काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपालले लामो समयदेखि उठाउँदै आएको नयाँ हवाई प्रवेशमार्ग (एयर रुट) का विषयमा महत्वपूर्ण सहमति हुने सम्भावना देखिएको छ ।
झण्डै डेढ दशकदेखि कूटनीतिक तथा प्राविधिक तहमा छलफल हुँदै आए पनि निष्कर्षमा पुग्न नसकेको यस विषयमा पछिल्लो समय भारतीय पक्ष सकारात्मक देखिएपछि प्रधानमन्त्रीको भ्रमणलाई निर्णायक अवसरका रूपमा हेरिएको छ ।
दुईदिने राजकीय भ्रमणका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री शाह भारत पुगेका छन् । भ्रमणका क्रममा नेपालले महेन्द्रनगर, नेपालगन्ज, भैरहवा र जनकपुरबाट थप हवाई प्रवेशमार्ग उपलब्ध गराउने विषयलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ ।
पछिल्लो द्विपक्षीय छलफलमा भारत महेन्द्रनगरबाट ३९ हजार फिट उचाइमा जहाजलाई नेपाल प्रवेश गर्न दिन सकारात्मक देखिएको छ । त्यस्तै, भैरहवा र जनकपुरबाट कम उचाइमा हवाई मार्ग उपलब्ध गराउने विषयमा पनि भारतीय पक्ष सकारात्मक रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सहसचिव जयनारायण आचार्यका अनुसार हवाई प्रवेश बिन्दुका विषयमा भारतसँग प्याकेजमै छलफल भइरहेको छ ।
‘महेन्द्रनगरबाट जहाज नेपाल प्रवेश गर्न पाउने गरी हवाई मार्ग उपलब्ध गराउन भारत तयार देखिएको छ । त्यस्तै, भैरहवा र जनकपुरबाट कम उचाइमा हवाई मार्ग उपलब्ध गराउन भारत सकारात्मक छ,’ आचार्यले भने ।
उनका अनुसार भारतीय पक्षले सबै हवाई रुटका विषयमा एकैपटक प्याकेजमै सहमति खोजिरहेको छ । नेपालले भने तत्काल सम्भव हुने तीनवटा प्रवेश बिन्दुबाट हवाई मार्ग सञ्चालनमा ल्याएर बाँकी विषयलाई क्रमशः कूटनीतिक तथा प्राविधिक संवादमार्फत टुङ्ग्याउने प्रस्ताव गरेको छ ।
मन्त्रालयका अनुसार कुन–कुन प्रवेश बिन्दुबाट हवाई मार्ग उपलब्ध हुने भन्ने विषयमा अन्तिम निर्णय भइसकेको छैन । यद्यपि पछिल्लो छलफलमा देखिएको सकारात्मक वातावरणले प्रधानमन्त्रीको भ्रमणका क्रममा सहमति जुट्ने अपेक्षा बढाएको छ ।
महेन्द्रनगरबाट नयाँ प्रवेशमार्गको अपेक्षा
नेपालले लामो समयदेखि पश्चिमतर्फबाट अन्तर्राष्ट्रिय विमानलाई नेपाल प्रवेश गर्न सहज हुने गरी नयाँ हवाई मार्गको माग गर्दै आएको छ । हाल नेपाल प्रवेश गर्ने अधिकांश अन्तर्राष्ट्रिय जहाजले बाराको सिमरा प्रवेश बिन्दु प्रयोग गर्नुपर्ने अवस्था छ ।
महेन्द्रनगरबाट हवाई प्रवेशमार्ग उपलब्ध भएमा पश्चिम क्षेत्रबाट नेपाल प्रवेश गर्ने अन्तर्राष्ट्रिय उडानले वैकल्पिक मार्ग प्राप्त गर्नेछन् । यसले सिमरा प्रवेश बिन्दुमाथिको निर्भरता घटाउन तथा पश्चिमी क्षेत्रका विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न सहज वातावरण निर्माण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
तर प्रस्तावित ३९ हजार फिट उचाइको मार्ग व्यावहारिक रूपमा कति उपयोगी हुन्छ भन्ने विषयमा थप प्राविधिक अध्ययन आवश्यक हुनेछ । विमानको प्रकार, उडानको दिशा, हवाई यातायात व्यवस्थापन, मौसम र सुरक्षासम्बन्धी पक्षलाई ध्यानमा राखेर यसको सञ्चालन प्रक्रिया निर्धारण गर्नुपर्ने हुन्छ ।
भैरहवा र जनकपुरका लागि कम उचाइको रुट
महेन्द्रनगरबाट उच्च उचाइमा हवाई प्रवेशमार्ग उपलब्ध गराउने विषयसँगै भैरहवा र जनकपुरबाट कम उचाइमा हवाई मार्ग सञ्चालन गर्ने प्रस्तावमा पनि भारत सकारात्मक देखिएको छ ।
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार गर्न भारतीय हवाई क्षेत्रसँग जोडिएको सहज प्रवेश तथा बहिर्गमन मार्ग महत्वपूर्ण मानिन्छ । भारतीय हवाई क्षेत्रबाट सहज आवागमनको व्यवस्था नहुँदा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको व्यावसायिक सञ्चालन तथा उडान विस्तारमा चुनौती देखिएको छ ।
त्यस्तै, जनकपुरबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि उपयुक्त हवाई मार्ग उपलब्ध भएमा क्षेत्रीय हवाई सम्पर्क विस्तार गर्न सकिने अपेक्षा गरिएको छ । नेपालले यी दुवै मार्गलाई प्राथमिकतामा राखे पनि प्रवेश बिन्दु, उडानको उचाइ र सञ्चालन प्रक्रियाबारे प्राविधिक सहमति हुन बाँकी छ ।
नेपालमा ठूलो लगानीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भए पनि अपेक्षाअनुसार अन्तर्राष्ट्रिय उडान विस्तार हुन सकेको छैन । थप हवाई प्रवेशमार्ग उपलब्ध भएमा यी विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई उडान सञ्चालन गर्न सहज हुने अपेक्षा गरिएको छ ।
विशेषगरी भैरहवा र पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तार गर्न सहज हवाई सम्पर्क महत्वपूर्ण मानिएको छ । यसबाट पर्यटन, व्यापार तथा आर्थिक गतिविधि विस्तारमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ ।
डेढ दशकदेखि उठ्दै आएको विषय
नेपालले नयाँ हवाई प्रवेशमार्गको विषय लामो समयदेखि भारतसँग उठाउँदै आएको छ । विसं २०७१ साउन १८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो नेपाल भ्रमणका क्रममा पश्चिमतर्फबाट थप हवाई रुट उपलब्ध गराउने विषयमा सहमति भएको थियो ।
त्यसबेला दुवै देशका अधिकारीलाई छ महिनाभित्र यस विषयलाई टुङ्ग्याउन निर्देशन दिइएको थियो । तर त्यसयता विभिन्न उच्चस्तरीय भ्रमण र द्विपक्षीय बैठकमा छलफल भए पनि नेपालले अपेक्षित नयाँ हवाई प्रवेशमार्ग प्राप्त गर्न सकेको छैन ।
विसं २०८० जेठमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा जाँदा पनि हवाई रुटको विषय प्रमुख एजेन्डाका रूपमा समावेश गरिएको थियो । त्यसबेला भारतीय प्रधानमन्त्री मोदीले नेपाललाई थप हवाई रुट उपलब्ध गराउने विषयमा भारत सकारात्मक रहेको बताएका थिए ।
तर सकारात्मक प्रतिबद्धताका बाबजुद प्राविधिक तथा कूटनीतिक प्रक्रियाले अन्तिम रूप लिन सकेको थिएन ।
प्रधानमन्त्रीको भ्रमणअघि कूटनीतिक छलफल तीव्र
प्रधानमन्त्री शाहको भारत भ्रमणअघि नै हवाई रुटका विषयमा द्विपक्षीय सहमति खोज्ने उद्देश्यले नेपालले कूटनीतिक तथा प्राविधिक तहमा छलफल तीव्र पारेको थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्क राज पौडेल यस विषयमा छलफल गर्न भारत पुगेका थिए । नयाँदिल्लीमा मंसिर ४ देखि ६ गतेसम्म आयोजना भएको साङ्घाई सहयोग संगठन (एससीओ) को सिभिलाइजेशन डाइलग फोरममा सहभागी हुने क्रममा उनले भारतीय अधिकारी तथा सरोकारवालासँग थप हवाई रुट र पर्यटन सहकार्य विस्तारबारे छलफल गरेका थिए ।
यसअघि नेपाली प्रतिनिधिमण्डलले नयाँदिल्लीमा भारतीय नागरिक उड्डयन मन्त्रालयका अतिरिक्त सचिव पुनित कंशलसँग पनि छलफल गरेको थियो ।
उक्त प्रतिनिधिमण्डलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवं प्रशासन तथा योजना महाशाखा प्रमुख जयनारायण आचार्य, परराष्ट्र मन्त्रालयका सहसचिव एवं दक्षिण एसिया महाशाखा प्रमुख गेहेन्द्रराज भण्डारी र नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक मुकेश डङ्गोल सहभागी थिए ।
नेपालले तत्काल सम्भव हुने तीनवटा हवाई प्रवेशमार्ग सञ्चालनमा ल्याएर बाँकी विषयलाई क्रमशः वार्ताबाट टुङ्ग्याउने प्रस्ताव अघि सारेको छ । भारतले भने सबै विषयलाई समेटेर समग्र प्याकेजमै समझदारी गर्नुपर्नेमा जोड दिएको छ ।
प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा यस विषयमा कस्तो समझदारी बन्छ भन्ने चासो बढेको छ । डेढ दशकदेखि छलफलमा सीमित हुँदै आएको हवाई रुटको विषयमा सहमति जुटे नेपालको अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार, क्षेत्रीय विमानस्थलको उपयोग र पर्यटन प्रवर्द्धनमा नयाँ अवसर सिर्जना हुन सक्नेछ ।













प्रतिक्रिया