मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनए अमेरिकाको १३औँ साधारण सभाअन्तर्गत हुने ज्ञानसम्मेलनको तयारी अन्तिम चरणमा

एनआरएनए अमेरिकाको १३औँ साधारण सभाअन्तर्गत हुने ज्ञानसम्मेलनको तयारी अन्तिम चरणमा


अमेरिका । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए, एनसिसी), अमेरिकाको १३औँ साधारणअन्तर्गत हुने ज्ञानसम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ।

उक्त ज्ञानसम्मेलनको तयारी अन्तिम चरणमा पुगेको संघका उपाध्यक्ष एवं विज्ञान, प्रविधि तथा नव प्रवर्तन  विभाग (Science, Technology and Innovation Department- STI) का प्रमुख भानु खरेलले बताए। उनका अनुसार विज्ञहरुमार्फत विभिन्न महत्त्वपूर्ण क्षेत्रहरुको तथ्यगत जानकारीहरु संकलन गरी आफ्ना सदस्यहरुलाई जानकारी दिने मुख्य उद्देश्यले उक्त सम्मेलनको आयोजना गर्न लागिएको हो ।

संघका उपाध्यक्ष एवं ज्ञानसम्मेलनका संयोजकसमेत रहेका खरेलले जानकारी दिएअनुसार १३ जुलाई शनिबारका दिन १३औँ साधारण सभा तथा ज्ञानसम्मेलनको उद्घाटन भएलगतै ज्ञानसम्मेलन सुरू गरिने कार्यतालिका रहेको छ। ज्ञानसम्मेलनमा विगतमा झैँ यस वर्ष पनि नेपाल र अमेरिकामा रहेका विभिन्न क्षेत्रका विज्ञहरुले भौतिक रुपमै उपस्थित भएर आआफ्नो कार्यपत्रहरु प्रस्तुत गर्ने भएका छन् ।

डाक्टर बेनी डाँगीद्वारा चेयरको जिम्मेवारी सम्हालेको संघको एसटिआई विभागका प्रमुख खरेलले बताएअनुसार ज्ञानसम्मेलनमा मुख्य गरी प्राकृतिक र लागू विज्ञान, स्वास्थ्य विज्ञान र सामाजिक विज्ञान तथा उद्यमशीलता गरी तीन क्षेत्रलाई प्राथमिकता दिएर बनाइएका कार्यपत्रहरु प्रस्तुत गरिने भएको छ। र, हरेक क्षेत्रमा तीन सहायक सत्रहरु हुने भएकाले, कुल ९ जना विज्ञहरुले आआफ्नो प्रस्तुति गर्ने गरी तयारी गरेका छन्।

विज्ञहरुको प्रस्तुतिसँगै कार्यक्रमलाई थप प्रभावकारी बनाउन प्रश्न-उत्तरको सत्र पनि राखिएको आयोजकले जनाएको छ। प्रस्तुत गरिएका दस्तावेजहरु संघ र नेपाली समुदायका लागि अमूल्य दस्तावेज हुने भएकाले संघको आधिकारिक वेभ साइटमा पनि राखिने र नेपाल सरकार तथा अन्य सरोकारवालाहरुलाई पनि आवश्यकता पर्दा उपलब्ध गराइने संयोजक खरेलले बताए ।

उनले सम्मेलन निकै महत्त्वपूर्ण र लाभदायक रहेकाले सक्रियरुपमा सहभागिता जनाउन संघका सदस्यहरुलाई अनुरोधसमेत गरेका छन् ।

१३औँ साधारण सभा एवं ज्ञानसम्मेलन आउँदो जुलाई १३ र १४ तारिख शनिबार र आइतबारका दिन मेरिल्याण्ड राज्यको बाल्टिमोर सिटीको 1100 Cromwell Bridge Rd, Towson, MD 21286 स्थित Holiday Inn Express Towson मा हुँदैछ।

संघले दिएको जानकारीअनुसार जुलाई १२ तारिख शुक्तबार च्याप्टर नाइट (च्याप्टर अध्यक्षहरुसँग भेटघाट तथा बैठक) हुने, जुलाई १३ तारिख शनिबार साधारण सभा एवं ज्ञानसम्मेलनको उद्घाटन तथा विज्ञहरुसहितको ज्ञानसम्मेलन गर्ने र १४ तारिख आइतबार बन्द सत्र गर्ने गरी कार्यक्रमको कार्यतालिका बनाइएको छ।

संघले आफ्ना सदस्यहरुलाई कार्यक्रममा सहभागिता जनाउन अनुरोध गर्दै अग्रीम नाम दर्ता गर्न र होटल बुक गर्नका लागि लिंकसमेत उपलब्ध गराइसकेको छ। उपलब्ध गराएको लिंकहरु यस प्रकार रहेको छन् :

१) नाम दर्ताका लागि :
https://go.nrnusa.org/agm-pay

२) होटल बुक दुई रात (७/१३ – ७/१५) का लागि :
https://www.choicehotels.com/reservations/groups/RK18Q6

३) होटल बुक तीन रात(७/१२-१५) का लागि :
https://www.choicehotels.com/reservations/groups/BC09K8