अमेरिका, बोस्टन। अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा आयोना गरिएको श्रीमतभागवत सप्ताह ज्ञान महायज्ञ “बोस्टन सप्ताह ज्ञान महायज्ञ-२०२६” सम्पन्न भएको छ। गत अगष्ट १६,२०२६ आइतबारबाट सुरु भएको महायज्ञ आज अगष्ट २३,२०२६ आइतबार सम्पन्न भएको हो।


पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इङ्गल्याण्ड(प्याब्फोन)द्वारा आफ्नै सामुदायिक भवनमा आयोजित महायज्ञ न्यू इङ्गल्याण्ड क्षेत्रमा “मिनी नेपाल” निर्माण गर्ने इरादासहित सम्पन्न भएको हो।
नेपालको ढुङ्गा, माटो, घर, भूगोल ल्याए नभइ नेपालको कला, संस्कार, संस्कृति, भाषा, भेषभुषा, ऐतिहासिक बिरासतलाई अमेरिकाको भूमिमा ल्याएर पुस्तान्तर गर्दै “मिनी नेपाल” निर्माण गर्ने आगामी अभियानमा जोडिन महायज्ञले समस्त न्यू इङ्गल्याण्डबासी नेपाली समुदायसंग अपिल गरेको छ।

धार्मिक ज्ञान प्रवाह गर्ने, सामुदायिक एकतालाई थप बलियो बनाउने, नेपाली धर्म, संस्कार, संस्कृति आदिको संरक्षण, संवर्धन तथा प्रवर्द्धन, पुस्तान्तरण गर्दै “मिनी नेपाल” निर्माण गर्ने र संस्थाका लागि आवश्यक आर्थिक सहयोग संकलन गर्ने महायज्ञको मुख्य उद्देश्य रहेको थियो।
“सबै जुटौं, कोही नछुटौं” भन्ने मूल नाराका साथ सामुदायिक अभियानका रुपमा आयोजित महायज्ञमा सयौं भक्तजनहरुको उत्साहजनक सक्रिय सहभागिता रहेको थियो।



महायज्ञका प्रमुख कथा वाचक पण्डित दीनबन्धु पोखरेलले प्रवचनसहित श्रीमद्भागवत कथा वाचन गरेका थिए। उनले कथा वाचनसंगै जीवन, जगत र परमात्माको वास्तविक अर्थ, आपसी सम्बन्ध र यिनको योगफलका बारेमा विशेष चर्चा गरेका थिए।

आफ्नो कथा वाचन तथा प्रवचनका क्रममा पण्डित पोखरेलले धार्मिक ज्ञानलाई जीवन, जगत र विज्ञानसंग जोड्दै नेपाल र नेपालीको भाषा, भेषभुषा, कला, धर्म, संस्कार, संस्कृति आदि युक्त “मिनी नेपाल” निर्माण अभियानमा लाग्न विशेष जोड दिएका थिए। पण्डित पोखरेलले पहिलो महायज्ञमा आफूलाई कथा वाचन गर्ने अवसर प्राप्त भएको र दोश्रो महायज्ञमा पनि सोही भूमिका निभाउने अवसर प्रदान गरेकोमा आयोजक तथा न्यू इङ्गल्याण्डबासी नेपाली समुदायलाई धन्यवाद प्रकट गरे।

स्वर्गीय पिता नारायणप्रसाद पोखरेललाई स्मरण गर्दै पण्डित पोखरेलले पिताकै मार्ग पछ्याउदै सनातन धर्म, नेपाल र नेपालीको हितार्थ नेपालदेखि प्रवाससम्म अनवरत जुटिरहेको प्रस्ट्याए। समापनमा बोल्दै उनले महायज्ञ सफल बनाउन अहम भूमिका निर्वाह गर्ने सबैप्रति श्रद्धा व्यक्त गरे। महायज्ञका दौरानमा आफू लगायत सबैको योगदानको सही मूल्याङ्कन र कदरको अपेक्षा व्यक्त गर्दै उनले महायज्ञ सफल भएकोमा सबैलाई बधाई ज्ञापन गरे। पण्डित पोखरेलले न्यू इङ्गल्याण्डमा “मिनी नेपाल” निर्माण गर्ने आफ्नो इरादा सफल बनाउन आगामी दिनहरुमा पनि बोस्टन आउने क्रम जारी रहने बचन दिदै अभियानमा साथ दिन सबैलाई आग्रह गरे।
महायज्ञ मूल समारोह समितिका संयोजक मिलन कुमार कार्कीले महायज्ञ उद्देश्य अनुसार नै उत्सवमय रुपमा भव्यताका साथ सम्पन्न भएको प्रतिक्रिया दिएका छन्। उनले समुदायको आँट भसोमा आँटिएको महान कार्य, समुदायकै साथ, सहयोगमा भव्यताका साथ सम्पन्न भएको जिकिर गरे। कार्यसमितिको उपाध्यक्षसमेत रहेका कार्कीले महायज्ञ सम्पन्न गर्न प्रत्यक्ष परोक्ष रुपमा अमूल्य योगदान पुर्याउने प्रमुख कथा वाचक, गुरुजन, भक्तजन, दाता, सहयोगीलगायत सबैलाई आयोजकको तर्फबाट धन्यवाद व्यक्त गरे।

प्याब्फोनको ट्रस्टीजका अध्यक्ष सुशील पौडेलले महायज्ञ सम्पूर्ण दृष्टिकोणले एकदमै सफलतापूर्वक सम्पन्न भएको बताए। उनले महायज्ञको दौरानमा आयोजकदेखि सहभागी भक्तजनहरुसम्म सबै जना प्रसन्न देखिएको प्रतिक्रिया दिदै नेपाली समुदायबीच राम्रो एकता देखिएको जिकिर गरे।

प्याब्फोन कार्यसमितिका अध्यक्ष ध्रुव घिमिरेले महायज्ञ भव्य र उल्लासका साथ सम्पन्न भएको जनाए। उनले महायज्ञ धार्मिक कार्यक्रम भएपनि व्यक्ति, परिवार र समुदायमा यसले बहुआयामिक सकारात्मक प्रभाव पारेको जिकिर गरे। महायज्ञ मार्फत अमूल्य ज्ञान प्रवाह गर्न सफल भएको दाबी गर्दै अध्यक्ष घिमिरेले दाताहरुबाट संस्थाको सहयोगार्थ अपेक्षाकृत नै आर्थिक सहयोग प्राप्त भएकोमा निकै खुशी व्यक्त गरे। उनले महायज्ञ सफल पार्न अहोरात्र खट्ने सबैलाई धन्यवाद दिए।

महायज्ञ अन्तर्गत गठित सञ्चार उपसमितिका संयोजक मिलन गुरुङले महायज्ञ, धार्मिक, आर्थिक र सहभागिताको हिसाबले भव्य रुपमा सफल भएको जनाए। महायज्ञको दौरानमा देखिएको समुदायको उर्जाशील उत्साहजनक एकता, सक्रिय सहभागिता, अमूल्य भूमिका र दान स्वरुप प्राप्त आर्थिक सहयोग नमन योग्य रहेको बताए। ट्रष्टीजका उपाध्यक्षसमेत रहेका गुरुङले महायज्ञ सम्पन्न भएसंगै प्याब्फोनलाई थप जिम्मेवारी बढेको बताउदै प्रचारप्रसार उपसमितिका सदस्यहरु लगायत सबैलाई धन्यवाद व्यक्त गरे।

ग्रेटर बोस्टन नेपाली कम्युनिटि(जिबिएनसि)का उपाध्यक्ष सोनाम शेर्पाले सबैको साथ पाएकाले समग्रममा महायज्ञ भव्यताका साथ सफल भएको प्रतिक्रिया दिए। त्यसैगरी, महाप्रसाद व्यवस्थापन उपसमितिका संयोजक जालप्रसाद घिमिरे, भजन कीर्तन उपसमितिकी सदस्य तथा गायिका सुशीला बस्नेत तिमल्सिना, फोटोग्राफर शिव मिश्र, भक्तजन रीमा अधिकारीलगायतले महायज्ञ उल्लासमय भएको र अमूल्य ज्ञानबर्धक रहेको प्रतिक्रिया दिएका छन्।

कार्यतालिका अनुसार समापनको दिन नियमित पूजापाठ गरिनुका साथै श्रीमद्भागवत कथा वाचन, तिलार्पण, हवन, तर्पण, मार्जन, अविशेक, पूर्णाहुति, अभिषेक, आरती तथा लाख बत्ती बाल्ने आदि धार्मिक कार्यहरु सम्पन्न गरिएको थियो।
यो समाचार तयार पार्दासम्म महायज्ञमा नगद दान गरिएको रकम र दान गर्ने घोषणा गरिएको रकम गरी कूल १० लाख २८ हजार डलर आर्थिक सहयोग सङ्कलन भएको प्याब्फोनले जनाएको छ।













प्रतिक्रिया