मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

जापानवासी शेरचन एनआरएनए, आइसिसिको उपाध्यक्ष पदको बागडोर सम्हाल्न चुनावी मैदानमा उत्रिए

जापानवासी शेरचन एनआरएनए, आइसिसिको उपाध्यक्ष पदको बागडोर सम्हाल्न चुनावी मैदानमा उत्रिए


लामो समयदेखि जापानमा बस्दै आइरहेका रोबिन शेरचन गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय समिति (एनआरएनए, आइसिसि-NRNA, ICC) को आगामी दुई वर्षीय कार्यकाल (२०२३-२५) का लागि उपाध्यक्ष पदको बागडोर सम्हाल्न चुनावी मैदानमा उत्रिएका छन्। शेरचनले संस्थाको गरिमा बढाउन, सदस्यहरूको हक हितका लागि निस्वार्थ सेवा गर्न र नेपाल र नेपालीहरूसंग नेपाल बाहिर रहेका आप्रवासी नेपालीहरूलाई आत्मीय रुपमा जोड्ने अभियानलाई थप उचाइमा पुर्याउन सक्दो भूमिका खेल्ने मुख्य उद्देश्य लिएर आफू पनि चुनावी मैदानमा उत्रिएको जनाएका छन्।

‘अपनत्व, विकास र सुदृढ पद्धतिका लागि, रूपान्तरित एनआरएनए’ भन्ने मूल चुनावी नारा लिएर चुनावी मैदानमा होमिएका उनले, प्राथमिक रुपमा पाँच वटा विषयलाई आफ्नो भावी योजना तथा चुनावी मुद्दाका रुपमा अघि सारेका छन्। उनले अघिसारेका ति प्राथमिक चुनावी मुद्दाहरूमा : संस्थागत गरिमा उच्च राख्दै संस्थागत वर्तमान पद्धतिमा रूपान्तरण गरी प्रभावकारी कार्ययोजना बनाउने, नेपाल भित्रिने रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न वातावरण तयार गर्ने, लगानीको सुरक्षा गर्दै सबै खाले आय भएका एनआरएनएहरुलाई समेटेर लगानीमा अभिवृद्धि गर्ने, सामूहिक अक्षय कोषको स्थापना गरी समस्यामा परेका एनआरएनएहरुलाई राहत प्रदान गर्ने र विविध कारणले एनआरएनएमा आवद्ध नभएका सक्षम जनशक्तिहरुलाई संस्थामा आबद्ध गराएर नेपालको अर्थतन्त्र र विकासलाई सहयोग पुर्याउने रहेका छन्।

उपाध्यक्ष पदका लागि आफ्नो उमेदवारीको औचित्य पुष्टि गर्दै शेरचनले भने, ‘लामो समयदेखि म सामाजिक क्षेत्रमा क्रियाशील छु। यस संस्थामा पनि आवद्ध भएर काम गरिरहेको छु। थप पदीय जिम्मेवारी पाएमा, अझ धेरै काम गर्न सक्छु भन्ने आत्म विश्वास र गर्ने अठोट लिएर उपाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेको हुँ।’ संस्थाका सदस्य, अग्रज, सहकर्मी, सहयोगी तथा शुभचिन्तकहरुकै उत्प्रेरणा र सल्लाहले आफू चुनावी मैदानमा होमिएको प्रस्ट्याउँदै उनले भने, ‘म संस्थाका सदस्य, अग्रज, सहकर्मी, सहयोगी तथा शुभचिन्तकहरुकै उत्प्रेरणा र सल्लाहमा चुनावी मैदानमा अघि बढेको हुँ। सबैको साथ, सहयोग र अमूल्य मत पाएर निस्वार्थ सेवा गर्ने अवसर पाउछु भन्नेमा म ढुक्क छु।’ संस्थाको गरिमालाई उच्च राख्न र सदस्यहरूलाई अपनत्व ग्रहण गराइ उनीहरूको हितार्थ काम गर्नका लागि सक्रियताका साथ इमानदारी, बफादारी, पारदर्शी रुपमा निस्वार्थ भावले धेरै काम गर्नु पर्ने भएकाले, त्यसका लागि आफू शारीरिक तथा मानसिक रुपमा तयार भएरै अघि बढेको शेरचनले प्रष्ट पारे।

रोबिन शेरचन : पाँच वटा विषयलाई आफ्नो भावी योजना तथा चुनावी मुद्दाका रुपमा अघि सारेका छन् ।

जापानमा रहेर नेपाली समुदायका बिच एक सफल व्यवसायी र सामाजिक व्यक्तित्वको छवि बनाउन सफल शेरचन, उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेसँगै विश्वभरका एनआरएनएका बिच निकै चर्चामा रहेका छन्। कम बोल्ने, धेरै काम गर्ने स्वभावका व्यक्तित्व भनी आफ्नो परिचय स्थापित गराउन सफल शेरचनले जिम्मेवारी पाएमा सोही बमोजिम काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्। उनले भने, ‘संस्थाको उद्देश्य प्राप्ति गर्नका लागि अहिले संस्थालाई कम कुरा गर्ने, बढी काम गर्ने व्यक्तित्वको खाँचो छ। म त्यही स्वभावको व्यक्ति हुँ। जिम्मेवारी पाएमा, पुष्टि गरेर देखाउने छु।’

चुनावी मैदानबाट पछि हट्ने सम्भावना कत्तिको छ भन्ने जिज्ञासामा उनले आफू चुनावी अभियानमा परिपक्क योजना र दृढ संकल्प लिएर धेरै अघि बढि सकेकाले पछि हट्ने कुनै सम्भावना नरहेको प्रस्ट पार्दै विश्वभरका मतदाताहरुलाई आफ्नो अमूल्य मत दिएर काम गर्ने अवसर दिन अनुरोध गरेका छन्। हाल एनआरएनए, आइसिसिको वर्तमान कार्यसमितिको सदस्यसमेत रहेका शेरचन, आसन्न निर्वाचनमा संस्थाको नेतृत्व सम्हाल्न अध्यक्ष पदको दाबि गर्दै चुनावी मैदानमा उत्रिएकाहरू मध्य अत्यधिक चर्चामा रहेका द्वय महेश्वर श्रेष्ठ र बद्रि केसी दुबै समूहको प्राथमिक रोजाइमा परेका व्यक्ति हुन्। श्रोतले जनाए अनुसार उनलाई दुबै समूहले आफ्नो समूहको तर्फबाट उपाध्यक्ष पदका लागि उम्मेदवारी दिन लगाउन जोडबल गरिरहेका छन्।

निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार, यही आउँदो असोज ३० देखि कार्तिक ३ गतेसम्म अर्थात अक्टोबर १७ देखि २० तारिखसम्म नेपालको राजधानी काठमाडौंमा आयोजना गरिने ११औं महाधिवेशन अन्तर्गत हुने निर्वाचन, कार्तिक २ गते अर्थात सेप्टेम्बर १९ तारिख बिहीवारका दिन हुने भएको छ। त्यसका लागि मनोनयन पत्र दर्ता गर्ने कार्यतालिका भने असोज २५ देखि २७ गतेसम्म अर्थात October १२ देखि १४ तारिखसम्म रहेको छ। संस्थाको विधान अनुसार उक्त निर्वाचन मार्फत खुला तर्फ ६ जना उपाध्यक्ष, १ जना महिला उपाध्यक्ष र एक जना युवा उपाध्यक्ष गरी जम्मा ८ जना उपाध्यक्षको चयन हुनेछ।

खुलातर्फ ६ जना उपाध्यक्ष पदका लागि हालसम्म रोबिन शेरचनसहित डाक्टर केशव पौडेल, सुनिल शाह, नारायण आचार्य, राज रेग्मी, खगेन्द्र न्यौपाने, गणेश केशी, राजन त्रिपाठी, गंगाधर गौतम, बिजय मोक्तान, हिमाल गुरुङ, शशि पौडेललगायतको नाम चर्चामा रहेको छ। त्यसैगरी, महिला उपाध्यक्षमा बिमला सापकोटा र युवा उपाध्यक्षमा रोशन थापा र रविन अधिकारीको नाम चर्चामा रहेको छ। मनोनयन दर्ता गर्ने दिन आउन अझै केही दिन बाँकी भएकाले, यि चर्चामा रहेका नामहरुमा फेरबदल हुन सक्ने सम्भावना भने जीवितै छ।