ड्यालस (अमेरिका) । पर्सी शनिबारदेखि अमेरिकाको ड्यालसमा लनस्टार कप फुटबल प्रतियोगिता हुने भएको छ ।
तीन दिनसम्म हुने प्रतियोगितामा यस पटक ३० भन्दा बढी टोलीहरूको सहभागिता रहेको छ । यो पटकको प्रतियोगिता दोस्रो हो ।
नेपाली टोलीको यस प्रतियोगिता प्रति बढ्दो चासो र सहभागिताले ड्यालस फोर्टवर्थ मेट्रो क्षेत्रको वरपर रहेको नेपाली समुदायमा फुटबलप्रतिको माया र जोश झन् झन् बढिरहेको संकेत गर्छ।
सन् २०१८ मा स्थापना गर्दा क्लबको उद्देश्य साथीभाइसँग मिलेर फुटबल खेल्नु र रमाइलो गर्नुबाट थालनी भएकोमा अहिले अमेरिका भरिका नेपालीबीच चर्चा र सहभागिता बढेको छ ।
यो प्रतियोगिताको पुरस्कार रकम करिब १७ हजार अमेरिकी डलर (२० लाख रुपैयाँ) बराबर रहेको छ।
यस पटकको प्रतियोगितामा रेडिल फाउण्डेसन, निम्तो रेष्टुरा एण्ड बार, टेक्सस रेञ्जर होलसेल, स्मृति सिपिए, सागर थापा लोन अफिसर लगायतले प्रायोजन गरेका छन्।
यस पटकदेखि नेपालमा युवा फुटबल विकासमा सहयोग गर्ने संस्थाहरूलाई केही रकम सहयोग गर्ने निर्णय गरेको समेत अायोजकहरूले जानकारी दिए । यसमा सहभागी हुन सबैलाई, परिवार र बच्चाहरूलाई साथमा ल्याउन अायोजकहरूले अाव्हान गरेका छन् ।
प्रतिक्रिया