हिमालय खबर संबाददाता
ड्यालस (अमेरिका)– गत विहीबार ड्यालसको डाउनटाउनमा भएको हिंसात्मक घटनामा परेर दिवंगत प्रहरी अधिकृतहरुको स्मरणमा नेपाली समाजले मैनबत्ति बालेर शान्तिको कामना गरेको छ ।
नेपाली समाज टेक्ससको आयोजनामा भएको मैनबत्ति प्रज्वलन कार्यक्रममा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी) सर्वेन्द्र खनाल प्रमुख अतिथि हुनुहुन्थ्यो । शान्तिपूर्ण जुलुशको क्रममा अकस्मात हमलामा परेर दिवंगत भएका प्रहरीहरुको स्मरण गर्नुहुँदै एसएसपी खनालले उनीहरुको आत्माको शान्तिको कामना गर्नुभयो ।
‘प्रहरीहरु जहाँका भएपनि उनीहरुको दायित्व जनताको जीउधनको सुरक्षा गर्नु हो, ड्यालसमा पनि प्रहरीहरुले जनताको सुरक्षाको निम्ति खटिएको समयमा यस्तो घटना हुनु निकै दुखद् हो,’ खनालले भन्नुभयो ।
विहीबार ड्यालसमा भएको घटनामा प्रहरी अधिकृतहरु ब्रेन थम्पसक, प्याट्रिक जामारिपा, माइकल क्रोल, लोर्न अरेन्स, माइकल स्मिथको निधन भएको थियो ।
नेपाली समाजका महासचिव कमल सत्यालले कार्यक्रमको औचित्यका बारेमा चर्चा गर्नुभएको थियो । ड्यालसको अर्विङस्थित नेपाली समाजको कार्यालयमा भएको मैनबत्ति प्रज्वलन कार्यक्रममा झण्डै एकसय नेपालीको सकृय सहभागिता थियो ।
प्रतिक्रिया