बोस्टन

भोटेकोशी बाढीको कारण अमेरिकाबासी नेपालीहरुको तीज शोकमग्न भएरै बित्यो

भोटेकोशी बाढीको कारण अमेरिकाबासी नेपालीहरुको तीज शोकमग्न भएरै बित्यो


अमेरिका, बोस्टन। नेपालीहरूले विशेष रुपमा मनाउने गरेको एक महत्वपूर्ण धार्मिक चाड हो “हरितालिका तीज”। यो चाड विशेष गरी हिन्दू धर्मावलम्बीहरुले धुमधामका साथ मनाउने गर्दछन्। हिन्दू धार्मिक ग्रन्थ अनुसार शिव र पार्वतीबीचको पवित्र प्रेम यस चाडको केन्द्रमा रहेको छ। समय क्रमसंगै यो चाडको महत्त्व र गरिमा बहुआयामिक बन्दैगइरहेको छ।

हरितालिका तीज भाद्र शुक्ल तृतीया अर्थात व्रतको दिनलाई भनिने भएतापनि, समग्रमा धार्मिक गतिविधि र महत्वका हिसाबले तीजले भाद्र शुक्ल द्वितीया अर्थात दर खाने दिन, भाद्र शुक्ल तृतीया(व्रत), भाद्र शुक्ल चतुर्थी (चौथी) र भाद्र शुक्ल पञ्चमी(पञ्चमी पूजा) गरी चारै दिनको प्रतिनिधित्व गर्दछ।

Advertisement

यस वर्षको तीज नेपाली पात्रो अनुसार गत भाद्र २८ गते आइतबार भाद्र शुक्ल द्वितीयाका दिन (सेप्टेम्बर १३ तारिख) दर खाने, भाद्र २९ गते सोमबार भाद्र शुक्ल तृतीयाका दिन (सेप्टेम्बर १४ तारिख) व्रत, भाद्र ३० गते मङ्गलबार भाद्र शुक्ल चौथी (सेप्टेम्बर १५ तारिख) र भाद्र ३१ गते पञ्चमी(सेप्टेम्बर १६ तारिख) ऋषि पञ्चमी रहेको छ।

विगतमा तीज लक्षित क्रियाकलाप तथा कार्यक्रमहरु महिनौं अघिदेखि नै सुरु हुने गर्दथ्यो। पञ्चमी पछिको सप्ताहसम्म धार्मिक, साङ्गीतिक, साँस्कृतिक, शैक्षिक, आर्थिक, सामाजिक लगायत क्षेत्रहरुमा निकै चहलपहल हुने गर्दथ्यो। तर, यस वर्ष भने त्यो चहलपहलको पारो निकै घट्न पुग्यो। यसको मुख्य कारक नेपालमा गत भाद्र १० गते रसुवाको भोटेकोशीमा गएको अकल्पनीय भीषण बाढी बन्न पुग्यो।

तीजको मुखैमा घटेको यस प्राकृतिक महाविपत्तिले सुरुहुदैगरेको तीजको रौनकलाई एकाएक शोकमा परिणत गरिदियो। यो शोकको प्रभाव केवल नेपालमा रहेका नेपालीहरूलाई मात्र नभई विश्वमा छरिएर रहेका नेपालीहरूलाई पनि पर्यो। त्यसबाट अमेरिकामा रहेका प्रवासी नेपालीहरु पनि अछुतो रहन सकेनन्। अप्रत्याशित र अस्वाभाविक उक्त महाविपत्तिले पुर्याएको जनधनको क्षतिका कारण शोकमा डुब्न बाध्य भए। र, भव्यताका साथ तीज मनाउन बनाउदै गरिएको माहोल एकाएक शोक मनाउन र राहत जुटाउनतिर केन्द्रित भयो।

हरेक वर्ष झैं यस वर्ष पनि हरितालिका तीज सक्दो हर्षोल्लासका साथ मनाउने तयारीमा थिए अमेरिकाबासी प्रवासी नेपालीहरु। नेपाली समुदायका संघ संस्थाहरुले विगतमा झैं साङ्गीतिक कार्यक्रमसहित “सामुहिक दर खाने” कार्यक्रम तय गरी तयारीमा जुटिरहेका थिए।

मानिसहरु टोल, समाज, छरछिमेक, साथीसङ्गी, इष्टमित्र, नसनाता, परिवारको जमघटमा तीज उल्लासका साथ मनाउन आतुर थिए। तर, नेपालमा प्राकृतिक महाविपत्तिले पुर्याएको अकल्पनीय जनधनको क्षतिले एकाएक शोकमा डुबाएपछि तय गरिएका अधिकांश कार्यक्रमहरु रद्द गरिए। पारिवारिक तथा सामाजिक जमघटहरु, धार्मिक स्थलहरुमा हुने चहलपहल र क्रियाकलापहरु निकै प्रभावित भए।

यस वर्षको भाद्र शुक्ल द्वितीया अर्थात दर खाने दिन आइतबार मन्दिरहरुमा भक्तजनहरुको उपस्थिति विगतको तुलनामा न्यूननै देखियो । अमेरिकाको बोस्टन स्थित पशुपतिनाथ बुद्ध मन्दिरमा भाद्र शुक्ल तृतीय अर्थात व्रतको दिन आज सोमबार “तीज विशेष सामुहिक पूजा”को आयोजना गरिएको थियो। कार्यसमितिका अध्यक्ष ध्रुव घिमिरेले जनाए अनुसार तीन चरणमा गरिएको सामुहिक पूजामा ९० जना व्रतालुहरुको सहभागिता रहेको थियो। भोटेकोशी बाढीको शोकको प्रभाव मन्दिरको धार्मिक गतिविधिहरुमा पनि पर्न गएको अध्यक्ष घिमिरेले बताए। धार्मिक गतिविधिहरुमा सक्रिय देखिएका अधिकांश व्रतालु भक्तजनहरु, तीज गीत गाउदै नाच्दै रमाइलो गर्नमा भने सक्रिय देखिएनन्।

नरउड स्थित सृजनशील महिला समूह, न्यू इङ्गल्याण्ड(सिडब्लुजिएन) की अध्यक्ष सानु बर्माले नेपाल शोकमा डुबेका बेला समानुभूति प्रकट गर्दै संस्थाले तय गरिसकेको तीज विशेष कार्यक्रम रद्द गरिएको बताइन्। उक्त घटनामा परी अहिसम्म हराइरहेका आफन्त र साथीको स्मरण गर्दै उनले भनिन्, “जता जोसंग कुरा गरेपनि दु:खको कुरा मात्र हुन्छ। रमाइलो गर्ने मनै भएन। माहोल नै बनेन। यसपालिको तीज शोकमग्न भएरै बित्यो।”

उक्त घटनाबाट हालसम्म १,३८६ जनाको मृत्यु भइसकेको छ भने, करिब ५,१३० जना अझै बेपत्ता छन्। ४ खर्ब ८ अर्ब रुपैयाँको हानि तथा नोक्सानी भएको आकलन गरिएको छ भने, पुनर्निर्माणका लागि ७ खर्ब २३ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक प्रक्षेपण गरिएको छ।

अमेरिकाको न्यू ह्येमसायर राज्यमा बस्ने उषा खड्का सुवेदीले यसपालिको तीज दोहोरो शोकमा बितेको बताइन्। उनका अनुसार भदौ १०को प्राकृतिक विपत्ति र दुइदिन पछि भएको आमाको मृत्युले उनीलाई तीज भरी दोहोरो शोक परेको थियो। उनले भनिन्, “तीज शोकाकुल अवस्थामा आएर गयो।”

विगत ७ वर्षदेखि अमेरिकाको सुदूरपश्चिममा पर्ने वासिङ्टन राज्यमा आमा, बुबा, पति र दुइ छोराहरुसंगै बस्दैआइरहेकी बिजया ज्ञवालीले यस वर्षको तीज विगतको जस्तो उत्सवको रुपमा मनाउन नसकिएको बताइन्। वर्षको एक पटक आउने तीज हिन्दू नेपाली नारीहरुका लागि विशेष चाड भएको उल्लेख गर्दै उनले भनिन्, “मनाउन त हल्काफुल्का मनाइयो। तर, अप्ठ्यारो अवस्थामा जमघट, उत्साह र उमङ्ग बिनानै मनाइएको तीज साह्रै फिक्का रह्यो।”

(टेक्सास राज्यको युलेस स्थित पशुपतिनाथ तथा बुद्ध विहार(मन्दिर)मा सामुहिक तीज पूजा गर्दै व्रतालुहरु)

सबैभन्दा बढी प्रवासी नेपालीहरुको बसोबास रहेको अमेरिकाको टेक्सास राज्यमा पनि यस वर्षको तीज फिक्का देखियो। तय गरिसकिएका कयौं सामूहिक कार्यक्रमहरु नेपालले भोग्नु परेको प्राकृतिक महाविपत्तिका कारण रद्द गरिए। अस्टिन, ह्विस्टन र युलेसमा रहेका मन्दिरहरुमा श्रद्धालु तथा ब्रतालु भक्तजनहरुको उपस्थिति, चहलपहल र उमङ्ग तुलनात्मक रुपमा विगतको भन्दा कमै रह्यो। जसले यसपालिको तीज शोकमग्न भएर बितेको पुष्टि गर्न बल पुर्याएको छ। युलेस स्थित श्री पशुपतिनाथ नाथ बौद्ध विहार(मन्दिर)की कार्यसमितिकी अध्यक्ष सीता सापकोटाले जानकारी दिए अनुसार, भाद्र शुक्ल द्वितीया (आइतबार) र भाद्र शुक्ल तृतीया (सोमबार) दुइ दिन ६ हजार बढी श्रद्धालु भक्तजनहरुले मन्दिर दर्शन गरेका थिए भने, ६ सय बढी व्रतालु भक्तजनहरुले “तीज विशेष पूजा” मा सहभागिता जनाएका थिए।

उक्त घटनाले नेपाली समुदायलाई निकै मर्माहत बनाएको बताउदै युलेसबासी जमुना पौडेलले यस वर्षको तीज खल्लो भएको बताइन्। घर परिवारमै सिमित रहेको तीजमा आस्थाका कारण नारीहरुले व्रत बसेर भगवानको पूजापाठ तथा प्रार्थना भने गरेको उनले बताइन्। आफ्नो निवास नजिकै रहेको मन्दिरमा पनि विगतको तुलनामा चहलपहल र रौनक कम भएको पौडेलले बताइन्।

तन नेपालबाट निकै टाढा रहेपनि अमेरिकाबासी प्रवासी नेपालीहरुको मन भने नेपाल र नेपालीहरुसंग निकै सामीप्य छ। जसका कारण उनीहरू विशेष चाड तीजमा रम्म नसकेर शोकमग्न हुदै हरसम्भव हरतरहले शोकमा डुबेको नेपाल र नेपालीप्रति समानुभूति र साथ सहयोग गर्ने प्रयासमा जुटे। र, अझैं जुटिरहेका छन्। यस राष्ट्रिय महाविपत्तका बेला अमेरिकामा रहेका प्रवासी नेपालीहरु मात्र नभएर संसारभर छरिएर रहेका प्रवासी नेपालीहरुको अवस्था उस्तै नै रहेको छ।