बोस्टन

जिबिएनसिको साधारण सभा सम्पन्न, सहभागी संख्या निराशाजनक, सहभागीहरुको सक्रियता उत्साहजनक

जिबिएनसिको साधारण सभा सम्पन्न, सहभागी संख्या निराशाजनक, सहभागीहरुको सक्रियता उत्साहजनक


शेयर गर्नुहोस:

0
Shares

  • change font
  • change font

अमेरिका। बोस्टन। अमेरिकाको बोस्टन सहर स्थित ग्रेटर बोस्टन नेपाली कम्युनिटि(जिबिएनसि)को साधारण सभा सम्पन्न भएको छ। संस्थाले गत नोभेम्बर १५, २०२६ आइतबार ब्रेनट्री स्थित नेपाली सामुदायिक भवनमा संस्थाको विधान बमोजिम साधारण सभा सम्पन्न भएको जनाएको छ।

संस्थाले गत नोभेम्बर १, २०२६ आइतबार साधारण सभा गर्ने भनी पहिलो पटक सूचना जारी गरेको थियो। तर, उक्त दिन संस्थाको विधान अनुसार साधारण सभा सञ्चालनका लागि उपस्थित हुनुपर्ने सदस्यहरुको गणपूरक (कम्तिमा ५१ प्रतिशत) संख्या नपुगेका कारण साधारण सभा हुन सकेको थिएन। पहिलो सूचना अनुसार उक्त साधारण सभा हुन नसकेपछि नोभेम्बर १५,२०२६ आइतबारका लागि दोस्रो सूचना जारी गरिएको थियो। पुनः आव्हान गरिएको साधारण सभामा उपस्थित संख्यालाई नै गणपूरक संख्या हुने संस्थाको विधानमा व्यवस्था भएकोले सोही बमोजिम साधार सभा सम्पन्न गरिएको संस्थाले जनाएको छ।

Advertisement

संस्थाका अध्यक्ष सन्दीप भट्टराईको अध्यक्षता रहेको उक्त साधारण सभामा, महासचिव अजय ढकालले वर्तमान कार्यसमितिको कार्यकाल सुरु भएदेखि हालसम्म संस्थाले गरेका गतिविधिहरुसंगै भावी योजनाहरुलाई समेटेर तयार पारिएको प्रतिवेदन प्रस्तुत गरेका थिए। यसैगरी, संस्थाका कोषाध्यक्ष सुदीप शर्माले संस्थाले गरेका आर्थिक गतिविधिहरुलाई समेटेर तयार पारिएको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। सहभागी सदस्यहरुले प्रस्तुत प्रतिवेदनहरु उपर गहन छलफल गर्नुका साथै समग्र संस्थाको गम्भीर भएर समीक्षा गरेका थिए। संस्थाको विगत, बर्तमान र भविश्यका बारेमा छलफल गर्दै सहभागीहरुले संस्थाको गरिमा र महत्त्व बढाउन आआफ्ना मतहरु व्यक्त गरेका थिए। सदस्यहरुले वर्मान कार्यसमितिले खेलेको सकारात्मक भूमिकाहरुको प्रशंसा गर्नुका साथै कम्जोरीहरु औल्याउदै सुधारका लागि सुझावहरुसमेत दिएका थिए।

संस्थाका अध्यक्ष भट्टराईले आफ्नो नेतृत्वमा रहेको वर्तमान कार्यसमितिको कार्यकालको दौरानमा विविध क्रियाकलापहरु गर्ने क्रममा प्रत्यक्ष परोक्ष रुपमा हातेमालो गर्ने र साथ सहयोग गर्ने सबै पक्षलाई धन्यवाद दिएका थिए।

संस्थाको विधान अनुसार दुइ वर्षीय कार्यकाल(२०२४-२६)का लागि दुइ वर्ष अघि डिसेम्बर २२, २०२४ आइतबार सन्दीप भट्टराईको नेतृत्वमा वर्तमान कार्यसमिति सर्वसम्मत चयन भएको थियो। जसको दुइ वर्षीय कार्यकाल छिट्टै सकिदै छ। आगामी कार्यकाल (२०२७-२८) का लागि २०२६ को डिसेम्बर महिना भित्र नै नयाँ कार्यसमिति चयन गर्ने गरी आवश्यक तयारी गरिएको संस्थाले जनाएको छ। उक्त कार्य सम्पन्न गर्न बिरोचन नेपालको नेतृत्वमा राम थापा र एलिना श्रेष्ठ सदस्य रहेको निर्वाचन समितिसमेत गठन गरिएको छ।

सन् १९८९ मा स्थापित अमेरिकाको न्यू इङ्गल्याण्ड कार्यक्षेत्र रहेको यस संस्थामा हाल हाल पाँच सय ५६ जना साधारण सदस्यहरु र एक सय ३६ जना आजीवन सदस्यहरु गरी कूल छ सय ९२ जना सदस्यहरु रहेका छन्। आगामी निर्वाचन प्रक्रिया अगाडि बढाउनु अघि नै पुरानो सदस्यता नविकरण गर्ने र नयाँ सदस्यता प्रदान गर्ने अभियानलाई तिब्रता दिइने संस्थाले जनाएको छ।

सहभागी संख्या निराशाजनक, सहभागीहरुको सक्रियता उत्साहजनक

साधारण सभामा सहभागी हुने सदस्यहरुको संख्या निराशाजनक भएको बताउँदै सहभागी सदस्यहरुले निकै चिन्ता व्यक्त गरेका थिए। निराशाजनक सहभागी संख्याका कारण संस्था र संस्थाको साधारण सभाको गरिमा, औचित्य र महत्त्वमा ठूलै प्रश्न चिन्ह खडा हुनपुगेको सहभागीहरुको ठम्याइ थियो। झण्डै ३७ वर्ष अघि सन् १९८९ मा अमेरिकाको न्यू इङ्गल्याण्ड क्षेत्रमा जन्मिएको प्रवासी नेपालीहरुको सबैभन्दा पुरानो यस संस्थाको यस्तो अवस्था हुनु साच्चै टिठलाग्दो विषय हो। यस विषयमा निकै गम्भिर हुदै सहभागीहरुले छ सय ९२ जना सदस्य रहेको संस्थाको साधारण सभामा, झण्डै दुइ दर्जन सदस्यहरुको मात्र उपस्थित रहनु विडम्बनापूर्ण रहेको प्रतिक्रिया दिएका थिए।

यद्यपि, साधारण सभामा सहभागी भएका सदस्यहरुले भने निर्धारित समयको पर्वाह नगरी साधारण सभाका छलफलका हरेक विषयहरुमा गहन छलफल गरेका थिए। सहभागीहरुले यस्तो अवस्था हुनुको कारणहरु पहिचान गरिनु पर्ने, कमी कम्जोरीहरुलाई समयमै सुधार गर्नुपर्ने, साधारण सभालाई उत्सवका रुपमा मनाइनु पर्ने, विधानको पुनरावलोकन गरी समय अनुकूल व्यवहारिक बनाउनु पर्ने, आवश्यक पर्याप्त प्रभावकारी तयारी गरिनु पर्ने, प्रभावकारी सूचना तथा सञ्चार गरिनु पर्ने भन्दै सामुहिकता, एकता, पारदर्शिता, समन्वय, सहकार्य, समुदाय परिचालन, संस्थागत निर्णयलगायत विषयहरुमा केन्द्रित हुदै विशेष छलफल गरेका थिए। संस्थाको गरिमालाई थप उचाइमा पुर्याउने उद्देश्यका साथ उनीहरूले छलफलमा देखाएको सक्रिय सहभागिता निकै उत्साहजनक रहेको थियो।

साधारण सभा संख्यात्म रुपमा निराशाजनक भए पनि, गुणात्मक रुपमा उत्साहजनक, महत्त्वपूर्ण मार्गदर्शक र निकै फलदायी भएको सहभागीहरुले निश्कर्ष निकालेका थिए।