आजको डिजिटल युगमा अनलाइन डेटा भेरिफिकेशनको सवाललाइ अत्यन्तै महत्त्वपूर्ण रूपमा लिइन्छ। प्रविधि प्रयोग नगरि प्रविधिको आलोचना गर्नु, प्रविधि थोरै बुझेकाहरुले प्रविधिको धेरै कुरा गर्नुले नेपालीहरुको संस्था टुक्रिने मात्र हैन अनलाइन भोटिङ्ग सिस्टम प्रति अविश्वासका धारणाहरू जन्माएको छ। किनकी झुठै कुरा भएपनि धेरैले दोहोर्याएपछि सर्वसाधारणमा त्यो सत्य हो कि भन्ने भान पर्नजान्छ ।
विशेष गरी अनलाइन मतदान प्रक्रियामा भोटर्सहरुको गैर जिम्मेवार गतिविधिले यतिखेर अनलाइन भोटिङ्ग सिस्टम प्रतिको अविश्वास बढेको देखिन्छ। ‘नेपालीको लागि नेपाली’ भनेर खोलिएको संस्थाका अगुवा भनिनेहरु, अनलाइन सिस्टमको गलत प्रयोग गरेर सदस्यता बनाउन होस वा भोटिङ्ग गर्न उद्दत देखिन्छन। यसले गर्दा नेपालीका लागि डिजिटल संसार नै प्रदुषित देखिन थालेको छ। आफ्नो कमजोरी लुकाउन प्रविधिलाई दोष दिँदै आफू चोखो बन्ने मानसिकता राखेर नेता बनिरहेका छन, जुन विडम्बना हो।
अनलाइन भोटिङ्गमा आइडेन्टिटी भेरिफिकेशन पनि त्यतिकै जिम्मेवारीको विषय हो, जति हामी फिजिकली कुनै कार्यालय वा बैंकमा जादा आफ्ना आईडी देखाउँछौं र परिचय प्रमाणित गर्छौ। बिभिन्न कस्टमर सर्भिसमा होस् वा कल सेन्टरमा कुनै पनि कामको निमित्त फोन गर्दा नाम, फोन नम्बर, इमेल, जन्म मिति, सोसल सेक्युरिटी नम्बर आदि भेरिफाई गर्नु सबै अनलाइन आइडेन्टिटी भेरिफिकेसनको प्रोसेस हो।
यस्तो अनलाइन डेटा भेरिफिकेशन प्रोसेसलाई प्रविधिको भाषामा “टु फ्याक्टर अथेण्टिकेशन (2FA)” भनिन्छ। यसमा प्रयोगकर्ताले पासवर्डपछि अर्को तहमा OTP, इमेल वा फेसियल भेरिफिकेशन मार्फत आफ्नो पहिचान पुष्टि गर्नुपर्छ।
टु फ्याक्टर अथेण्टिकेशनको सबैभन्दा लोकप्रिय स्वरूप भनेको OTP (One-Time Passcode) हो, जुन प्रयोगकर्ताको मोबाइल नम्बर वा इमेलमा पठाइन्छ। यो कोड सीमित समयभित्र मात्र मान्य हुन्छ र पुन: प्रयोग गर्न मिल्दैन। यसले अनधिकृत पहुँचलाई रोक्छ र प्रयोगकर्ताको एकाउन्टलाई सुरक्षित राख्न महत्वपूर्ण भूमिका खेल्दछ। OTP भेरिफिकेशन सरल, सुलभ, र अत्यन्त व्यवहारिक भएकाले, धेरैजसो अनलाइन सर्भिस प्रोभाईडरहरूले यसैलाई रोजेका छन्।
अनलाइन मेम्बरशीप वा भोटिङ्गमा फेसियल भेरिफिकेशन प्रविधि भने केही हदसम्म प्रयोगमा आएपनि अझै निकै सीमित छ। यसको पछाडि धेरै कारण छन्, जस्तै: क्यामेराको गुणस्तर राम्रो हुनुपर्ने, फेस भेरिकेसन गर्ने स्थानको उज्यालोपन मिलेको हुनुपर्ने, सेल्फी लिँदा वा दिँदा अनुहार तोकिएको घेराभित्र मापदण्ड अनुसार देखिएको हुनुपर्ने, अनुहारमा भएका वस्तुहरू (जस्तै चस्मा, टोपी, फूली, अन्य पियरसिङ्ग) ले प्रभाव पार्ने र केही प्राविधिक ज्ञान समेतको आवश्यकता पर्ने कारणले यसको प्रयोग र विश्वसनीयतामा प्रभाव पारेको छ।
युरोपको GDPR र अमेरिकाको CCPA जस्ता कानुनी संरचनाले फेसियल डेटाको प्रयोगमा कडा नियम लगाएका छन् । जसले गर्दा यो प्रविधि अझै पूर्णरूपमा विश्वसनीय र सुरक्षित सावित भइसकेको छैन। हालसम्म संसारमै अनलाइन भोटिङ्ग सिस्टममा फेसियल भेरिफिकेशनको प्रयोग दुई प्रतिशत भन्दा पनि कम छ।
यसको विपरीत, OTP/SMS भेरिफिकेशनको प्रयोग व्यापक छ। लगभग हरेक व्यक्तिसँग मोबाइल नम्बर वा इमेल हुन्छ, जसले यो सिस्टमलाई सबैको लागि सहज बनाउँछ। साथमा आईपी ट्र्याकिङ, डिभाइस लिमिटेसन, टाइम लिमिट, युनिक कोड प्रणाली जस्ता थप सुरक्षात्मक उपायहरूले यसलाई अझ मजबुत बनाएका छन्। प्रयोगकर्तालाई कुनै प्रविधिगत ज्ञान नभए पनि यो प्रक्रिया सहजै अपनाउन सकिने भएकाले यो प्रणाली अझ व्यवहारिक छ।
अन्य अनलाइन एप्लिकेशनको सन्दर्भमा हेर्ने हो भने टु फ्याक्टर अथेण्टिकेशनको प्रयोग दर, अमेरिका तथा युरोपका देशहरुमा ८५–९० प्रतिशत प्रयोगकर्ताले OTP/SMS/इमेल भेरिफिकेशन सिस्टमलाई प्रयोग गरिरहेका छन् भने १०-१५ प्रतिशतले मात्रै फेशियल भेरिफिकेशन प्रयोग गर्छन। भारतमा ९२ देखि ९५ प्रतिशत प्रयोगकर्ताले OTP/SMS/इमेल भेरिफिकेशन सिस्टमलाई प्रयोग गरिरहेका छन् भने ५ देखि ८ प्रतिशतले मात्रै फेसियल भेरिफिकेशन प्रयोग गर्छन।
चीनलाई भने अपवाद लिन सकिन्छ, जहाँ फेसियल भेरिफिकेशन प्रविधि पब्लिक सर्भिस र सेक्युरिटीका क्षेत्रमा प्रयोगमा छ। तर चीनको प्रविधि नीतिमा सरकारी नियन्त्रण प्रति संसारका धेरै देशहरुको असहमति छ।
विकासोन्मुख देशहरूमा भने प्रविधिको पहुँच, स्मार्टफोनको गुणस्तर, र डाटा सेफ्टी कानुनहरूको अभावले गर्दा फेसियल भेरिफिकेशनको प्रयोग अझै पनि २–५ प्रतिशतको सीमित दायरामै छ। यस्तो अवस्था हेर्दा, विश्वभरको औसत हेर्दा OTP/SMS/इमेल प्रमाणीकरण नै सबैभन्दा सुलभ, भरपर्दो र प्रयोगकर्तामैत्री विकल्पका रूपमा रहिरहेको स्पष्ट हुन्छ।
त्यसैले, चाहे OTP होस् वा फेसियल भेरिफिकेशन, यदि तपाईं आफैंले आफ्नो OTP अरूलाई बाँड्नुहुन्छ, पासवर्ड शेयर गर्नुहुन्छ वा अरूको लागि फेसियल भेरिफिकेशन गर्न दिनुहुन्छ भने, प्रविधिले तपाईंलाई जोगाउन सक्दैन। यस्तो अवस्थामा समस्या प्रविधिमा होइन, तपाईंको मानसिक चेतनशीलता र उत्तरदायित्वमा हुन्छ। तसर्थ, प्राविधिक हिसावले अनलाइन भोटिङ्गमा फेसियल भेरिफिकेशनले मात्र सही आइडेण्टिटी भेरिफिकेशन गर्छ भन्ने सोचाई/भनाई सही होइन। नेपाली उखान छ नि, “झोलामा प्वाल भएपछि चोरलाई दोष दिनु व्यर्थ हुन्छ”। त्यसैले अनलाइन भेरिफिकेशन सुनिश्चित गर्न प्रविधिसँगै हाम्रो चेतनशीलता पनि अत्यावश्यक छ।
(लेखक भट्टराई विगत २० वर्ष देखि सफ्टवेयर डेभलेपमेण्टमा कार्यरत कम्प्युटर इन्जिनियरका साथै ए-आई मा बिद्याबारिधिको विद्यार्थी हुन)












प्रतिक्रिया