हाम्रो योजनाअनुसार आज खरसाङ्ग जानु थियो । दार्जिलिङ्गका थुप्रै ठाउँहरु अझै घुमिएको थिएन । घुम्न पनि समय नपुग्ने भयो । त्यसैले खरसाङ्ग जाने रेलको दौडधुपतिर लाग्यौँ । समय पनि कस्तो परेको ? रेल क्यान्सिल भएको पो रहेछ । अब बस नै भएपनि जाने भनेर बस बिसौनीतिर दौडियौँ । गौतमजी र देवेन्द्रजी खरसाङ्ग नजाने विचारमा हुनुहुन्थ्यो । हामी बाँकी जाने तरखरमा थियौँ । मारुती भ्यानले हामीलाई डाकेको डाकेकै थियो ।
दार्जिलिङ घुम्ने इच्छा हुँदा–हुँदै पनि भ्यानमा चढिहाल्यौँ । एकसय रुपियाँमा भ्यान रिजर्भ भयो । नागबेली परेको सडकमाथि रेलको लिक स्पर्श गर्दै भ्यान दौडियो । थुक्क ! ‘अरुण’ पत्रिका ज्योत्सनाजीलाई पठाइदिने कुरा त भुसुक्कै पो विर्सिएछ । आफू अविश्वासिलो भएकोमा कस्तो-कस्तो लाग्यो ।
बसले खरसाङ्ग उतारिदियो । भ्यानबाट उत्रेर यसो बजारतिर के लागेका थियौँ देवेन्द्रजी आत्तिनुभयो । उहाँले ज्याकेट त भ्यानमै पो छोड्नुभएछ । झोला हामीलाई छोडेर दौडिहाल्नुभयो । भ्यान सिलिगुडी जान निकै तल झरिसकेको थियो । सर्ट्कट् बाटो भर्न सकिने ठाउँ रहेछ । त्यो पनि सिलिगुडीबाट आएको बसले त्यस भ्यानलाई एकछिन ब्लक गरिदिएछ । यसरी छेकिदिनाले देवेन्द्रजीले भ्यानलाई भेट्नुभयो । नत्र …!
खरसाङ्ग बजार सानो बजार थियो । यसले पहाडी भित्तोमा थोरै क्षेत्रफल ओगटेको रहेछ । यहाँ पर्यटकका लागि सुत्नबस्नको प्रबन्धयुक्त होटल तथा लजहरु ज्यादै सीमित रहेछन् । हेर्नलायकको आकाशवाणी रेडियो सेवा बजारदेखि अलिक तल रहेछ । टाढैबाट हेरियो ।
खरसाङ्गको सेरोफेरोको हल्का भ्रमण सकिएपछि खाना र सुताइको व्यवस्था गर्ने तरखरमा लाग्यौँ । दुईचारवटा भएका लज पनि तिहारको चहलपहलले गर्दा बन्द थिए । एउटा लज पाइयो । त्यो पनि हामीजस्तो पर्यटक त भुतुक्कै पर्ने । एकदमै महँगो दाम भन्ने । दिक्दार भएर हामी दार्जिलिङ्ग फर्किने विचारमा थियौँ । रेल—स्टेशनमा एकजना तामाङ्ग बूढा भेटिए । हाम्रो यस्तो विचारको मन्थन ती बूढाले सुनेछन् । “किन जाने दार्जिलिङ्ग … ? तिमेरु रेलबाट आयौ कि ट्याक्सीबाट …?” ती बूढाले क्रोधित भएर सोधे ।
‘हामी ट्याक्सीबाट आयौँ – यहाँ खाना बस्नको समस्या रहेछ ।”
“लौ ! यहाँ खाना बस्नको कसरी समस्या हुन्छ । म व्यवस्था गरिदिउँला । पाइएन भने धर्माशाला छ ।”
“हामीसँग लुगा कपडा त छैन नि …!”
“केही पनि नलिई कसरी घुम्न हिंड्यौ त …?”
“हामी ‘प्रोफेसनल भिजिटर’ हैनौँ ।”
“अनि के त ?”
“हामी त यो दुईचार दिनको तिहारको बिदामा …”
“ए ! त्यसो भए तिमेरु जागिरे हौ ? ”
“हजूर !”
“अनि तिमेरुका दिदी–बहिनी छैनन् ? कि क्रिश्चियन हौ ? खै देख्दिन त फूलमाला लगाएको आज भाइटीका छैन ?”
“हैन हामी हिन्दू नै हौँ तर यसपटकको तिहारलाई बिर्सिदियौँ ।”
“आफ्नो परम्पराले चलाएको संस्कृतिलाई कहिल्लै बिर्सिन हुँदैन बाबु हो ।”
“बिर्सिन त हामी कहाँ बिर्सिन्छौँ र ……!”
“अनि के गरेको त यो …?”
हामी अकमक्क पर्यौँ । हामीलाई गाली गर्दै ती तामाङ्ग बूढाले लजको खोजीमा यताउता डुलाए । कतै पाइएन ! अन्तमा प्रधान लज देखाउँदै “ऊ … त्यहाँ ‘प्रधान लज’ छ । त्यहाँ त्यत्ति महँगो छैन – त्यहाँ गएर बस्ने !” उनले आफ्नै छोराहरुलाई झैँ ठाडो स्वरमा भने ।
एकछिन रोकिएर-
“खरसाङ्ग गइस् र गएँ ! रेल चढिस् ? चढिनँ … !
कस्तो हुन्छ ? भोलि विहानै रेलमा चढेर जानु रेल पनि चढिने पैसा पनि बँच्ने कसो ?” हामीले बूढाको उचित कुरालाई स्वीकारेर प्रधान लजतिर लाग्यौँ ।
“यहाँ लज पाइन्छ हैन ?”
“पाइन्छ आउनुहोस् !”
एउटी काली—काली तरुनी ठिटीले बोलाउँदै भनी ।
चारवटा बेड भएको एउटा कोठालाई दुईसय दस रुपियाँ !! यति महँगोमा यहाँ किन बस्ने ? फेरि खाना खाने होटल पनि त छैन नि ! हामी सोच्न थाल्यौँ ।
“हामी बस्ने भएछौँ भने अहिले-अहिले आउँछौँ !” कणेल दाइले भन्नुभयो ।
“बस्नुहुन्छ भने दुई चार रुपियाँ घटाई पनि दिन्छौँ !” त्यस तरुनी ठिटीले भन्दै थिई ।
हामी बाहिर निस्कियौँ । अब बस्ने कि जाने चौ-चौमा यता र उता दगुर्न थाल्यौँ । आज रेल पनि नजाने रहेछ । रेल चढ्ने सौख पनि उत्तिकै बढ्दै थियो । हामी फेरि उही प्रधान लजतिर फर्कियौँ । यात्राको झञ्झटले मलाई कत्ति पनि खाना खाने मन भएन । अरु साथीहरुले खाना खाएर आउनुभयो । मचाहिँ त्यत्तिकै बसिरहेँ ।
साँझमा त खरसाङ्गको बस्ती स्वप्नलोकजस्तै देखिँदो रहेछ । हामीले यो दृश्य देखेर र्याल चुहायौँ । गौतमजी लजको चार्ज बुझाउन काउण्टरमा जानुभयो ।
एउटी अग्ली, गोरी युवती काउण्टरमा बसिरहेकी थिइन् ।
“कति हो चार्ज ?”
”दुईसय दस रुपियाँ !”
”हैन यत्ति महँगो …”
“यत्ति नै हो …।”
“अलिकति त हेरिदिनोस् !”
“अँ ह ! हुँदैन !”
“अघि हामीलाई यहाँ काम गर्ने बहिनीले केही घटाइदिने बचन दिनुभएको थियो … !”
“सि ईज माई सर्भेन्ट वन्ली !”
गौतमजीले त्यसपछि जिद्धी गर्नुभएन, चार्ज तिर्नुभयो– दुईसय दस रुपियाँ नै ! आजको हाम्रो बसाइँ अलि महँगो पर्यो ।
पहाडी रेलको छुकछुके आनन्द
भोलिपल्ट आठ बजेको शुभमुहूर्तमा रेल चढियो । छ्याक्छ्याक गर्दै रेल अगाडि बढ्यो । दृश्य चुम्दै जाने उद्देश्यले म झ्यालको छेउमा बसको थिएँ । रेलमा लगाउने कोइलाको धूलोले झ्याल खोल्नै पाइएन । खोल्यो भने सबै धूलो आँखामा पर्थ्यो ।
हामी पाँचैजना लास्टको डिब्बामा चढेका थियौँ । हाम्रो साथमा एउटी महिला पनि चढेकी थिइन् । रेल ‘तिरु टी स्टेट’ चुम्दै अगाडि बढिरहेको थियो । सोम दाइ आफ्नै पारामा मस्त, साथीहरु ती महिलासँग गफको पोको फुकाउनमा मस्त ! साथीहरु घरि–घरि ओभर परिचय गर्न खोज्नुहुन्थ्यो । फारासिली, बोलक्कड ती महिला पनि के कम थिइन र ? आफ्नो परिचयको गाँठो फुकाएर साथीहरुलाई दिइन् । ती महिला सोनादकी क्षेत्रिनी रहिछन् । परिचयको सिलसिलामा हाम्रो नाम थर सोध्न थालिन् –
“उहाँ पनि तपाईँहरुको साथी …” ती महिलाले मलाई औँल्याउँदै भनिन् ।
“हजूर … दिदी !” गौतमजीले भन्नुभयो ।
“हजूर ! उहाँ लेखक, साहित्यकार, कवि हुनुहुन्छ ।”
“ओहो ! उहाँको नाम चाहिँ …?”
“लिला श्रेष्ठ ‘सजल’ ।” गौतमजीले मलाई उछिन्दै भन्नुभयो ।
“अनि नि दिदी ! उहाँले त हामीले यहाँ बोलेको सबै कुरा लेखिसक्नुभयो होला … !” गौतमजीले जोकिङ्ग गर्दै भन्नुभयो । हामी सबै गलल हाँस्यौँ ।
“ओ हो ! त्यसो भए त डर मर्नु पो हुँदोरहेछ त !”
“साहित्यकार त्यस्तै हुन्छन् नि दिदी !” फेरि हाँस्यौँ ।
“अनि उहाँ चाहिँ …?”
“उहाँ देवेन्द्र बुढाथोकी ‘बेहोशी’ ।
“उहाँलाई त कता कता देखेजस्तो लाग्छ नि ! तपाईँले कुनै फिल्ममा खेल्नुभएको छ ?”
“अहिलेसम्म त खेलेको छुइनँ । अब खेल्ने विचारमा छु ।”
“लौ ! लौ ! चाँडै खेल्ने प्रयास गर्नुहोला । तपार्इंलाई यहाँ हामी टी.भी. मा हेर्नेर्छौं ।”
“अनि नि दिदी, उहाँ पनि साहित्यकार हुनुहुन्छ ! उहाँले यस पत्रिकामा कथा पनि लेख्नुभएको छ ।” “अरुण” पत्रिका झिक्दै गौतमजीले भन्नुभयो । त्यसपछि ती महिलाले पत्रिका समाइन ।
“यी यहाँ लिला श्रेष्ठ ‘सजल’को नाम छ । उहाँ यस पत्रिकाको सम्पादक मण्डलीमा पनि हुनुहुन्छ ।” गौतमजीले फेरि पनि मेरो थप चिनारी दिनुभयो ।
“अनि तपाईँको नाम चाहिँ के पर् यो नि !”
“मेरो चेतनाथ कणेल ‘हरित’ ।”
“उहाँ पनि साहित्यकार हुनुहुन्छ नि दिदी !” गौतमजीले भन्नुभयो ।
“ओ हो ! तपाईँहरु सबैको एक–एक वटा ‘टाईटिल’ रहेछ फेरि साहित्यकार, कलाकार ….. पनि !”
“हो त नि दिदी हामी सबैको ‘टाईटिल’ छ ।” गौतमजी नरोकिई बताउँदै हुनुहुन्थ्यो । सोम दाइतिर फर्केर “उहाँको ‘टाईटिल’ “गजल” अनि मेरो चाहिँ “प्राञ्जल” !
हामी यहाँ हरित, सजल, गजल, प्राञ्जल र बेहाशी छौँ । एकछिन हाँसो र रमाइलो भयो । सोम दाइको ‘टाईटिल’ तत्कालै गौतमजीले त्यहीँ जुराइदिनुभएको थियो ।
उपन्यासमा पढेको डाँकबंगलालाई प्रत्यक्ष हेर्न पाइयो ।
त्यसपछि गौतमजीले ती दिदीसँग ठेगाना आदान–प्रदान पनि गर्नुभयो । गफ गर्दागर्दै रेल सोनाद आइपुग्यो । सोनाद एउटा रमाइलो ग्रामीण बस्ती रहेछ । ती दिदी त्यहीँ उत्रिन् । हामी पनि उत्रियौँ र एउटा ग्रुप फोटो खिच्यौँ उनीसँग । यो रमाइलो यात्राको कल्पना परिकल्पनाले “घुम” उतार् यो । साइत पनि कस्तो मिलेको ! रेलबाट उत्रिनासाथ सुकियापोखरी जाने बस ठ्याक्कै आइपुग्यो ।
हरियाली पाखाको काखबाट सिनित्त चिप्लिदै बस सुकियापोखरीतिर फाल हान्यो । आधा घण्टा जतिमै सुकिया बजार हलचल गर्न थाल्यो ।
बसबाट उत्रेर देउराली रेष्टुँरातिर लाग्यौँ । मासु र भात बजाउँदै जोरपोखरी र डाँकबंगला हेर्ने निर्णय गर्यौँ । सुकियापोखरीको लोभलाग्दो सौन्दर्यलाई धूपी सल्लेरीको समीरसँग बहाएर डाँकबंगलाको बाटो समात्यौँ । डाकबंगला यस बजारभन्दा केही माथिको डाँडामा अवस्थित छ ।
सुकिया बजारबाट चिप्लो सिनित्त परेको सडकबाट अलिकति उकालो लागेपछि देवेन्द्रजीले ठट्टा-रमाइलो गर्न थाल्नुभयो । हामी सबैको झोला बोकेर भरियाको भेष र हाउभाउ धारण गर्दै हिँड्नुभयो । हामी सल्लेरीको रमणीयताबाट दार्जिलिङ्ग र खरसाङ्गको बस्तीमाथि आँखा फिजाउँदै अगाडि बढ्यौँ ।
हेर्दाहेर्दै, हिँड्दा हिँड्दै जोरपोखरी टुप्लुक्क आइपुग्यो । यस पोखरीको पानीमा असंख्य माछाहरु फुत्रुक–फुत्रुक उफ्रिन्थे । यस पोखरीदेखि अलिकति माथि अर्को पोखरी पनि रहेछ । “यहाँ अचम्मका माछाहरु छन् रे ! यी माछाहरु क्यालिफोर्नियामा मात्र पाइन्छन् रे !” एउटी होचीहोची मोट्टी युवतीले बताइन् । यी माछाहरुको क्रियाकलाप हेरेर हामी अगाडि बढ्यौँ । यी युवतीसँग ‘बाइनाकुलर’ पनि रहेछ । यसबाट हामीले पनि पारि–पारिका दृश्यहरु चुम्यौँ । अहा ! कति मज्जा ! यहाँबाट देखिने दृश्यहरु !!
शिवकुमार राईद्वारा लिखित “डाँकबंगला” उपन्यासमा ठडिएको डाँकबंगलाले पनि अहिले त रुप फेरिसकेछ । उपन्यासमा त यस बंगलाको छानाबाट पानी चुहिन्थ्यो । त्यही पानी चुहेर चन्द्रप्रकाश तर्सेको थियो ।
तर यस बंगलालाई अहिले त नयाँ आकार शैलीमा जस्ताको पाताले चिरिच्याँट्ट पारेको रहेछ । चौकीदारको सहायताले हामी यस बंगलाको कोठा कोठा घुम्न सक्यौँ । यस बंगलाको ठिक मुनि तीनचारवटा झुपडीहरु थिए । शायद ! उपन्यासकी नायिका “रत्ना” को घर यिनैमध्ये एउटा थियो होला ! चन्द्रप्रकाश यस बंगलामा आउँदा रत्नासँग भेट भएको थियो । मेरो स्मरणमा यिनै कुराहरुको मूल फुट्यो ।
आज हाम्रो मिरिक पुग्ने लक्ष्य थियो । डाँकबंगलाबाट केही तल नझरी बस पाइने थिएन । यो सुन्दरतालाई चट्ट छोडेर हामी ओह्रालो लाग्यौँ । यस आनन्दोत्सवमा विह्वल हुँदै नेपाली लोकगीतको भाका टिपेर हामी सडकमा निस्कियौँ । बस आइपुगेको थिएन । देवेन्द्रजी काँधमा ज्याकेट राखेर नाच्दै हिँडनु भयो । हामी गीत गाउँदै थप्पडी मार्दै हिँड्यौँ ।
(क्रमश: ….)
ड्यालस, अमेरिका
(सन् १९९२, संस्मरण डायरीबाट)
प्रतिक्रिया