‘पापा, अर्को साल २०२४ मा हामीले महिला उम्मेदवारलाई राष्ट्रपतिमा फेरि मत दिन पाए हुन्थ्यो है नेपालमा जस्तै अमेरिकामा राष्ट्रपति पनि’ प्रमिलाले भनिन्।
मैले भनें, ‘हो नि नेपालमा जस्तै सभामुख यहाँ पनि महिला भईन्। नेपालमा त प्रधान न्यायाधीश पनि महिला भईसके तर यहाँ फरक छ, मामु धन्न न्यान्सी पेलोसी कसरी स्पिकर भईन् नत्र यहाँ महिला माथिल्लो पदमा जानलाई रोक्न सबै दल, दलाल र जनता एक हुन्छन्’ प्रमिलाले मेरो कुरामा सहमतिको भावमा टाउको हल्लाईन्। किनकी उनले हिलारीलाई मत दिएकी थिइन् र पपुलर मत बढी ल्याएर पनि उनी सन् २०१६ मा पराजीत भईन्। उनलाई आफ्नै दलबाट पनि मत गएन।
मेरी श्रीमतीको सपना, चाहना र कल्पना अधूरो भयो। उनको सोच र सपनालाई मेरो एक मत दिएर पूरा गरेँ। यसपटक मैले पाएको अवसरलाइ कमला ह्यारिसलाई मत दिएँ। जीत चाँही सात स्विङ्ग स्टेटको हातमा छ । विजय ब्याटल ग्राउण्ड राज्यको मतमा छ। म टेक्ससवासी, रेडस्टेट मेरो मत शायदै विजयको लागि परिणामका लागि महत्वपूर्ण होला। यहाँ रिपब्लिकनले जरा गाडेको छ त्यो जरा उखेल्न डेमोक्र्याटलाई फलामको च्युरा सावित हुन्छ। डेमोक्रेटिक पार्टीले यो जरा उखेल्न प्रयास गरिरहेका छन् । मलाई पनि यसपल्ट रिपब्लिकन राष्ट्रपतिका उम्मेद्वारलाई मत दिने रहर जागेको थियो तर प्रमिलाको रुची र ट्रम्पको डम्प वचन र व्यवहार उनका सरोगेट, समर्थक र भ्या.. भ्या… गर्ने भक्तजन र अति रुढिबादी विचार र व्यहारबाट मैले कमलालाई नै मत दिएँ।
म अर्थशास्त्रको विद्यार्थी हैन, न त गुरु। अर्थव्यवस्थालाई मजबुद, दीगो र दरिलो बनाउन शायद ट्रम्प उपयुक्त होलान्। यो पनि ती भक्तजनका भ्रम मात्र हुन् । ट्रम्प हुँदाको अर्थव्यवस्था हामीले देखिसकेका छैँ । भोगिसकेका पनि छैँ ।
उनको नीति र नेतृत्व उपयुक्त र आवश्यक होला तर त्यो मात्रै मापन हो देश सक्षम, सवल, शक्तिशाली राष्ट्रको रूपमा गणना गर्ने गणित ? त्यसो हुँदो हो त श्रीलंकाको अर्थव्यवस्था हेरौं, बंगलादेशकै जाँचौं, मलेसियाकै मूल्यांकन गरौँ ? किन राजनैतिक परिवर्तन हुन्छ किन सत्ता सट्टापट्टा हुन्छ। आर्थिक सवलीकरण सँगसगैँ सामाजीक रुपान्तरण र नैतिक रूपले योग्य नेतृत्वको सशक्तिकरणले मुलुक वैभवशाली भएको चित्रित गर्नेछ। सामाजीक विचलन, अनैतिक धरातल, सर्वत्र अस्वीकार्य अनुहार, अति उग्रवाद, अत्याधिक विरोध र प्रतिशोध, छलाङ्ग मार्ने क्रमभङ्ग गर्ने योजना र चाहना हुने नेतृत्व आएमा देश खहरे खोलामा परिणत हुन्छ, उर्लंदो खहरे जस्तै। डिभिजन हैन भिजन भएका नेतृवको खाँचो छ अहिले अमेरिकालाई। डिभाईड हैन युनाईट गर्नसक्ने, फलोअर्स खोज्ने हैन फलो गर्ने व्यक्तिको जरूरत छ अहिले । के अहिलेका उम्मेद्वारहरुमा यो चरित्र, चेहरा र चाहना छ? कमलामा कम होला ट्रम्पसँग त शून्य छ। नराम्रा दुई मध्ये कम नराम्रो छान्ने परिस्थति छ यो चुनावमा।
अमेरिका संसारको प्रहरी हैन तर संसारले अमेरिकाबाट आश पनि गरेका छन् र त्रास पनि छ। अमेरिकाको नयाँ नेतृत्वप्रति विश्वले भरोसा पनि खोजेका हुन्छन् र भय पनि देखेका हुन्छन्। तानाशाहको उदय नहोस् अथवा रविन्सन क्रुसोको अभ्युदय नहोस्। अमेरिकाले यस्तो नेतृत्व पाओस् त्यो नेतृत्वसगँ भर पनि होस् र डर पनि। ट्रम्प जसले अन्तराष्ट्रिय समुदायको विश्वास जितेनन् २०१६-२०२०, नाटोसँग नातोमा फाटो ल्याए। आफ्ना समर्थक, शुभेच्छुक र सहयोगी राष्ट्रलाई शत्रु र शत्रु राष्ट्रलाई मित्रु देखे त्यसको नकारात्मक असर र प्रभाव विश्वमा यद्यपी छ। पुटिनलाई कोभिड परीक्षण गर्ने साधन पठाउने तर अमेरिकनहरु भटाभट मर्ने, किम जोङ्ग ऊन लाई प्रेमपत्र लेख्ने, साउथ कोरियाको पत्र नै नपढ्ने यी सामान्य प्रतिनिधि उदाहरणहरु हुन्। विश्व रंगमंचमा उनी हाँसोको पात्र बने, मजाकको साधन भए । कयौं अन्तर्राष्ट्रिय भेलामा अकेला बने ट्रम्प । ग्लोबल वार्मिंग र जलवायु परिवर्तन, क्लाईमेट चेन्जलाई होक्स भन्ने होस् वा मिडल यिस्टको समस्या होस् वा युक्रेन समाधान गर्ने उनको नीतिको वचकनापन र वचनले आफ्ना एलाइजहरु अमेरिका र उनीसगँ अलग रहे। संयुक्त राष्ट्र संघमा उनको नीति विभक्त देखियो। सर्वशक्तिमान राष्ट्रको गौरवशाली सेनाको अन्तर्राष्ट्रिय छवि र योगदानको अवमूल्यन र अपमान गरे। वाह्य शत्रु राष्ट्रबाट जोगाउन अहोरात्र खटिने सैनिक नेतृत्व र सेना र शहादत भएका र कव्जामा परिएका सेनाहरुको बहादुरीको खिल्ली उडाए। जसले गर्दा अमेरिकी सेनाप्रति विश्वको भरोसा, विश्वास र आश्थामा आँच आयो।
आन्तरिक राजनैतिक र सामाजिक सद्भाव र समझदारीमा ट्रम्पले खुल्लमखुल्ला चुनौती दिए। प्रतिष्पर्धी र उनका आलोचक र अरुलाई इन्डोर्स गर्ने रिपब्लिकन वा कलाकार, खेलाडी र पूर्व कर्मचारीहरुमा हिंस्रक आक्रमण गर्ने धम्की, अपमानजनक, अभद्र र अश्लील शब्दहरुको वाण नै प्रहार गरे यद्धपि त्यसले उनलाई नै नकारात्मक प्रभाव पर्यो।
उनका प्रतिष्पर्धी उम्मेद्वार कमला ह्यारिस र जो प्रतिष्पर्धीबाट हटेका छन् जो बाईडेन गालीको वर्षा नै गरेका छन्। कति शब्द र वाक्यहरु त आफ्ना परिवार, छोराछोरीसगैं बसेर हेर्न, सुन्न र पढ्न पनि नसकिने ट्रम्पले प्रयोग गर्छन् । फ़ाईरिङ्ग स्क्वाडद्वारा लिज़ चेनीलाई हत्या गर्नु पर्छ, चार तारे फुली लगाएका पूर्व जेनेरललाई खुलामन्चमा सार्वजनिक रूपमा झुन्ड्याउनु पर्छ, महिलालाई म जे पनि गर्छु उनीहरुलाई मन परोस् वा नपरोस् किनकी म नेता हूँ मात्र हैन खुला आमसभामा छाडा शब्दहरु त कति प्रयोग गर्छन् गनी साध्य छैन। आप्रवासीहरु माथि गाली मात्र हैन गोली नै बर्साउनु पर्छ भन्छन् ट्रम्प। मेक्सिकन रेपिस्ट हुन्, हैटीका इमिग्रेन्टले ओहायो र अरू राज्यमा कुकुर बिरालो चोरेर मारेर खान्छन्। पोर्टुरिकनहरु ट्र्यास हुन्, गार्वेज, फोहोरका डङ्गुर हुन्। हिस्पानिक महिलाहरु यहाँ बच्चा जन्माउने मेसिन हुन्। आप्रवासीलाई आउन दिनु हुन्न आएकालाई पनि लखेट्नु पर्छ, खेद्नु पर्छ। यस्ता अभिव्यक्ति उनका भक्तजनहरु मात्र हैन उनी स्वयम् भन्छन्।
लोकतन्त्र जोगाउने मात्र हैन यसको सर्जक र संरक्षक नै म हुँ भन्छन् डोनाल्ड ट्रम्प । उनले जितेपछि अर्को चुनाब हुनेछैन भनेर उनी चीरकालपर्यन्त राष्ट्रपति बन्ने अप्रत्यक्ष घोषणा गरे। आफूले जिते निर्वाचन स्वीकार्ने नत्र अस्वीकार गर्ने खुला घोषणा गरेका छन्। घर बाहिरका भन्दा घर भित्रलाई ठूलो शत्रु ठान्छन् ट्रम्प। पुटिन, किम जोङ्ग ऊन, हंगेरीका तानाशाही प्रधानमन्त्री भन्दा ठूला शत्रु ह्यारिस, पेलोसी र एडाम सिफलाई मान्दछन् र उनका प्रतिष्पर्धी र आलोचकलाई सेना र सशस्त्र प्रहरी लगाएर ठेकान लगाउनु पर्छ भन्छन्। जनवरी ६ को इतिहासको कालो इतिहास र उनको कर्तुतलाई शायदै कसैले भुल्लान्। लोकत्रन्त्रको गरिमामय स्थानमा आक्रमण गर्न खुला आव्हान र अनुरोध गरेका थिए ट्रम्पले उक्त दिन। जनमतलाई कदर नगरी भ्या भ्या गर्ने केकेके का जमातलाई उकासेर क्यापिटल हिल कव्जा गर्न खोजेर सत्ता हत्याउन दुष्प्रयास गरेका थिए। आफ्नै उप राष्ट्रपति माईक पेन्सलाई क्यापिटल हिलको बाहिर चौरमा झुन्डाउन फाँसीको बन्दोबस्त गर्न उचालेका थिए। अनि उनी लोकतन्त्रका हिमायती ! प्रजातन्त्रका प्रवर्तक र प्रबर्द्धक!! संविधान नमान्ने, कानून नमान्ने, विधि नमान्ने, जनमत नमान्ने अनि यो विधि र व्यवस्था जोगाउने म मात्र हुँ भनेर ध्वाँस दिन्छन्।
अमेरिकाको स्वर्णिम इतिहासमा उनी एक यस्ता राष्ट्रपतिका पात्र हुन् जसलाई दुई दुई पटक महाभियोग खेप्नुपर्यो । सयौं मुद्धा उनका विरुद्धमा विचाराधीन छन्। न्यूयोर्कको एक अदालतले उनलाई ३४ वटा मुद्धामा अपराधी सावित गरेको छ र निर्वाचन परिणाम पश्चात जेल सजाय अवधि तोकिनेछ। दर्जनौं महिलाहरुले यौन हिँसा गरेको, सहमति बेगर यौन सम्बन्ध कायम गरेको, गर्न खोजेको, नारीहरुको संवेदनशील अङ्गहरुमा स्पर्श गरेका कयौं मुद्धाहरु दायर गरिएका छन्। ट्याक्स छली, मनी लन्डरिङ्ग जस्ता दर्जनौं आर्थिक घोटाला सम्बन्धि मुद्धाहरुको छिनोफानो हुन बाँकी छ। निर्वाचनलाई प्रभावित पार्ने दुष्प्रयास गरेको, परिणामलाई घोषणा गर्न दवाव दिएका मुद्धाहरुको जर्जिया लगायत अन्य राज्यहरुमा फैसला शीघ्र हुँदैछ। त्यसैले त्यसबाट पार पाउन उनी राष्ट्रपति हुन चाहन्छन्। भरिसक्य अदालतमा आफ्ना मान्छे नियुक्त गरेर फैसला आफ्नो पक्षमा पार्ने वा त्यसो हुन नसके आफूले आफैंलाई सजाय माफी मिनाहा दिने वा मुद्धा फिर्ता लिने दुर्नियतले उनी राष्ट्रपति हुन चाहन्छन्।
अमेरिकाको संविधानले राष्ट्रपति पदमा उम्मेद्वार हुन अमेरिकामा जन्मेको र एक निश्चित अवधिसम्म अमेरिका बसेकै हुनु पर्ने बाहेक अरू कुनै कारणले छेकवार लाउँदैन र यसकै दुरुपयोग गरेर उनी फेरि सत्तामा कहिले नछोड्ने गरी फर्किन चाहन्छन्। उनी कारागारमा नबस्न सेतो दरवार ताकिरहेका छन्। प्रोजेक्ट २०२५ यस्तै कर्तुत र कुकृत्य गर्न तयार पारिएको एक हजारौं पृष्ठको ठेली हो।
नाईन इलेभेन पछि लगत्तै म, मेरी श्रीमती प्रमिला र सानो छोरो लिएर अमेरिका आएका थिया । वासिङ्गटन स्टेटको एक सिटीमा स्टेट आईडी बनाउन गएँ। आईडी बनाउन अरू दुई फोटो आईडी माग्यो, जुन मसँग थिएन। अनुनय गरेँ विलय र विनय गरेँ। उसले के भन्यो त्यसपछि तपाईं आश्चर्यमा पर्नु हुन्छ, ”तिमी जस्ता आएर सेप्टेम्बर ईलेभेन भएको।’
कनेक्टिकट हुँदा २०१६ मा राष्ट्रपतिको निर्वाचन भयो, ट्रम्प विजयी भए। एलिंग्टन सिटीमा मेरो स्टोर थियो। एक गोरा जाति जो पहिलेदेखि नै मेरो स्टोरमा आउंथे। हार्दिकतापूर्ण सम्बन्ध थियो। राष्ट्रपतिको परिणाम आएको भोलिपल्ट आएर उनले भने, ”गेट द एफ… आउट माई कन्ट्री। यू आर मुस्लिम, टेरोरिस्ट।” मेरो छोरो विन्डसरलक्स हाईस्कूलमा एकहप्ता जान सकेन। पापा पाकी भन्छन्, हेट गर्छन् भन्यो। ३/४ दिन उसकी मामु, मेरी श्रीमती प्रमिलाले स्कूल पुर्याउन जान्थिन् र केहीबेर स्कुलको पार्किङ्ग लटमा बस्थिन्। कयौं दिन स्कुल बसमा गएन डर र भयले।
श्वेत मान्छे स्टोरमा आउँदा होस् वा घरमा नक गर्दा होस् त्रास हुन्थ्यो। पछि हामी टेक्सस फोर्टवर्थ सर्यौं। सानो छोरो मानबलाई स्कूलमा रंगका कारण बुलिङ्ग गरिन्थ्यो, धेरैले पाकी भन्थे रे। कसैले ‘तेरो घर साउदी हो ?’ भन्थे रे। अहिले म र मेरा दुई छोरालाई लिएर जोर्जटाउन अस्टिन सरेको छु। एकदिन स्कुल बसमा उसलाई चढ्न नदिने प्रयास गरेछन् विद्यार्थीहरुले। कसैले लास्टमा चढ़ भन्थे रे त कसैले बसको लास्ट सिटमा बस भनेर भन्थे रे।
यो देश आप्रवासीले खोजेर र आप्रवासीले बनाएको देश हो। हामी नभए यिनको चुल्हो बल्दैन, हामीले ग्याँस स्टेसन नखोले यिनको गाडी चल्दैन। हामीले स्वेच्छापूर्वक कर नतिरे यिनीहरुको मुलुक चल्दैन। हामीले लिकर नखोले थ्यांक्स गिभिंग र क्रिसमस खल्लो हुन्छ अनि हामी आप्रवासीलाई अपमान, अन्याय, अत्याचार र हामीमाथि आक्रोश ! कसले गर्छ, सबै रिपब्लिकनलाई हैन मागा पार्टी, जुन भेज ग्रुप छ त्यसले गर्छ अनि त्यसको नेतृत्व डोनाल्ड ट्रम्प गर्छन्। अनि हामी केही जान्ने पल्टिएकाहरु भ्या भ्या गर्दै डोनाल्ड काकालाई दिएँ, ट्रम्प बालाई समर्थन छ भन्छौं। उनी आए सर्वप्रथम अन्यायमा पर्ने आप्रवासी हुनेछन्। टिपिएसवाला हुनेछन्, तल्लो बाटो भएर आएका दाजुभाई हुनेछन्।
असाईलम भरेका दाजुभाई दिदीबहिनी हुनेछन्। अचम्म र आश्चर्यको कुरा त झन् उदेक लाग्दो छ यिनै प्रक्रियाबाट ग्रिनकार्ड भई नागरिक भएकाहरुले ट्रम्पलाई समर्थन र मतदान गर्छौं। ‘नो नट अगेन’ नभनेर अनि भन्छौं ‘मेक अमेरिका ग्रेट अगेन।’
दुई दिन पहिले फोर्टवर्थको घरमा कार्पेट फेर्न पर्यो भनेर होम डिपो गएँ। फ्लोरिंग डिपार्टमेन्टमा दुई जनाले सल्लाह र सहयोग गरे। काम गर्दिए। प्रसंगबस एउटाले सोध्यो,-‘आर यू अ सिटिजन” मैले ‘यस’ भनें ।
अर्कोले सोध्यो, ”डीड यू भोट?” मैले जवाफ दिईनँ। तर मैले अर्ली भोटको पहिलो दिन नै हालिसकेको थिएँ, कमला ह्यारिसलाई। फेरि पहिलोले भन्यो, वुमेन क्यान नट लिड अमेरिका” अमेरिकामा महिलाले राष्ट्रपति हुनुहुन्न, उनीहरुलाई नेतृत्व दिनु हुन्न। महिलाले पुरुषलाई शासन गर्ने ?” दोश्रोले अघि सर्दै भन्यो, ”कालाले हामीलाई शासन गर्ने ?,अर्की मूलकी राष्ट्रपति हुने ? पहिले नै अश्वेत राष्ट्रपति भएको मलाई मन परेको छैन। अब हुन्न, दिनु हुन्न, भोट पनि दिनु हुन्न। तिमीले पनि नदेऊ।’
म ट्वाँ परें, बोलिनँ, बोले काम बिग्रिन्छ वा ज्यान बिग्रिन्छ। म चुप लागेँ। यस्तो छ स्थिति चुनावपूर्व नै चुनाव पश्चात ट्रम्पले जिते के होला? अथवा कमलाले जितिन् झन् के गर्लान् ? झल्झल्ती २०१६ को याद आयो, छोराहरुको याद आयो, जनवरी ६ को याद आयो। पहिले नै मैले मेरो आधा संसार गुमाई सकेको छु र बाँकी संसार गुमाउन चाहान्न। मेरा छोराहरुको भविष्य, हामी आप्रवासीहरुको भयले लेख्न मन लाग्यो। मेरो यो लेखले कम्तिमा एकजनाले मन परिवर्तन र मत परिवर्तन गर्नु भयो भने पनि मेरो र मेरी श्रीमतीको सपना, चाहना र कल्पना पूरा भएको अनुभूति हुनेछ। मन र मत परिवर्तन नभए पनि पढी दिनु भयो भने पनि आत्मसन्तोष हुनेछ।
हामी नेपाली झन्डै सबै राज्यमा छौं। मताधिकार प्राप्त गैर आवासीय नागरिक अमेरिका लाखौँ पनि छौं। झण्डै ७५ मिलियन (७ करोड ५० लाख) मत खसिसकेको छ। म टेक्सस बसेको छु शायद मेरो मतको मताधिकार प्राप्त गरें । तर परिणामलाई प्रभाव पार्दैन । तर यहाँहरु जो जो ब्याटल ग्राउण्ड स्टेटमा बस्नु भएको छ। यहाँहरुको मत अमूल्य र मूल्यवान छ। जहाँ केही हजार मतले परिणामलाई प्रभाव पार्न सक्छ। यहाँको एक मतले देशको राष्ट्रपति चुन्न सक्छ। देशको मुहार फेर्न सक्छ। आप्रवासीको अनुहारमा उज्यालो देखिन सक्छ। महिलालाई राष्ट्रपति मेरो मतले बनाएँ भन्ने गौरव प्राप्त हुन सक्छ। आप्रवासी परिवारबाट आएकी एक अश्वेत नारीलाई देशको नाडी छाम्ने जिम्मा लगाएँ भन्ने जिम्मेवारी बोध हुन्छ। स्त्रीको सम्मान, सीमान्तकृत समुदायको सम्मान र पहिचान, आप्रवासीहरुको चेहरामा आशाको किरण देखिन सक्छ। यद्धपि मन तपाईंको हो, मत यहाँको हो, विवेक र विचार पनि यहाँकै हो। कसैलाई मत दिन सक्नु हुनेछ तर मत दिएपछि त्यसको भावी परिणामको भागिदार मत दिनेकै हुनेछ। राजनीतिमा हिस्सा नलिए वा मत दिने अधिकार प्रयोग नगरे यहाँलाई अयोग्य व्यक्तिले शासन गर्न पुग्छ।
प्रतिक्रिया