कुरान
कुरान इस्लाम धर्मको प्रमुख धर्मग्रन्थ हो । यो सम्पूर्ण मुसलमानहरूको आधार तथा अल्लाहको कलाम (सन्देश, आदेश)हो जो मानव समाजको हितका लागि पैगम्बर मुहम्मदको शरीरमा नाजिम (अवतरण) भएको पवित्र ज्ञान थियो । मुहम्मदलाई कुरानको सन्देश एकैपटक प्राप्त भएको नभई पटकपटक प्राप्त भएको थियो ।
कुरान अल्लाहको वाणी हो । अल्लाहबाट मुहम्मदलाई यो वाणी कहिले फरिेस्ताको माध्यमले एक अद्भूत ध्वनिमार्फत प्राप्त भयो भने कहिले मुहम्मदको हृदयमा बिस्तारै बिस्तारै अवतरण भयो । यस्तै, कहिले कुनै देवदूत मानिस बनेर आई मुहम्मदलाई यो सन्देश सुनाउँथे । मुहम्मदलाई कहिले शयनकाल त कहिले प्रातःकालमा पनि ज्ञान प्राप्त भयो । कहिले अल्लाह मानवीय रूपमा साक्षात् प्रकट भएर सन्देश प्रदान गरेको प्रतीत हुन्थ्यो । यस्ता अनौठा र अद्भूत तवरले मुहम्मदलाई अल्लाहको सन्देश प्राप्त भइरहयो । चालीस वर्षको उमेरदेखि उता मुहम्मदको मत्यु हुनुभन्दा अगाडि २३ वर्षसम्म उनलाई क्रमशः यो ज्ञान प्राप्त भयो । यसरी मुहम्मदलाई प्राप्त यो ज्ञान पछि संग्रह भई कुरान बनेको हो ।
मुहम्मद अल्लाहको सन्देश प्राप्त गर्ने एक निमित्त नायक थिए । ईश्वरको पैगाम (सन्देश) प्राप्त गर्ने भएकोले उनलाई यसकारण पैगम्बर भनियो ।
कुरान मुसलमानहरूको सत्य वचनको संग्रह हो । मुसलमानहरू कुनै विषयको पुस्टी गर्न वा प्रामाणिक कुराको सार मिलाउन पनि कुरानमा उल्लिखित आयत (वचन) तथा अन्य सन्देशलाई आधार बनाउँछन् ।
यसमा ११४ सूरत (अध्याय) छन् । यसमध्ये नवौं सूरतबाहेक अन्य सबै सूरतको सुरुमै ‘विसमिल्हाह’ शब्दको प्रयोग गरिन्छ । यसको अर्थ हो ‘सबैभन्दा दयालु अल्लाहको नाममा’ । कुरानलाई विषयवस्तुका आधारमा ३ खण्डमा हेर्न सकिन्छ । पहिलो खण्डमा प्रार्थना, उपवास, हज्ज, दान, सम्पत्ति, विवाह आदिका नियम समेटिएका छन् । दोस्रो खण्डमा ऐतिहासिक तथ्य र तिनमा आधारित विभिन्न कथा–कहानीहरू छन् । त्यस्तै, तेस्रो खण्डमा भने जन्नत र जहन्नमको व्याख्या पाइन्छ । जन्नत भनेको स्वर्ग र जहन्नमको अर्थ हो नर्क । यस खण्डमा न्याय, परिश्रम, सहनशीलता आदिको पनि व्याख्या पढ्न पाइन्छ ।
कुरानमा उल्लिखित सम्पूर्ण विवरण अल्लाहले मुहम्मदमार्फत इल्हाम (अवतरण) भएको हो, उनले लेखेको होइन । सन् ६३२ मा मुहम्मदको मृत्युपछि यसलाई लिखितस्वरूपमा ल्याउने काम उनका अनुयायीहरूले गरे । यसको प्रमुख जिम्मेवारी प्रथम खलिफा अबुबकरले पाए । खलिफा शब्दको अर्थ हो उत्तराधिकारी । उनले पहिलोपटक कुरान सन् ६३३ मा ११४ भागमा लेखन कार्य गरे र मुहम्मदकी चौथी पत्नी हफ्साको संरक्षणमा यसलाई राखियो । मुहम्मदले ईश्वरको सन्देश मक्का, मदिनालगायत अन्य धेरै ठाउँमा दिएका हुनाले यसका अंशहरूको संकलन पनि अलग अलग ठाउँमा अलग अलग व्यक्तिहरूबाट भइरहेको थियो । यसको नतिजा कुरान पनि अलग अलग हुने देखियो । यसरी कुरानका प्रतिहरू विवादित नहून् भनेर समाधानका लागि ६५३ मा तृतीय खलिफा उसमान इब्न अफ्फानले प्रथम खलिफाले संकलन गरी मानकीकरण गरेको कुरानलाई अन्तिम मान्यता दिएको घोषणा गरे । त्यसपछि अन्य जेजति कुरानका प्रतिहरू थिए, ती सबै जलाएर नस्ट गरियो । यसो गर्नुको मुख्य उद्देश्य कुरान एउटै होस् र कुरानका विषयमा कुनै भ्रम सिर्जना नहोस् भन्ने थियो ।
यसरी प्रथम खलिफा अबुबकरले संकलन गरेको कुरानले मान्यता पाएपछि त्यसका लिखित प्रतिहरू सम्पूर्ण अरवमा वितरण गरियो । आज पनि इस्लाम धर्ममा एउटै कुरानले मान्यता पाएको छ । मुहम्मदको मृत्युपछि चार जना व्यक्तिहरूले खलिफाको दर्जा पाए । तीमध्ये प्रथम खलिफा अब बकर अस सिद्दीक हुन् । यिनलाई मुहम्मदको मृत्युपछि व्यापक छलफल गरेर प्रथम खलिफा घोषणा गरिएको थियो । यसैगरी, दोस्रा खलिफा उमर इब्न अल खत्ताब, तेस्रा खलिफा उसमान इब्न अफ्फान र चौथा खलिफा अली इब्न तालिब हुन् । यी चारै जना खलिफाले मुहम्मदको जीवनकालमा सँगै बसेर नयाँ धर्मको प्रचारप्रसार गर्ने काम गरेका थिए ।
कुरानको सुरुआत अल–फातिहाबाट सुरु भएर सूरह अन–निसामा टुङ्गिन्छ । माथि नै भनियो कुरान ११४ सूरतमा लेखिएको छ । यसमा जम्मा ५५८ रुकू छन् भने सम्पूर्ण कुरानमा ६२३६ आयत छन् । रुकूको अर्थ छन्द र आयतको अर्थ हो ईश्वरीय भनाइ ।
सूरह अल–फातिहा
सूरह अल–फातिहा भनेको कुरानको उद्घाटन हो । यसका केही आयत निम्नअनुसार छन्–
(१) बिस्मिल्लाह हिर रहमान निर–रहीम । अर्थः अल्लाहको नामबाट सुरु गर्दछु । अल्लाह परम दयालु छन् ।
(२) अल्हम्दु लिल्लाहि रब्बिल आलमीन । अर्थः अल्लाहको सम्पूर्ण प्रकारको तारिफ गर्दछु । अल्लाह संसारका पालनहार हुन् ।
(३) अर–रहमान निर रहीम । अर्थः अल्लाह दयावान छन् ।
(४) मालिकी यौमिद्दीन । अर्थः अल्लाह दुःखको बदलामा मालिक हुन् ।
(५) इयाक नाबुदु व इयाक नस्तईन । अर्थः हे अल्लाह, म केवल अल्लाहको पूजा गर्छु र अल्लाहसँग मात्र मद्दत माग्नेछु ।
(६) इह्दिनास्सिरातल मुस्तकीम । अर्थः मलाई सोझो बाटो देखाउनू ।
(७) सिरातल्लजीना अनअस्ता अलैहिम, गैरिल मगदूबि अलैहिम व लद्धाल्लीन । अर्थः मलाई त्यो मार्ग मात्र बताउनु जो मार्ग अल्लाहको तर्फबाट इनाम प्राप्त भएको होस् ।
सूरह अल–फातिहालाई असल मार्गदर्शनका लागि अल्लाहसँग गरिएको प्रार्थनाका रूपमा पनि लिन सकिन्छ । सूरह अल फतिहामा उल्लिखित माथिका आयतहरू नमाजको बेला पनि पढिन्छ ।
सूरह अन–निसा
त्यस्तै, कुरानको अन्तिम भाग सूरह अन–निसाको अर्थ हो महिला । यसमा समाजमा महिलाहरूको अधिकार, पारिवारिक विषय, इस्लामिक कानुन र न्यायिक समाजको निर्माणका लागि आवश्यक पर्ने सामाजिक र नैतिक सिद्धान्तको उल्लेख भएको छ । यसका प्रमुख विषयहरू हुन्–
(१) महिला अधिकार ।
यसमा महिलाहरूको अधिकारबारे लेखिएको छ । महिलाहरूलाई समानता र न्यायका लागि कसरी व्यवहार गर्नुपर्छ ? भन्ने कुरा यहाँ पाइन्छ ।
(२) उत्तराधिकार (मिरास) ।
यसमा महिला र बालबालिकाको अधिकार वर्णन छ । सम्पत्तिको अधिकारप्राप्त व्यक्तिको मृत्यु भएमा उक्त सम्पत्तिको बाँडफाँड कसरी गर्ने भन्ने नियमहरू यसैमा दिएको छ ।
(३) पारिवारिक सम्बन्ध र जिम्मेवारी ।
यसमा विवाह, तलाक, बहुविवाह र पारिवारिक संरचना जस्ता नियमहरूको समावेश छन् । यसमा बहुविवाहलाई अनमुति दिएको छ तर सबै पत्नीहरूप्रति समान र निष्पक्ष व्यवहार गर्नुपर्ने कडा नियमहरू उल्लेख गरिएका छन् ।
(४) कमजोर वर्गहरूको संरक्षण ।
यसमा समाजका कमजोर वर्ग, गरीव, असहाय, अनाथ मानिसहरूको अधिकारको संरक्षण कसरी गर्ने भन्ने नियमहरू उल्लेख छन् ।
(५) न्याय र इमान्दारी ।
यसमा समाजमा न्याय व्यवस्था र इमान्दारीको महत्वलाई जोड दिँदै मुस्लिम समाजमा न्याय र समानताको सिद्धान्तहरूलाई कसरी व्यवस्थित गर्ने भन्ने नियमहरू यसमा उल्लेख गरिएको छ ।
(६) अहल–ए–किताब र अन्य धर्महरू ।
यसमा इसाई र यहुदी धर्महरूसँगको सम्बन्ध र संवादको बारेमा चर्चा गरिएको छ । यसमा ती धर्महरूसँग कस्तो सम्बन्ध राख्ने ? र इस्लामिक शिक्षा कसरी श्रेष्ठ छ ? भन्ने वयान गरिएको छ ।
अन्य सुन्दर भनाइहरू यस प्रकार रहेका छन्–
— हे मनुष्यहरू हो ! आफ्ना ईश्वरसँग डराउ जसले सबै मानिसहरूलाई एउटै ईश्वरबाट सृष्टि गरे र त्यसका जोडीहरू पनि सृष्टि गरे । उनीहरूबाट अरु धेरै पुरुष र महिलाहरू फैलिए ।
— हे पुरुषहरू ! तिमीहरू अनाथको हितमा न्याय गर्न सक्दैनौ भने आफूलाई मन पर्ने स्त्रीहरूसँग एक, दुई, तीन वा चार जनासँग पनि विवाह गर । तर यदि सबै पत्नीहरूलाई समान न्याय र व्यवहार गर्न सक्दैनौ भने केवल एक जनासँग मात्र विवाह गर ।
— यदि पति र पत्नीका बीचमा कलह छ भने पतिका घरतर्फबाट एक र पत्नीका माइतीतर्फबाट एक जना पठाएर मेलमिलाप गर्नु । यदि उनीहरू आपसमा मेलमिलाप गर्न चाहन्छन् भने अल्लाहले अवश्य सहयोग गर्नेछन् ।
यसरी, सूरह–अन–निसामा पारिवारिक मुद्दा मामिला र असल पारिवारिक जीवनको उत्कृष्ट मार्गदर्शन गरिएको छ । यो मार्गदर्शन केवल इस्लामिक समाजका लागि मात्र नभई समस्त मानव सभ्यता र मानव सम्बन्धका लागि अनुशासन र नैतिक मूल्यका लागि लाभदायक छ ।
नमाज
नमाजको सामान्य अर्थ अल्लाहको उपासना हो । मुसलमानहरू इबादतका लागि नमाज पढ्दछन् । इबादतको अर्थ ‘इस्लाम धर्ममा अल्लाहको कृपा प्राप्त गर्नका लागि गरिने सेवा’ हो । यसलाई अल्लाहप्रतिको भक्तिभावको रूपमा पनि लिन सकिन्छ । इस्लाममा हर व्यक्तिले नमाज पढ्न जरुरी छ । नमाज अल्लाहप्रतिको समर्पण हो, अल्लाहप्रतिको अन्तिम विश्वासको आधार हो । नमाज प्रत्येक दिन अलग अलग समय गरी पाँचपटक पढिन्छ । यसरी पढिने नमाजलाई पढिने समयको आधारमा पाँच वटै नामका आधारमा पुकारिन्छ ।
ती समय र नमाजका नाम हुन्—
(१) (नमाज–ए–फज्र) सूर्योदयभन्दा पहिले वा उषाकालीन नमाज ।
(२) (नमाज–ए–जुहर) मध्याह्नपछि वा अवनतिकालीन नमाज ।
(३) (नमाज–ए–अस्र) सूर्यास्तअगाडि वा दिवाअवसान–पूर्वकालीन नमाज ।
(४) (नमाज–ए–मगरिब) सूर्यास्तपछि वा दिवा–अवसानकालीन नमाज ।
(५) (नमाज–ए–ईशा) रात्रिकालीन नमाज ।
उल्लिखित ५ नमाजका अतिरिक्त अर्को छैठौं नमाज पनि छ जसलाई नमाज–ए–जुमा पनि भनिन्छ । यो नमाज प्रत्येक दिन पढिँदैन । साताको एक दिन जुमा अथवा शुक्रबारका दिन जुहरको समयमा जुमा पढिन्छ । यसलाई सामूहिक नमाज पनि भनिन्छ ।
नमाजका विभिन्न चरणहरू छन् । ती चरणहरूका बेग्लाबेग्लै विधि र ती विधिमा पढिने अल्फाजहरू पनि भिन्नाभिन्नै छन् । तर मुख्य नमाज भने एउटै छ जो हर नमाजमा पढिन्छ । नमाजको त्यो मूल मन्त्र हो—
“सुब्हानक अल्लाहुम्मा व बि–हम्दिका व तबारक–इस्मुका व त–आला जद्दुका व ला–इलाहा गैरुका ।”
शब्दार्थः सुभानक = तिमी पवित्र छौ । अल्लाहुम्मा = हे अल्लाह ! व बि–हम्दिका = र तिम्रै प्रंशंसा छ । व तबारक = र तिमी नै दयालु, कृपालु छौ । इस्मुका = तिम्रो नाम । व तआला = र सबैभन्दा उच्च छ । जद्दुका = तिम्रो महानता । व ला इलाहा = अरु कोही पूज्य छैन । गैरुका = तिमीबाहेक ।
द्रष्टव्यः मुसलमानहरूले हर दिन ५ पटक पढ्ने उपरोक्त नमाज सूर्यको अवस्थितिका आधारमा गर्दछन् । यस्तै हिन्दु धर्ममा हरेक दिन जपिने गायत्री मन्त्र पनि सूर्यको अवस्थितिका आधारमा दिनको ४ पटक जप गरिन्छ । ती समय हुन्– प्रथम जप बिहान सूर्योदयभन्दा अगाडि, दोस्रो जप मध्याह्नपछि, तेस्रो जप सूर्यास्त हुनुभन्दा केही अगाडि र चौथो थप सूर्यास्तको १ हण्टापछि गरिन्छ । रात्रिकालमा गायत्री मन्त्रको जप गरिँदैन । यसरी हेर्दा हिन्दु धर्म र इस्लाम धर्ममा जप गरिने गायत्री मन्त्र र नमाज करीब करीब समय र अर्थभावका आधारमा पनि मिल्न जान्छन् । दुवैले ईश्वर–अल्लाहको नाममा यो जप गरेको देखिन्छ ।
नमाजः सुब्हानक अल्लाहुम्मा व बि–हम्दिका व तबारक–इस्मुका व त–आला जद्दुका व ला–इलाहा गैरुका । अर्थः हे अल्लाह, तिमी पवित्र छौ । तिम्रो नै प्रशंसा छ । तिम्रो नाम महान् छ एवम् तिम्रो महानता सबैभन्दा उच्च छ । तिमीबाहेक अरु कोही पूजनीय छैन । यसलाई सुन्ना÷सुन्नत पनि भनिन्छ ।
गायत्री मन्त्रः “ॐ भूर्भुवः स्वः तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो नः प्रचोदयात् ।” अर्थः ती प्राणस्वरूप, दुःखनाशक, सुखस्वरूप, श्रेष्ठ, तेजस्वी, पापनाशक, देवस्वरूप परमात्माको हामी आफ्नो अन्तरात्मामा धारण गदैछौं । ती परमात्माले हाम्रो बुद्धिलाई सत्मार्गमा लाग्न प्रेरित गरून्”
नमाज प्रत्येक दिन अनिवार्य रूपमा अलग अलग रकअतमा पढिन्छ । रकअत भनेको नमाज पढ्दा गरिने विधि र दुआ (आशीर्वाद, प्रार्थना)का इकाइ हुन् । रकअत ४ किसिमका हुन्छन्, जस्तो— सुन्नत, फर्ज, नफिल र वत्र वाजिद । यी रकअतलाई कुनै नमाजमा बढी र कुनैमा कम गरी पढिन्छ । सबै रकअतको विधि तल दिइएको छ । नमाजको उद्देश्य इबादतका लागि हो । इबादतमा नमाज, रोजा, जकात र हजका अतिरिक्त अल्लाहको आज्ञानअनुसार हर काम गरिन्छ ।
रकअत ।
नमाज पढ्दा गरिने शारीरिक क्रिया र ती क्रियाका साथमा पढिने मन्त्रलाई रकअत भनिन्छ । अर्को शब्दमा भन्दा नमाजको एक चक्रलाई रकअत भनिन्छ । रकअतमा पढिने मन्त्रहरू तल ५ नमाजहरूको वर्णनमा आउनेछ । नमाजको मूल मन्त्र एउटै छ तर नमाज पढ्ने समय र रकअतका आधारमा यसमा थप केही क्रियासहित मन्त्रहरूको उच्चारण गर्न जरुरी हुन्छ । रकअतबारे तल संक्षिप्त वणर्न गरिएको छ
(१) सुन्नत । सुन्नत एक अरबी शब्द हो । यसको अर्थ पथ अथवा चलन हो । यो पैगम्बर मुहम्मदले सुरु गरेको एक रकअत हो । इस्लाममा सुन्नत पढ्नु अनिवार्य छैन तर यो पढ्दा आनन्द प्राप्त हुन्छ भने यो पढ्दा मानसिक र अध्यात्मिक आनन्द पनि प्राप्त हुन्छ ।
(२) फर्ज । फर्ज एक अरबी शब्द हो । यसको अर्थ अनिवार्य हो । फर्ज भनेको मुसलमानका लागि अनिवार्य नमाज हो, किनभने अल्लाहले हर मुसलमानका लागि फर्ज गर्नै पर्ने भनी अनिवार्य गरिदिएका छन् । तसर्थ, यो फर्ज नमाज नगरेमा गुनाह मानिन्छ । प्रत्येक नमाज पढ्दा पढिने फर्ज अलग अलग संख्यामा पढिन्छ । जस्तो– फज्रमा २ रकअत, जोहरमा ४ रकत, अस्रमा ४ रकअत, मगरिबमा ३ रकअत ईशामा ४ रकअत पढिन्छ ।
(३) नफिल (नफ्ल) । नफिल एक अरबी शब्द हो जसको अर्थ स्वेच्छा वा अतिरक्त भन्ने हुन्छ । तसर्थ, नफिल अतिरिक्त इबादतका लागि पढिने नमाज हो । यो अनिवार्य नमाजभित्र पर्दैन । यो कुनै विशेष दिन वा अवसरमा पनि नमाजको आनन्द उठाउनका लागि पढिन्छ । विशेष दिन भन्नाले जस्तो दुःख लागेको बेला, एक्लै भएको बेला, शारीरिक र मानसिक रूपमा एक्लो वा कमजोर भएको बेला अथवा मष्तिष्कमा रचनात्मक कुरा उत्पन्न भएको बेला पढ्न सकिन्छ । यो नमाज रमजानको महिनामा विशेष पढिन्छ । यसबाट अतिरिक्त पुण्य पाइन्छ ।
(४) वित्र र वाजिब । वित्र एक अरबी शब्द हो जसको अर्थ अद्वितीय वा विषम भन्ने हुन्छ । वित्र नमाज फर्ज, सुन्नत र नफिल पढिसकेपछि अन्तमा पढिन्छ । यो नमाज रातमा पढिने भएकोले गर्दा यसलाई विशेष नमाज पनि भनिन्छ । यो नमाज एक रकअतको हुन्छ तर यसलाई ३ वा ५ पटकसम्म पनि पढिन्छ । यो नमाज नपढी छोड्नु राम्रो मानिदैन ।
वाजिब सुन्नतको तुलनामा कम पढिने नमाज हो । तथापि यो पढ्न भने जरुरी छ । यदि नमाज पढ्दा यसलाई छोडियो भने उसले तौबा गर्नुपर्ने हुन्छ । तौबाको अर्थ पश्चाताप वा प्रायश्चित्त गर्नु हो । तसर्थ, वाजिब गरिएन भने अल्लाह क्षमाशील छन् भनेर पश्चातापसहित माफी मागेमा क्षमा पनि पाइन्छ ।
केही इस्लाम विद्वान्हरू वित्र र वाजिब एकै नमाज हुन् भन्छन् भने केही विद्वान्हरू यी अलग अलग नमाज हुन् भन्दछन् ।
नमाज–विधि
नमाज पढ्नुभन्दा पहिले यसको विधिबारे जान्नु जरुरी छ । नमाजको विधि, विधिभित्र गरिने शारीरिक क्रिया र पढिने मन्त्रहरूको सिलसिलेवार तरिका वा चक्रलाई रकअत पनि भनिन्छ । नमाज दिनको ५ पटक पढिने भए पनि सबै नमाजका लागि विधि भने एउटै हो । रकअतका विधि निम्नअनुसार छन् ।
(१) नियत
कुनै पनि नमाज पढ्नुभन्दा पहिले नियत गर्नुपर्छ । नियतको अर्थ हो इरादा वा संकल्प । नियत गर्दा म कुन नमाज (फज्र, जुहर, अस्र, मगरिव, ईशा) पढ्दै छु र त्यसमा कुन कुन रकअत (सुन्नत, फर्ज, नफिल वा वित्र) पढ्नेछु भनी सच्चा नियतका साथ मनमनै संकल्प गर्नुपर्छ । नियत बोलेर वा मनमनै दुवै तरिकाले गर्न सकिन्छ । जस्तो—
म अल्लाहका लागि २ रकअत फर्ज नमाज फज्र÷जुहर÷अस्र÷मगरिब÷ईशा वा जुमाका लागि पढ्नेछु ।
(२) तकरीब
नमाज सुरु गर्नुभन्दा अगाडि सीधा उभिएर हात उठाई “अल्लाह हु अकबर” भन्नुपर्छ ।
(३) सना–फर्ज
सनामा मूल नमाज पढिन्छ । सुभहानकल्लाहुम्मा वबिहम्दिका वतबारकस्मुका वताआला जद्दुका वलाइलाहा गयरुक ।
(४) सूरह फतिहा
सूरत अल फतिहा कुरानमा आधारित एक पुस्तक हो जसलाई ‘उम्मुख’ किताब वा कितावहरूकी माता पनि भनिन्छ । यसमा हर नमाजपछि पढिने अल्फाजहरू लेखिएका छन् । तसर्थ, सुन्नत पढिसकेपछि सूरत अल फतिहा पढ्नुपर्छ । जस्तो— बिस्मिल्लार्हिर–हमार्नि–रहीम । सूरत अल फतिहा कुरानको उद्घाटनमै पाइन्छ । सूरत अल फतिहाको अर्थः ७ आयतको संक्षिप्त रूप जो ईश्वरको प्रार्थना र उपासनका लागि ईश्वरको महिमा, कृपा र मार्गदर्शनका लागि गरिएको प्रशंसा हो ।
सूरह फातिहा र अर्थ— “बिस्मिल्लार्हिर–हमार्नि–रहीम । अल्हम्दु लिल्लाहि रब्बि–ल–आलमीन । अर्–रहमार्नि–रहीम । मालिकि यौमिद्दीन । इ्ययाक न’आबुदु व इ्ययाक नस्त’ईन । इहदिन स–सिरात अल–मुस्तकीम । सिरात अल–लादीना अन’अमता अलैहिम वलद्दाल्लीन ।” भनी पढ्नुपर्छ । यिनीहरूको अर्थ हो–
— बिस्मिल्लाहिर्र–हमानिर–रहीम । अल्लाहको नाममा जो सबैमाथि अत्यन्तै दयालु छन् ।
— अल्हम्दु लिल्लाहि रब्बि ल–आलमीन । दुनियाका ईश्वर जो अल्लाह हुन्, सबै तारिफ उनकै नाममा ।
— अर्–रहमार्नि–रहीम । अल्लाह सबैमाथि दया गर्ने अत्यन्तै दयालु छन् ।
— मालिकि यौमिद्दीन । अल्लाह कयामतको दिनका मालिक हुन् ।
— इ्ययाक न’आबुदु व इ्ययाक नस्त’ईन । हे अल्लाह ! हामी तिम्रै इबादत (भक्ति) गर्दछौं । तिमीसँग नै मद्दत माग्दछौं ।
— इहदिन स–सिरात अल–मुस्तकीम । हे हल्लाह ! हामीलाई सही बाटो देखाऊ ।
— सिरात अल–लादीना अन’अमता अलैहिम वलद्दाल्लीन ।” त्यो बाटो देखाउनू जुन बाटोमा इनाम राखिएको छ । त्यो बाटोमा हिँड्दा तिमी क्रोधित छैनौ । तिनीहरू अन्यायमा परेका छैनन् र ती पथभ्रष्ट पनि छैनन् ।
फतिहापछि कुरानको अर्को कुनै सूरत वा आयत पढ्ने । जस्तै— सूरत अल–फिल “अलम तर कइफ फआल रब्बुक बिआलफिल ।” (अर्थः देख्यौ ! तिम्रा भगवान्ले हातीवालासँग के गरे ?)
द्रक्ष्टव्यः यो हातीवाला घटना एक ऐतिहासिक घटना थियो । यसलाई हातीको वर्ष भनेर पनि चिनिन्छ । इतिहास के छ भने यमनको शासनक अबराहले काबालाई नस्ट गर्न भनी हातीमा सवार सेना लिएर मक्कामाथि आक्रमण गरे । अल्लाहले ती हाती सवार सेनालाई साना साना ढुंगाको टुक्राहरूको वर्षा गराएर ती यमनका सेनाहरूलाई परास्त गरी तिनीहरूको समुल नस्ट गरे । यसैले यसलाई हातीवाला भनेर भनिएको हो ।
(५) रुकु
यसमा झुकेर रुकू पढिन्छ । जस्तो— “सुब्हाना रब्बिलय–ल–अजीम” । यसलाई ३ पटक पढ्ने ।
(६) (कियाम) रुकूबाट उठ्ने । र भन्ने— “समीअल्लाहु लिमन हिमदह ।” फेरि उभिएर भन्ने “रब्बना लकल हम्द ।”
(७) सजदा
यसमा फेरि झुकेर जमिनमा शिर टेकाएर “सुब्हाना रब्बिय–ल–आला” भनेर ३ पटक बोलिन्छ । अर्थः सबैभन्दा उच्च भगवान्को महिमा छ ।)
(८) जुलुस (जालसा)
यसमा सजदा गरिसकेपछि शिर उठाएर केहीबेर विश्राम लिने ।
(९) दोस्रो सजदा
पहिलो सजदाबाट दोस्रो सजदामा शिरलाई उठाएर फेरि जमिनमा शिर टेकाई “सुब्हाना रब्बिय–ल–आला” भन्ने ।
यसरी, नमाजको पहिलो रकअत पूरा हुन्छ । अब दोस्रो रकअत सुरु गर्ने ।
(१०) दोस्रो रकअत
अब यसै नमाजअन्तर्गत फेरि दोस्रो रकअत सुरु गर्ने । दोस्रो रकअतमा सूरत अल–फतिहा वा कुनै सूरत पढ्ने र बाँकी माथिका रुकु, सजदा आदि सबै प्रक्रिया दोहो¥याउने ।
यसै गरी तेस्रो र चौथो रकअत पनि पढ्नुपर्ने नमाज हो भने माथिका सबै रकअत क्रियाहरूलाई दुरुस्त दोहो¥याउने ।
(११) तशह्हुद
जब दोस्रो रकअत पनि पूरा हुन्छ, उठेर नशह्हुद पढ्ने । जस्तो— अत्तहियातु लिल्लाहि वस्सलवातु वत्तैय्ििययबातु । अस्सलामु अलैक अ्ययुहन्नब्यियु व रहमतुल्लाहि व बरकातुह । अस्सलामु अलैना व अला इबादिल्लाहिस्सालिहीन । अश्हदु अल्ला इलाहा इल्लल्लाहु व अश्हदु अन्ना मुहम्मदन अब्दुहू व रसूलुह । अर्थः सबै भक्ति र आस्था अल्लाहका लागि हो । हे नबी, तिमी माथि अल्लाहको शान्ति र आशीर्वाद छ । हामी र अल्लाहका सेवामाथि दयाभाव रहोस् । म साक्षी दिन्छु अल्लाहबाहेक अर्को पूजनयोग्य कोही छैन र मुहम्मद अल्लाहका सेवक र रसूल हुन् ।
(१२) दुरुद
यसपछि दुरुद पढिन्छ । जस्तो— अल्लाहुम्मा सल्लि अला मुहम्मदिन व अला आलि मुहम्मदिन कमा सल्लैता अला इब्राहिमा व अला आलि इब्राहिमा इन्नका हमीदुम्मजीद ।
अल्लाहुम्मा बारिक अला मुहम्मदिन व अला आलि मुहम्मदिन कमा बारकता अला इब्राहिमा व अला आलि इब्राहिमा इन्नका हमीदुम्मजीद ।
(१३) सलाम
यसरी नमाजको दोस्रो रकअत पनि सकिएपछि अन्तमा, सलामको फेरि लगाइन्छ । जस्तो— “अस्सलामु अलैकुम व रहमतुल्लाह ।” पढिन्छ । अर्थः तिमी माथि अल्लाहको आशीर्वाद छ ।
द्रष्टव्यः नमाजको यो विधि र त्यसमा पढिने नमाजको पूर्ण विवरण हो यो । अब नमाज चाहे फज्र, जुहर, अस्र, मगरिब, इशा वा चाहे जुमा होस्, नियत गर्दा पढिने नमाजको नाम मात्र लिने र बाँकी सबै प्रक्रिया एउटै हो ।
नमाजको संक्षिप्त विधि
(१) नियत । म अल्लाहका लागि २ रकअत फर्ज नमाज फज्र, जुहर, अस्र, मगरिब, ईशा वा जुमाका लागि पढ्नेछु ।
(२) तकरीब । “अल्लाह हु अकबर”
(३) सना–फर्ज । सुभहानकल्लाहुम्मा वबिहम्दिका वतबारकस्मुका वताआला जद्दुका वलाइलाहा गयरुक ।
(४) सूरह फतिहा । “बिस्मिल्लार्हिर–हमार्नि–रहीम । अल्हम्दु लिल्लाहि रब्बि–ल–आलमीन । अर्–रहमार्नि–रहीम । मालिकि यौमिद्दीन । इ्ययाक न’आबुदु व इ्ययाक नस्त’ईन । इहदिन स–सिरात अल–मुस्तकीम । सिरात अल–लादीना अन’अमता अलैहिम वलद्दाल्लीन ।” यसपछि कुरानको अर्को कुनै सूरत पढ्ने, जस्तो— “अलम तर कइफ फआल रब्बुक बिआलफिल ।”
(५) रुकु । “सुब्हाना रब्बिलय–ल–अजीम” । ३ पटक ।
(६) (कियाम) रुकूबाट उठ्ने । “समीअल्लाहु लिमन हिमदह ।” “रब्बना लकल हम्द ।”
(७) सजदा । “सुब्हाना रब्बिय–ल–आला”
(८) जुलुस (जालसा) । यसमा सजदा गरिसकेपछि शिर उठाएर केहीबेर विश्राम लिने ।
(९) दोस्रो सजदा । फेरि जमिनमा शिर टेकाई “सुब्हाना रब्बिय–ल–आला”
(१०) दोस्रो रकअत । अब यसै नमाजअन्तर्गत फेरि दोस्रो रकअत पूरा गर्ने ।
(११) तशह्हुद । अत्तहियातु लिल्लाहि वस्सलवातु वत्तैय्ििययबातु । अस्सलामु अलैक अ्ययुहन्नब्यियु व रहमतुल्लाहि व बरकातुह । अस्सलामु अलैना व अला इबादिल्लाहिस्सालिहीन । अश्हदु अल्ला इलाहा इल्लल्लाहु व अश्हदु अन्ना मुहम्मदन अब्दुहू व रसूलुह ।
(१२) दुरुद । यसपछि दुरुद पढिन्छ । जस्तो— अल्लाहुम्मा सल्लि अला मुहम्मदिन व अला आलि मुहम्मदिन कमा सल्लैता अला इब्राहिमा व अला आलि इब्राहिमा इन्नका हमीदुम्मजीद । अल्लाहुम्मा बारिक अला मुहम्मदिन व अला आलि मुहम्मदिन कमा बारकता अला इब्राहिमा व अला आलि इब्राहिमा इन्नका हमीदुम्मजीद ।
(१३) सलाम । “अस्सलामु अलैकुम व रहमतुल्लाह ।”
इति नमाज ।
प्रतिक्रिया