त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कतार उड्न तयारी अवस्थामा रहेको जहाजमा सँगैको सिटमा बसेकी महिलाको मोबाइल फोनमा घण्टी बज्यो। हेलो मात्र के भनेकी थिईन् उनी भक्कानिदैं आँशु झार्न थालिन्।
शव्द निकाल्न सकिनन्। पुगेपछि गर्छु है, भनेर फोन काटिदिइन र रसाएका आँखा पुछ्दै समालिने प्रयास गरिन्। जहाज विस्तारै गुड्न थाल्यो, अलि अलि हल्लिएको पनि थियो। जहाजले यसरी हल्लाउँछ उनले सोधिन्, ‘हामी उडेका छैनौं तर, अलि अलि त हुन्छ,’ मैले भने। ‘म पहिलो पटक जहाज चढेको छु, धनगढीको डिलक्स माइक्रोमा नारायणघाटबाट आएको त्योभन्दा त सजिलो होला है,’ उनले सोधिन्। हुन्छ भन्दै मैले उनलाई सिट वेल्ट लगाउन सघाएँ।
अनि उनको विदेश यात्राबारे कुराकानी सुरू गरेँ।
नाम जानकी घर चितवन, शिक्षा १० कक्षासम्म, स-साना दुई छोरीकी आमा रहिछन्। दुई दिनअघि काठमाडौं आएको आमा र छोरीहरूसँग फोनमै बोल्न सकेको छैन, उनले सुनाइन्, ‘अहिले पनि छोरीले फोन गरेकी थिईन्। तर, एयरपोर्ट आएपछि भने मन केही बुझाएँ,’ उनले भनिन्, ‘दिउँसो ३ नै बजे (जहाज उड्नुभन्दा ६ घण्टा अघि) एयरपोर्ट आएको, म जस्तै नानीहरुका आमा पनि थुप्रै विदेश जान लागेको देखें केही हलुंगो भयो, त्यसपछि माइतमा आमासँग कुरा गर्न सकें,’ उनले भनिन्।
छोरीहरू माइतमै राखेकी छु काठमाडौं आएका मेरा दुई दिन रोएरै विते। विरामी बुढी आईमाई हेर्न ४ बर्षका लागि साइप्रस जान लागेको उनले जानकारी दिईन्।
तलव कति हुन्छ? भन्न त मेनपावरले महिनामा ५० हजार रुपैंया पाइन्छ भनेको छ, तर पहिले गएको साथीले ३५ हजार भन्दा बढी पाएका छैनन् रे, उनले सुनाइन्।
‘साइप्रसबाट अमेरिका छिर्न सजिलो हुन्छ रे, हेरौं भाग्यले कता लान्छ,’ लामो सास लिदँ उनले भनिन्।
जानकीले ४ वर्षका लागि साइप्रस जान मेनपावरलाई ४ लाख २५ हजार रूपैंया तिरेकी रहिछन्। तालिम लगायतका खर्च जोड्दा झण्डै ५ लाख खर्च भएछ। १ लाख निर्व्याजी पैसा रे, बाँकी सय कडा ३ रुपैंया व्याजमा ऋण पाइछन्।
यो बैंकले सामान्तयः मोटर किन्ने दिने ऋणको व्याजभन्दा तीनगुणा बढी हो। यही पैसाले उनको साइप्रस यात्रा शुरु भएको रहेछ। ‘खेतवारी खासै छैन अस्पतालमा सानो जागिर थियो, छोरीहरूलाई खुवाउन पढाउन पनि पुगेन मेरोभन्दा पनि छोरीको भविष्यका लागि विदेश जान लागेको हो,’ उनले भनिन्।
५ लाख कसरी जुट्यो त? ‘विदेश जाने भएपछि व्याजमा पैसा दिने भेटिँदा रहेछन्,’ सयकडा ३ रुपैंयाले उनले ४ लाखको वर्षमा १ लाख २० हजार रूपैंया व्याजमात्र तिर्नुपर्छ। ‘ऋण लिएको ३ महिना बितिसक्यो’, उनले भनिन्, ‘अबका दुई वर्ष त ऋण तिर्नै लाग्छ।’
त्यसपछि कति बच्छ? हिसाब सम्झँदा जानकी फेरि निराश बनिन्। ‘अमेरिका छिर्न पाइयो भने कमाउन सकिन्छ कि,’ उनले भनिन्।
कतारको दोहा पुग्दा साइप्रस जाने अरू ४ जना युवती भेटिए। सवैले ४ लाख भन्दा बढी बुझाएका रहेछन्। अरु तीन जनाले पनि घरमा साना नानी छोडेर आएका थिए। दोहा एयरपोर्टमा अर्को जहाज कुर्दाका ५,६ घण्टा कसैको ओठमा हाँसो थिएन। लाग्थ्यो सवैका कथा व्याथा एउटै छैन।
एउटी युवतीले इजरायल जाने भनेर दुई लाख रुपैंया समेत मेनपावरलाई दिईछन् तर, अहिलेसम्म उनको रकम फिर्ता भएको रहेनछ।
पहिलो पटक जहाज चढेका यी सवैमा आउने दिन के हुन्छ, काम गर्ने ठाउँ साहु कस्तो होला भन्ने प्रश्न र चिन्ता मात्र थियो। अंग्रेजी बोल्न नजान्नाले कसरी कुरा गर्ने भन्ने विषयमा पनि उनीहरू चिन्तित थिए।
जानकीलाई जति दुःख परेपनि जति आँशु बगाएपनि पैसा कमाएर पहिले साहुको ४ लाख नतिरी सुखै छैन्। छोरीहरुको पनि खर्च पर्च चलाउनै पर्छ। साना नानीसँगको विछोड र कष्टमा आँशु बगाउँदै पठाउने यही पैसाले देशको अर्थतन्त्र पनि चल्छ। अर्थमन्त्रीले जोड घटाउ गरेर बजेट बनाउँछन्, कयौं सांसदले आफ्नो क्षेत्रमा पार्ने पैसा पनि त्यहीबाट आउँछ, मैले यती प्रतिशतले राजस्व बढाएँ भनेर आफूलाई सफल अर्थमन्त्रीको दाबी गर्छन्। सरकारी कर्मचारीको सुविधा थपिन्छ। राष्ट्रबैंकले रेमिट्यान्स यति बढ्यो भनेर तथ्यांक दिन्छ, विदेशी मुद्राको संचिती बढ्छ, शोधानान्धतर बचत हुन्छ। विदेशी समानको भुक्तानी हुन्छ।
समग्रमा अर्थतन्त्र जानकीको आँशु बगाएर आएको पैसाको चक्रमा चल्छ। तर, यो आँशुको मूल्यमा राष्ट्रबैंक र अर्थमन्त्रालयले यसमा कतै संवेदनशील भएको भेटिदैंन।
जानकी मात्र होइन देशको एक मात्र काठमाडौंमा रहेको त्रिभुवन अन्तर्राट्रिय विमानस्थलबाट दैनिक झण्डै १ हजार ५ सय नेपाली कामको खोजीमा विदेश जान्छन्। राष्ट्र बैंकको तथ्यांक अनुसार यसरी जाने कामदारबाट यो आर्थिक वर्षको साउन र भदौ महिनामा मात्र १०७ अर्ब रूपैंयाभन्दा बढी रेमिट्यान्स नेपाल भित्रिएको छ। दशैं र तिहारका कारण असोज कात्तिक महिना अझ बढी रेमिट्यान्स आउँछ।
यो तथ्यांकले देशले बैकिंङ प्रणाली मार्फत वार्षिक ८ सय अर्व रुपैंयाभन्दा बढी रेमिट्यान्स भित्राउने छ। यो ८ सय अर्वले राष्ट्र बैंक र अर्थमन्त्रालयको हिसाब मिलिरहेकेा छ। निर्वाहमुखी अर्थतन्त्र चलिरहेकेा छ। केही गर्नुपर्ने जोखिमबाट सरकार र अर्थतन्त्र सञ्चालन गर्ने जिम्मेवारी लिएका पदाधिकारीलाई सजिलो भएको छ।
जानकीले जहाज चढ्दा देशमा तेलको हाहाकार थियो। प्रतिलिटर करिब १ सय रूपैंया पर्ने पेट्रोलको भाउ भारतको अघोषित नाकावन्दीले शुरुमा ६ सय रूपैंयामा खुलेको थियो। ४ सयमा एक लिटर हालेँ भन्नेहरु थुप्रै थिए। आधा सिलिण्डर ग्यांस वाध्यतावश वढी पैसामा किन्ने थुप्रै थिए। बजारमा मंहगीले तिव्रता लिईरहेको थियो। तर, महगों भएपनि किन्नेहरु कम थिएनन्। देशमै काम गर्ने न्यून र मध्यम आए भएका वर्गमात्र समस्यामा थिए।
विगतमा अर्थमन्त्रीले आफूलाई निकै सफल अर्थमन्त्री दाबी गरेपनि जे जस्ता आंकडा दिएपनि हाम्रो अर्थतन्त्रले १० दिन पनि नाकावन्दी थेग्न सकेन्। हामीले समस्या आउँदा उपयोग गर्न तेल भण्डार नै बनाएका रहेनछौं। उत्तर तर्फको विशाल र विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको देश चीनसँग आउजाउ गर्ने बाटै रहेनछ। जलविद्युत आयोजना बनाउने भन्दा बढी हल्ला गरेर विताएका रहेछौं।
गाडी किन्नेसँग मूल्यमा २ सय ५५ प्रतिशत भन्सार लगाएर अर्थमन्त्रालयले राजस्व उठाएको रहेछ। त्यो गाडी किन्ने पैसा पनि जानकी जस्तै विदेशमा पसिना बगाउनेले पठाईदिएकाले आएको छ। यसरी आएको पैसा मध्ये १ अर्बभन्दा बढी त तेल किनेर अरवै पठाईदिएका छौं।
अर्थतन्त्रमा योगदान पुग्ने गरी केही गर्न खोज्नेहरुको कमी छैन तर, सरकार र राजनीतिक वातावरण सहयोगी बनिरहेको छैन। देशकै ठूलो निजी क्षेत्रको बैंकका अध्यक्ष बैंकलाई पैसा लगानी गर्ने ठाउँ नै नभएको बताउँछन्। थुप्रै बैंकको हालत यस्तै छ, अहिले बचत लिएर के गर्ने हामीले त्यसलाई कहाँ लगाउने, ट्रजरी विल्समा १ प्रतिशतभन्दा कम व्याजदर छ अर्को बैंकका प्रमुख कार्यकारीको गुनासो छ।
चिया पसलमा बसेर हामीले राजनीति बहस, चर्का चर्की बढी गरेका छौं तर, जीवनस्तर उकास्ने सवालमा भने जनस्तरमा कम चासो छ। विदेश जानेले ल्याईदिने आईफोन सेट, ल्यापटप त चलाएका छौं तर, यो आफैं कमाएर उपयोग गर्नेबारे सचेत हुनेको संख्या थोरै छ।
यो पनि आर्थिक विकासको बाधक हो। रेमिट्यान्सले हाम्रो अर्थतन्त्र सुनिएको छ, यसलाई आकार बृद्धिका रुपमा लिईरहेका छौं। यो देश विकासको चुनौती बनिरहेको छ।
देशका उच्चपदस्थसँग कुरा गर्दा निकै डरलाग्दा विषयहरु आउँछन्। नबिल बैंकमा रहेको विदेशी कम्पनीको नाममा रहेको नेपालीको सेयर, नियम विपरित अजय सुमार्गीको नाममा आई राष्ट्र बैंकले भुक्तानी रोकेको ११ अर्ब रूपैंया, निजी क्षेत्रको ठूलो दुरसञ्चार कम्पनीको अपारदर्शी लगानी, वित्तीय संस्थाको पूँजी बृद्धि गर्न हुन्थ्यो वा हुन्थेन, विद्युत आयोजनामा लगानीका लागि प्रस्ताव लिएर जाँदा अदृष्य रूपमा बुझाउनुपर्ने घुस र अन्य कयौं व्यक्तिगत तत्कालिन स्वार्थका विषयमा कयौं नीति निर्माता अल्झिएका छन्। देशको दिर्घकालिन हितमा लिनुपर्ने निर्णयहरु भईरहेका छैनन्।
पञ्चायतमा १० कक्षासम्मको पनि शिक्षा नलिएका शिक्षा मन्त्री भए भनेर तत्कालिन मन्त्री जोगमेहर श्रेष्ठलाई हाँसोमा उडाईयो। तर, अहिलेका अर्थमन्त्री विष्णु पौडेललाई निकै कमले मात्र हाँसोमा उडाएका छन्।
सामाजिक सञ्जालमा पनि पौडेलका बारेमा खासै नकारात्मक टिप्पणी भएको छैन। २०४६ साल यता पटक पटक अर्थमन्त्री भएका डाक्टरहरूले अर्थतन्त्रलाई के नै गरे बरू अहिले डाक्टर नभएका अर्थमन्त्रीले केही गर्छन् कि भन्ने आशा आम जनतामा छ। डाक्टर अर्थमन्त्रीहरूले मैले यति प्रतिशतले राजस्व उठाएँ, विदेशी मुद्राको सञ्चिती बढ्यो, हिउँदे बाटो यती किलोमिटर थपियो भनेर तथ्यांक दिदैं कयौ पटक आफू सफल भएको दावी गरे।
यो त जनता झुक्काउने प्रयास मात्र हो। तर, यी डाक्टर अर्थमन्त्रीहरुले मेरो पालामा यति वटा उद्योग खुल्यो, यतिले जागिर पाए, आर्थिक बृद्धिदर ६ प्रतिशतभन्दा बढी भयो भन्न सकेनन्।
अर्थमन्त्री, योजना आयोगका उपाध्यक्ष वा गभर्नरको सफलता असफलता राजस्व संकलनवाट होइन उद्योग कति आए, रोजगारी कतिले पाए, आर्थिक बृद्धिदर कति भयो यस आधारमा हुनुपर्छ। यसै आधारमा मूल्यांकन गर्नु पर्छ।
डाक्टर अर्थमन्त्रीले बोल्ने आम नागरिककले नबुझ्ने आर्थिक शव्दावलीमा सफलताको दावी गर्नुभन्दा जानकी जस्ता विदेसीने आमाको आँशु रोक्न सक्ने भाषामा सफलता बर्णन गर्ने सक्ने नीति निमार्ता भए अहिलेलाई पुग्छ। साभार: सेतोपाटी
प्रतिक्रिया