क्यानाडाको एडमण्टनमा महाकवी लक्ष्मी प्रसाद देवकोटाको जन्म जयन्ती मनाइएको थियो । नोभेम्बर ७ तारिखका दिन एडमण्टन सहरको टेरा सेन्टर हलमा भएको साहित्यक कार्यक्रममा साहित्य अनुरागीहरूको उल्लेख्य सहभागी थियो । सो कार्यक्रममा कविहरू विनय ज्ञवाली, श्रीनिधि लम्साल, भूपेन्द्र लामिछाने, अनमोलमणि पौडेल, ध्रुव केसी, शोभा सुवेदी आचार्य, सुरज खतिवडा, देवेन्द्र कार्की, लक्ष्मीप्रसाद तिमल्सिना, जनक पौडेल, टेक खत्री, नीरभीम विष्ट, सृष्टि लम्साल, हुकुम बराल, पवित्रा सुवेदीले आफ्ना रचना वाचन गरेका थिए ।
कार्यक्रमका सहभागीहरुलाई स्वागत गर्दै नेपाल हेरिटेज सोसाइटी का अध्यक्ष देवेन्द्र कार्कीले साहित्य र संस्कृतिलाई जगेर्ना गर्ने मुख्य उद्देश्यले यस्ता कार्यक्रम महत्पुर्ण हुने बताए । देवकोटा जयन्तीको अवसरमा विदेशी भुमीमा आफ्नो कविता सुनाउने अवसर पाउनु सुअवसर भएको र यस्ता कार्यक्रमले प्रवासी साहित्यको विकास हुने कवि जनक पौडेलको भनाइ थियो ।
कार्यक्रममा समसामयिक सन्दर्भका कविताहरूका साथै महाकवि देवकोटाप्रति समर्पित कविताहरू वाचन गरिएको थियो । अशोक आचार्यको संयोजन र यम घिमिरे ले सञ्चालन गरेको कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै नेपाल हेरिटेज सोसाइटीका सचिव सुरज खतिवडाले आगामी दिनमा संस्थाले सहकार्यहरु गर्दै कला साहित्यको जगेर्नामा योगदान दिइने प्रतिवद्धता जनाए ।













प्रतिक्रिया