले गर्ने काम गर्छु भन्दैछन । खै के भन्ने यो कुन तहको ज्ञान र नैतिक चरित्र हो?
यो भन्दा झनै अनौठो कुरा त आवेग र संवेगबाट नेताजीहरुले जनता र यूवालाई लुट्दै छन । देशलाई र ब्यवस्थालाई भन्दा पनि ब्यक्तीपरक मनोबिज्ञान डरलाग्दो रुपमा देखिएको छ ।
कसैलाई पुराना मुद्दा जित्नु छ । कसैलाई कसैसँग बदला लिनु छ । जसको सम्बन्ध जनताको विकाससँग साँटगाँठ नै देखिन्न । न त उनको घोषणा पत्र सँगै नै मिल्छ । न त नेतामा हुनु पर्ने नैतिकता, नत देशको समसामयीक अवस्थासँग नै । केवल केही प्राप्तिका लागि ।अनि स्वार्थपुर्तीका लागी चलि रहेको नयाँ डरलाग्दो स्वार्थको लडाई ।
आँखामा सच्चा आँशु छैनन । हृदयले नसोचेको, मनले नमान्दा नमान्दै देखावटी करुणाका आँशु झर्दा नेताजी देखेर गोहीका आँशुहरु पनि चकित छन ।
मनोबिश्लेषणले के भन्छ?
नेपालको चुनाव सम्वन्धी देखिएका माथीका दृश्य त केवल नाटकका पर्दामा देखिएका मात्र हुन । पर्दा पछाडीका खेलका श्रृङ्खला र खेलाडीहरु त झनै को हुन, के हुन ? ठम्याउनै गाह्रो छ । तर एउटा कुरा पक्कै भन्नु पर्ने हुन्छ, के यी सबै स्वस्थ दिमागका उपज हुन त ?
यिनै जिज्ञासाहरुलाई मनोबिज्ञानको मानसिक सन्तुलन र मानसिक स्वस्थ्यतासँग हेर्ने यहाँ प्रयास गरिएको छ । जो मनोबिज्ञानका प्रणेता फ्राईड लगाएको विचार र स्वस्थ्य ब्यक्तीका असल चरित्रसँग दाँजेर हेरिएको छ।
नेपालको चुनावको माहोल हेर्दा र आक्षेपहरु केलाउदा हालको नेपालको चुनावको नेतृत्व गर्न खोजिरहेको युवा समूहमा अदृश्य आवेग, मान्यता, चाहना, सोचहरु व्यक्तिगत सम्मान, आत्मरक्षा र आत्मस्वार्थमा केन्द्रित भएको देखिन्छ ।
जस्लाई फ्राएडले ईड र ईगो नाम दिएका थिए । अति नै आवेगात्मक र व्यक्तिपरक सोच भएका (वा ईड) ब्यक्तीहरुमा नैतिकता, मूल्य, मान्यता र विवेक भन्ने कुरा कल्पना नै गर्न सकिदैन । जसलाई फ्राएडले सुपरगो भनेका थिए । यी बिचको मानसिक सन्तुलन गर्न दिमागी थेरापी गरुरी छ । जो राजनैतिक नेतृत्वको लागि ज्यादै अनिवार्य विषय हो ।
असल नेतृत्वमा आवेग, आत्मारक्षा र आत्मस्वार्थको कुरा आउँदा नैतिकता पहिला दीमागमा आउनु पर्ने हो । तर नैतिकता र आदर्शको केवल भाषणमा मात्र देखिन्छ ।
हिजोसम्म चुनावमा जाँदैनाैँ भन्ने चुनावी सरकारका मन्त्रीहरु फ्याट्ट आज चुनावमा उठ्छन। तिनैले जनतालाई आदर्शको पाठ सिकाउँदैछन । खोक्रो आदर्शले जनतालाइ लोभ्याउन आत्मरक्षाको लागी फेरी अर्को झुट बोलेर लोभ्याउदै छन ।
कोही जनताको ठगीको आरोपी छन, कोही भ्रष्टाचारको झमेलाका। कोही आफ्नै घर जलाएर त्यही जलेको घर बनाउँछु भन्दैछन ।उदाहरण कति छन, कति ! तर यहाँ दुःखको कुरा भनेको नेतामा खस्लित नैतिकता हुँदा हुदै पनि उनैलाई पछ्याउदै हिड्ने हाम्रो यूवा र शिक्षित जमात झनै स्खलित बन्दै गएको छ ।
आज असन्तुलित आवेगहरुले जसरी देश खरानी भित्र छ । यस्तै प्रवृत्ति र बिचारले भोलीका दिनमा भबिष्यका कर्णाधारको भविश्य अन्धकारमयी हुने त हैन भन्ने शंका पनि छ। नवयुवा पुस्ताले गलतलाई गलत र सहीलाई सहीको रुपमा नलिदा र लहैलहैमा लाग्दाको परिणाम एउटा पुस्ताको ईतिहास नै कालो ईतिहास हुने डर छ ।
असन्तुलित आवेग (impulsive behavior) र त्यस्ता आवेगको लहैलहैमा गरिने उत्तेजित, दम्भवादी, अधैर्यता र हतासका सोच मनोविज्ञानले मानसिक रोगको संकेत गर्छ ।यस्ता ब्यक्तीको लहै हलैबाट युवाले सिक्न खोज्दा देशले डरलाग्दो ज्ञान बाँड्ने डर हुन्छ ।
प्रायः मानिसले सिक्ने क्रमा अरुको आदर्श र ब्यबहारको अनुकरणबाट सिक्ने गरेको पनि पाईन्छ । माथी भनिए झै नेपालका केही नेताको अनुकरण गर्दा एउटा पुस्ता नै डरलाग्डो मानसिक असन्तुलनमा त फस्ने हैन भन्ने चिनता छ । हिजो माओबादले काम गर्ने आदर्श भन्दा बन्दुकको आदर्श ठूलो बनायो । यसैलाई समउँदै नयाँपुस्तासम्म आईपुग्दा संजालको मनोबिज्ञान उपयोग हुदैछ ।
बान्दुराको ब्यबहारबादी मनोबैज्ञानिक अवधारणाले यस किसिमको सामाजिक सिकाई र मोडलिङले ठूलो अर्थ राख्छ भनेर भन्छ।नवयूवाहरुले जव कसैको स्टाईल र पदछाप बिना सोच पछ्याउन्छ, नकरात्मक र सकरात्मक छुट्याउदैन तब गलत प्रबृतिका मान्छेको संगतले अरुलाई हानी गर्ने र स्वयम् वरवाद पर्ने डर प्रवल हुन्छ । जो हिजो सिंहदरवार दुर्घटनाका रुपमा देखियो ।
यसले नेतृत्वलाई क्षेणिक लाभ भएता पनि सचेतता पुर्वक सोचिएन भने दीर्घकालीन रुपमा देश र जनतालाई असफलताको दिशातर्फ डोर्याउने ठूलो खतरा देखिन्छ । किन कि मनोबिज्ञानको आँखाले हेर्दा ब्यक्तीपरक स्वार्थमा आधारित अस्वस्थ्य दीमागी कर्मले देश र समाजको हितमा भन्दा नीजी स्वर्थलाई टेवा पुर्याउन्छ । जो न त देश र न त पुस्ताको विकासमा सहयोगी बन्न सक्छ।
यस किसिमको अस्वस्थ्य मानसिकता बोकेका ब्यक्तीहरु आवेग र अहंकारद्वारा निर्देशित हुन्छन । यिनले आत्म-रक्षाका लागि झुट बोल्ने, अतिरञ्जित प्रतिक्रिया जनाउने, आवेगपूर्ण निर्णय गर्ने र दोष अरूमाथि थोपर्ने जस्ता रक्षात्मक प्रबृती अपनाउँछन् ।
जसलाई मनोबिज्ञानले प्रतिरक्षा प्रणाली (defense mechanisms) भनेर भन्छ ।यी चतुर ब्यक्तीका अस्वस्थ्य गुण नबुझेर सोझा युवाहरु झुक्किदै गर्दा ठूलो नोक्सानीमा फस्ने डर हुन्छ। यो एकदमै खतरनाक मनोबैज्ञानिक अश्त्र हो । आफ्नै हातबाट आफ्नै ईतिहास जले जस्तै । केही बुझिएको, केही बुझ्न बाँकी, धेरै बुझ्न नसकिएको । यो भन्दा पनि धेरैले बुझ्ने नचाहेको । भएन त डर लाग्दो अश्त्र ?
यी सबै क्रियाकलापबाट बच्न आफ्नो अहंकारमा लगाम लगाउनु हो। तर यदी यस्तै पिडा र अहंकार रहने हुन भने दीर्घकालीन रूपमा गम्भीर मनोवैज्ञानिक समस्या जन्माउनुका साथै नेतृत्वलाई अविश्वसनीय र अस्थिर बनाउने देखिन्छ ।
असल नेतृत्वले आवेग, चाहना, आत्मरक्षा र स्वार्थ छोडेर नैतिकता, मूल्य, मान्यता, विवेक, विश्लेषन, अरुको विचारको कदर र तथ्यमा आधारित ज्ञान बाँड्छ। जसमा नैतिकता, मूल्य, मान्यता र विवेक सबल पक्ष हुन्छन भने यसले आत्मअनुशासन र सामाजिक जिम्मेवारीलाई स्वतः सशक्त बनाउन सहयोग गर्छ।
इमानदारीता, भावनात्मक स्थिरता र आत्मनियन्त्रण जस्ता गुणहरूले उनीहरुको आवेग र अहंकार नियन्त्रण गरि विवेकशील र सकारात्मक निर्णय गर्न सक्षम बनाउँछन्। यस्तो नेतृत्वले केवल व्यक्तिगत सफलता मात्र होइन, समाज र देशको दीर्घकालीन स्वरुप उठाउन सहयोग गर्छ।
नेतृत्वलाई हेर्ने मनोबैज्ञानिक कसी
नेतृत्वले आवेगमा भन्दा पनि सत्यतालाई स्वीकार गरेर ईमान्दारिता देखाउन सक्नु पर्छ । तलका गुणहरुमा कमजोरी देखिएको खण्डमा नेतृत्वमा कुनै न कुनै मानसिक समस्या छ भनेर भन्न सकिन्छः
१. इमानदारीः आवेगमा आएर ब्यक्तिगत चाहना, आत्मरक्षा र स्वार्थपुर्ती गर्न झूट वा छल प्रयोग नगरी सत्य र पारदर्शिता मार्फत जन विश्वास निर्माण गर्ने क्षमता ।
२. नैतिक विवेकः व्यक्तिगत स्वार्थभन्दा माथि उठी मूल्य, मर्यादा र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिन सक्ने दृष्टिकोण।
३. भावनात्मक स्थिरताः आवेगबाट उत्पन्न क्रोध र सम्वेगात्मक असन्तुलनलाई नियन्त्रित गरी तथ्यमा आधारित निर्णय लिन सक्ने क्षमता।
४. आवेग नियन्त्रणः हतारमा अतिरञ्जित प्रतिक्रियाभन्दा सोचविचार, आत्मपरिक्षण गरेर दीर्घकालीन प्रभावलाई प्राथमिकता दिने निर्णय क्षमता।
५. अरुको आरोपको प्रतिरक्षामा सचेतता साथ आत्म नियन्त्रण: झूटो दोषारोपण, अस्वीकार र कुतार्किक आत्मरक्षा प्रणाली त्यागी आत्मस्वीकृति, आत्माशुद्धी र आत्मासुधारमा केन्द्रित प्रवृत्तिको बिकास।
६. मित्रवत् स्वभावः डर र अहंकार होइन, विश्वास, सम्मान र खुला संवादमा आधारित मित्रवत सम्बन्ध निर्माणमा बिश्वास।
७. नयाँ अनुभवप्रति खुलापनः आत्मपरक सोच र स्वार्थभाव त्यागी अनुसन्धान, सिकाइ, आत्मपरिवर्तन र सिर्जनशीलतामा आधारित ज्ञानलाई सहज रूपमा स्वीकार गर्ने क्षमता।
८. जिम्मेवारी र अनुशासनः आत्मअनुशासन मार्फत अरुको स्वभावलाई बदल्न सक्ने मानसिक रूपमा अनुसासित र स्वस्थ्य ।
९. सन्तुलित बहिर्मुखीपनः आत्मकेन्द्रित भन्दा पनि जनहितका उद्देश्य, मूल्य र समूहक हितलाई प्राथमिकता दिने व्यवहार ।
१०. सहयोगी र दयालु स्वभावः शक्ति प्रदर्शन होइन, सहकार्य, करुणा र भावनात्मक समझदारीमा आधारित नेतृत्व स्वभाव।
११. जस्तोसुकै दबाबमा पनि भावनात्मक बिचलन नहुने: तनावपूर्ण अवस्थामा पनि आवेग र क्रोधको रक्षा होइन, विवेक र यथार्थबोधमा आधारित स्पष्ट निर्णय क्षमता।
अन्त्यमा
आधुनिक समाजमा देखिएको धेरैजसो नेतृत्व संकटको मूलकारण आवेग र चाहना तथा आत्मरक्षा र स्वार्थले गाँसिएको ब्यक्तिवादी सोच र नैतिकता, मूल्य, मान्यता र विवेक बिचको तालमेलको कमजोरी हो। जब नेतृत्व आवेग, अहंकार र आत्मरक्षामा सिमित हुन्छ, तब झुट, दोषारोपण र अतिरञ्जित प्रतिक्रियाहरु सामान्य बन्छन् ।
जसले दीर्घकालीन रूपमा मानसिक अस्वस्थता, विश्वासमा ह्रास र नेतृत्वको असफलता निम्त्याउँछ। यसको विपरीत नैतिकतामा आधारित विवेकबाट निर्देशित आत्मअनुशासन र भावनात्मक परिपक्वता ले स्वस्थ्य मानसिकता भएको व्यक्तित्वबाट मात्र प्रभावकारी नेतृत्वको सम्भावना देखाउन्छ ।
साथै असल नेतृत्व शक्ति भन्नाले शक्ति र प्रदर्शन होइन, आत्मनियन्त्रण गरेर जिम्मेवारी स्वीकार्ने साहस र नैतिक निर्णय क्षमता भएको प्रजातान्त्रिक मुल्य मान्यताको अभ्यासले जन्माउने नायक हो ।
(लेखकः उप-प्राध्यापक, मनोबिज्ञान, ओक्लोहामा पानहेन्डल स्टेट यूनिभर्सिटी)













प्रतिक्रिया