मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
विचार / ब्लग    

यो किताबले नारायणगोपाल बोल्छ

यो किताबले नारायणगोपाल बोल्छ

तारा बराल

शेयर गर्नुहोस:

2.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नारायणगोपालको बारेमा मेरो ज्ञान सतही रहेछ , प्रकाश सायमीको “स्वरसम्राट नारायणगोपाल “पढेपछि बल्ल थाहा पाएँ । गएको कार्तिक १३ गते ललितपुरस्थित होटल हेरिटेज गार्डेनमा आयोजित एउटा भव्य कार्यक्रममा यो किताबको लोकार्पण गरिएको थियो । नारायणगोपाल मेरो मनपर्ने गायक हुन् । मभन्दा अघिल्लो पुस्ता , मेरा समकालीन र अहिलेको पुस्तामा समेत सर्वाधिक रुचाइएका गायक हुन् उनी । त्यसैले नारायणगोपालका बारेमा हुने जुनसुकै कार्यक्रम पनि छुटाउन चाहन्न म । त्यसमा पनि प्रकाश सायमी जस्ता बहुआयामिक स्रष्टाले तयार गरेको मेरा प्रिय गायकको जीवनीमा आधारित किताबको लोकार्पण कसरी छुट्थ्यो र ! बिटु र म दुबैजना त्यहाँ पुग्यौं । कार्यक्रमको आनन्द लियौं र किताब बोकेर फर्क्यौं ।

तिहारले छोइहाल्यो । पढ्ने व्यग्र चाहना अलिक पर धकेलियो । तर यो मन कहाँ मान्थ्यो ! समय निकालेर पढीसकेँ ।

नारायणगोपालका गीत मात्रै सुनेको रहेछु । उनले बाँचेको जीवनका सरल र बक्र रेखाहरुसंग अनभिज्ञ रहेछु । उनी कसरी स्वरसम्राट भए बुझेकै रहेनछु । यो किताब पढेपछि बल्ल पो थाहा पाएँ ,उनको संघर्ष र सफलता !

लेखक सायमीले नारायणगोपालको जन्म , बाल्यकाल , उनको स्वभाव , गीत संगीतप्रति उनको लगाव मात्रै हैन जीवनका हरेक आरोह अवरोहलाई सुक्ष्मरुपले केलाएका छन् । घटना र सन्दर्भहरुलाई विभिन्न पात्रहरु मार्फत अभिव्यक्त गराएर त्यसको विश्वसनीयतामा प्रश्न उठाउने ठाउँ दिएका छैनन् प्रकाश सायमीले । सायमीको सरल भाषा र छोटकरीमा विषयवस्तु प्रस्तुत गर्ने लेखन शैलीले पाठकहरुलाई किताबभित्र बाँधेर राख्छ । हरेक खण्डका शीर्षकभित्रका सन्दर्भ छोटो तर सरल भाषामा पस्किने उनको शैली उनले रेडियो र टेलिभिजनमा कार्यक्रम प्रस्तुत गर्दाको स्मरण गराउँछ ।

किताब पढ्दै गर्दा पाठक कुनैबेला भावुक हुन्छन् । नारायणगोपाल रोगले थलिएर जीवनको अन्तिम समयतिर पुग्दाको सन्दर्भलाई लेखकले मार्मिक बनाएका छन् । स्वरसम्राटको निधन र त्यसले उत्पन्न गरेको भावविह्वल वातावरणमा नीर शाहको सन्दर्भ अत्यन्त मार्मिक छ ।

यो किताबले नारायणगोपाल बोल्छ

सायमीले लेखेका छन् -” कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको प्राङ्गणमा शोकाकुल अव्स्थामा एक्लै बसेका थिए , गुणगम्भीर भएर गीतकार नीर शाह । शाहका कँयौं स्मृति र घटना छन् स्वरसम्राटसित । उनले सारा कुरा सम्झे , निमग्न नयनले । हेरे चारैतिर ।

उनले शव उठाउने बित्तिकै शवको मुनि विछ्याइएको सबै इँटा टिपेर झोलामा राखे र मनमनै भने, केही भने तर कसैले केही सुनेनन पनि बुझेनन् पनि ।

गीतकार शाह त्यतिबेला नेपाल टेलिभिजनका अध्यक्ष तथा महाप्रबन्धक थिए । उनले तत्काल व्यापार शाखाका मदन कुमार शर्मालाई फोन गरेर यी इँटाहरु सुरक्षित रुपमा राख्न झोला किनेर ल्याउन आग्रह गरे ।

र यी इँटाहरु हामीसितै सुरक्षित हुनुपर्छ ।अब इँटाको जगमा स्वरसम्राटको सालिक बन्छ ।”

ती इँटाहरु सालिक बन्दा प्रयोगमा आए आएनन् त्यो भने लेखक सायमीले उल्लेख गरेका छैनन् ।

स्वरसम्राट नारायणगोपालको जीवनी नेपाली संगीतको जिवन्त इतिहास हो । र यो इतिहासलाई सार्वजनिक गर्ने शिल्पी भएका छन् लेखक प्रकाश सायमी ।

गीतकार नगेन्द्र थापाले आफ्नो भूमिकामा भनेका छन- किताब नै बोल्छ ।”

मैले किताब पढेर सिध्याएपछि लाग्यो – हो रहेछ यो किताबले नारायणगोपाल बोल्छ !