बोस्टन

सातौं दिन पनि “बोस्टन सप्ताह ज्ञान महायज्ञ” उत्सवमय बन्यो, अहिलेसम्म ८ लाख ६१ हजार डलर दान सङ्कलन

सातौं दिन पनि “बोस्टन सप्ताह ज्ञान महायज्ञ” उत्सवमय बन्यो, अहिलेसम्म ८ लाख ६१ हजार डलर दान सङ्कलन


अमेरिका, बोस्टन। अमेरिकाको म्यासाच्युसेट्स राज्यको बोस्टन स्थित पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इङ्गल्याण्ड(प्याब्फोन)द्वारा आयोजित “बोस्टन सप्ताह ज्ञान महायज्ञ -२०२६” जारी रहेको छ। महायज्ञको सातौं दिन अगष्ट २२,२०२६ शनिबार पनि भक्तजनहरुको उत्साहजनक सहभागिता रह्यो। अमूल्य ज्ञान लिन र भक्तिभावले दान दिन सहभागी भएका भक्तजनहरुले महायज्ञ स्थललाई धार्मिक उत्सवमय बनाएका थिए। श्रीमद्भागवत कथा वाचनमा पारङ्गत कथा वाचक पण्डित दीनबन्धु पोखरेलको कथा वाचन सुन्न भक्तजनहरु निकै लालायित देखिन्थे।

प्रवचनसहित कथा वाचन गरिरहेका पण्डित पोखरेलले सातौं दिन पनि कथा वाचनका क्रममा श्रीमतभागवतको ज्ञान प्रवाह गर्नुका साथै धार्मिक ज्ञानलाई जीवन, जगत र विज्ञानसंग जोडेर प्रवचन दिएका थिए। प्रवचनका क्रममा उनले नेपाली मनलाई जोड्न, नेपाल र नेपालीको कला, धर्म, संस्कार र संस्कृतिको संरक्षण, संवर्धन र प्रवर्द्धन गर्न र पुस्तान्तरण गर्नमा विशेष जोड दिएका थिए।

Advertisement

प्याब्फोन कार्यसमितिका अध्यक्ष ध्रुव घिमिरेले जानकारी दिए अनुसार, कथा वाचनकै क्रममा दाताहरुले नगद दान तथा भेटी चडाउनुका साथै दान स्वरुप प्रदान गर्ने आर्थिक सहयोग रकमको घोषणा गरेका थिए। नगद दान तथा भेटी चडाउने र आर्थिक सहयोग रकम घोषणा गर्ने दाताहरुप्रति सम्मान प्रकट गरिएको थियो। सातौं दिनसम्म दान गरिएको नगद तथा दान गर्ने घोषणा गरिएको रकम कूल ८ लाख ६१ हजार ६ सय छयालिस डलर पुगेको छ। महायज्ञको अन्तिम दिन आइतबार भक्तजनहरुको उत्साहजनक सहभागिता र दान हुने आयोजकले अपेक्षा गरेको छ। प्याब्सनले यस महायज्ञबाट १५ लाख डलर आर्थिक सहयोग सङ्कलन हुने अनुमान गरेको छ।

कथा वाचनको दौरानमा कथाको प्रसङ्ग अनुसार भजन कीर्तन, झाँकी, नाटक तथा नृत्यहरुसमेत प्रस्तुत गरिएको थियो। कथा वाचन समापन भएपछि विशेष आरति गरिएको थियो।

महायज्ञको कार्यतालिका अनुसार २२,२०२६ शनिबार बिहान बुद्धको विषेश पूजा, ध्यान तथा प्रवचन कार्यक्रमको आयोजना गरिएको थियो। उक्त कार्यक्रममा बौद्ध गुरु समन्त श्रीरत्न बज्राचार्य र गुरु सोनाम लामाले बुद्धको पूजा तथा ध्यान गर्नुका साथै बुद्ध सम्बन्धी प्रवचनसमेत दिएका थिए।

गत अगष्ट १६,२०२६ आइतबारबाट सुरु भएको महायज्ञ अगष्ट २३,२०२६ आइतबार समापन हुदैछ। समापनलाई विशेष बनाउन आयोजकले विशेष तयारी गरिरहेको छ। कार्यतालिका अनुसार समापनको दिन नियमित पूजापाठ गरिनुका साथै श्रीमद्भागवत कथा वाचन, तिलार्पण, हवन, तर्पण, मार्जन, अविशेक, पूर्णाहुति, अभिषेक आदि धार्मिक विधिहरु सम्पन्न गर्ने कार्यतालिका रहेको छ।