मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
एनआरएन विशेष   
टेक्सस   
मुख्य समाचार   

एनआरएनएको निर्वाचनमा सहमति र सहकार्य गरेरै अघि बढौँ : महासचिव डा. पौडेल

एनआरएनएको निर्वाचनमा सहमति र सहकार्य गरेरै अघि बढौँ : महासचिव डा. पौडेल


अमेरिका । गैरआवासीय नेपाली संघको आसन्न ११औँ महाधिवेशन नजिकिँदै गर्दा आगामी कार्यकालका लागि हुने निर्वाचनको पारो पनि दिन प्रतिदिन तात्दै गएको छ।

उमेदवारी घोषणा गर्ने, प्रचारप्रसार गर्ने, समर्थन जुटाउने, सहमति र सहकार्यका लागि छलफल गर्ने, मतदाताहरुलाई प्रत्यक्ष वा दूरसञ्चारमार्फत भेटी मत तथा समर्थका लागि अनुरोध गर्ने लगायत क्रियाकलापहरु बढ्दै गइरहेको छ।  यसैबीच, अक्टोबर १ आइतवारका दिन एनआरएन टेक्सस च्याप्टरको आयोजना कार्यक्रममा मतदाताहरुसँगको  भेटघाट कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा डा. केशव पौडेलले एनआरएनए, आइसिसीको आसन्न निर्वाचनमा सहमति र सहकार्य गरेर अघि बढ्न सबैलाई आग्रह गरे। सहअस्तित्वका लागि सहमति र सहकार्य गरेर अघि बढ्नुको विकल्प नभएको जिकिर गर्दै उनले यस्तो आग्रह गरेका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पौडेलले सहमति, सहकार्य र सहअस्तित्वका लागि आफूले अध्यक्ष पदको आकांक्षा त्यागेर अत्यक्ष पदका अर्का आकाङ्क्षी महेश्वर श्रेष्ठलाई समर्थन गरेर आफू उपाध्यक्ष पदका लागि तयारी गरिरहेको बताए।

कार्यक्रममा बोल्दै उनले एनआरएनएको पहलमा नेपाल बाहिर रहेका नेपालीहरुले गैरआवासीय नागरिता र सामाजिक सुरक्षा प्राप्त गर्न सक्ने अवस्था आएकोमा खुशी व्यक्त गरे।

नेपाल बाहिर रहेका नेपालीहरुले भावनात्मक रुपमा नेपाली भएर बाँचिराख्नु परेको दुखेसो पोख्दै महासचिव पौडेलले नेपाली नै भएर बाच्न पाउने आफूहरुको अधिकार रहेको जिकिर गरेका थिए। उनले एनआरएनएको अभियानअन्तर्गत अझै धेरै काम गर्न बाँकी नै रहेकाले त्यसका लागि सबै मिलेरै अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका थिए।

विगतमा केही कमिकमजोरीहरु भएको स्वीकारेका महासचिव पौडेलले अब ती कमि कमजोरीहरुलाई सच्याउदै अघि बढ्नुपर्नेमा जोड दिए। निर्वाचनको प्रक्रिया सुरू भैसकेको भए तापनि सहमतिको सम्भावना अझै रहेको उनले दाबी गरे। विगतमा पनि सबैको साथ सहयोग प्राप्त भएको र भावी दिनहरुमा पनि त्यस्तै साथ सहयोग प्राप्त हुने उनले विश्वास व्यक्त गरेका थिए।

निर्वाचन समितिको कार्यतालिकाअनुसार यही आउँदो असोज ३० देखि कार्तिक ३ गतेसम्म अर्थात अक्टोबर १७ देखि २० तारिखसम्म नेपालको राजधानी काठमाडौको सोल्टी होटलमा संस्थाको ११औँ महाधिवेशन हुदैछ। उक्त अधिवेशनअन्तर्गत कार्तिक २ गते अर्थात सेप्टेम्बर १९ तारिख बिहीबारका दिन निर्वाचन हुने भएको छ।

आगामी कार्यकाल २०२३/२५ का लागि चुनिन चुनावी मैदानमा उत्रिएकाहरुले आफ्नो उमेदवारीको मनोनयन पत्र दर्ता भने असोज २५ देखि २७ गतेसम्म अर्थात अक्टोबर  १२ देखि १४ तारिखसम्म गर्नुपर्ने कार्यतालिका रहेको छ। यो निर्वाचनले एक जना अध्यक्ष, ६ जना उपाध्यक्ष, १ महिला र १ युवा उपाध्यक्ष, १ महासचिव, २ जना उपमहासचिव, एक जना महिला सहित ७ जना सचिव, एक कोषाध्यक्ष लगायत २० पदमा पदाधिकारीहरुको चयन गर्ने छ । उम्मेदवार वन्न अध्यक्षका लागि ५ लाख रुपैंया ताकिएको छ । उपाध्यक्षका लागि ३ लाख ५० हजार र महासचिवका ३ लाख रुपैया तोकिएको छ । एनआरएनए करिव १ लाख सदस्य भएको संस्था हो । संस्थाको नेतृत्व चयनका लागि विभिन्न देशवाट छनौट भएका प्रतिनिधि डेलिगेटले मत दिन पाउंछन् । मतदाता संख्या करिव ४२ सय छ ।

एनआरएन अभियानलाई बचाउन लागिपर्ने सहभागीहरुले दिएको सुझाव च्याप्टरका लागि निकै महत्वपूर्ण रहेको च्याप्टरका अध्यक्ष दिपेन्द्र गुरागाईले जानकारी गराएका छन्।  च्याप्टरका अध्यक्ष  गुरागाईको अध्यक्षतामा आयोजित कार्यक्रममा सहभागीहरुबाट प्राप्त सुझावहरुलाई मार्ग दर्शनको रुपमा लिएर अगाडी बढेर जाने एनआरएनएका कोषाध्यक्ष सुनिल शाह, आईसीसी सदस्य अमृत सापकोटा, पूर्ब आईसीसी सदस्य तथा एनआरएन अमेरिकाका कोषाध्यक्ष बेदराज  बस्नेत लगायतले संस्थाका विषयमा चासो व्यक्त गर्नुका साथै जिज्ञासा राखेका थिए ।