मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

नेपालीहरुको महान् चाड विजयादशमी

नेपालीहरुको महान् चाड विजयादशमी


नेपाल, भारत, भुटान, बङ्गलादेश, पाकिस्तान आदिजस्ता हिन्दु राज्यहरुमा वर्षभरिमा मनाइने विभिन्न चाडहरुमध्ये विजयादशमी पनि एक हो । यस चाडलाई अर्को शब्दमा बडादसैँ पनि भनिन्छ । नेपालीहरुको लागि त यो सबैभन्दा ठूलो चाड हो । हिन्दु पञ्चाङ्गअनुसार हरेक वर्ष आश्विन शुक्लपक्ष प्रतिपदाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म १५ दिन दसैँ भव्यरूपले मनाइन्छ । आश्विन शुक्ल प्रतिपदाको दिनदेखि नवौँ दिनसम्मको समयलाई नवरात्री अर्थात नवदुर्गा भनिन्छ । यी नौ दिनसम्म हरेक नेपालीका घर–घर दुर्गा सप्तशती (चण्डी) को पाठ गरेर देवीलाई खुसी पार्ने परम्परा छ ।

आश्विन शुक्ल प्रतिपदाको दिनलाई घटस्थापना भनिन्छ । यस दिन करुवामा शुद्ध पानी भरेर त्यसमा फूलपाती राखी दुर्गा भगवतीका नाममा कलशको स्थापना गरिन्छ । अघिल्लो दिन पानीमा भिजाएर राखिएको मकै र जौ घरभित्रको कुनै एक शुद्ध स्थानमा माटोको ड्याङ बनाई त्यसमा उक्त मकै र जौ जमरा तयार गर्नका लागि जमाइन्छ । त्यस कलश अगाडि आश्विन शुक्ल प्रतिपदाका दिनदेखि दशमीका बिहानसम्म हरेक दिन बिहान–बेलुका भगवतीका नाममा बत्ती बालिन्छ । मकै, जौ जमाएको माटोमा नियमितरूपले पानी राख्ने गरिन्छ । दशमीका दिनसम्ममा यसरी माटोमा जमाइएका मकै र जौ उम्रेर ५,७ इञ्च अग्ला र पहेँला बिरुवा बन्दछन् जसलाई जमरा भनिन्छ ।

आश्विन शुक्ल सप्तमीको दिनलाई फूलपाती भनिन्छ । यस दिन विशेषगरी गोर्खा दरबारबाट ल्याइएको फूलपाती बाजा–गाजासहित हर्षोल्लासका साथ राष्ट्रसेवक कर्मचारी, सेना, प्रहरीद्वारा काठमाडौँको हनुमान ढोकामा भित्र्याइन्छ । यस दिन नेपाली सेनाद्वारा काठमाडौँको टुँडीखेलमा बडो धूमधामका साथ तोप पड्काएर सैन्य कौशल्यता प्रदर्शन गर्ने परम्परा पनि छ । अष्टमीको दिनलाई महाअष्टमी भनिन्छ । यस दिन दुर्गा भगवतीको महाकाली रूपका शक्तिपीठहरुमा उनलाई प्रसन्न पार्नका निम्ति बोका, राँगा, कुखुरा आदिको भोग दिइने चलन छ । पशुबलिको रगत महाकालीलाई अर्पण गरेर अरु मासु प्रसादको रूपमा त्यहीँ पकाएर महाकालीको प्रसादका स्वरूप सबैलाई वितरण गर्ने गरिन्छ ।

नवौँ दिनलाई महानवमी अथवा मुख्यतया दुर्गा पूजाको दिन भनेर पनि भनिन्छ । यस दिन फलाम तथा अन्य विभिन्न धातुद्वारा निर्मित काटकुट गर्ने हातहतियारहरु र कृषि औजारका सरसामानहरु राम्रोसँग धोइ–पखाली गरेर केराको पातमा सजाएर राखिन्छ । यिनीहरु सबैलाई चन्दन, अक्षता, फूल आदिले पूजागरी दुर्गा भगवतीका नामना आफैँले उब्जाएका फुर्सेकुभिण्डो र घिरौँलाको बलि चढाइन्छ । यसै दिन मोटर–साइकल, मोटर, बस, कार आदिजस्ता यान्त्रिक बाहकहरुको पनि यी सबैका निर्माता विश्वकर्मासँग कुनै प्रकारको दुर्घटनाको सामना गर्न नपरोस् भन्ने कामना गर्दै विधिपूर्वक बडो निष्ठा र भक्तिभावका साथ पूजा गर्ने र धूप–काँटी बाल्ने गरिन्छ ।

आश्विन शुक्ल दशमीका दिन बिहान सबेरै उठेर स्नानादि कर्मबाट निवृत्त भएर घटस्थापनाका दिनमा स्थापना गरेको कलशको पानीले घरभित्र र बाहिर अभिषेक गरेर दुर्गा बिसर्जन गरिन्छ । त्यसपछि दही, चामल र रातो रङ्ग (अबिर) सँगसँगै मथेर तामाको थालीमा टीका तयार पारिन्छ । जमरा चिमोटेर त्यसै थालीको किनारमा राखिन्छ । अब घरको ज्येष्ठ व्यक्तिले आफ्ना सन्ततिहरुको निधारमा उक्त तयारी टीका र जमरा लगाइदिएर शुभा–शुभ र आशीर्वचन दिने काम हुन्छ । चेलीबेटी, ज्वाईँ, भाञ्जा–भाञ्जीहरुलाई त दक्षिणा र उपहारहरु दिने चलन पनि छ । दसैँमा पुरुषलाई दिइने आशीर्वचन यस प्रकारको छ–

आयु द्रोणसुते श्रीयो दशरथे शत्रुक्षयं राघवे ।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्योधने ।
दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते ।
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ।।

भावार्थ : हरि ॐ द्रोणपुत्र अस्वत्थामाका जस्तै आयु होस्, राजा दशरथका जस्तै कृति होस्, रामको जस्तो शत्रुत्व हरणको क्षमता होस्, राजा नहुषका जस्तै ऐश्वर्य होस्, वायुका जस्तो गति होस्, सूर्यपुत्र कर्ण जस्तै दानी होस्, हलो काँधमा राख्ने बलरामका जस्तै बल होस्, कुन्तीका पुत्रहरु जस्तै सत्यवान् होस्, विदुरका जस्तै ज्ञान होस्, नारायणका जस्तै कीर्ति होस् ।

दसैँमा महिलालाई दिइने आशीर्वचन यस प्रकारको छ–

जयन्ती मङ्गला काली भद्रकाली कपालिनी,
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोस्तुते ।
सर्वमङ्गल माङ्गल्यै शिवे सर्वासिवाधिके,
शरण्यं चैम्बक्येदेवी नारायणी नमोस्तुते ।।

भावार्थ : ॐ ! जयन्ती, मङ्गला, काली, भद्रकाली, कपालिनी, दुर्गा, क्षमा, शिवा, धात्री, स्वाहा, स्वधा, यी सवै स्वरुपिणी दुर्गा भगवतीलाई नमस्कार छ । सम्पूर्ण मङ्गलै–मङ्गल कुराहरुले निहित, सबै विषयहरुकी साधकी, शरण पर्न लायक, तीन आखा भएकी नारायणीरुपी देवी तिमीलाई कोटी प्रणाम छ । महिलाहरु साक्षात् देवीका प्रारुप हुन्, यिनको निधारमा दसैँमा टीका लगाइदिँदा टीका लगाइएको नभै यिनको पूजा गरिएको हो भन्ने बुझ्नुपर्छ भनेर हिन्दु धर्मशास्त्रहरुमा वर्णन गरिएको छ ।

अर्को आशीर्वचन यस्तो छ–

आयुवृद्धि, यशोवृद्धि, वृद्धिप्राज्ञ, सुखाश्रय ।
धर्मकल्याणते वृद्धि सन्तति सप्त वृद्धयः ।।

भावार्थ : आयु, इज्जत–प्रतिष्ठा, ज्ञान, बुद्धि–विवेक, सुख भोग, ऐश्वर्य, धर्म–संस्कृति, सन्तान यी सातओटै कुराहरु वृद्धि–विकास भएर जाऊन् ।
एक अर्को आशीर्वचनमा भनिएको छ–

निवसतु तव गेहे निश्चला सिन्धुपुत्री
प्रविशतु भुजदण्डे कालिका वैरीहन्त्री ।
तव वदनसरोजे भारती भातु नित्यं
निवसतु तव चित्तं पाद पद्मं मुरारेः ।।

भावार्थ : तिम्रो घरमा सागरपुत्री लक्ष्मीको निश्चलरूपले बास होस्, सारा शत्रुनाशक कालिका हाम्रो शरीरमा बलको रूपमा बास गरिदिऊन्, तिम्रो कण्ठमा सरस्वती देवीको नित्य बास होस्, तिम्रो चित्त सदा–सर्वदा नारायण भगवान्को करकमलमा लागिरहोस् ।

एक अर्को आशीर्वचनको कथन यस्तो छ–

लक्ष्मीस्ते पङ्कजाक्षी निवसतु भवने भारती कण्ठदेशे ।
वर्धन्तां बन्धुवर्गाः सकलरिपुगणा यान्तु पातालमूलम् ।।
देशे देशे च कीर्ति प्रसरतु भवतां दिव्यकुन्देन्दुशुभ्रा ।
जीव त्वं पुत्रपौत्रैःसकल सुखयुतै र्हायनानां शतैश्च ।।

भावार्थ : तिम्रा वाणीमा आएर लक्ष्मी–भगवतीको बास होस्, तिम्रा शत्रुहरु जति सबै भासिएर पातालमा जाऊन्, देश–विदेशमा जतासुकै तिम्रो राम्रै–राम्रो काम होस्, तिम्रो मुहार चन्द्रमाका जस्तै उज्यालो होस्, तिम्रो आयु छोरा–छोरीसहित बाँचेर सय वर्षसम्मको रहोस्, तिम्रो कीर्ति गुणै–गुणले यस धरतीमा जताततै छाइयोस् ।

जीवनयापनका लागि स्वदेशका विभिन्न ठाउँहरु र विदेशका कैयौँ मुलुकहरुमा सेवारत नेपालीहरु विशेषगरी दसैँमा आ–आफ्ना घर–परिवारसँग भेटघाटगरी शुभकामना आदान–प्रदान गर्न र खुसी साटासाट गर्नका निम्ति बस्ती–बस्तीमा आइपुगेर भेला हुने गर्दछन् । यो चाडमा हुने–खानेले मात्र नभएर दुःखी–गरिबले पनि अरुसँग हार–गुहार गरेर मीठो–मसिनो खाने र राम्रो लुगा लगाउने गर्दछन् । तिब्वतबाट ल्याइएका भेडा, च्याङ्ग्रा नेपालका गाउँ–बस्ती, कुना–काप्चा, सहर–बजार जताततै बध गरेर मांसभक्षण गरिन्छ ।

नेपालका विद्यालय, उच्च–विद्यालय, क्याम्पस जति सबै आश्विन शुक्ल प्रतिपदाका दिनदेखि कोजाग्रत पूर्णिमासम्म सार्वजनिक बिदाअन्तर्गत बन्द रहन्छन् । आश्विन शुक्ल सप्तमीका दिनदेखि कोजाग्रत पूर्णिमासम्म निजामती कर्मचारीहरुलाई पनि सार्वजनिक बिदा हुन्छ । यो पर्वमा बहालवाला शिक्षक, कर्मचारी, सेना, प्रहरी सबैलाई एक महिनाको खाइपाई आएको तलब–ग्रेड बराबरको रकम र सेवानिवृत्तहरुका लागि एक महिनाबराबरको पेन्सन रकम दसैँ खर्चबापत नेपाल सरकारले दिने गरेको छ । विसं २०७९ सालका लागि बडादसैँ आश्विन १९ गतेका दिन परेको कुरा हिन्दु पञ्चाङ्गले जनाएको छ ।

वर्षभरि अरु समयमा हुने दुःख, पीडा, अनेकानेक आपत्–विपतलाई बिर्साइदिने नेपालीहरुको निम्ति सबैभन्दा ठूलो पर्व यही दसैँ हो । यस समयमा घरहरु लिपपोत गरेर सफासुग्घर पारिन्छ । मठ–मन्दिरहरु, देवालयहरु, पाटी–पौवा, बाटाघाटा जताततैको वातावरण सफा बनाइन्छ । नवागन्तुक सङ्गी–साथीहरु, नाता–गोता, भाइ–बन्धु, आफ्ना–आफन्तहरु एक–आपसमा भेला भएर बाँसको लिङ्गा गाडेर बनाइएको लठेपिङ्ग खेल्ने, तौलेपिङ्ग (चहमच्चे पिङ्ग) खेल्ने, समूह मिलेर नाच–गान गर्ने, भोज–भतेर गरी खाने–खुवाएर रमाउने आदि गरी दसैँको समय खुब हर्ष र उल्लासका साथ बिताउने गरिन्छ । हृदयको सबै दुःख, दर्द भुलेर आपस–आपसमा हाँसी–खुसीका साथ शुभ कामना र शुभ आशीर्वाद आदान–प्रदान गर्ने मुख्य समय दसैँलाई नै ठानिन्छ । यो पर्व विजय उत्सवको रूपमा यसरी किन र कहिलेदेखि मनाउने चलन चल्दै आएको होला त भन्ने बारेको पौराणिक तथ्य यस्तो छ–

कुनै समयमा एकादेशमा रम्भा नाम गरेको एक असुर राजा थियो । ब्रह्माको बरदानका कारण ऊ ज्यादै शक्तिशाली थियो । शक्तिले उन्मत्त भएर यस दैत्यले जताततै विध्वंसात्मक कार्यहरु गर्न लाग्यो । उसले आफ्नो इच्छानुसार विभिन्न प्रकारको रुप बदल्न पनि सक्थ्यो ।

एक समयमा असुरराज रम्भाको यौटी अति सुन्दरी महिलासँग भेट भयो । ती दुवैबीच प्रेमभाव बस्यो, फलस्वरुप पति–पत्नी बने । ती महिलालाई भैँसी हुने श्राप परेको हुनाले उनी भैँसी भइन् जसको नाम महिषी रहन गयो । त्यसपछि रम्भासुरले आफ्नो भेष बदलेर भाले भैँसी अर्थात् राँगो बन्यो । यस अवस्थामा पहिलेको तुलनामा रम्भासुरसँग अरु जनावरसँग लड्नसक्ने शक्ति क्षीण भइसकेको हुनाले उसलाई राँगोले युद्धमा जितेर मारिदियो । आफ्नो पति यसरी मरेको देखेर पीडा सहन गर्न नसकी महिषी पनि पतिको चितामा हामफालेर स्वेच्छाले मर्ने निश्चय गरिन् ।

त्यतिबेला महिषी गर्भवती थिइन् । जब उनले जलिरहेको आफ्ना पतिको चितामा हामफाल्न भनी के तयार भएकी मात्र थिइन्, त्यहाँ यौटा आश्चर्य के हुन गयो भने तत्क्षण नै दन्किरहेको आगोबाट मानव जातिको शरीर र भैँसीको टाउको भएको एक राक्षसी जन्तु पैदा भयो । यो नै थियो महिषासुर जुन रम्भासुरको स्थानमा उसैको जलिरहेको चिताबाट पैदा भएको थियो ।

चिताबाट उत्पत्ति भएको महिषासुर आफू बढी बलवान् बन्नका निम्ति वर्षौं–वर्ष खाना नखाई, झरी–बादल नभनी, जिउ–ज्यानको पर्वाह नगरी, भोक–भोकै यौटा खुट्टाले मात्र भुईंमा टेकेर ब्रह्माजीको स्तुति–गान गर्दै कठोर तपस्या ग¥यो । कमिलाले उसको शरीरमा माटोका पहाड बनाउन थाल्दै गर्दा पूरै शरीर धमिराले ढाकिन गयो । उसको तपस्याले तीनैलोकमा कम्पन ल्याउन थाल्यो । तपशक्तिको गुञ्जायमानले चारैतिर त्राहिमाम हुन लाग्यो । त्यसपछि ब्रह्मा उसको तपस्याबाट खुसी भएर त्यस राक्षससामु बरदान दिन भनी प्रकट भई वर माग्न भने । महिषासुरले अमरताको बरदान माग्यो । ब्रह्माले यस्तो बरदान दिन नसकिने र नमिल्ने भन्दै उसलाई कोही पुरूष देवता, दानव, मानव आदि कसैले पनि मार्न नसक्ने वरदान दिएर उनी त्यहाँबाट अन्तध्र्यान भए ।

महिषासुरले जब ब्रह्माबाट बरदान पायो तब आफू सर्वशक्तिवान भएँ भनेर हर्षले उफ्रन थाल्यो । चारैतिर हाहाकार मच्चाउन लाग्यो । ऋषिमुनिहरुका तप, हवन, आराधना आदि जस्ता धार्मिक कर्महरु र अनुष्ठानहरु सबै बन्द गरायो । उसको आदेशबिना कोही–कसैले कहीँकतै केही गर्न नपाइने भयो । धुम्रलोचन, चण्ड, मुण्ड, रक्तबीज, शुम्भ, निशुम्भ आदि जस्ता बलवान्, पराक्रमी एवम् शक्तिशाली योद्धाहरुसहितको एक शक्तिशाली सेना महिषासुरले तयार ग¥यो । यस धरतीका मानव, दानव आदि कुनै शक्तिले पनि महिषासुरलाई परास्त गर्न नसक्ने भए । महिषासुरको नेतृत्वमा असुर सेनाहरु र देवराज इन्द्रको नेतृत्वमा देवसेनाहरुबीच एकसय वर्षसम्म घसमान युद्ध भयो ।

देवताहरु असुरबाट पराजित भए । उनीहरु देवलोकबाट लखेटिए । महिषासुर इन्द्रासनमा बस्यो । देवताहरु पृथ्वीमा मानवसरह लुकी–लुकी विचरण गर्न लागे । समय बित्दै गयो । देवताहरुलाई असुरहरुको अत्याचार असह्य हुँदै जान थाल्यो । सबै देवताहरु मिली सहयोगार्थ त्रिदेव (ब्रह्मा, विष्णु, महेश) समक्ष त्राहीमाम भन्दै गुहार माग्न गए । महिषासुरलाई ब्रह्माको बरदानअनुसार कोही पुरूषले मार्न नसक्ने कारणले गर्दाखेरि त्रिदेवले असुरहरुको अत्याचारप्रति क्रोधित भएर आ–आफ्नो शरीरबाट एक तेजपुञ्ज पैदागरी उक्त तेजपुञ्जलाई एकैठाउँमा एकत्रितगरी एक शक्तिको उत्पत्ति गर्ने निर्णय गरे ।

त्रिदेवबाट निर्मित यो शक्तिमा अरु सबै देवताहरुले पनि आ–आफ्नो शरीरबाट त्यस्तै तेजपुञ्ज निकालेर ती सबै तेजपुञ्जलाई एकै ठाउँमा मिलाएपछि त्यहाँ साक्षात् देवीको उत्पत्ति हुन गयो । देवताहरु सबैले उक्त देवीका नाममा स्तुति–आराधना गर्न लागे । यसरी त्यहाँ शक्ति स्वरुपिणी देवी भगवतीको प्राकट्य भयो । देवीको तेजस्वी प्रकाशले चारैतिर झलमल भयो । तीनैलोक कम्पायमान भयो । ती देवीलाई देवताहरुले आवश्यक सबै प्रकारका शस्त्र, अस्त्र, वस्त्र, अलङ्कार आदिले सुुसज्जित पारी देवीको लागि वहान एक सिंह खडा गराए । असुर सेनाहरुसँग युद्ध गर्नका निम्ति आह्वान् गरे । देवताहरुको आह्वानअनुसार शक्तिस्वरुपिणी देवी सिंहमा चडेर महिषासुरलाई युद्धको चुनौती दिँदै हिमालय पर्वततिर लागिन् ।

हिमालय पर्वतमा एकअति सुन्दर महिला आएको थाहा पाएर महिषासुरले ती युवतीसँग विवाह गर्ने भन्ने प्रस्ताव लिएर एक असुर सेना देवीका सामुन्ने आयो । देवीले जसले मसँग युद्ध गरेर मलाई जित्छ, मैले त्यसैसँग विवाह गर्छु भन्ने सन्देश पठाइन् । महिषासुरले देवीसँग युद्ध गर्न आफ्ना शक्तिशाली योद्धाहरुलाई आलो–पालो गरी पठाउँदै ग¥यो । देवीले तिनको बध गर्दै गरिन् । कतिपय असुर योद्धाहरु अणिमादि गुणले युक्त थिए । त्यसैले तिनलाई मार्नका निम्ति देवीले आफ्नो भिन्दा–भिन्दै शक्तिरुप बदल्नु परेको थियो । यसरी असुर सेनाहरु सबैलाई बध गर्न देवीलाई नौरुप बदल्नु परेको थियो र समय नौ दिन लागेको थियो । देवी र असुर सेनाहरुबीच युद्ध सुरू आश्विन शुक्ल प्रतिपदाको दिन भएको थियो भने युद्धान्त आश्विन शुक्ल दशमीको दिन महिषासुर बध भएपछि मात्र भएको थियो ।

शैलपुत्री, ब्रह्मचारिणी, चन्द्र्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्री गरी देवीका नौ थरी–थरीका शक्तिरुप यिनै थिए । त्यसै समयदेखि नेपाल, भारतलगायत अन्य हिन्दु तथा बौद्धमार्गी मुलुकहरुमा देवीका यी नौ शक्तिरुपका शक्तिपीठहरु विभिन्न स्थानमा स्थापना गरेर पूजा–अर्चना गर्ने परम्पराको थालनी हुन गयो ।

यी नौ दिनलाई नवरात्री अर्थात् नवदुर्गाका रुपमा मनाउने चलन पनि चल्न थाल्यो । दसौँ दिन महिषासुर जस्तो दुष्ट असुरको देवीद्वारा युद्धमा बध गरी विजय पाएको दिन भएको हुनाले यस दिनलाई असत्यमाथि सत्यको विजय, दुर्जनमाथि सज्जनको विजय, दुराचारीमाथि सदाचारीको विजय आदिका रुपमा विजय उत्सव मनाउने चलन चल्दै आउन थालेको हो ।

त्रेतायुगमा सीता हरण गर्ने दुष्ट रावणलाई बध गर्न यिनै दुर्गा भगवतीको कृपाशक्तिद्वारा मर्यादा पुरुषोत्तम रामचन्द्र भगवान् आश्विन शुक्ल दशमीका दिन सफल भएका थिए । द्वापरयुगमा कुरुक्षेत्रमा १८ दिनसम्म भएको कौरव र पाण्डवबीचको महाभारत युद्धमा आजको यसै दिन अधर्मी कौरवमाथि धर्मपरायण पाण्डवहरुले विजय प्राप्त गरेका थिए ।

द्वापरयुगमै मथुरामा श्रीकृष्णले आफ्नो ११ वर्षको उमेरमा दुष्ट नरसंहारकारी कंशलाई मार्न सफल भएको आजको यही दिन थियो । यसरी परापूर्वकालदेखि असत्यमाथि सत्यको विजय, अधर्ममाथि धर्मको विजय, असुरी शक्तिमाथि दैवी शक्तिको विजय, खराबमाथि असलको विजयका रुपमा आश्विन शुक्ल दशमीको दिनलाई विजयादशमीको रूपमा मनाउने परम्पराको थालनी हुँदै आएको तथ्य हाम्रा हिन्दु धर्मशास्त्रहरुमा उल्लेख भएको पाइन्छ ।

विजयादशमीको दिनदेखि दसैँको टीका, आशीर्वचन, शुभकामना आदान–प्रदान, मीठो–मसिनो खाना आदिजस्ता सबै प्रक्रियाहरु कोजाग्रत पूर्णिमाको दिनसम्म निरन्तर चलि नै रहन्छन् । यस दिन दुर्गा भगवती र दसैँसँग सम्बन्धित सबै कार्यहरु बिसर्जन हुन्छन् र बेलुका पूर्णचन्दको उदय भएपछि तिहारको चहल–पहल सुरू हुन थाल्छ । कोजाग्रत पूर्णिमाका रातिको जागृत भएर रहन्छ भन्नेबारे अवलोकन गर्न र रातभरि बत्ती बलिरहेको घरमा धन–सम्पत्तिकी मालिक्नी लक्ष्मीले धनको वर्षा गराउँछिन् भन्ने धार्मिक विश्वास गर्दै हिन्दु समुदायमा धेरैजसो घरहरुमा बत्ती रातभरि बलिरहेको हुन्छ । कतिपय ठाउँमा उज्यालो बाली जुवा–तास खेलेर जाग्राम गरिरहेको अवस्था पनि रहन्छ । यसरी कोजाग्रत पूर्णिमाका दिनदेखि दसैँलाई बिदाइ गरेर तिहार आगमनको पर्खाइमा रहने नेपालीहरुको परम्परा छ ।

विजयादशमी जस्तो महान् चाडको यस पुनीत अवसरमा स्वदेश तथा विदेशमा रहने सम्पूर्ण नेपाली बन्धुहरुको ऐश्वर्य, आरोग्य, उन्नति–प्रगति, साथ–साथै सुखमय जीवनका लागि उनै शक्ति स्वरुपिणी दुर्गा भगवतीले अनुपम अनुकम्पा सबैमाथि राखी शुभाशुभ आशीर्वादको वर्षा गराइदिऊन्, सबैका मन–मष्तिस्कमा हर्ष, शान्ति र आनन्दले बास गर्न सकोस्, यस प्रसङ्गमा सबैमा मेरो यही शुभकामनासहित सादुभाव । अस्तु ।